politics
||Power News Asia||

आजको समाचार

विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान : प्रचण्ड

राजनीति


काठमाडौँ, १२ जेठ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गर्नुभएको छ । आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान भएको बताउनुभएको छ ।

उहाँले बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्ने बताउनुभएको छ । सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोभिड–१९ ले समानरुपले आक्रमण गरिरहेको छ । यस महामारीविरुद्धको सङ्घर्षमा एकताबद्ध प्रतिरोधका लागि सबैमा आग्रह गर्दै अध्यक्ष प्रचण्डले भन्नुभएको छ, ‘‘इदुल फित्र चाडका अवसरमा मुस्लिम समुदायमा सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्दछु ।’’रासस File Photo

प्रचण्डले ओलीसँगको ४० मिनेट भेटमा गरे काम तमाम!

राजनीति


सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा २४ घन्टा अघिसम्म देखिएको तीव्र मतभेद र अन्तरविरोध नाटकीय रूपमा साम्य भएको छ।

शनिबार साँझ सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच ४० मिनेट एक्लाएक्लै भेट भएको थियो। त्यो भेटमै प्रचण्डले ओलीसँग कुरा मिलाएको वा सम्झौता गरेको अनुमान गरिएको छ।

सचिवालय बैठक सुरू हुँदा नै त्यसको छनक देखिने गरी प्रधानमन्त्री ओली र प्रचण्डको कुर्सी सँगसँगै राखिएको थियो।

यसअघि बुधबारको सचिवालय बैठकमा रातो कपडाले छोपिएको ओलीको टेबल हलको अग्रभागमा थियो। त्यसपछि अरू सदस्यका टेबल वरिपरि थिए, जुन सेतो कपडाले ढाकिएको थियो। यसबाट ओली एक्लैले बैठक अध्यक्षता गरेजस्तो देखिन्थ्यो। 

उक्त बैठकमा प्रचण्डले प्रधानमन्त्रीको आलोचना गर्दै राजीनामा माग्दा दुई अध्यक्षबीच टेबल र कुर्सीमा गरिएको विभेदको विषय पनि उठाएका थिए।

शनिबारको बैठकमा भने दुई अध्यक्षका लागि रातो कपडाले छोपिएका टेबल र उस्तै कुर्सी सँगसँगै राखिएका थिए। अरू सदस्यको टेबल अघिल्लो बैठकझैं सेतो कपडाले छोपिएको थियो।

प्रसन्न मुद्रामा देखिएका प्रधानमन्त्री ओलीले बैठक सुरू गर्दै भने, 'हाम्राबीच तीतापिरा भए, पार्टी विभाजन होला कि भन्ने ठाउँमा पनि पुग्यौं, तर एकता गर्नुको विकल्प छैन। त्यसैले हामी मिलेर अगाडि जानुपर्छ।' 

उनले आगामी दिनमा पार्टीलाई थप एकताबद्ध र बलियो बनाउने भन्दै सबै नेता सच्चिएर अगाडि बढ्नुपर्ने बताए।

'प्रधानमन्त्री र प्रथम अध्यक्षका रूपमा सबभन्दा धेरै आत्मालोचना म गर्छु,' उनले भने, 'अरू नेताहरूले पनि आ-आफ्नो भागको आत्मालोचना र समीक्षा गर्नुहोला।'

प्रधानमन्त्रीले शनिबारको बैठकमा धेरै लामो बोलेनन्। उनीलगत्तै अर्का अध्यक्ष प्रचण्डले भने, 'पार्टीलाई अब एकताबद्ध बनाएर जानुपर्छ, कमी-कमजोरी भए होलान्, हामी सबै सच्चिएर अघि बढ्नुपर्छ।'

बुधबारको सचिवालय बैठकमा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका र उनको तीखो आलोचना गरेका प्रचण्डले एक सय असी डिग्री फर्किएर राजीनामाको मुद्दा मात्र छाडेनन्, सँगै मिलेर अगाडि जानुपर्ने पनि बताए।

प्रचण्डले नै प्रधानमन्त्री ओलीसँग मिलेर जाने बताएपछि राजीनामाको कुरा सकिएको छ।

नेकपामा त्रिपक्षीय शक्ति सन्तुलन छ। प्रधानमन्त्री ओली, प्रचण्ड र माधवकुमार नेपालका तीन समूह पार्टीमा सक्रिय छन्। यी तीनमध्ये दुई जना एकठाउँ उभिनेबित्तिकै पार्टीमा बहुमत पुग्छ।

