economic
||Power News Asia||

आजको समाचार

राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित

आर्थिक


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिक साधारण सभाको समुद्घाटन गरेका छन् । हीरक जयन्ती वर्षको अवसरमा आयोजित उक्त कार्यक्रममा आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने ९ जना तथा संस्थालाई विभिन्न विधामा सम्मान गरिएको छ ।
चेम्बरका पूर्व अध्यक्षहरूको नाममा स्थापना गरिएका मेमोरियल अवार्डमार्फत व्यापार, उद्योग, कृषि, पर्यटन, सामाजिक सेवा, ट्रेड लजिस्टिक्स लगायतका क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई राष्ट्रपतिबाट सम्मान प्रदान गरिएको हो ।

ईश्वरलाल श्रेष्ठ लाइफटाइम अचिभमेन्ट अवार्डतर्फ सुजल फुड्स प्रा.लि.का सह–संस्थापक गणेशबहादुर श्रेष्ठ सम्मानित भए भने पर्यटनतर्फ बनवारी लाल मित्तल मेमोरियल अवार्डबाट होटल शंकरका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद शंकर श्रेष्ठ सम्मानित भए । व्यापारतर्फ जुद्ध बहादुर श्रेष्ठ मेमोरियल अवार्ड नेपाल उल हाउसलाई प्रदान गरिएको छ । कृषि तर्फ राज बहादुर चिपालु मेमोरियल अवार्डबाट गणेश हेम्सका गणेश ऐडी, ट्रेड लजिस्टिक्सतर्फ बिहारीलाल खेतान मेमोरियल अवार्डबाट एभरेष्ट डी कार्गो प्रा.लि.का अध्यक्ष रबिन्द्रमान सिंह प्रधान तथा उद्योगतर्फ इन्द्रभक्त मेमोरियल अवार्डबाट विशाल ग्रुपका उपाध्यक्ष त्रिलोक चन्द्र अग्रवाल र सामाजिक सेवा तर्फ बालकृष्ण श्रेष्ठ मेमोरियल अवार्डबाट नेपाल क्यान्सर अस्पताल सम्मानित भएका छन् ।

त्यस्तै, जनकदास श्रेष्ठ मेमोरियल अवार्ड एजु केसलाई प्रदान गरिएको छ भने प्रदेश, जिल्ला तथा नगर चेम्बरमध्ये उल्लेखनीय कार्य गरेबापत मोरङ चेम्बर अफ कमर्सलाई कदरपत्र प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा नभई राष्ट्र निर्माणको अभिन्न साझेदार र देशको “आर्थिक इन्जिन” का रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । उनले निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सुदृढ हुने उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।

उनले उद्यमशीलता, प्रविधि र सृजनशीलताका माध्यमबाट युवालाई आर्थिक गतिविधिमा जोड्नु आजको प्रमुख आवश्यकता रहेको बताए । परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता र नवप्रवर्तनतर्फ लाग्न आह्वान गर्दै राष्ट्रपतिले डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतिको विकासमा जोड दिए ।
‘हामीले भुल्न नहुने एउटा महत्वपूर्ण कुरा के हो भने निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुन्छ । निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक छ,’ राष्ट्रपति पौडेलले भने, ‘निजी क्षेत्र केवल आर्थिक वृद्धिको आधार मात्र होइन, यो देशको आर्थिक इन्जिन हो भन्ने म ठान्दछु।’

जननिर्वाचित संसद र सरकारलाई सुशासनमार्फत आर्थिक समृद्धि हासिल गर्ने र जनताको जीवनस्तर उकास्ने गहन दायित्व रहेको बताउँदै उनले यस अभियानमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए । साथै, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई सुदृढ बनाउँदै समग्र विकास प्रक्रियालाई गति दिनुपर्नेमा उनको जोड दिए ।  

कोभिड–१९ महामारी, आपूर्ति शृंखलामा आएको अवरोध तथा उत्पादनमा आएको गिरावटले अर्थतन्त्र प्रभावित भएको उल्लेख गर्दै उनले यस्तो परिस्थितिमा समन्वय र सहकार्य अपरिहार्य भएको बताए । साथै, युवालाई स्वदेशमै अवसर सिर्जना गरी ‘ब्रेन ड्रेन’ रोक्नुपर्ने, उद्यमशीलता, प्रविधि र नवप्रवर्तनमा जोड दिनुपर्नेमा उनको धारणा थियो ।

कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले स्वागत मन्तव्य व्यक्त गर्दै वि.सं. २००७ सालदेखि सुरु भएको चेम्बर आन्दोलन आज देशव्यापी रूपमा विस्तार भइसकेको बताए । उनले ७ प्रदेश, ६७ जिल्ला र ४६ नगर चेम्बर गठन भइसकेको जानकारी दिँदै ८० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य भइरहेको उल्लेख गरे ।

अध्यक्ष अग्रवालले पछिल्लो समय राजनीतिक अस्थिरता, नीतिगत अनिश्चितता तथा मौद्रिक र आर्थिक नीतिबीच समन्वय अभावका कारण निजी क्षेत्र प्रभावित भएको बताए । “बैंकिङ प्रणालीमा लगानीयोग्य रकम हुँदा पनि निजी क्षेत्र आकर्षित हुन सकेको छैन,” उनले भने, “युवालाई स्वदेशमै अवसर सिर्जना गरी ‘ब्रेन ड्रेन होइन, ब्रेन गेन’को रणनीति अवलम्बन गर्नुपर्छ ।”

अध्यक्ष अग्रवालले जारी राजनीतिक संक्रमणबाट मुलुक अब स्थायित्वतर्फ उन्मुख भएको उल्लेख गर्दै जनादेशसहित गठन हुने सरकारबाट आर्थिक सुधार, सुशासन र लगानीमैत्री वातावरण निर्माण हुनेमा विश्वास व्यक्त गरे ।
उनका अनुसार, “नयाँ जनादेशले राजनीतिक स्थायित्वको स्पष्ट संकेत दिएको छ। यसले स्वदेशी तथा विदेशी लगानीकर्तामा विश्वास सिर्जना गर्नेछ र अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।”
अग्रवालले निजी क्षेत्र नयाँ नेतृत्वप्रति सकारात्मक रहेको उल्लेख गर्दै सरकारसँग सहकार्य गरेर आर्थिक गतिविधि विस्तार गर्न तयार रहेको बताए । उनले आगामी दिनमा उद्योग, व्यापार, पर्यटन तथा सेवा क्षेत्रलाई चलायमान बनाउन नीतिगत सहजीकरण आवश्यक रहेको धारणा राखे ।

