entertainment
||Power News Asia||

आजको समाचार

कलाकारसहित ५० जनालाई सम्मान

मनोरञ्जन


काठमाण्डौ– कलाकारिताको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले एकैपटक कलाकारसहित ५० जनालाई सम्मान गरिएको छ । वरिष्ठ कलाकारलाई नगदसहित साधना सममान प्रदान गरिएको छ । एभर ग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टले १४ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा कर्म अनुसार आआफ्नो पहिचान, विभिन्न विद्याका व्यक्तित्वहरूलाई सम्मान भन्ने नारासहित एकैपटक कलाकारसहित राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रममा चलचित्र, स्वास्थ्य, व्यवसाय, सौन्दर्य पर्यटन, पत्रकारिता, गीत, संगीत साथै विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाएका ५० जना व्यक्तित्वहरुलाई दशक सम्मान, विशेष सम्मान र प्रोत्साहन सम्मानद्वारा सम्मानित गरिएको हो ।

यसै बर्षदेखि सुुरु गरिएको दीर्घ साधना सम्मानसहित पुरस्कार विशिष्ट चलचित्रकर्मी शिवहरी नेपाल (बैरागी) लाई प्रदान गरिएको छ । वैरागीलाई आयोजकले लामो समयदेखि निरन्तर कलाकारितामा सक्रिय भएको कदर गर्दै नगद ३३ हजार तीनसय ३३ रुपैयाँ नगद राशीसहित दीर्घ साधना सम्मान प्रदान गरेको हो । विभिन्न विद्याका व्यक्तित्वहरुलाई सम्मानका साथै नेपालीकला, मौलिक संस्किृतिको जगेर्ना गर्ने उद्देश्यले उक्त कार्यक्रममा सन्चालन गरिएको एभर ग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टका अध्यक्ष गोपाल ढकाल छन्देले वताए । कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशेष अतिथिहरु प्रथम नेपाली नायिका भुवन चन्द, चैत्यदेवी सिंह, हास्य कलाकार बसुन्धरा भुसाल, नायक कृष्ण मल्ल, रवीन्द्र खड्का, मोहन निरौला, राजु शाह, कलाकार संघका अध्यक्ष उत्तम केसी, अभिनेत्री मिथिला शर्मा, नारायण प्रधान, गोपालकाजी कायस्थ, निर्मलराज पौडेललगायतले सम्मान गरेका हुन् ।

कार्यक्रममा सम्मानित भएकाहरुमा विशिष्ट चलचित्रकर्मी सुभाषप्रसाद गजुरेल, श्याम राई, चलचित्रकर्मी नरेन्द्र थापा, चलचित्रकर्मी आरपी पन्त, चलचित्रकर्मी कमलकान्त मैनाली, चलचित्रकर्मी सुशील पोखरेल, चलचित्रकमी एनबी महर्जन, चलचित्रकर्मी कृष्णप्रसाद ढुङ्गाना, चलचित्रकर्मी विजय देउजा, चलचित्रकर्मी मुकुन्द थापा, विश्व साइकलयात्री तथा विश्व शान्तिका अभियन्ता पुष्कर शाह, सञ्चारकर्मी, उद्घोषिका कल्याणी रिमाल, वरिष्ठ नेत्ररोग विशेषज्ञ, शिक्षाविद् तथा अनुसन्धानकर्ता प्रा.डा.मिनु चौधरीलगायत रहेका छन् । यसैगरी, नायक धिरेन शाक्य, चलचित्रकर्मी, व्यवसायी किशोर घिमिरे, चलचित्रकर्मी उमेश खड्का, चलचित्रकर्मी बद्रीप्रसाद पुडासैनी, नृत्य–थेरापीका प्रशिक्षक चरण प्रधान, साहित्यकार राधा पराजुली भण्डारी, होटल सञ्चालन निर्देशक दीपेन्द्र सिंह, शिक्षासेवी तथा समाजसेवी छवि घिमिरे, शिक्षाविद् तथा शैक्षिक नेतृत्वकर्ता रमिला सुबेदी, पत्रकार तथा गीतकार शान्तिप्रिय, चलचित्रकमी राजेन्द्र केसी राजु, पत्रकार श्याम स्मृतलगायत रहेका छन् ।

सम्मानित भएका अन्यहरुमा सम्पादक बनिश शाह, शैक्षिक व्यक्तित्व बैकुण्ठ पाठक, चलचित्रकर्मी राजु शाही, समाजसेवी विश्वराम माकजु, कृषि अभियन्ता हेमकान्त पराजुली, चलचित्रकर्मी शिवशंकरप्रसाद रिजाल जोगिन्दर, गायक तथा संगीतकार तिलकध्वज कट्टेल, अडियो/भिडियो निर्देशक तथा क्रिएटिभ सञ्चारकर्मी मनिषराज पौडेल, नायिका तथा मोडल प्रेरणा शर्मा, समाजसेवी उद्धबप्रसाद पाण्डे, गायक गणेश थापा, अभिनेता, मोडल तथा निर्देशक शिबन पोखरेल, अटो व्यवसायी तथा समाजसेवी रोशनकुमार श्रेष्ठ, छायाँकार, सम्पादक तथा कलाकार अमृत सागरलगायत रहेका छन् ।, यस्तै नाटयकर्मी, चलचित्रकर्मी जेबी डिसी, नायिका तथा मोडल मोनिका दाहाल, भिजुअल इफेक्ट्सकर्ता अच्युत बजगाई, चलचित्र निर्देशक, लेखक तथा सञ्चारकर्मी जनक खड्का, कलाकार तथा निर्देशक इन्द्रबहादुर लामातामाङ खम्बे , कलाकार लेखक तथा निर्देशक विनयराज पौडेल, निर्देशक देवेन्द्र पाण्डे, कलाकार चन्द्रकला राई लब्ली, नायिका तथा मोडल सबिना कार्की, समाजसेवी तथा महिला सशक्तीकरण अभियन्ता दिलमाया तामाङ राना रहेका छन् ।