प्रचण्ड एकाएक किन फर्किए भन्ने यकिन छैन। पछिल्लो साता भैंसेपाटीमा भेला भएर ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकाल्दै स्थायी समिति बैठक माग गर्ने निर्णयमा पुगेका प्रचण्ड, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र विष्णु पौडेलमध्ये गौतम र पौडेलले प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए।

बुधबारको सचिवालय बैठकमै प्रधानमन्त्रीको प्रस्तावको समर्थन गरेका पौडेल र गौतम पछिल्ला दुई दिनमा प्रधानमन्त्रीसँग झनै नजिक भए। शुक्रबार र शनिबार पनि गौतमलाई प्रधानमन्त्रीसँगै मिलेर जान पौडेलले लामो कुरा गरेका थिए।

शनिबार दिउँसो गौतमसँग प्रधानमन्त्रीले बालुवाटारमा भेट गरेका थिए। गौतम र पौडेलले प्रधानमन्त्री ओलीलाई पूरै साथ दिएपछि उनी बलियो बन्न सक्ने अनुमान गरेर प्रचण्डले सम्झौता गरे वा व्यक्तिगत लेनदेन गरेर सम्झौता गरे भन्ने प्रस्ट छैन।

गौतम र पौडेलको प्रधानमन्त्रीलाई बलियो साथ र पछिल्ला दिनमा उनले सांसदहरूमाझ गरेको लबिङपछि उनी बलियो भएको ठानेर प्रचण्ड र नेपाल युद्धविरामको मनस्थितिमा पुगेका हुन् वा प्रचण्डले एक्लै निर्णय गरेका हुन् भन्ने पनि खुलेको छैन।

नेता नेपालनिकट एक स्थायी समिति सदस्यले प्रचण्ड र नेपालबीच पछिल्ला दिनमा गहिरो विश्वासको वातावरण बनेकाले प्रचण्डले एक्लै निर्णय गरे होलान् भन्ने आफूलाई नलागेको बताए।

'मेरो माधव कमरेड र अरू सचिवालय सदस्यहरूसँग कुरा भएको छैन, त्यसैले यसै हो भन्न सक्दिनँ,' उनले भने।

प्रचण्ड र माधव नेपाल एक ठाउँ उभिएर आफूलाई हटाउने माग बलियो बन्दै गएपछि प्रधानमन्त्री ओलीले आफूसँग मिल्न दुवैलाई छुट्टाछुट्टै प्रस्ताव पठाएका थिए। गत आइतबार ओलीका विश्वासपात्र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री ओलीसँग मिल्नुपर्ने प्रस्ताव लिएर प्रचण्डकहाँ पुगेका थिए।

पोखरेलले दुई पार्टी एकीकरण गर्न ओली र प्रचण्डले मुख्य भूमिका खेलेको भन्दै दुई जना एकठाउँ आउनुपर्ने तर्क गरेका थिए।

'कमी-कमजोरी भए होलान्, त्यसलाई सच्याउन सकिन्छ, दुवै अध्यक्ष मिल्नुको विकल्प छैन,' उनले भनेका थिए।

शुक्रबार दिउँसो पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच भेट भएको थियो। उक्त भेटमा प्रधानमन्त्रीले प्रचण्डलाई पार्टीमा एकल अध्यक्ष बस्न र आफू संसदको बाँकी कार्यकालका लागि प्रधानमन्त्री मात्र रहने प्रस्ताव गरेको चर्चा चलेको थियो। तर, त्यो प्रस्ताव कसैले पुष्टि गरेनन्।

शनिबार सचिवालय बैठकअघि प्रधानमन्त्रीसँग भेटेर आएपछि प्रचण्डले नेपाल खेमालाई धोका दिएर सम्झौता गरेको कतिपयले अनुमान गरेका छन्। यो सत्य हो भने पार्टी एकीकरणपछि नेपाललाई प्रचण्डले धोका दिएको यो दोस्रोपटक हो।

प्रधानमन्त्री ओलीले एक्लौटी रूपमा पार्टी चलाएपछि करिब एक वर्षअघि प्रचण्ड र नेपाल नजिकिएका थिए। उनीहरूबीच प्रधानमन्त्री ओलीविरूद्ध एकठाउँ उभिन लिखित रूपमै सम्झौता भएको एक स्थायी समिति सदस्य बताउँछन्।