त्यस्तै, उनले हाल देखिएको आर्थिक चुनौती, बढ्दो आयात निर्भरता, वैदेशिक रोजगारी र रेमिट्यान्समा आधारित संरचनालाई सुधार गर्दै उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।
“अबको प्राथमिकता उत्पादन, निर्यात प्रवद्र्धन र रोजगारी सिर्जना हुनुपर्छ। निजी क्षेत्र सरकारसँग हातेमालो गरेर आर्थिक पुनरुत्थानका लागि सक्रिय हुनेछ,” अग्रवालले भने ।

उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण अर्थतन्त्रमा दबाब परेको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि स्पष्ट आर्थिक नीति, कर प्रणालीमा सुधार र लगानीमैत्री वातावरण अपरिहार्य रहेको बताए ।
निजी क्षेत्रले अहिलेको अवसरलाई सदुपयोग गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउन सकिने विश्वास व्यक्त गर्दै अध्यक्ष अग्रवालले सबै सरोकारवालालाई सहकार्यका लागि आह्वान गरेका छन् ।

त्यसैगरी, चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले धन्यवाद मन्तव्य दिँदै वर्तमान विश्व प्रतिस्पर्धात्मक भएको उल्लेख गरे । उनले परम्परागत सोचबाट माथि उठ्दै नवप्रवर्तन, डिजिटल रूपान्तरण र दिगो विकासतर्फ उन्मुख हुनुपर्ने बताए ।
“नयाँ पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्न, स्टार्टअप संस्कृति विकास गर्न र प्रविधिमा आधारित व्यवसायलाई प्रोत्साहन गर्न सबै पक्षको सहकार्य आवश्यक छ,” उनले भने, “स्पष्ट कानुनी व्यवस्था, आधुनिक पूर्वाधार, सुलभ वित्तीय पहुँच र दक्ष जनशक्ति बिना दिगो आर्थिक वृद्धि सम्भव हुँदैन ।”
सो अवसरमा  निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ गर्दै आत्मनिर्भर, समावेशी र दिगो अर्थतन्त्र निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद अध्यक्ष राजेशकाजी श्रेष्ठ, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु, विदेशी राजदूतहरु, चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

 

नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत

आर्थिक


काठमाडौं, चैत्र २३ । नेपाल चेम्बर अफ कमर्सले गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको समग्र विकास, व्यापार प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय पहिचानलाई सुदृढ बनाउने विषय आजको प्रमुख आवश्यकता भएको बताए । उनले नेपाल प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र मानवीय सम्भावनाले सम्पन्न भए पनि तिनको प्रभावकारी उपयोग अझै हुन नसकेको उल्लेख गरे । अध्यक्ष अग्रवालले रणनीतिक ढंगले स्रोत परिचालन गर्नुपर्नेमा जोड दिदै नेपाल चेम्बर र एनआरएन बीच सहकार्य आवश्यक रहेको बताए ।

उनले मेड ईन नेपाललाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न स्थानीय उत्पादनको प्रवद्र्धन, निर्यात वृद्धि, पर्यटन विकास तथा वैदेशिक लगानी आकर्षण अपरिहार्य रहेको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र नागरिकबीच सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याए ।

त्यस्तै, एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीहरूले नेपालको उत्पादन, संस्कृति र पहिचानलाई विश्वसामु पु¥याउन महत्वपूर्ण सेतुको भूमिका खेल्दैै आएको बताउदै नेपालमा लगानीमैत्री वातावरण निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख समेत गरे। उनले दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूलाई मातृभूमिसँग जोडिराख्न एनआरएनएले अझ प्रभावकारी भूमिका खेल्ने पनि बताए ।
कार्यक्रममा नेपाल चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले चेम्बर र एनआरएनएबीच आपसी समझदारी र सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिदै नेपालमा लगानी बिस्तार गर्न आग्रह गरे । त्यसैगरी बरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले स्थायी सरकारको गठनसँगै राजनीतिक स्थायित्वको आभाष मिलेको बताउदै निजी क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरूले नेपालको आर्थिक समृद्धिका लागि सामूहिक पहल आवश्यक रहेको उल्लेख गर्दै अवसरहरूको अधिकतम उपयोग गरी समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

कान्तिपथ स्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स र एनआरएनएका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।

कोरोला नाकाबाट व्यापार विस्तारको नयाँ युग सुरु हुन्छ : राजेश काजी श्रेष्ठ

आर्थिक


पोखरा। नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीले समसामयिक आर्थिक अवस्थाबारे अन्तरक्रिया, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा २०८३ सालको क्यालेण्डर सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नेपाल चेम्बर हीरक जयन्ती समारोहका संयोजक तथा पूर्व अध्यक्ष राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले कोरोला नाका सञ्चालनमा आएसँगै नेपालको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ सम्भावनाको ढोका खुलेको उल्लेख गर्नुभयो। उहाँले अब परम्परागत व्यापारिक मार्गमा मात्र निर्भर रहने समय सकिएको भन्दै नयाँ नाकाहरूको प्रभावकारी उपयोगमार्फत व्यापार विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “कोरोला नाका केवल भौगोलिक पहुँच मात्र होइन, यो नेपालको व्यापारिक भविष्यसँग जोडिएको रणनीतिक अवसर हो। यसलाई प्रभावकारी रूपमा प्रयोग गर्न सके पश्चिम नेपाललाई क्षेत्रीय व्यापार केन्द्रका रूपमा विकास गर्न सकिन्छ।”