कार्यक्रममा नौमती बाजा समूह बालाजुले संगीतिक रौनकता थपेको थियो भने गायक तथा संगीतकार कृष्ण भट्टराईको गायनमा सम्पूर्ण दर्शकहरु रमाएका थिए  ।चुडामणि फुयालको कोरियोग्राफी रहेको एनके डान्स एन्ड फिल्म प्रोडक्सन साथै महान सिद्धार्थ हाइस्कुलका विद्यार्थीहरुको आर्षक प्रस्तुति सवैले रुचाएका थिए । उक्त कार्यक्रमको आयोजक समूहमा विशिष्ट चलचित्रकर्मी, सल्लाहकार रविन्द्र खड्का, नायक तथा मोडल श्रीदेव भट्टराई, सञ्चारकर्मी सोनितराज ढुंगेल, समाजसेवी राजन थापा, कलाकार तथा निर्देशक जीवन थापा, छायाँकार हर्कमान वाइबा रिदम, स्वास्थ्यकर्मी सिकृता वस्ती, गीतकार तथा लेखक भानुभक्त ढकाल रहेका थिए । बिशेष सहयोगी नायिका तथा मोडल तेजुला खतिवडा, कलाकार सुनील कटुवाल, नन्दकेशर ढकाल, राजु हिमाशिव, सनराईज धनुके, सुमन थापा, पशुपति सिंहकुँवरलगायत विभिन्न सहयोगी संघसंस्था, व्यक्तिहरुलाई कदरपत्र, मायाको चिनो प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमलाई सन्चारकर्मी, गायक तथा संगीतकार सरोज कोइरालाले संचालन गरेका थिए । आगामी समयमा अझै परिस्कृत रुपमा भव्य कार्यक्रम आयोजना गर्ने आयोजक संस्थाका अध्यक्ष तथा हाँस्यकलाकार गोपाल ढकाल छन्दे ले बताए ।
 

ऋणको पीडाको यथार्थ बोकेको ‘ऋणै ऋणमा डुबे आमा’ गीत चर्चामा

मनोरञ्जन


काठमाडौं - पछिल्लो समय ‘ऋणै ऋणमा डुबे आमा’ बोलको गीत सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा व्यापक रूपमा चर्चामा रहेको छ। नेपाली समाजमा बढ्दो आर्थिक संकट, ऋणको बोझ र त्यसले निम्त्याएको पारिवारिक तथा मानसिक पीडालाई मार्मिक रूपमा प्रस्तुत गरिएको यो गीतले छोटो समयमै दर्शक तथा श्रोताको ध्यान तान्न सफल भएको हो।

गीतका शब्द दीपेन्द्र कुमार थापाले लेखेका हुन् भने संगीत अर्जुन पोखरेलले तयार पारेका छन्। गायक थानेश्वर गौतमको सशक्त स्वर रहेको गीतले ऋणको भारले थिचिएका सर्वसाधारणको दैनिकी, साहुको ऋण तिर्न नसक्दाको विवशता र जीवनसंघर्षलाई यथार्थपरक ढंगले चित्रण गरेको छ।

यही विषयवस्तुकै कारण धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले गीतलाई आफ्नो जीवनसँग जोड्दै प्रतिक्रिया जनाइरहेका छन्। टिकटकलगायत विभिन्न डिजिटल प्लेटफर्ममा गीतका अंश प्रयोग गरी भिडियो बनाउने क्रम पनि बढ्दो छ।

द डिभाइन म्युजिकमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा हिउँवाला गौतम, आस्मा पाण्डे र रमेश विश्वकर्माको अभिनय रहेको छ। भिडियोको निर्देशन माधव शर्माले गरेका हुन्।

समसामयिक सामाजिक यथार्थलाई संगीतमार्फत प्रस्तुत गर्ने प्रयासस्वरूप आएको ‘ऋणै ऋणमा डुबे आमा’ले आम नागरिकले भोगिरहेका आर्थिक समस्यालाई प्रभावकारी रूपमा उजागर गरेको भन्दै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

महाकाव्यकार दाहालको गीति एल्बम ‘जागृति’ लोकार्पण

मनोरञ्जन


काठमाडौं - महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ मिलापको आयोजनामा काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यबाट साभार गरिएका गीतहरू समेटिएको एल्बम साहित्य, संगीत र संस्कृतिको सुन्दर संगमका रूपमा प्रस्तुत गरिएको हो । चलचित्र निर्देशक माधवराज खरेलको सहजीकरणमा सम्पन्न कार्यक्रमको सभापतित्व मिलापका प्रधान सम्पादक कृष्ण भुसालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा शिक्षाविद् डा. यज्ञेश्वर निरौला उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रमको प्रारम्भमा गायक रमेश पाठकले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यिक सिर्जनालाई संगीतमार्फत नयाँ पुस्तासम्म पु¥याउने अभियानमा ‘जागृति’ महत्त्वपूर्ण कोशेढुंगा बन्ने विश्वास व्यक्त गर्नुभयोे । समारोहमा एल्बममा समावेश पाँच गीत क्रमशः ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ सार्वजनिक गरिएको थियो । यीमध्ये ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’मा कीर्तिमानी संगीतकार तथा गायक श्रेष्ठको स्वर रहेको छ भने ‘बित्छ बिहान आमाको’मा ज्ञानु राणा तथा ‘गाउँछौ अब लौ आमाका गीत’मा रमेश पाठकको स्वर सुन्न सकिन्छ । सबै गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । कार्यक्रममा उपस्थित अतिथिहरूले सबै गीतको श्रव्य-दृश्य प्रस्तुति अवलोकन गरेका थिए ।

शुभकामना मन्तव्यका क्रममा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, साहित्यकार राधेश्याम लेकाली लगायतलले दाहालका काव्य सिर्जनाले राष्ट्र, समाज, मानवता र सांस्कृतिक चेतनालाई मुखरित गरेको उल्लेख गर्दै संगीतमार्फत ती कृतिले अझ व्यापक पहुँच बनाउने विश्वास व्यक्त गर्नुभयो ।