प्रचण्डले नेपालसँग लिखित सम्झौता गरेको थाहा पाएपछि प्रधानमन्त्री ओलीले प्रचण्डलाई आफ्नो पक्षमा तान्ने कोशिस सुरू गरे। अन्तत: सिंगापुर उपचार गर्न जानुअघि प्रचण्ड र ओलीबीच लिखित सहमति भयो। प्रधानमन्त्री ओलीले यो संसदको अवधिभर सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा पार्टी सञ्चालन गर्ने सहमति भएको थियो।

उक्त सहमतिसँगै प्रधानमन्त्री ओलीले नेता नेपाललाई अपमानित गर्दै पार्टीमा उनको वरियता घटाइदिएका थिए। ओली र प्रचण्डपछि तेस्रो वरियतामा रहेका नेपाललाई एक तह घटाउँदै सचिवालय बैठकले चौथोमा पुर्याएको थियो भने झलनाथ खनाललाई चौथोबाट तेस्रो वरियतामा उकालिएको थियो।

यसरी नेपालको वरियता घटाउने निर्णय गर्दा प्रचण्डले ओलीलाई साथ दिएका थिए।

केही दिनअघि प्रधानमन्त्रीलाई भेटेकी चिनियाँ राजदूत हाउ यान्छीले शुक्रबार प्रचण्ड र नेपाललाई छुट्टाछुट्टै भेटेकी थिइन्। प्रचण्डको निजी निवास खुमलटारमा राजदूतले एक घन्टा छलफल गरेकी थिइन्।

नेपाल सरकारले चीनबाट किनेको स्वास्थ्य सामग्रीबारे छलफल भएको भनिए पनि चीनले नेकपाभित्र चलेको शक्ति संघर्ष साम्य पार्न पहल गर्यो कि भन्ने कतिपयको अनुमान छ।

दुई अध्यक्षबीच कुरा मिलेपछि बुधबार प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका वामदेव गौतमबारे शनिबारको बैठकमा झन्डै विषय नै उठेको थिएन।

सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले 'गौतमलाई प्रतिनिधिसभा वा राष्ट्रियसभामा लगेर प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीबाटै आएको थियो, त्यो विषय के भयो?' भनी प्रश्न गरेका थिए। त्यसपछि मात्र 'उपयुक्त समयमा गौतमलाई प्रतिनिधिसभामा लैजाने' निर्णय भयो।

यो निर्णयसँगै अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने बाटो पनि खुलेको छ। प्रधानमन्त्री ओलीले गत फागुनमै आफ्ना विश्वासपात्र खतिवडालाई राष्ट्रियसभामा लैजान चाहेका भए पनि पार्टीभित्रको विवादले सम्भव भएको थिएन।

फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो। प्रधानमन्त्री ओलीले भने दुवै जनाको नाम सिफारिस गरेका थिएनन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने भएकाले राष्ट्रियसभामा एक जना सांसदको स्थान खाली छ।

फागुन २१ गते राष्ट्रियसभा सदस्यहरूको सपथ भएको थियो। सांसद नभए पनि छ महिनासम्म मन्त्री हुन पाउने भएकाले खतिवडाले मन्त्रीको सपथ लिएका थिए।

पार्टीभित्र चुलिएको विवाद कसरी एकाएक साम्य भयो भन्ने प्रश्नमा सचिवालय सदस्य झलनाथ खनालले सेतोपाटीसँग भने, 'दुवै अध्यक्षले एकताबद्ध भएर अगाडि जाने र विधिबाट पार्टी चलाउने भन्नुभयो। हामी सबैले त्यसलाई समर्थन गर्यौं।'

'पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्छ। विगतका अनुभवको समीक्षा गर्नुपर्छ,' खनालले भने, 'चाँडै स्थायी समितिको बैठक बोलाएर त्यसैमा सबै कुरा छलफल गर्नुपर्छ।'

उनले स्थायी समिति बैठकमा बृहत् छलफल गरेर पार्टीलाई रूपान्तरण गर्नुपर्ने बताए। पछिल्लो समय विवाद बढ्दै गएपछि दुवै पक्षले सांसदहरूलाई गराएको हस्ताक्षर च्यात्ने कुरा भएको पनि उनले जानकारी दिए। 

अध्यक्ष बनाउन ओलीले गरेको प्रस्ताव माधव नेपालद्धारा अस्विकार

राजनीति


काठमाडौं, २० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आजको बैठकमा यसअघि आफूलाई पार्टीको तेस्रो अध्यक्ष बन्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्ताव बरिष्ठ नेता माधव कुमार नेपालले अस्विकार गरिदिएका छन् ।