श्रेष्ठले चीनसँगको व्यापार सन्तुलन सुधार गर्न र आयात–निर्यात प्रक्रियालाई थप व्यवस्थित बनाउन आधुनिक आपूर्ति शृङ्खला, भन्सार प्रणाली सुधार र ढुवानी व्यवस्थापनलाई सुदृढ बनाउनु आवश्यक रहेको धारणा राख्नुभयो। साथै, व्यवसायीहरूले लागत घटाउने, गुणस्तर वृद्धि गर्ने र प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने दिशामा ध्यान दिनुपर्ने बताउनुभयो।

उहाँले थप्नुभयो, “व्यापार सहजीकरणका लागि नीतिगत स्पष्टता, पूर्वाधार विकास र डिजिटल प्रविधिको व्यापक प्रयोग अपरिहार्य भइसकेको छ। Doing Business सहज नहुँदासम्म विदेशी लगानी आकर्षित गर्न र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ।”

श्रेष्ठले कोलकाता लगायतका अन्तर्राष्ट्रिय बन्दरगाहमार्फत आयात–निर्यातलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याउँदै बहुविकल्पीय व्यापार मार्गको विकासले नेपालको व्यापारलाई सुरक्षित र दिगो बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार अन्तर्राष्ट्रिय व्यापार मेलाहरूमा सक्रिय सहभागिताले नेपाली व्यवसायीहरूलाई नयाँ प्रविधि, बजार र साझेदारीका अवसरहरू प्रदान गर्न सक्छ।

पर्यटन क्षेत्रको प्रसङ्ग जोड्दै श्रेष्ठले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप सुदृढ बनाउन चीन र भारत जस्ता विशाल बजारबाट पर्यटक भित्र्याउन रणनीतिक योजना आवश्यक रहेको बताउनुभयो। उहाँले विमानस्थलहरूको अधिकतम उपयोग, उडान संख्या वृद्धि र सेवा गुणस्तर सुधारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले सरकारद्वारा राजश्व अनुसन्धान आयोग खारेज गर्ने निर्णयको स्वागत गर्दै कर प्रणालीलाई सरल र व्यवसायमैत्री बनाउन आग्रह गर्नुभयो। उहाँले निजी क्षेत्रको मनोबल बढाउने खालका नीति तथा कार्यक्रम ल्याउन नयाँ सरकारलाई सुझाव दिनुभयो।

कार्यक्रममा विश्वव्यापी बजार प्रवृत्ति, आयात–निर्यातको सम्भावना, नवप्रवर्तन तथा व्यवसाय विस्तारका रणनीतिबारे विस्तृत अन्तरक्रिया गरिएको थियो। सो अवसरमा विभिन्न उद्योगी, व्यवसायी, विज्ञ तथा संघ–संस्थाका प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेका थिए।

पोखराका उद्योगी–व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीलाई अर्थपूर्ण बनाउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सको स्थापना २००७ सालमा भई विगत ७५ वर्षदेखि निजी क्षेत्रको प्रतिनिधित्व गर्दै उद्योगी-व्यवसायीहरूको हकहितमा निरन्तर कार्य गर्दै आएको बारे पनि श्रेष्ठले जानकारी गराउनु भएको थियो।

यस्तै पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले हालै सरकारले राजश्व अनुसन्धान आयोगलाई खारेज गर्ने निर्णय गरेकोमा धन्यवाद व्यक्त गर्नुहुँदै कर सम्बन्धी केही असान्दर्भिक नीतिहरुलाई पनि परिमार्जन गरी निर्वाध रुपमा उद्योग तथा व्यापार संचालन गर्ने वातवरण निर्माण गरेर अघि बढन  सरकारलाई आग्रह गर्न चाहेको बताउनुभयो । ।  

उहाले समसामयीक राजनीतिको सन्दर्भमा बोल्दै हालको सरकारले निजी क्षेत्रको लगानीकर्ताको मनोबल उच्च हुने खालका नीति तथा कार्यक्रमसहित बजेट ल्याउनुपर्ने धारणा राखे । 

नयाँ सरकारलाई अत्याधिक अवसर रहेको उल्लेख गर्दै सोही अनुसारको व्यवसायीमैत्री कानून तर्जुमा गर्नुपर्नेमासमेत जोड दिए । 

कार्यक्रममा विश्वव्यापी बजार प्रवृत्ति, आयात-निर्यातको सम्भावना, नवप्रवर्तन तथा व्यवसाय बिस्तारका रणनीतिहरू सम्बन्धी विषयहरुमा अन्तरक्रिया गरिएको थियो ।

सो अवसरमा पोखरा चेम्बरका सल्लाहकारहरु माधव बास्तोला, योगेन्द्र बहादुर केसी, बिष्णु प्रसाद  बास्तोला, लेखनाथ उद्योग वाणिज्य  संघका बरिष्ठ उपाध्यक्ष  गोपी चन्द्र बास्तोला, पोखरा उद्योग वाणिज्य   संघका महासचिव  शोभा गौतम, पोखरा स्थित  वस्तुगत संघ संस्थाहरुकोतर्फबाट थोक व्यवसायी संघ कास्कीका अध्यक्ष  उषा तिमिल्सिना सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो ।  

उक्त कार्यक्रममा पोखराका व्यवसायी, उद्योगपति, विज्ञ तथा चेम्बर अफ कमर्स जिल्ला समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

हीरक जयन्तीको अवसरमा नेपाल चेम्बर अफ कमर्स  केन्द्रिय कार्यालय, मातहतका समिति र देशभर छरिएर रहेका विभिन्न तहगत चेम्बरहरुले विविध कार्यक्रम आयोजना गर्दै आएका छन्  ।