संगीतकार सन्तोष श्रेष्ठले काव्यमा भएका श्लोकहरूलाई गीतका रुपमा प्रस्तुत गर्ने कठिन काम भएको बताउँदै सकेसम छन्द भंग नगरिकन प्रस्तुत गरिएको बताउनुभयो । स्रष्टा खेमनाथ दाहाल आफ्ना काव्यमा रहेका सिर्जनलाई गीतका रुपमा आएकोमा खुशी व्यक्त गर्दै सम्बन्धित सबैलाई धन्यवाद दिनुभएको थियो ।

प्रमुख अतिथि डा. यज्ञेश्वर निरौलाले साहित्य र संगीत एक-अर्काका परिपूरक विधा भएको उल्लेख गर्दै महाकाव्यका भाव, दर्शन र जीवनदृष्टिलाई गीतमार्फत जनमानससम्म पुर्‍याउने प्रयासको प्रशंसा गर्नुभयो । उहाँले नेपाली भाषा, साहित्य र मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा यस्ता सिर्जनात्मक अभियानले महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो ।

सोही अवसरमा साहित्यकार डा। विलोल पोखरेललाई साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप मिलापले तयार पारेको वर्ष १७ अङ्क १ को ‘मिलाप कभर सम्मान’ प्रदान गरिएको थियो । सम्मानपछि उहाँले आफ्ना भनाइ राख्दै सिर्जनाको सम्मान भनेको समग्र साहित्यिक समुदायको सम्मान भएको बताउनुभयो । सो अवसरमा उहाँले एक कविता पनि वाचन गर्नुभएको थियो ।

समारोहको अन्त्यमा सभापति कृष्ण भुसालले साहित्य र संगीतको सहकार्यले नेपाली सिर्जनशीलताको नयाँ आयाम निर्माण गरिरहेको उल्लेख गर्दै ‘जागृति’ले नेपाली काव्य र संगीतप्रेमीमाझ दीर्घकालसम्म सकारात्मक प्रभाव छाड्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिन सबै साहित्यप्रेमी, कलाकार र सांस्कृतिक संस्थाहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो ।

समारोहमा उषा दाहाल, वरिष्ठ साहित्यकार लेखनाथ पोखरेल, मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, संगीत सम्पादक प्रकाश मिश्र, भिडियो छायाँकार तथा सम्पादक राजन खरेल, साहित्यकार शैलेन्द्र चापागाईं, कलाकार शीला गजुरेल, गायक गणेश पराजुली तथा पत्रकार स्वस्तिका पन्थी, राजेन्द्र दाहाल, दीपा दाहाललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

गुरु–शिष्य परम्पराको संरक्षण र प्रवर्द्धनमा परिवर्तन नेपालको जोड

मनोरञ्जन


काठमाडौं। नेपाली समाजको मौलिक संस्कार, गुरु–शिष्य परम्परा तथा नैतिक मूल्यहरूको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ सामाजिक संस्था परिवर्तन नेपाल ले गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंमा विशेष भेटघाट तथा जलपान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कला, साहित्य, चलचित्र तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वहरूको उल्लेखनीय सहभागिताले गुरु–शिष्य सम्बन्धको गरिमा र यसको समकालीन सान्दर्भिकतामाथि गम्भीर विमर्श भएको थियो।

काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्ट मा आयोजित कार्यक्रमको अध्यक्षता परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला ले गरेका थिए। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ चलचित्रकर्मी मदनदास श्रेष्ठ, कृष्ण मल्ल, लय संग्रौला, सुवास गजुरेल, सपना श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, सरोज वली, जे.बी. रुवाली, आशान्त शर्मा लगायत चलचित्र, कला र साहित्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो। साथै विभिन्न पेशा, क्षेत्र र सामाजिक अभियानसँग आबद्ध बुद्धिजीवी, समाजसेवी तथा शुभेच्छुकहरूको उपस्थिति पनि उल्लेखनीय रहेको थियो।

कार्यक्रमको सहजीकरण परिवर्तन नेपालका मानार्थ सदस्य तथा चलचित्र निर्देशक माधवराज खरेल ले गरेका थिए। उनले गुरु पूर्णिमाको ऐतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक महत्वमाथि प्रकाश पार्दै नेपाली समाजको सभ्यता, संस्कार, ज्ञान र नैतिक मूल्यको विकासमा गुरु–शिष्य सम्बन्धले निर्वाह गरेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले आधुनिक समाजमा सूचना र प्रविधिको तीव्र विकास भए पनि जीवनलाई सही दिशा दिने प्रेरणा, अनुशासन र मूल्यबोध गुरुबाट नै प्राप्त हुने भएकाले गुरु परम्परालाई सम्मान र संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे।

परिवर्तन नेपालका उपाध्यक्ष तथा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ ले स्वागत मन्तव्य राख्दै गुरु परम्परा केवल धार्मिक वा सांस्कृतिक अभ्यासमा सीमित नभई समाजलाई सही मार्गदर्शन गर्ने जीवनदर्शन भएको बताए। उनले गुरु–शिष्य सम्बन्धमार्फत ज्ञान, अनुशासन, संस्कार, नैतिकता र जिम्मेवारीको हस्तान्तरण हुँदै आएको उल्लेख गर्दै नयाँ पुस्ताले आधुनिक शिक्षासँगै जीवन मूल्य सिकाउने यस परम्परालाई आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए।उनले वैदिक परम्पराअनुसार वेदव्यास ऋषि र गुरु गोरखनाथलाई प्रथम गुरुका रूपमा सम्मान गर्ने परम्परा रहेको जानकारी गराए।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ब्यास ऋषिलाई पहिलो गुरु मानिएको बताउँदै चार वेदसँग सम्बन्धित नीति नियम र अनुशासनका बारेमा प्रष्ट पारेका थिए । उनले गुरुपूर्णिमा मनाउँदै गर्दा माता पिता र गुरुदेव प्रतिको समर्पण, अनुशासन पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै समय अनुसार परिवर्तन भए पनि गुरुप्रतिको आस्था भने परिवर्तन नहुने जिकिर गरे।

