कता जाँदै छ समाज

PNA


|
|


काठमाडौँ — भाद्र ७, २०७७। 

काठमाडौं बानेश्वरको मिलन चोकस्थित लर्ड बुद्ध बोइज एन्ड गल्र्स होस्टलमा बस्ने सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई निकाल्न दबाब दिँदै स्थानीयवासीले शनिबार दुर्व्यवहार गरे। उनीहरूले डेढ घण्टा होस्टल घेराउ गर्दै सञ्चालक रोहित रानालाई हातखुट्टा भाँच्नेसम्म चेतावनी दिए। बानेश्वर वृत्तबाट प्रहरी टोली आएपछि उनीहरू पछि हटे।

रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। विश्वबन्धु बगालेलाई कोरोना संक्रमण भयो। जनप्रतिनिधिसहित छिमेकीले उनलाई ढाडस दिनुपथ्र्यो। तर संक्रमितको घर भन्दै ब्यानर टाँग्न प्रयत्न गरे। विराटनगरका डा। ज्ञानेन्द्रमान सिंह कार्कीमा कोरोना संक्रमण पुष्टिपछि परिवारका सदस्यलाई हाउजिङमा बस्न असहज भयो। हाउजिङमा बस्ने अन्यले अवरोध गर्न खोजे।

सुनसरीको इटहरी–५ का २७ वर्षीय युवकलाई अस्पतालबाट डिस्चार्जपछि घर जाँदा छिमेकीले बस्न दिएनन्। उनी भन्छन्, ‘रोगले भन्दा समाजले मार्ने रहेछ।’ नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचारमा तल्लीन चिकित्सक दुर्व्यवहारमा परे। उनीहरूविरुद्ध नारा नै घन्कियो। चितवनकी एक नर्समा कोरोना संक्रमण पुष्टिपछि उनको परिवारलाई छिमेकीले तनाव दिए। घरवरिपरि डोरी टाँग्न वा पोस्टर टाँस्न दबाब दिए।

भावनात्मक दूरी निकट राखौं

कोरोना संक्रमण वृद्धिसँगै एकअर्काबीच भावनात्मक सम्बन्धमा दूरी बढेको छ। मिलिजुली बसेको नेपाली समाजको प्रवृत्ति कोरोनाले फेरिदिएको छ। भौतिकसँगै भावनात्मक दूरी बढाइएको छ। संक्रमितप्रति सद्भाव राख्नुपर्नेमा उल्टै दुर्व्यवहार गर्ने प्रवृत्ति बढ्दो छ।

मानवशास्त्री सुरेश ढकाल महामारीका बेला व्यक्तिले गर्ने व्यवहार पनि फरक हुने बताउँछन्। ‘सामाजिक दूरी कायम गरौं भन्ने सन्देश नै विभेदकारी हो। सामाजिक दूरी कायम गर्ने सन्देशले समाजमा घृणाको बीउ रोप्ने काम गर्‍यो’, उनी भन्छन्, ‘कोरोनाका बारेमा पर्याप्त र सही सूचना समाजको तल्लो वर्गसम्म नपुगेकाले पनि फरक व्यवहार देखिएको हुन सक्छ।’ अन्नपुर्ण पोस्टबाट

Related Post