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

आर्थिक


काठमाडौं,  नेपाल महिला चेम्बरले नेपाल चेम्बर अफ कमर्सको ७५ औं वार्षिक उत्सव हीरक जयन्तीको अवसरमा देशका विभिन्न क्षेत्रहरूमा ऐतिहासिक योगदान र्पुयाएका अग्रणी नेपाली महिलाहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ । अग्रणी महिला सम्मान शीर्षकमा आयोजित कार्यक्रममा राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुद लगायत विविध क्षेत्रमा योगदान दिएका जीवित तथा दिवंगत व्यक्तित्वहरूको योगदानको स्मरण गर्दै  सम्मानपत्र प्रदान गरियो । उहाँहरुलाई पूर्व राष्ट्र«पति रामवरण यादव, नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले संयुक्त रुपमा सम्मान गर्नुभयो ।
कार्यक्रममा नेपालकी  प्रथम महिला सभामुख ओनसरी घर्ती मगर, पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य स्काउटिङ क्षेत्रमा रामवदन जोशी, लैंगिक अधिकार विज्ञ चाँदनी जोशी, पहिलो महिला इन्जिनियर शान्ति मल्ल, शिक्षाविद् अगाथा थापा, एसएलसी बोर्ड प्रथम लुना भट्ट, पहिलो महिला कमर्शियल पाइलट रक्षा राणा, उद्यमी श्याम बदन श्रेष्ठ, पद्मासना शाक्य, शान्ति चड्ढा, पर्यटन व्यवसायी श्रृजना राणा लगायतलाई पनि सम्मान गरिएको थियो ।
लायन्स र रोटरी क्षेत्रमा मिलन थापा र जया राज्य लक्ष्मी शाह, पूर्व मुख्यसचिव लिला देवी गड्तौला, अर्थशास्त्री डा. पुष्पा श्रेष्ठ, कला तथा मनोरञ्जनतर्फ उर्मिला उपाध्याय गर्ग, अभिनेत्री भुवन चन्द, प्रशासक उषा नेपाल, प्रहरी अधिकृत बिमला थापा शर्मा, सचिव बिन्द्रा हाडा, निजी क्षेत्रकी भवानी राणा, नेपाल राष्ट्र बैंककी नीलम ढुंगाना तिम्सिना, रानु देवी अधिकारी, सानुनानी कंसाकार लगायतलाई सम्मान समर्पण गरिएको थियो ।
त्यसैगरी रत्नेश्वरी श्रेष्ठ , ओलम्पियन संगिना वैद्य, दृष्टिविहीन शिक्षिका सीता ग्यावाली, चेपाङ समुदायकी मनजू प्रजा, सामाजिक अभियन्ता अञ्जली देवी मास्के, प्रथम मिस नेपाल रुबी राणा शाह, चालक मच्छरी देवी चित्रकार, टेम्पो चालक लक्ष्मी शर्मा, कलाकार स्नेहा श्रेष्ठ ९इम्याजिन०, बडीबिल्डर निर्मला महर्जन, कलाकार मनीषा कोइराला, पौराणिक व्यक्तित्व सीता ९जानकी० र वैदिक दार्शनिक गर्गीलाई पनि विशेष रूपमा उक्त सम्मान समर्पण गरिएको थियो ।
कार्यक्रममा प्रथम महिला राष्ट्र«पति विद्यादेवी भण्डारी एवं नेपालकी प्रथम प्रधानमन्त्री एवं प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको योगदानको स्मरण सहित उक्त सम्मान समर्पण गरियो ।
त्यस्तै प्रथम महिला शासक नायब स्व।राजेन्द्र लक्ष्मी शाह, स्व. कान्तिराज्य लक्ष्मी देवी, योगमाया न्यौपाने,  साहित्यकार स्व. पारिजात (बिष्णु कुमारी बाईवा),  स्व. शैलजा आचार्य, स्व. साधना प्रधान अधिकारी, स्व. सहाना प्रधान, मिडियाकर्मी स्व. कृष्णा ताम्राकार, गायिका स्व. सनुमाया गुरुङ, अधिवक्ता स्व. सुशीला सिंह,  राजनीतिज्ञ स्व. इन्दिरा श्रेष्ठ, समाजसेवी स्व. अमृता कठायत,राजनीतिज्ञ स्व. द्वारिका देवी ठकुरानी, स्व. चन्द्रकला किरण महत, लोकसेवा आयोग सदस्य स्व. उमा पाण्डे, राजदूत स्व. बिन्देश्वरी शाह, संसद उपाध्यक्ष स्व. कमल राणा, शिक्षाविद् स्व.अंगुरबाबा जोशी र पर्यटन उद्यमी स्व. अम्बिका श्रेष्ठ, शिक्षाविद् स्व. चन्द्रकान्ता देवी मल्ल, सगरमाथा आरोही स्व. पासाङ ल्हामु शेर्पा, व्यावसायिक प्रशिक्षक स्व. सुनिता मलेकु, सेयर बजारकी स्व. सुचित्रा खनाल, चालक स्व. रामदेवी श्रेष्ठको योगदानको समरण गर्दै उहाँहरुमा उक्त सम्मान समर्पण गरियो ।
कार्यक्रममा नेपाल महिला चेम्बर सम्बद्ध रही हालै सम्पन्न निर्वाचनबाट संघीय सांसद बन्न सफल हुनु हुने लिमा अधिकारी, बसुमाया तामाङ, नीतिमा कार्की भण्डारी र इन्दिरा राना मगरलाई समेत सम्मान गरियो । साथै उहाँहरुलाई बधाई समेत ज्ञापन गरिएको थियो ।
कार्यक्रममा केही व्यक्तित्वहरूको उपस्थितिमा सम्मान गरिएको थियो भने दिवंगत व्यक्तित्वहरूका परिवारजनमार्फत सम्मान अर्पण गरिएको थियो।
कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