कार्यक्रममा प्रतिष्ठित कलाकार तथा अभिनेता कृष्ण मल्लले परिवर्तन नेपालले निरन्तर गुरुपूर्णिमाको अवसरमा गर्दै आएको यो कार्यक्रमले शिष्य र गुरुप्रतिको अनुशासनलाई मजबुत बनाउने बताएका थिए । उहाँले पछिल्लो समयको चलचित्र उद्योगमा देखिएको गतिविधिलाई सुधार्नुपर्ने बताउँदै छोटो समयमा सफलता हात पार्दैमा माता पिता र गुरुले दिएको योगदान भुल्न नहुने बताए ।

त्यस्तै प्रतिष्ठित कलाकार तथा निर्देशक लय संग्रौलाले घरको गुरु माता, हात डो¥याएर बाटो देखाउने बुबा र शिक्षा दिने गुरु महत्वपूर्ण हुन् । आफूले चलचित्र उद्योगमा धेरै चेला जन्माए पनि आज को कहाँ छ र कुन देशमा छ भन्नु परेको छ । तर जो जहाँ भए पनि गुरु र शिष्यको एकआपसको सद्भाव कायम होस् र इतिहास बिर्सन नहुने बताउका थिए।

त्यसैगरी प्रतिष्ठित कलाकार मदनदास श्रेष्ठले परिवर्तन नेपालले निरन्तर रुपमा गुरुपूर्णिमाको कार्यक्रम गर्दै आएकोमा धन्यवाद ज्ञापन गरेका थिए । उनले कलाक्षेत्रमा गुरुकुलको अभ्यास निरन्तर छ भन्ने कुरा परिवर्तन नेपालले देखाएको बताउँदै गुरुपूर्णिमा लाई फरक फरक तरिकाले अभिव्यक्त गरेर पनि सबैभन्दा पहिले त अनुशासन, नीति नियमभित्र रहेर शिक्षा लिनु र शिक्षा लिएअनुसार आफ्नो निरन्तर कर्म गर्दै गुरुउपदेशलाई पालना गर्नु भएको बताए।

Photo by Suman baigari कार्यक्रममा कवि तथा गीतकार नारायण रायमाझी ले गुरु–चेलाबीचको आत्मीय सम्बन्ध, श्रद्धा, समर्पण र ज्ञानको महत्वलाई केन्द्रमा राखेर भावपूर्ण कविता वाचन गरेका थिए। उनको कविताले उपस्थित सहभागीहरूलाई भावुक बनाउनुका साथै गुरु प्रतिको सम्मान, कृतज्ञता र जीवनमा गुरुको अपरिहार्य भूमिकालाई अझ गहिरो रूपमा अनुभूति गराएको थियो।

कार्यक्रमको समापन गर्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला ले संस्थाले नेपाली मौलिक संस्कार, सामाजिक मूल्य, राष्ट्रिय पहिचान तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि निरन्तर रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले गुरु–शिष्य सम्बन्धलाई अझ सुदृढ बनाउने, युवा पुस्तामा अनुशासन, संस्कार, नैतिकता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने तथा समाजमा सकारात्मक सोच र सांस्कृतिक चेतना फैलाउने उद्देश्यका साथ आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक रूपमा निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

गुरु पूर्णिमाको अवसरमा आयोजित उक्त कार्यक्रमले गुरुप्रतिको सम्मान, ज्ञानको महत्त्व र गुरु–शिष्य सम्बन्धको गरिमालाई पुनः स्मरण गराउँदै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्। कार्यक्रमले परम्परा, संस्कार, नैतिक मूल्य र सामाजिक उत्तरदायित्वको संरक्षणमा राज्य, समाज र प्रत्येक नागरिकको साझा भूमिका आवश्यक रहेको सन्देश पनि दिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले पुस्तान्तरण हुँदै आएको गुरु–शिष्य परम्परालाई थप जीवन्त बनाउने विश्वास व्यक्त गरेका थिए।

देविका बन्दनाको “रातो सारी झल्कियो बरिलै” सार्वजनिक 

मनोरञ्जन


काठमाडौं – नेपाली महिलाहरुको महानपर्व तीजको आगमनसँगै नेपाली सांगीतिक बजारमा नयाँ तीज गीत सार्वजनिक हुने क्रम जारी छ । यसैबीच मौलिक तीज संस्कृतिलाई आधुनिक प्रस्तुतीसँग जोड्ने प्रयासस्वरूप वरिष्ठ गायिका देविका बन्दनाले  ‘रातो सारी झल्कियो बरिलै’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेकी छन् ।

गीतमा गायिकाहरू देविका बन्दनाका साथमा लोकदोहोरी गायिका शान्तिश्री परियार र एलिना चौहानको स्वर रहेको छ । तीजको मौलिक लय, नेपाली महिलाको उत्साह र पर्वको सांस्कृतिक पक्षलाई समेट्ने गरी गीतकार उषा शेरचनले गीतको शब्द रचना गरेकी हुन् भने नरहरि प्रेमी उपाध्यायले संगीत गरेका छन् । राकेश सोनीको संगीत संयोजन रहेको उक्त गीत अकुस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्रले गरेका हुन् ।

प्रस्तुत गीतको भिडियोमा  वरिष्ठ कलाकार एवम् चलचित्र कल्याणकारी कोषको अध्यक्ष बसुन्धरा भुसाल, प्रथम नेपाली रंगीन चलचित्र कुमारीको नायिका चैत्य देवी, लोकप्रिय ट्याटु आर्टिस्ट तथा कलाकार सुनिता कुँवरको अभिनय रहेको छ भने गायिका मञ्जु पौडेल, अनिता यादव लगायतका कलाकारहरुको अभिनय तथा नृत्यले भिडियोलाई थप आर्षक बनाएको छ । भिडियोले तीज पर्वमा नेपाली महिलाबीच देखिने आत्मीयता, सांस्कृतिक पहिचान र उत्सवको रौनकलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।