नेता नेपालले आफू अध्यक्ष नबन्ने भन्दै उक्त प्रस्तावको च्याप्टर नै क्लोज गरिदिएको नेपालनिकट एक नेताले जानकारी दिए । आफू विधि र विधानको पक्षमा उभिने नेता भएकोले अहिले पदको लागि मरिहत्ते नगर्ने उनको तर्क थियो । गत बुधबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेता नेपालको मानमर्दन भएको भन्दै तेस्रो वरियताको अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए ।

नेकपा सचिवालय बैठक सम्पन्न : बैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने, वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने

नेकपा सचिवालय बैठकको समय पर धकेलियो

राजनीति


काठमाडौं । नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि बोलाइएको केन्द्रीय सचिवालय बैठक शनिबार अपरान्ह ५ः३० बजे बस्ने भएको छ । 

प्रधानमन्त्री समेत रहेका केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक ५ः ३० बजे बस्ने जानकारी दिएका हु्न् ।

यसअघि बैठक चार बजे बस्ने भनिएको थियो । समय परिवर्तनबारे भने थापाले केही खुलाएका छैनन् । 

बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आजै उपाध्यक्ष वामदेव गौतम ओली भेट्न बालुवाटार पुगेका थिए । यसअघि बुधबारको बैठकमा ओलीले गौतमलाई कोरोनापछि प्रधानमन्त्री पद हस्तानतरण गर्ने प्रस्ताव गरेका थिए ।

 साथै सोही दिन वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो वरियताको अध्यक्षका लागि समेत ओलीले प्रस्ताव गरेपनि नेपालले अस्वीकार गरिसकेका छन् । गौतमले भने ओलीको प्रस्तावप्रति सकारात्मक छन् ।  

नेकपा सचिवालय बैठक ४ बजे

राजनीति


सरकारले अध्यादेश जारी गरेसँगै विवादमा परेको नेकपामा प्रधानमन्त्री ओलीको विकल्प खोजी भइरहेको छ । स्थायी कमिटी बैठक बोलाएर प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने पक्षमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपाल पक्षको माग छ । सरकार एकलौटी चलाएको र अलोकप्रिय हुँदै गएको उनीहरूको आरोप छ ।

प्रधानमन्त्री ओलीले भने कोरोना संक्रमण फैलिइरहेको जस्तो अप्ठ्यारोमा सरकारलाई पार्टी भित्रैबाट असहयोग भएको आरोप लगाएका छन् । उनले आफू प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा नदिने बरु जस्तो परिस्थिति आएमा पनि सामना गर्ने बताएका छन् । प्रधानमन्त्री पक्षधर सांसदहरूले हस्ताक्षर अभियान चलाएका छन् भने दाहाल-नेपाल पक्षधरले आन्तरिक छलफललाई तीव्र पारेका छन् ।

आजको बैठकमा उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने ठोस प्रस्ताव ल्याउनेबारे र स्थायी कमिटी बैठक आह्वान गर्नेबारे छलफल हुने नेकपा स्रोतले बताएको छ । स्थायी कमिटीको बैठक बोलाउन २० जना स्थायी कमिटी सदस्‍यहरुले माग गरेका छन् ।

महामारीसम्बन्धी साझा छाता ऐन ल्याउन निर्देशन

राजनीति


राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकले सरकारलाई हरेक परिवारको एकजनाको कोभिड–१९ को परीक्षण गर्न निर्देश गरेको छ ।

यसका लागि विस्तृत कार्ययोजना बनाई लागू गर्न बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देश पनि गरेको छ ।

समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई आमन्त्रण गरेको थियो । बैठकले सङ्क्रामक रोग ऐन, २०२० को मापन र मूल्याङ्कनको प्रारम्भिक निष्कर्ष तथा तत्काल विद्यमान महामारी रोकथाम, नियन्त्रण एवं निर्मूल गर्ने सन्दर्भमा सो निर्देश समेत दिँदै सुझाव समेत दिएको छ ।

समितिका सभापति परशुराम मेघी गुरुङले सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अहं भूमिका निर्वाह गरेको र अब थप जोखिम बढ्न नदिनका लागि प्रत्येक परिवारका एकजनामा परीक्षण गर्नुपर्ने बताउनुभयो ।