सो अवसरमा पूर्व राष्ट्र«पति रामवरण यादवले विभिन्न क्षेत्रका नेपालका अग्रणी तथा पथ प्रदर्शक महिलाहरुलाई सम्मान गर्न पाउँदा आफूलाई गौरव अनुभूती भएको बताउनु हुँदै उहाँहरुबाट सिंगो देश र नयाँ पुस्तालाई हौसला प्रदान हदै आएको बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठले २००७ सालमा स्थापना भएको नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा नेपाल महिला चेम्बरले अग्रणी महिला सम्मान कार्यक्रममार्फत सम्मानित महिलाहरुको जस्तै ओज हासिल गरेको बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल चेम्बर अफ कमर्सको ईतिहास जति गर्विलो छ यसको साँख र गरिमालाई यस्ता कार्यक्रमले अझ उचो पारेको बताउनुहुँदै यस्ता कार्यक्रमले नेपाली महिलाहरूको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले देशका अग्रणी महिलाहरुको योगदानको कदर रुवरुप नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीका अवसरमा कार्यक्रम आयोजना गरिएको जनाउनुहुँदै महिला चेम्बरले महिला सशक्तिकरण, उद्यमशीलता विकास जस्ता विषयलाई जोड दिदै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा सम्मानितकातर्फबाट बोल्नुहुँदै चाँदनी जोशीले ऐतिहासिक पृष्ठभूमि बोकेका महिलाहरुको योगदानको स्मरण गर्दै सम्मान समर्पण कार्यक्रम आयोजना गरिएकोमा नेपाल महिला चेम्बरलाई आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सम्मानित तथा कार्यक्रममा उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ

आर्थिक


पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा चेम्बर अफ कमर्स गण्डकी प्रदेशको आयोजनामा “अन्तर्राष्ट्रिय व्यवसाय अनुभव आदान–प्रदान कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल चेम्बर हीरक जयन्ती समारोहका संयोजक तथा पूर्व अध्यक्ष राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा व्यवसायी, उद्यमी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले कोरोला नाका सञ्चालनमा आइसकेको सन्दर्भ उल्लेख गर्दै उक्त नाकामार्फत मालवस्तु ढुवानी गरी पश्चिम नेपालमा व्यापार विस्तार गर्ने पर्याप्त सम्भावना रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “चीनसँगको व्यापार अभिवृद्धिका लागि कोरोला नाका एक रणनीतिक अवसर हो। अब हामीले परम्परागत मार्गमा मात्र निर्भर नभई नयाँ व्यापारिक मार्गहरू उपयोग गर्दै प्रतिस्पर्धात्मक व्यापार वातावरण निर्माण गर्नुपर्छ।”

चीनको कोरला नाका खुला भइसकेकाले चीनबाट समाग्री नेपाल भित्राउन सकिने सुझाव दिँदै त्यसका लागि आफ्नो तर्फबाट र नेपाल चेम्बर अफ कमर्सको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो ।

श्रेष्ठले कोलकाता लगायत अन्य अन्तर्राष्ट्रिय बन्दरगाहमार्फत पनि सामान आयात गरी व्यापारिक गतिविधिलाई तीव्रता दिन उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्नुभयो। उहाँका अनुसार क्षेत्रीय तथा विश्व बजारसँग जोडिनका लागि आपूर्ति शृङ्खला सुदृढ बनाउनु, लागत घटाउनु र व्यापार प्रक्रियालाई सरल बनाउनु अत्यावश्यक छ।

उहाँले थप्दै भन्नुभयो, “Doing Business लाई सहज बनाउन नीतिगत सुधार, पूर्वाधार विकास र डिजिटल प्रणालीको विस्तार अपरिहार्य छ। अन्तर्राष्ट्रिय व्यापारमा प्रतिस्पर्धी बन्न नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ।”

श्रेष्ठले भारत, चीन, भियतनाम र श्रीलङ्का जस्ता देशहरूमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलाहरूमा सक्रिय सहभागिता जनाउन सके नेपाली व्यवसायीहरूले नयाँ बजार, प्रविधि र साझेदारीका अवसरहरू प्राप्त गर्न सक्ने उल्लेख गर्नुभयो। साथै, व्यापार सहजीकरणका लागि अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले विशेष गरी बाह्य मुलुकसँग व्यापारिक सम्बन्ध बनाउन सके सफल व्यवसायी बन्न सकिने धारणा व्यक्त गर्नुभयो ।

पोखराको पर्यटन सम्भावनाबारे चर्चा गर्दै उहाँले चीन र भारत जस्ता विशाल जनसंख्या भएका देशहरूबाट पर्यटक भित्र्याई आर्थिक लाभ लिन सकिने उल्लेख गर्नुभयो। त्यसका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सेवा विस्तार र विमानस्थलहरूको अधिकतम उपयोग आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सको स्थापना २००७ सालमा भई विगत ७५ वर्षदेखि निजी क्षेत्रको प्रतिनिधित्व गर्दै उद्योगी-व्यवसायीहरूको हकहितमा निरन्तर कार्य गर्दै आएको बारे पनि श्रेष्ठले जानकारी गराउनु भएको थियो।

यस्तै चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनारले संस्थाले व्यवसायीक हक हितको पक्षमा मात्र नभई सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको स्मरण गराउनु भयो ।

उनले समसामयीक राजनीतिको सन्दर्भमा बोल्दै हालको सरकारले निजी क्षेत्रको लगानीकर्ताको मनोबल उच्च हुने खालका नीति तथा कार्यक्रमसहित बजेट ल्याउनुपर्ने धारणा राखे ।

नयाँ सरकारलाई अत्याधिक अवसर रहेको उल्लेख गर्दै सोही अनुसारको व्यवसायीमैत्री कानून तर्जुमा गर्नुपर्नेमासमेत जोड दिए ।

कार्यक्रममा विश्वव्यापी बजार प्रवृत्ति, आयात–निर्यातको सम्भावना, नवप्रवर्तन तथा व्यवसाय बिस्तारका रणनीतिहरू सम्बन्धी विषयहरुमा अन्तरक्रिया गरिएको थियो ।

चेम्बर अफ कमर्स गण्डकीका महासचिव देवराज शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा गण्डकी प्रदेशभित्रका बागलङ, पर्वत, तनहुँ, स्याङ्जासँगै पोखराका व्यवसायी, उद्योगपति, विज्ञ तथा चेम्बर अफ कमर्स जिल्ला समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सदस्य व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, ज्ञान तथा अनुभव आदान–प्रदान गर्ने तथा नयाँ व्यापार र लगानीका अवसर पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

हीरक जयन्तीको अवसरमा नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा ७५ जना महिलालाई सम्मानसमेत गरिसकेको छ भने, विभिन्न कार्यक्रमहरु आयोजना गरी हीरक जयन्ती मनाइरहेको छ ।