उक्त भिडियोको निर्देशन तथा कोरियोग्राफी सृष्टि घिमिरेले गरेकी हुन् भने भिडियोको छायांकन देवराज आचार्यले गरेका हुन् भने सम्पादन, कलर ग्रेडिङ तथा ग्राफिक्स मनोज कार्कीले गरेका छन् । मेकअप टेकराज पाण्डेको रहेको छ ।

तीज पर्वलाई लक्षित गरी तयार पारिएको यस गीतमा शब्द, संगीत, गायन र दृश्य प्रस्तुतिबीच सन्तुलन कायम गर्ने प्रयास देखिन्छ । लोकलयमा आधारित प्रस्तुतिका कारण गीतले तीजका अवसरमा दर्शक–श्रोतामाझ राम्रो स्थान बनाउन सक्ने अपेक्षा गरिएको छ ।

पछिल्ला वर्षहरूमा तीज गीतमा मौलिकताको बहस भइरहेका बेला  ‘रातो सारी झल्कियो बरिलै’ ले नेपाली संस्कृति, परम्परा र उत्सवको भावलाई केन्द्रमा राख्दै तीजको मौलिक स्वादलाई पुनः स्मरण गराउने प्रयास गरेको निर्माण पक्षको विश्वास छ ।
 

सात महिनाको मेहनतपछि सार्वजनिक भयो लिम्बू गीत ‘युप्पारुङ्’को म्युजिक भिडियो

मनोरञ्जन


काठमाडौं - लामो समयको प्रतिक्षापछि बहुप्रतीक्षित लिम्बू गीत ‘युप्पारुङ्’ को म्युजिक भिडियो जेपिजे इन्टरटेन्ट्मेन्टको युट्युब च्यानलमार्फत वर्ल्ड प्रिमियरसहित सार्वजनिक गरिएको छ।

हाल अमेरिकामा बसोबास गर्दै आएका निर्देशक किशोर सुब्बाको परिकल्पना, निर्माण तथा निर्देशनमा तयार भएको यस म्युजिक भिडियोको सम्पूर्ण छायांकन अमेरिकाको न्युयोर्क आसपासका विभिन्न रमणीय स्थानमा गरिएको हो। निर्माण पक्षका अनुसार भिडियोको छायांकन सम्पन्न गर्न करिब सात महिना लागेको थियो।

निर्देशक सुब्बाले भिडियोमा हिउँद, वर्षा र गर्मी गरी तीनै मौसम, गाउँ–सहरको परिवेश तथा विभिन्न चाडपर्वलाई समेट्ने उद्देश्यले लामो समय लगाएर छायांकन गरिएको जानकारी दिएका छन्। करिब १० लाख नेपाली रुपैयाँको लागतमा निर्माण भएको यो भिडियो अमेरिकामा उनले निर्देशन गरेको सातौं म्युजिक भिडियो पनि हो।

गीतमा बिवस वेनामको शब्द, मनि ताम्लिङको संगीत रहेको छ। संगीत संयोजन (एरेन्ज), मिक्सिङ, मास्टरिङ तथा रेकर्डिङको जिम्मेवारी पनि मनि ताम्लिङले नै सम्हालेका छन्। गीतमा सुनिता थेगिममनि ताम्लिङको स्वर रहेको छ।

म्युजिक भिडियोको कोरियोग्राफी चर्चित नृत्य निर्देशक गोबिन्द राईले गरेका हुन् भने छायांकन सम्राट कार्कीसुनिल मगरले गरेका छन्। भिडियोको रंग संयोजन (कलर ग्रेडिङ) राजेन्द्र मोक्तानले गरेका छन् भने सम्पादन मन्दिल श्रेष्ठले गरेका हुन्।  भिडियोमा चर्चित मोडल तथा अभिनेत्री रन्जिता गुरुङसुमन लिम्बूको अभिनय रहेको छ।

यस म्युजिक भिडियो निर्माणमा किरात याक्थुङ चुम्लुङ अमेरिका, किरात माङ्हिम न्युयोर्क, परण लिम्बू (न्युयोर्क) तथा धनुका लिम्बू (न्युयोर्क) लगायतले विशेष सहयोग गरेका छन्।

निर्देशक किशोर सुब्बाले दर्शक तथा श्रोताहरूलाई गीत हेरेर आफ्नो प्रतिक्रिया दिन आग्रह गर्दै ‘युप्पारुङ्’ ले सबैको मन जित्ने विश्वास व्यक्त गरेका छन्।

हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सिक्किममा भव्य रूपमा सम्पन्न

मनोरञ्जन


सिक्किम (भारत), नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ को छैटौं संस्करण भारतको सिक्किमस्थित पर्यटकीय नगर राभाङ्लामा भव्य रूपमा सम्पन्न भएको छ।

‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित सम्पन्न समारोहमा नेपाल, सिक्किम तथा भारतका विभिन्न स्थानबाट साहित्यकार, कलाकार, संगीतकर्मी, सञ्चारकर्मी, समाजसेवी र सांस्कृतिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सिक्किम वेभ्स मिडिया र सिक्किम अनलाइन न्यूज मिडियाको सहकार्यमा आयोजित कार्यक्रममा सिक्किमका माननीय विधायक रिक्साल दोर्जे भुटिया प्रमुख संरक्षकका रूपमा सहभागी हुनुभएको थियो। समारोहसँगै आयोजित सांगीतिक कार्यक्रममा नेपाली संगीतका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए।

समारोहको मुख्य आकर्षणका रूपमा नेपाली भाषा, साहित्य र समाजमा दीर्घकालीन योगदान पुर्‍याएका नेपालका वरिष्ठ साहित्यकार अमर वान्तु तथा सिक्किमका साहित्यकार हरि ढुंगेललाई ‘हिमालयन इन्टरनेशनल अवार्ड–२०२६’ अन्तर्गत ‘दीर्घसाधना सम्मान’ प्रदान गरिएको थियो।