अहिलेसम्म ५८ हजार ८७१ जनाको कोभिड–१९ परीक्षण गरिएको छ । पिसिआर १५ ठाउँमा र आरडिटी ७५ जिल्लामा गरिएको छ । नेपालमा अहिलेसम्म ५७ जनामा सो सङ्क्रमण भएकामा १६ जना सफल उपचारपछि घर फर्किएका छन् ।

बैठकले स्वास्थ्य सामग्रीको भण्डारणलाई प्राथमिकताका साथ सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकअनुरुप व्यवस्थापन तथा राहत वितरण प्रक्रियालाई व्यवस्थित गर्न पनि निर्देश दिएको छ ।

उहाँले कोभिड–१९ को रोकथाम, नियन्त्रण एवं निर्मूललगायत सम्पूर्ण व्यवस्थापनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन दीर्घकालीन रुपमा कानूनी व्यवस्थाका सम्बन्धमा गर्नुपर्ने कार्य र तत्काल गर्नुपर्ने कार्य गरी दुई किसिमले निर्देश दिइएको जानकारी गराउनुभयो ।

साझा छाता ऐन ल्याउनुपर्ने

दीर्घकालीनका लागि बैठकले सङ्क्रामक रोग ऐन, २०२० लाई संशोधन गरी आवश्यक कानून बनाउन निर्देश दिएको छ ।

दीर्घकालीन रुपमा स्वास्थ्यसँग सम्बन्धित कानूनको एकीकरण र संशोधन गर्न तथा तत्कालका लागि सङ्क्रामक रोगसँग सम्बन्धित विषयमा हालको ऐन सङ्क्रामक रोग ऐनलाई खारेज गर्ने गरी एकीकृतरुपमा सङ्क्रामक रोगसँग सम्बन्धित छुट्टै छाता ऐन ल्याउनसमेत बैठकले मन्त्रालयलाई निर्देश दिएको छ ।

यसैगरी तत्काल गर्नुपर्ने काममा परीक्षणको दायरा बढाउनाका साथै कोभिड–१९ को सङ्क्रमण बढ्न नदिनु रहेको छ । निर्देशमा नेपाल भारतको सीमावर्ती क्षेत्रमा आएर बसेका नेपाली नागरिक तथा देशका अन्य क्षेत्रमा रहेका नागरिकलाई कोभिड–१९ नियन्त्रणसम्बन्धी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको शर्तको पालना गरी व्यवस्थितरुपमा आफ्नो घर फर्कने प्रबन्ध मिलाउन आवश्यक पहल गर्नुपर्ने, कोभिड–१९ को कारणबाट बन्दाबन्दीमा परेका अति विपन्न तथा न्यून आय भएका एवं दैनिक ज्यालादारीमा काम गरी जीविकोपार्जन गर्दै आएका विशेषगरी मजदुर र किसानको समस्यालाई यथाशीघ्र सम्बोधन गरी उपयुक्त राहतको व्यवस्था गर्र्नुपर्ने रहेको छ ।

यसैगरी बैठकले सरकारी, सामुदायिक र निजी अस्पताललाई कोरोना सङ्क्रमित बिरामीका साथै अन्य रोगको उपचारमा पनि पूर्णरुपमा सक्रिय सहभागी गराउने कार्य यथावत्रुपमा सञ्चालन गर्नसमेत निर्देश दिएको छ ।

स्वास्थ्य र सुरक्षाको क्षेत्रमा काम गर्ने जनशक्तिलाई प्रोत्साहन एवं उत्प्रेरित गर्ने खालका नीति कार्यक्रम बनाई लागू गर्न, कोभिड–१९ को रोकथाम एवं नियन्त्रणमा सहयोग, समन्वय, सहजीकरण र अनुगमन गर्ने कार्यका लागि सङ्घीय जनप्रतिनिधिको नेतृत्वमा आवश्यक संयन्त्र बनाउने उक्त कार्यमा सहजीकरण गर्नसमेत निर्देश बैठकले दिएको छ ।

बन्दाबन्दी खुलेपछि विदेशबाट रोजगारी गुमाएर फर्कने ठूलो जनशक्तिलाई व्यवस्थित गर्ने योजना निर्माण गर्नसमेत निर्देशन दिएको सभापति गुरुङले जानकारी दिनुभयो ।