"निजी क्षेत्रलाई आर्थिक कूटनीतिको केन्द्रमा राख्ने नीति लिनुपर्छ" : अध्यक्ष अग्रवाल

आर्थिक


काठमाडौँ । कर्पोरेट  नेपालको आयोजनामा सम्पन्न “Bridge State vs. Buffer State: Economic Diplomacy and Nepali Industries” विषयक बहस कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई ‘बफर स्टेट’बाट ‘ब्रिज स्टेट’मा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

कार्यक्रम प्रमुख वक्ताका रूपमा बोल्नुहुँदै अध्यक्ष अग्रवालले नेपाल भारत  र चीन जस्ता दुई ठूला आर्थिक शक्तिबीच अवस्थित विशेष भू-राजनीतिक राष्ट्र भएको उल्लेख गर्नुभयो। विगतमा नेपाललाई सन्तुलन कायम गर्ने ‘बफर स्टेट’को रूपमा हेरिए पनि अहिलेको विश्व परिवेशले नेपाललाई आर्थिक, व्यापारिक तथा सांस्कृतिक ‘ब्रिज’ बन्ने अवसर दिएको उहाँको भनाइ थियो।

उहाँले बदलिँदो ग्लोबल अर्थतन्त्र कनेक्टिभिटी, एकीकरण र साझेदारीमा आधारित रहेको बताउँदै नेपालले आफ्नो भौगोलिक अवस्थालाई उपयोग गर्न सके दक्षिण एशियामा महत्वपूर्ण ट्रान्जिट हब बन्न सक्ने धारणा राख्नुभयो।

‘बिगतमा नेपाल दुई देश बीचको राजनीतिक सम्बन्ध सन्तुलन कायम प्रयोग गरिने भौगोलिक क्षेत्र मात्रै थियो । विभिन्न कारणले नेपाल पछाडि परेको थियो । तर, आजको आर्थिक परिवेशले नयाँ अवसर दिएको छ । नेपाल भारत र चीनको आर्थिक पुल बन्ने सक्ने देखिएको । नेपाल आर्थिक, व्यापारिक र सांस्कृतिक रुपमा सेतु हुन सक्छ,’ उहाले भन्नुभयो, ‘यो रुपान्तरण गर्न सकियो भने नेपाल दक्षिण एसियाकै ट्रान्जीट हव बन्न सक्छ ।’
यसका लागि धेरै क्षेत्रमा काम गर्नुपर्ने उहाँले बताउनुभयो । ‘पहिला त सडक, रेल, ड्राइपोर्ट, डिजिटल कनेक्टिभिटी जस्ता पूर्वाधारमा लगानी बढाउनुपर्छ । औद्योगिक क्षेत्रलाई पर्याप्त मात्रामा विद्युतको उपलब्ध हुनुपर्छ । भन्सारमा सहजीकरण गर्नुपर्छ । भन्सार सेवालाई डिजीटलाइज गर्नुपर्छ,’ उनले भने, ‘निजी क्षेत्रलाई आर्थिक कुटनीतिकको केन्द्रविन्दुमा राख्नुपर्छ । निजी क्षेत्रलाई शशक्तिकरण गर्नुपर्छ ।’ यसैगरी क्षेत्रीय मुलुकका मूल्य श्रृंखलामा पनि नेपाल जोडिनुपर्ने उनले बताए । 
यस्तै, अब सरकारले अर्थ नीतिमा स्थिरता दिनुपर्ने बताउनुभयो । ‘हामीले राजनीतिक स्थायित्व खोजेका थियौं । अहिलेको चुनावले राष्ट्रिय स्वतन्त्र पार्टीलाई झण्डै दुई तिहाइ मत प्राप्त भएको छ । यसले राजनीतिक स्थायित्वको संकेत गरेको छ,’ उहाले भन्नुभयो, ‘अब अर्थ नीतिमा पनि स्थायित्व आउनुपर्छ । यसमा हामी आशावादी छौं ।’

उहाँले नेपाली उद्योगहरूले केवल उत्पादनमा सीमित नभई क्षेत्रीय भ्यालु चेनमा जोडिनुपर्ने, निर्यात विविधीकरण, नवप्रवर्तन र गुणस्तर अभिवृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

राजनीतिक स्थायित्वले आर्थिक स्थायित्व ल्याउने विश्वास व्यक्त गर्दै अध्यक्ष अग्रवालले विशेष आर्थिक क्षेत्र (SEZ) लाई प्रभावकारी रूपमा सञ्चालन गरी निर्यात प्रवर्द्धन गर्नुपर्ने धारणा राख्नुभयो।

“ब्रिज स्टेट बन्नु केवल आर्थिक रणनीति मात्र होइन, यो नेपालको भविष्यको मार्गचित्र हो,” उहाँले भन्नुभयो, “यसले रोजगारी सिर्जना गर्छ, उद्योगलाई सशक्त बनाउँछ र अर्थतन्त्रलाई दिगो बनाउँछ।”

अन्त्यमा अध्यक्ष अग्रवालले साहसिक आर्थिक कूटनीति, संरचनात्मक सुधार र सार्वजनिक-निजी सहकार्यलाई प्राथमिकता दिए नेपाल एशियाकै सशक्त ‘ब्रिज स्टेट’का रूपमा स्थापित हुन सक्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम शुक्रवार वानेश्वर स्थिति एभरेष्ट होटलमा सम्पन्न भएको थियो। कार्यक्रममा आर्थिक कूटनीति, पूर्वाधार विकास, निजी क्षेत्रको भूमिका तथा क्षेत्रीय सहकार्यका विषयमा  विभिन्न विज्ञहरूले धारणा राखेका थिए।

"To make the census effective and reliable collaboration between government bodies and the private sector is essential" : President Agrawal

आर्थिक


Kathmandu: An interaction program with industrialists and businesspersons regarding the operation of the National Economic Census 2082 was held on Tuesday at the Chamber Secretariat. The program was jointly organized by the Nepal Chamber of Commerce and the National Statistics Office.

Participants emphasized that close collaboration between government bodies and the private sector is essential to make the census effective and reliable.