यस वर्ष गीत, संगीत, साहित्य, अभिनय, मोडलिङ, समाजसेवा तथा सञ्चारलगायत विभिन्न विधामा उत्कृष्ट योगदानका आधारमा दर्जनौं स्रष्टा तथा कलाकार सम्मानित भएका छन्। नवगीत, आधुनिक गीत, लोक–पप, युगल गायन, निर्देशन, गीतकार, संगीतकार, मोडलिङ, कोरियोग्राफी, सम्पादन र राइजिङ स्टारसहितका विभिन्न विधामा अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

अवार्ड समारोहसँगै आयोजित सांगीतिक कार्यक्रममा तारावीर पाण्डे, अशोक दर्जी, शंकर थापा ‘स्माइल’, सारिका घिमिरे, षड्ज सम्बाहाम्फे, सुमन बी.टी., प्रकाशजंग कार्की, सुन्दर राई, विनोद दनुवार, रमेश पाठक, पवित्रा गुरुङ र अनिश योञ्जनलगायतका कलाकारहरूले आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए। नृत्यतर्फ पवित्रा आचार्य, शिला गजुरेलसहितका कलाकारहरूको सांस्कृतिक प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो।

समारोहमा साहित्यकार अमर वान्तुडा. विलोल पोखरेलले कविता वाचन गर्दै नेपाली साहित्यको समकालीन प्रवृत्ति र सिर्जनात्मक यात्राबारे आफ्ना रचना प्रस्तुत गरेका थिए।

यस अवसरमा साहित्यकार अमर बानियाँ ‘लोहोरो’, अभिनेत्री सृजना कार्की, चित्रकार टिकामाया गुरुङ, गायक अशोक दर्जी, बालगायक रिहान सुब्बा, सञ्चारकर्मी अक्कल कुँवर, स्वस्तिका पन्थी, निर्माता डेनिभ पुन, चलचित्र निर्माता केवल तामाङ, मोडल शिला गजुरेल, गायक सुन्दर राईलगायत नेपाल र सिक्किमका विभिन्न क्षेत्रका स्रष्टा, सञ्चारकर्मी, कलाकार तथा समाजसेवीलाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो।

अवार्डका मुख्य निर्णायक वरिष्ठ संगीतकार राजु सिंह रहनुभएको थियो भने निर्णायक सदस्यमा सुनिल गिरी, सन्दीप पौड्याल, रमेश पाठक र वीरेन्द्र भाट ‘विपिन’ रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अवार्डका अध्यक्ष गणेश सुवेदीले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले हिमालयन इन्टरनेशनल अवार्डलाई निरन्तरता दिइएको बताउनुभयो। उहाँले विश्वभर रहेका नेपाली भाषी स्रष्टालाई एउटै मञ्चमा जोड्ने अभियानलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम संयोजक गीता अधिकारीका अनुसार विभिन्न कारणले सिक्किममा उपस्थित हुन नसक्नुभएका सम्मानित स्रष्टा तथा कलाकारलाई निकट भविष्यमै काठमाडौंमा विशेष समारोह आयोजना गरी अवार्ड तथा सम्मान प्रदान गरिनेछ।

आयोजकका अनुसार यसअघि अवार्डको पाँचौं संस्करण थाइल्यान्डको बैंककमा सम्पन्न भएको थियो। सिक्किममा सम्पन्न छैटौं संस्करणले नेपाल र भारतका नेपाली भाषी समुदायबीच साहित्य, संगीत, कला र संस्कृतिको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपाली भाषाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

नाट्यसम्राट समको १०१ वर्ष पुरानो गजलमा सन्तोष श्रेष्ठको स्वर र संगीत (भिडियो)

मनोरञ्जन


काठमाडौं - नाट्यसम्राट बालकृष्ण समद्वारा एक सय एक वर्षअघि रचना गरिएको गजललाई विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले स्वर र संगीत दिएका छन्। उक्त गजलको श्रव्यदृश्य (भिडियो) शनिबार महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय, मैतीदेवीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

वि.सं. १९८२ मा समद्वारा रचना गरिएको तथा उनको कृति ‘मेरो कविताको आराधन–उपासना (१)’ मा सङ्कलित गजल ‘जान लाग्यो नाम जप्ने सास यो’ लाई श्रेष्ठले संगीतबद्ध गर्दै आफ्नै स्वरमा प्रस्तुत गरेका हुन्।

कार्यक्रममा गजल अभियन्ता तथा समालोचक घनेन्द्र ओझाले नाट्यसम्राटका रूपमा परिचित समले गजल विधामा पनि महत्त्वपूर्ण सिर्जना गरेको उल्लेख गर्दै यसलाई नेपाली गजल इतिहासको महत्त्वपूर्ण उपलब्धि बताए। उनका अनुसार समले गजल शीर्षक नदिए पनि उक्त रचना गजलको शास्त्रीय संरचनाअनुसार सिर्जना गरिएको हो।

ओझाले कृष्णभक्तिमा आधारित समको उक्त गजलसँगै समकालीन त्रिमूर्ति महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्यालबालकृष्ण समका गजलहरूलाई संगीतकार श्रेष्ठले संगीतमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरेको बताए।

फिल्म लेखक तथा निर्देशक मोहन निरौलाले साहित्य र संगीतमा नयाँ प्रयोग गर्न रुचाउने सन्तोष श्रेष्ठबाट यस्ता सिर्जनात्मक कार्य भइरहनु खुसीको विषय भएको बताए।