यसैगरी बैठकले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने, बढी मूल्य लिने प्रवृत्तिलाई निरुत्साहित गर्न बजार अनुगमनसम्बन्धी कार्यलाई नियमित, चुस्त, दुरुस्त र प्रभावकारी बनाई कृत्रिम अभाव सिर्जना र कालो बजारी गर्नेउपर कानूनबमोजिम आवश्यक कारवाही गर्नसमेत निर्देश दिएको छ ।

बैठकमा स्वास्थ्यमन्त्री ढकालले सबैको सहयोगबाट नै कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न सहयोग मिलेको भन्दै पुरानो ऐनलाई संशोधन आवश्यक रहेको बताउनुभयो ।

प्रचण्डलाई भेटेलगत्तै माधव नेपाललाई भेटिन् चिनियाँ राजदूत यान्छीले

राजनीति


नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेलगत्तै वरिष्ठ नेता माधव कुमार नेपाललाई पनि भेट गरेकी छन्।

शुक्रबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटारमा भेट गरेलगत्तै यान्छीले नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका वरिष्ठ नेता माधव नेपाललाई पनि उनकै निवासमा भेट गरेकी हुन्।

भेटमा दुई देशबीचको घनिष्ट सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल ट्विटरबाट जानकारी दिएका छन्। 

यसअघि प्रचण्डसँग यान्छीले झण्डै १ घण्टा भेट गरेकी थिइन्। भेटमा कोरोना रोकथामका बारेमा छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ।

यद्यपी विदेश विभागका उपप्रमुख रिजालले भने दुई देशबीचको घनिष्ट सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको बताएका छन्। तर कुराकानीको विषयवस्तुका बारेमा उनले केही खुलाएका छैनन्।

केही दिनअघि राजदूत यान्छीले नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेकी थिइन्।

परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद्- प्रम

राजनीति


प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको संवाहक वर्ग हो भन्दै सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैँ अघि सरेर समस्याको सामना गर्नसक्ने श्रमजीवी वर्ग नै भएको उल्लेख गरेका छन्।

'आज नेपालका केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ। एकातिर सम्पूर्ण नेपाली जनता र सिङ्गै विश्व कोरोना महामारीविरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयास गरिनु दुःखद् कुरा हो।', प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, 'आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन। त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु।' 

कोरोना भाइरसको महामारीविरुद्ध अग्रपङ्क्तिमा रहेर जुधिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइलगायतका सेवामा क्रियाशील श्रमजीवीहरु यसका उदाहरण भएको उल्लेख गर्दै उनले ‘काम, मनोरञ्जन र आराम’ बीच सन्तुलन कायम गर्न माग स्थापित श्रमिक दिवसमा श्रमिकको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनका लागि भएका सबै आन्दोलनको स्मरण गरिँदै आएको उल्लेख गरेका छन्।

'श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो। श्रमबिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ', उनले भने। 

कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेको उल्लेख गर्दै उनले यसबाट सिर्जना भएको पीडाप्रति आफू जानकार तथा संवेदनशील रहेको बताएका छन्।

विगत दुई वर्षयता श्रमिकको न्यूनतम पारिश्रमिक, इतिहासमै उच्च अर्थात् ३९ प्रतिशतले वृद्धि भएको, आर्थिक वृद्धि दोहोरो अङ्कको लक्ष्य हासिल गर्नेतर्फ लम्किएको, श्रम क्षेत्रमा बजेट दोब्बर गरिएको, दक्ष जनशक्ति निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका चार लक्ष्यमा आधारित विभिन्न कार्यक्रम सञ्चालित हुँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २२ लाख श्रम दिन बराबरको रोजगारी सिर्जना आदि उपलब्धिको चर्चा सन्देशमा गरेका छन्।

कोरोना महामारीविरुद्धको अग्रमोर्चामा रहेका सबैका लागि २५ लाख रुपैयाँ रकम बराबरको बीमा गरिएको, व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्थाका साथै उनीहरुको भत्तामा शतप्रतिशतसम्म थप गरिएको र लकडाउनको अवधिको पारिश्रमिक कायम गर्न र महिला स्वास्थ्य स्वयंसेवीलाई एकमुष्ट एक हजार ५०० रुपैयाँ थप भत्ताको व्यवस्था गरिएको पनि उनले दोहोर्‍याएका छन्।

सन्देशमा  दैनिक गर्ने कामबाट जीवन धानिरहेकाहरुलाई भोकै पर्न नदिन नेपालमा ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारको नीतिअन्तर्गत स्थानीय तह, प्रदेश तथा केन्द्रीय प्रशासनको संयोजनमा राहतको व्यवस्था गरिएको उल्लेख छ।