Speaking at the program, Chamber President Kamlesh Kumar Agrawal stated that the National Economic Census would present a realistic picture of the country’s economic condition, the current status of industries and businesses, investment trends, and employment realities. He mentioned that such data would make policy formulation, laws, planning, and implementation processes evidence-based, thereby contributing positively to long-term economic development. He also clarified that the census cannot be successful without active participation from the private sector and expressed the Chamber’s readiness for necessary coordination and cooperation.

On the occasion, Director Dr. Bed Prasad Dhakal from the National Statistics Office delivered a presentation highlighting the necessity, objectives, and multidimensional importance of the census. According to him, the data obtained from the census would assist the government in policy formulation and planning, strengthen estimates of Gross Domestic Product (GDP) and national accounts, provide essential data for changing the base year, and help develop sampling frameworks for various economic surveys.

It was also expressed that the census would be useful in establishing a statistical business register system, preparing indicators of the informal economy, and gradually bringing the nearly 50 percent informal economy into the formal sector. The data would also provide a strong basis for integrating unregistered firms into the mainstream economy.

Furthermore, he informed that the census aims to collect detailed information related to industrial, commercial, and service sectors to support evidence-based policymaking. He assured that the confidentiality of collected data would be fully protected and clarified that the information would not be used as legal evidence in court. He urged businesspersons to provide necessary information without hesitation.

During the interaction, stakeholders shared their views on the effectiveness of the census, private sector participation, potential challenges during implementation, and possible improvement measures. The participants concluded that coordinated efforts from all stakeholders are necessary for sustainable economic policy formulation through reliable data.

Nepal conducted its first National Economic Census in 2075 B.S., which covered economic establishments under 18 groups according to the International Standard Industrial Classification. The office has announced that the second National Economic Census 2082 will be conducted from Baisakh 2 to Asar 7, 2082 (Nepali calendar).

राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने

आर्थिक


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा उद्योगी–व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम मंगलबार चेम्बरको सचिवालयमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले गणनालाई प्रभावकारी र विश्वसनीय बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच घनिष्ठ सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन। कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले राष्ट्रिय आर्थिक गणनाले देशको वास्तविक आर्थिक अवस्था, उद्योग–व्यवसायको वर्तमान स्थिति, लगानीको प्रवृत्ति तथा रोजगारीको यथार्थ चित्र प्रस्तुत गर्ने बताउनुभयो । उहाँले यस्ता तथ्याङ्कले नीति, नियम, योजना निर्माण र कार्यान्वयन प्रक्रियालाई तथ्यमा आधारित बनाउँदै दीर्घकालीन आर्थिक विकासमा सकारात्मक योगदान र्पुयाउने उल्लेख गर्नुभयो । निजी क्षेत्रको सक्रिय सहभागिता विना गणना सफल हुन नसक्ने भन्दै चेम्बर आवश्यक समन्वय र सहकार्यका लागि तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा कार्यालयका निर्देशक डा वेदप्रसाद ढकालले राष्ट्रिय आर्थिक गणनाको आवश्यकता, उद्देश्य र यसको बहुआयामिक महत्वबारे प्रस्तुतीकरण गर्नुभयो। उहाँका अनुसार गणनाबाट प्राप्त तथ्याङ्कले सरकारलाई नीति निर्माण तथा योजना तर्जुमा गर्न, कूल गार्हस्थ उत्पादन र राष्ट्रिय लेखाका अनुमान सुदृढ बनाउन, आधार वर्ष परिवर्तनका लागि आवश्यक तथ्याङ्क उत्पादन गर्न तथा विभिन्न आर्थिक सर्वेक्षणका लागि नमूना छनोट ढाँचा तयार गर्न सहयोग र्पुयाउनेछ। साथै तथ्याङ्कीय व्यवसायिक दर्ता प्रणाली निर्माण, अनौपचारिक अर्थतन्त्रका सूचक तयार पार्ने तथा करिब ५० प्रतिशत रहेको अनौपचारिक अर्थतन्त्रलाई क्रमशः औपचारिक दायरामा ल्याउन समेत यो गणना उपयोगी हुने विश्वास व्यक्त गरिएको छ। दर्ता नभएका फर्महरूलाई मूलधारमा ल्याउन पनि तथ्याङ्कले महत्वपूर्ण आधार प्रदान गर्ने बताइएको छ।

त्यसैगरी उहाँले औद्योगिक, व्यापारिक तथा सेवा क्षेत्रसँग सम्बन्धित विस्तृत विवरण सङ्कलन गरी प्रमाणमा आधारित नीति निर्माणमा सहयोग र्पुयाउने उद्देश्यले गणना सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो। संकलित तथ्याङ्कको गोपनीयता पूर्ण रूपमा सुरक्षित गरिने र कानुनी रूपमा अदालतमा प्रमाणका रूपमा प्रयोग नगरिने स्पष्ट पार्दै उहाँले व्यवसायीहरूलाई निःसंकोच आवश्यक विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो।

अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले गणनाको प्रभावकारिता, निजी क्षेत्रको सहभागिता, कार्यान्वयनका क्रममा देखिन सक्ने चुनौती तथा सुधारका सम्भावित उपायबारे आ–आफ्ना धारणा राखेका थिए। सहभागीहरूले विश्वसनीय तथ्याङ्कमार्फत दिगो आर्थिक नीति निर्माणका लागि सबै पक्षको समन्वित प्रयास आवश्यक रहेको निष्कर्ष निकालेको छ । नेपालमा वि.सं. २०७५ मा पहिलोपटक राष्ट्रिय आर्थिक गणना सम्पन्न गरिएको थियो, जसअन्तर्गत अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार १८ समूहका आर्थिक एकाइहरूलाई समेटिएको थियो। कार्यालयले दोस्रो आर्थिक गणना २०८२ वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet

आर्थिक


Kathmandu : Dream Skin Nepal, a trusted brand in Korean skincare, has officially inaugurated its new outlet at Durbar Marg, Kathmandu. On the same occasion, Fynaza Accessories and The Fragrance Room were also formally launched.The inauguration ceremony was held at 2:30 PM and was graced by His ExcellencyAmbassador of the Republic of Korea to Nepal Park Tae-Young, as the chief guest.