गजलकार राधा कणेलले सन्तोष श्रेष्ठ र घनेन्द्र ओझाले दुई वर्षअघि घोषणा गरेको ‘नेपाली गजल गायन स्वर्ण दशक (वि.सं. २०८०–२०९०)’ अभियानअन्तर्गत देशका विभिन्न स्थानमा करिब एक दर्जन प्रत्यक्ष गजल गायन कार्यक्रम सम्पन्न भइसकेको र केही एल्बमसमेत सार्वजनिक भइसकेको जानकारी दिइन्। उनले नेपाली साहित्यका त्रिमूर्ति देवकोटा, पौड्याल र समका गजललाई संगीतमा ल्याउने प्रयास प्रशंसनीय रहेको बताइन्।

महाकवि देवकोटाका सुपुत्र प्रा. डा. पद्मप्रसाद देवकोटाले अग्रज स्रष्टाको सम्मान गर्ने सन्तोष श्रेष्ठको प्रयासको प्रशंसा गरे। संगीतकार तथा गायक श्रेष्ठले भने आफूले कुनै व्यावसायिक लाभका लागि नभई अग्रज स्रष्टाप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले यस्ता सिर्जना गरिरहेको बताए।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले नेपाली गजल गायनको प्रवर्द्धनमा सन्तोष श्रेष्ठको सक्रियता र समर्पण उल्लेखनीय रहेको भन्दै उनको प्रयासको सराहना गरे।

अनाम मण्डलीद्वारा आयोजित कार्यक्रमको सभापतित्व प्रभाती किरणले गरेका थिए भने कार्यक्रम सञ्चालन रूपक अलङ्कारले गरेका थिए।

परिवर्तन नेपालद्वारा कृष्ण भट्टराई, शारदा गिरी र विश्वदीप घिमिरे पुरस्कृत हुने, आर्यन सिग्देलसहित अन्य व्यक्तित्वलाई पनि विशेष सम्मान

मनोरञ्जन


काठमाण्डौ– परिवर्तन नेपालको असार २३ गते काठमाडौंमा बसेको कार्यसमितिको बैठकले नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई परिवर्तन सम्मान, चेतन कार्की स्मृति पुरस्कार र दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले २०८२ सालको चेतन कार्की स्मृति पुरस्कार संचारकर्मी कृष्ण भट्टराईलाई अर्पण गर्ने निर्णय गरेको छ । यसैगरी कलाकार शारदा गिरी र निर्देशक, कलाकार विश्वदिप घिमिरेलाई २०८२ सालको दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । सचारकर्मी कृष्ण भट्टराईलाई चलचित्र क्षेत्रको विकास विस्तार र पेशाकर्मीको उत्थानका लागि विगत अढाई दशक भन्दा बढी समय देखि पत्रकारीतामा संलग्न रहि योगदान पुऱ्याए वापत चेतन कार्की स्मृति पुरस्कार प्रदानगर्न लागिएको हो । यो पुरस्कार २०७९ सालमा स्थापना गरिएको हो ।

बिगत चार दशक देखि नेपाली चलचित्र टेलि चलचित्रमा अभिनय गर्दै आएकी कलाकार शारदा गिरी र विगत अढाई दशक भन्दा बढी समय देखि नेपाली रंगमञ्च चलचित्र र टेलिचलचित्रमा निर्देशन तथा अभिनय गर्दै आएका विश्वदिप घिमिरेलाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार दिने निर्णय भएको हो ।  यो पुरस्कार २०७३ सालमा स्थापना गरिएको हो । दुवै पुरस्कारको राशी जनही रु.१५,००० (अक्षरुपी पन्ध्र हजार) रुपैया रहेको छ । बैठकमा पुरस्कार छनोट समितिका सदस्य बरिष्ठ सञ्चारकर्मी तथा गीतकार शान्तिप्रिय, डिजाईनर तथा गीतका सुन्दर श्रेष्ठ र परिवर्तन नेपालका मानार्थ सदस्य तथा चलचित्र निर्देशक माधव राज खरेलको उपस्थिती रहेको थियो ।

परिवर्तन नेपालले आफ्नो स्थापनाकाल वि.सं. २०५३ साल देखि विभिन्न स्रष्टा, सर्जक र परिवर्तन नेपालसँग आवद्ध चलचित्रकर्मीलाई परिवर्तन विशेष सम्मान प्रदान गर्दै आएको छ । सोही अनुरुप आफ्नो कला यात्राको प्रारम्भिक दिनमा परिवर्तन नेपालसंग आवद्ध रही आएका लोकप्रिय अभिनेता आर्यन सिग्देल, अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली र ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई परिवर्तनकर्मी विशेष सम्मान अर्पण गर्ने निर्णय पनि सोही बैठकले गरेको छ । यसैगरी चलचित्रमा छाँयाकारको रुपमा काम गर्दै प्राविधिकहरुको पेशागत हकहितका लागि प्रतिवद्ध भई काम गर्दै आएका छांयाकार वीरेन्द्र प्रसाद भट्ट र गीत संगीतको क्षेत्रमा पत्रकारीता मार्फत र गीत संगीत उत्थानका लागि अवार्डको आयोजना गरी काम गर्दै आएकी सञ्चारकर्मी तथा गीतकार सविता पोखरेललाई परिवर्तन विशेष सम्मान गर्ने निर्णय गरेको छ।

परिवर्तन नेपालका महासचिव देवेन्द्र पाण्डेका अनुसार यी सबै पुरस्कार तथा सम्मान आगामी श्रावणको तेस्रो सातामा आयोजना गरिने विशेष समारोह मार्फत प्रदान गरिनेछ।

 

डा.गिरीद्वारा लिखित ‘डङ्की’ उपन्यास सार्वजनिक

मनोरञ्जन


काठमाडौ - उपन्यासकार डा. चन्द्र गिरीद्वारा लिखित ‘डङ्की’ (सपनाको कालबाटो) उपन्यासको लोकार्पण गरिएको छ । गत हप्ता पर्यटन बोर्डमा आयोजित एक समारोहमा उक्त उपन्यासको लोकार्पण गरिएको हो । Book Hill बाट प्रकाशित सो  उपन्यास लेखक डा. चन्द्र गिरी, मदन पुरस्कार विजेता सुप्रसिद्ध साहित्यकार कृष्ण धराबासी, अनलाइन खबरका प्रधान सम्पादक वसन्त बस्नेत, लेखिका बिना थिङ र साहित्यकार शंकर गिरी ‘पथिक’ ले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