'तर घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन। रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ। तपाईँहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ', उनले भने।

प्रम ओलीले अबका हाम्रा सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने जनाउँदै भूकम्पपछिको यस दशकलाई हामीले पुनःनिर्माणको दशक भनेझैँ, अबको हाम्रो पहिलो लक्ष्य कोरोनाबाट हाम्रो समाजलाई मुक्त बनाउनु हुने स्पष्ट पारे।

स्वस्थ नागरिक निर्माण गर्न स्वास्थ्य बीमासहितको जनस्वास्थ्य र सीपयुक्त नागरिक निर्माणका लागि शिक्षामा लगानी वृद्धि गर्दै ‘आजको लागि स्वास्थ्य, भोलिका लागि शिक्षा’ अबको हाम्रो दिशा हुने जनाएका छन्।

नेपालको राजनीतिक आन्दोलनले ट्रेड युनियन आन्दोलनलाई वैचारिक नेतृत्व गरिरहेको तर नेपाली ट्रेड युनियन आन्दोलनले राजनीतिक आन्दोलनलाई धेरै कुरा सिकाएको छ  भन्दै उनले अप्ठ्यारोमा नहड्बडाउने, अनिकालमा मिलेर बीउ जोगाउने, सहकालमा भएका नाफाको न्यायोचित वितरणमा सामाजिक संवाद गर्ने, अनि विविधताबीच एकता कायम गरी अघि बढ्ने कुराहरु आन्दोलनको सिकाइ भएको उल्लेख गरेका छन्।

सन्देशमा भनिएको छ, 'कमीकमजोरी भए सच्याउनुपर्छ तर अराजक होइन, अनुशासित हुनुपर्छ।'

नेकपा नेताहरु आज पनि विहानैदेखि गोप्य बैठकमा

राजनीति


आन्तरिक विवादमा नराम्रोसँग फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु आज पनि विहानैदेखि छलफलमा सक्रिय भएका छन् ।

पार्टी सचिवालयको बैठक भोली बस्ने तय भएकाले नेताहरु आज विहानैदेखि सक्रिय भएका हुन् ।

पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल र तेस्रो अध्यक्षका लागि प्रस्तावित माधवकुमार नेपालका बीचमा आज विहान छलफल भएको हो ।

ललितपुरका सांसद कृष्णलाल महर्जनको निवास बालकुमारीमा उहाँहरुका बीचमा विहान ७.३५ देखि ८.२० सम्म छलफल भएको श्रोतले जनाएको छ ।

आफ्नै निवासमा छलफ हुदाँ बढी चासो र चर्चा हुने भएकाले बैठकलाई गोप्य राख्न उहाँहरु सांसद महर्जनको निवासमा पुग्नु भएको बताइएको छ ।

भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्ड र नेता नेपालका बीचमा भोलीको सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको अनुमान गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि बसेको बैठकमा नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको थियो ।
ओलीको प्रस्तावलाई कसरी लिने भन्ने बारेमा नै उहाँहरुको छलफल केन्द्रीत रहेको बताइएको छ ।

उहाँहरुले आजै पार्टीका अन्य शिर्ष नेताहरुसँग पनि छलफल गरेर प्रस्तावलाई ग्रहण गर्ने की नगर्ने भन्ने बारेमा निर्णय लिने र आफुहरुको तर्फबाट राख्ने प्रस्तावको तयारी पनि गर्नुहुने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको प्रस्तावका बारेमा प्रचण्ड, नेपाल, गौतम लगायतका नेताहरुले अहिलेसम्म सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिनु भएको छैन भने गौतमले सकारात्मक रुपमा लिएको समाचार आएको छ ।

आम नागरिक र पार्टीकै अधिकांश नेता कार्यकर्ताहरुले भने ओलीको प्रस्ताव गलत भएको भन्दै आलोचना गरेका छन् ।

अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताको प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

राजनीति


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका प्रयास भइरहेको बताएका छन् । शुक्रबार १ सय ३१ औं अन्तराष्ट्रिय मे दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुप्रति आक्रोश पोखेका हुन् । उनले केही सञ्चारममाध्यमहरुले स्थिरता, स्थायित्व र विकासकाविरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिकासमाचार सम्प्रेषण र चर्चा भइरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । 