The event witnessed the presence of distinguished business leaders from various industries, celebrities from different fields, media representatives, and valued customers of Dream Skin Nepal.Addressing the programme, Ambassador Park Tae-Young expressed his happiness over the growing popularity of Korean products in Nepal. He also conveyed his confidence that trade and commercial cooperation between Nepal and the Republic of Korea would further strengthen in the future.

Speaking on the occasion Director of Dream Skin Nepal Dilip Kumar Yadav extended his gratitude to all the guests and participants. He shared that Dream Skin Nepal has been importing and supplying 100 percent authentic Korean skincare, haircare, and cosmetic products to Nepali consumers. He said, “Along with the opening of our new Dream Skin Nepal outlet, we have also inaugurated Fynaza Accessories and The Fragrance Room, where customers can find attractive jewellery and high-quality perfumes. In the future, we plan to further expand our brands and product range.”

In a short span of time, Dream Skin Nepal has successfully earned the trust of customers by delivering quality Korean products and enhancing the skincare experience of Nepali consumers. With the launch of Fynaza Accessories and The Fragrance Room, the company has also clearly indicated its expansion into the jewellery and fragrance segments.

श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

आर्थिक


काठमाण्डौ । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रि (NVCCI) को १४औँ वार्षिक साधारण सभाले सुनिल भक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमिति अन्तर्गत उर्मिला श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र सुरेशमान श्रेष्ठ तथा गोपालदास मानन्धर उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । 

त्यस्तै महासचिवमा नवीन सारु (डोल ब थापा), कोषाध्यक्षमा स्वाति घोरीवाला, सचिवमा  पवित्रमान गुरुङ र  प्रकाश (राम) श्रेष्ठ निर्वाचित हुनुभएको छ भने सदस्यमा मनिशलाल प्रधान, सुशील स्थापित, दिपक मर्हजन, संजीव तुलाधर, राजु श्रेष्ठ,  श्याम मारवाडी, रश्मि पन्त, कुमार श्रेष्ठ, प्रकाश रेग्मी, आयूस बहादुर श्रेष्ठ, रमेश पराजुली,  विधाता श्रेष्ठ, अच्युत बहादुर हाडा, सक्षम घिमिरे, सर्वोत्तम लाल श्रेष्ठ निर्वाचित हुनुभएको छ। त्यस्तै कार्यसमितिले किरण कुमार श्रेष्ठ, ध्रुव कुमार श्रेष्ठ र डा सरोज अधिकारीलाई सल्लाहकारमा चयन गरेको छ ।  

निर्वाचन अधिकृतले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नाम सार्वजनिक गर्दै प्रमाणपत्र प्रदान गर्नुभएको थिए।

नेपाल - भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिका अध्यक्ष दीपक कुमार मल्होत्राको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अवैतनिक वाणिज्यदूत श्रेष्ठले नेपाल–भियतनाम व्यापारिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन चेम्बरको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “भियतनामी बजारमा नेपाली उत्पादनको सम्भावना बढिरहेको छ। चेम्बरको सक्रियताले नेपाली निर्यात क्षमता अझ विस्तार गर्न सक्छ।”

साथै, अवैतनिक वाणिज्यदूत श्रेष्ठले दुई मुलुकबीच सहकार्य बढाउन आवश्यक रहेको बताउँदै कृषि, पर्यटन, व्यापार तथा सूचना प्रविधि क्षेत्रमा लगानी विस्तारका प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो। उहाँले नेपाल–भियतनामबीच प्रत्यक्ष हवाई उडान सञ्चालन हुनु आवश्यक रहेकोमा पनि जोड दिनुभयो।

सभामा अध्यक्ष दीपक कुमार मल्होत्राले नेपाल–भियतनाम व्यापार विस्तारका लागि चेम्बरले विगतमा गरेको पहल तथा गतिविधिबारे प्रकाश पार्नुभयो। उहाँले हाल देशमा व्यवसायी तथा उद्योगीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको भन्दै दुःख व्यक्त गर्नुभयो। साथै उहाँले भन्नुभयो, “नेपाल–भियतनाम व्यापार सम्बन्धमा अझ ठूलो सम्भावना छ। निजी क्षेत्र सक्रिय भएर अघि बढे दुवै मुलुकको अर्थतन्त्र लाभान्वित हुनेछ।”

सभामा महासचिव गोपालदास मानन्धरले २०८०/८१–२०८१/८२ को वार्षिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभयो। त्यस्तै, कोषाध्यक्ष कविकुमार टिबरेवालाले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै संस्था वित्तीय रूपमा सुदृढ बन्दै गएको जानकारी दिनुभयो।

कार्यक्रममा भियतनामसम्बन्धी व्यापार–व्यवसायमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई  अवार्ड प्रदान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा आयातकर्ता श्याम मारवाडी, नेपाल–भियतनाम संयुक्त लगानी कम्पनी ‘फो ९९’ का प्रबन्ध निर्देशक थी किम क्वोङ वो (बाओ) तथा प्रकाशन, समर्थन र संस्थाको सुदृढीकरणमा योगदान पुर्‍याएको आधारमा उर्मिला श्रेष्ठ हुनुहुन्छ। साथै, चेम्बरका आजीवन सदस्यता प्राप्त व्यक्तिहरूलाई अध्यक्ष मल्होत्राले प्रमाणपत्र प्रदान गर्नुभयो।

पदस्थापन समारोहपछि नवनिर्वाचित अध्यक्ष सुनिल भक्त श्रेष्ठले मन्तव्य व्यक्त गर्दै भियतनामसँगको व्यापारिक सम्बन्ध विस्तारमा चेम्बरले थप सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “दुवै देशबीचको व्यापार क्षमता ठूलो छ। अबको कार्यकालमा हामी व्यापारिक प्रमोशन, लगानी आकर्षण तथा व्यवसायीहरूलाई जोड्ने प्लेटफर्मलाई अझ सशक्त बनाउँदै लैजानेछौँ।”

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले जनाएको छ।