डङ्की’ अवैध बाटोबाट अमेरिका प्रवेश गर्ने एक नेपाली युवकको  कथा हो । तथापि यो सुन्दर भविष्यको सपना बोकेर जोखिमपूर्ण अवैध बाटो हुँदै संसारभरबाट अमेरिका प्रवेशको प्रयास गर्ने र प्रवेश गर्न सफल हुने लाखौँ आप्रवासीहरुको प्रतिनिधिमूलक साझा कथा पनि हो । उपन्यासमा अनधिकृत रुपमा अमेरिका प्रवेश पछिको सङ्घर्षको कथालाई पनि रोचक ढङ्गमा प्रस्तुत गरिएको छ । यथार्थपरक कथामा आधारित यो उपन्यासले अवैध बाटो (डङ्की रुट) को यात्रा कति खर्चालु र डरलाग्दो छ भन्ने कुरा छर्लङ्ग पारेको छ ।

समारोहमा वरिष्ठ साहित्यकार धरावासीले यस्तै कथावस्तुमा केही वर्ष अघि आफूले ‘तल्लोबाटो’ नामक उपन्यास लेखेको स्मरण गर्दै ‘डङ्की’ अझ उत्कृष्ट र आधिकारिक भएको धारणा राखेका थिए  । उनले भने-‘मैले त तल्लो बाटोबाट अमेरिका प्रवेश गरेका केही युवाहरुसँगको कुराकानीको आधारमा लेखेको थिएँ, तर डा. गिरी पुस्तकमा लेखिएका अधिकांश ठाउँमा पुग्नुभएको रहेछ, र तल्लोबाटोको यात्रा कति कठिन र जोखिम्पूर्ण छ स्वयंले अनुभव गर्नुभएको रैछ । पढ्न थालेपछि छाड्न मनै लागेन, मैले एकै बसाईमा पढें  ।’

समारोहका अर्का वक्ता वसन्त बस्नेतले अमेरिका जस्तो विशाल र समृद्ध मुलुकमा डा. गिरीले आर्जन गर्नुभएको प्रतिष्ठाप्रति सम्पूर्ण नेपालीले गर्व गर्नुपर्ने धारणा राख्दै भने- ‘उपन्यास पढ्दै जाँदा लेखकलाई बिर्सिएँ, पात्र सँगसँगै यात्रा गरिरहे झैं अनुभूत भयो ।’ वक्ता बिना थिङले पनि उपन्यासको प्रशंसा गर्दै  यसले हाम्रो समाजलाई धेरै प्रकारका प्रश्नहरु तेर्स्याएको धारणा राखेकी थिईन् । ‘खान लाउन पुगिराखेको, जिन्दगी सामान्य रुपमा चलिराखेको मान्छेले पनि अमेरिकाको सपना किन देख्छ ?’ थिङले भनिन् । उनले उपन्यासले युवाहरुमा देखिएको सामाजिक बाध्यता  र मानसिक द्वन्द्वको स्थितिलाई प्रकाश पारेको धारणा राखेकी थिईन्।

यस उपन्यासका लेखक डा. चन्द्र गिरीको जन्म खोटाङ जिल्लाको चिमचिमामा भएको हो । वातावरण क्षेत्रका विश्वप्रसिद्ध अमेरिकी वैज्ञानिक डा. गिरी मेन्ग्रोभ नक्साङ्कन तथा अनुगमनका अगुवाका रुपमा परिचित छन् । यसअघि ‘मैले नदेखेको सपना’ (आत्मकथा) र ‘संसारको सेरोफेरो’ (यात्रा संस्मरण) गरी नेपाली भाषाका दुई पुस्तक, ‘मैले नदेखेको सपना’ कै अङ्ग्रेजी अनुवादको पुस्तक Unimagined Dream : A journey from the foothills of Mount Everest to the world stage र डेढ दर्जन जति गीत प्रकाशित गरिसकेका डा. गिरी युएस इन्भारोन्मेन्ट प्रोटेक्सन एजेन्सीमा वरिष्ठ सल्लाहकारका रुपमा कार्यरत छन् । उनी ड्युक विश्वविद्यालयमा एड्जन्क्ट प्रोफेसरका रुपमा पनि आवद्ध छन् ।

नेपालको सरकारी सेवाबाट आफ्नो पेसागत यात्रा सुरु गरेका उनले थाइल्याण्डस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप), कोलम्बिया युनिभर्सिटी, नर्थ क्यारोलाइना स्टेट युनिभर्सिटी, साउथ डकोटा स्टेट युनिभर्सिटी तथा युनाइटेड स्टेट्स जिओलोजिकल सर्भे (युएसजीएस) जस्ता अन्तर्राष्ट्रिय प्रतिष्ठानमा कार्य गरिसकेका छन् ।

उनले नेपालबाट बीएस्सी (साइन्स र फरेष्ट्री) तथा थाइल्याण्डबाट रिमोट सेन्सिङ र जिआइएसमा स्नातकोत्तर र विद्यावारिधि गरेका छन् । दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका उनले विश्वका १२६ भन्दा बढी देशको भ्रमण गरेका छन् । दर्जनौं राष्ट्रका राजनेता, वैज्ञानिक तथा नीति निर्माताहरुसँग सहकार्य गरेका उनले विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय पत्रपत्रिका र अनलाइनहरु मार्फत १२५ भन्दा बढी अनुसन्धानात्मक एवं समसामयिक विषयका लेख-रचना प्रकाशित गरेका छन् । ‘डङ्की’ डा. चन्द्र गिरीको पहिलो उपन्यास हो । कार्यक्रम Book Hill का प्रमुख भूपेन्द्र खड्काले सञ्चालन गरेका थिए ।