‘एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्का्तिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो । आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन’, प्रधानमन्त्री ओलीले भनेका छन् । उनले  त्यस्ता प्रयासलाई सफल हुन नदिने पनि जनाएका छन् ।

त्यस्तै उनले श्रम बिनाको पूँजी र प्रविधि अर्थहीन हुने आजको यथार्थले स्पष्ट पारेको भन्दै कोरोना भाइरसको महामारीका कारण हाम्रो श्रमको संसार लकडाउनमा रहेकोे बताएका छन् ।

‘विश्वभरिका कोरोना प्रभावित २१० मुलुकमा जस्तै हाम्रो देशको पनि उत्पादन प्रणालीको कडी टुटेको छ । हाम्रा सिर्जनशील हातहरु यतिखेर लकडाउनमा छन् । हाम्रो श्रमको प्रतिक्षामा रहेका उत्पादनका साधनहरु पनि लकडाउनमा छन्,’ ओलीले शुभकामना सन्देशमा भनेका छन् ।

अहिलेको लकडाउन विश्वव्यापी भन्दै उनले यो बाध्यकारी अवस्थालाई स्वीकार्नु हाम्रो पनि बाध्यता रहेको ओलीको भनाई छ । ‘यसले निर्माण, रोजगारी र उत्पादनमा पारेको प्रतिकूल प्रभावको अवस्थाले श्रमजीवी वर्गको बुझाइजस्तै श्रम र उत्पादनको सम्बन्ध एवम् त्यसको महत्त्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको छ । श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो । श्रम बिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ भन्ने आजको यथार्थले स्पष्ट पारेको छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति प्रधानमन्त्रीले आफु अत्यन्तै दुःखी भएको जनाएका छन् । उनले एक दशकको हिंसात्मक द्वन्द्वका कारण गाउँको रोजगारी खोसिँदा शहररबजार पसेका, तर शहर र बजारले रोजगारी दिन नसक्दा परदेश भासिएका लाखौँ नेपाली युवा श्रमिकहरु विभिन्न मुलुकमा विदेशिनुपर्ने विभिन्न बाध्यकारी परिस्थिति तथा प्रवृत्ति रहेको प्रधानमन्त्री ओलीले जनाएका छन् ।

अहिले कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेको भन्दै उनले यसबाट सिर्जना भएको पीडाप्रति जानकार तथा संवेदनशील रहेको भन्दै प्रधानमन्त्री ओलीले यस अप्ठ्यारो घडीमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक ऐक्यबद्धता जाहेर गरेका छन् ।

प्रधानमन्त्रीले मे दिवसको संघारमा कोरोना महामारीका बिरुद्धको युद्धमा होमिनुपरेको भन्दै तत्कालको लागि सरकारको प्रयास यस महामारीले सिर्जना गरेको समस्या सामना गर्नेतर्फ केन्द्रित रहेको पनि जनाएका छन् ।

बितेका १ सय ३१ बर्षदेखि औपचारिक रुपमा, मे १ का दिन, संसारभरिका श्रमिकहरुले अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस मनाउँदै आएका छन् । यो दिन, काम गर्नेमाथि काम लगाउनेहरुबाट भएको ज्यादतिलाई अन्त्य गर्न ट्रेड युनियनहरूले शुरु गरेको आन्दोलनको स्मरणमा मनाउन थालिएको हो । श्रमिकहरुको ‘काम, मनोञ्जन र आराम’ बीच सन्तुलन कायम गर्ने माग स्थापित गरिएको दिनका रुपमा यस दिवसलाई स्मरण गर्ने गरिन्छ । नेपालको श्रम आन्दोलनले यस दिवसलाई श्रमिकहरुको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनको लागि भएका सबै आन्दोलनहरुको स्मरणमा मनाउँदै आएको छ ।

पछिल्ला केही बर्ष यता, हामीले यस दिवसलाई नेपाली श्रमिकहरुको ‘एकता र उपलब्धि’को उत्सवका रुपमा पनि मनाउँदै अएका छन् । हरेक वर्ष ‘श्रमको संसार’मा भएका उपलब्धिहरुको चर्चा गर्ने र गर्न बाँकी कामहरुलाई पूरा गर्ने अठोट गर्ने दिनका रुपमा पनि मे १ लाई लिंदै आइएको छ । तर यस वर्षको मे दिवसलाई भने संसारका मजदुर वर्गले घरभित्रै बसेर मनाउनुपरेको छ ।