उर्लाबारी, मोरङ – उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा शनिबार एक भव्य समारोहका बीच “जुनियर मिस्टर एण्ड मिस उर्लाबारी २०८२, सिजन–२” को ग्राण्ड फाइनल सम्पन्न भएको छ। आकर्षक नृत्य, सांगीतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण उक्त ग्राण्ड फाइनलमा कुल ४३ जना प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा भएको थियो।
जुनियर मिस्टर उर्लाबारीतर्फ उर्लाबारी–८ का आदित्य बराल विजेता बनेका छन्। उनी लालिगुरास सेकेन्डरी बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थी हुन्। सोही शीर्षकअन्तर्गत फर्स्ट रनर अपको उपाधि पशुपति आवासीय माविका मिङ्सो हाङ लिम्बुले हात पारे भने ब्रिलियन्ट बोर्डिङ स्कूलका समिप दाहाल सेकेण्ड रनर अप घोषित भएका छन्।
त्यसैगरी, जुनियर मिस उर्लाबारीको ताज उर्लाबारी–३ की सायुरी दाहालले जितेकी छन्, जो सप्तकोशी आवासीय माविमा अध्ययनरत छिन्। उनलाई सिजन–१ की विजेता मेट्रिना सुवेदीले ताज पहिराइदिएकी थिइन्। मिस उर्लाबारीतर्फ फर्स्ट रनर अपको उपाधि पशुपति आवासीय माविकी सेविका थापाले प्राप्त गरिन् भने लालिगुरास अंग्रेजी माविकी गृषिका कार्की सेकेण्ड रनर अप बनेकी छन्।
विजेताहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। इटहरीस्थित ड्रिम मोडलिङ एजेन्सी प्रा.लि. र क्रिएटर आर्ट फाउण्डेसन उर्लाबारीको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा प्रतिभा, व्यक्तित्व र प्रस्तुतीका आधारमा विजेताहरू छनोट गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।
निर्णायक मण्डलीमा शान्ति पाख्रिन, रोनक अग्रवाल, संगिना चौधरी, अस्मिता ओली श्रेष्ठ र नवित प्रधान रहेका थिए। कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बु, ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रञ्जन बराल, वडा सदस्य सुमन कार्की, समाजसेवी नितम चौहान, पत्रकार घनश्याम भण्डारी र सरोज बस्नेत लगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक विकी ठकुरीका अनुसार, “जुनियर मिस्टर एण्ड मिस उर्लाबारी” प्रतियोगिता बालबालिकाको आत्मविश्वास, नेतृत्व क्षमता र सृजनशीलता विकासका लागि उत्कृष्ट मञ्चका रूपमा स्थापित भएको छ।
यसैगरी, विशेष उपाधिहरूमा भोटिङ स्टार उपाधि एञ्जेल चौधरी र सोधुहाङ लिम्बुले प्राप्त गरेका छन् भने पब्लिक च्वाइस उपाधि सायुरी दाहाल र निस्साम श्रेष्ठले जितेका छन्।
काठमाडौं– पाँचौं संस्करणको ‘आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो’ काठमाडौंमा प्रारम्भ भएको छ । सिटी सेन्टर कमलपोखरीमा मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेल, मिस इन्टरनेशनल २०२५ उरुषा भण्डारी, आईआईएफटीका प्रवन्ध निर्देशक फुपु तेञ्जिङ शेर्पा, सल्लाहकार तथा व्यवसायी उज्ज्वलजङ्ग शाह, फोटोग्राफर शिवलाल श्रेष्ठसहितका व्यक्तित्वले उक्त एक्स्पोको रिबन काटेर भव्य शुभारम्भ गरिएको छ ।
दुई दिने प्रतिस्पर्धात्मक एक्स्पोको आयोजक तथा आईआईएफटीका प्रवन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार आईआईएफटी स्कुल अफ फेशन एण्ड इन्टेरियर डिजाइनमा अध्ययन गरेका इन्टेरियर डिजाइनका विद्यार्थीहरूले आफ्नो दक्षता प्रदर्शनका साथै नेपालमा इन्टेरियर डिजाइनको महत्त्वलाई उजागर गर्नका लागि एक्स्पोको आयोजना गरिएको हो।
एक्स्पोमा इन्टेरियर डिजाइन अध्ययन गर्ने विद्यार्थीले बनाएका विभिन्न प्रोजेक्टहरू राखिएको छ । एक्स्पोमा क्याफे, कार शोरूम, बैंक डिजाइन, नेवारी क्याफे, रेष्टुराँ, प्रि–स्कुल, स्पासहित विभिन्न प्रोजेक्टहरू समावेश छन् । एक्स्पोमा विद्यार्थीहरूले क्याफे तथा रेष्टुराँको थिममा प्रोजेक्ट बनाएका छन् भने ग्राजुएट हुन लागेका विद्यार्थीहरूले थेसिस प्रस्तुति स्वोरुप बिबिध बिषयमा डिजाइनहरुको मकप एक्स्पोमा राखेका थिए। एक्स्पोलाई थेसिस १७ जना विद्यार्थी र क्याफे
तर्फ़ ३९ जना विद्यार्थी सहभागी भएका थिए ।
एक्स्पोमा सहभागिता जनाएका विद्यार्थीहरुले स्वदेश अथवा विदेश, जहाँ भए पनि इन्टेरियर डिजाइनको भविष्य राम्रो भएकाले यो विषय अध्ययन गरेको धारणा व्यक्त गरेका छन् । दोस्रो दिन सम्पन्न ग्राजुएशन तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौँ महानगरपालिकाकी उप–मेयर श्री सुनिता डंगोल ज्यु उपस्थित हुनुहुँदै, उहाँले ग्राजुएट विद्यार्थीहरूलाई Certificate of Accomplishment प्रदान गर्नुभएको थियो।
कार्यक्रममा विशेष अतिथिहरूको सहभागितासहित क्याफे डिजाइन तर्फ़ उज्ज्वल शाही , सगुन पौडेल , दिपेश माली र अर्जुन तामांग क्रमस प्रथम दितिय, तृतीय र पब्लिक चोइस अवार्ड विधामा र थेसिस डिजाइन तर्फ़ उज्ज्वल शाही , प्राची ठाकुर , बालकृष्ण बस्याल मोहनी महर्जन क्रमस प्रथम दितिय, तृतीय र पब्लिक चोइस अवार्ड विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथिद्वारा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
विशेष अतिथिहरूमा लामिनार टाइल्सका प्रबन्ध निर्देशक श्री अशुतोष खेतान, व्यवसायी श्री अनिल थामन, श्री उज्ज्वल कृष्ण श्रेष्ठ, तथा बरिष्ठ गायक श्री लाक्पा शेर्पाज्युहरू हुनुहुन्थ्यो। यस अवसरमा लामिनार टाइल्सका प्रबन्ध निर्देशक श्री अशुतोष खेतानज्युले आफ्नो कम्पनीको तर्फबाट विजयी विद्यार्थीहरूलाई नगद पुरस्कार समेत प्रदान गर्नुभएको थियो।
उक्त कार्यक्रम शेर्पा ग्रुपको मुख्य प्रयोजनमा तथा बर्जर पेन्ट्स र लामिनार टाइल्सद्वारा सह–प्रायोजक रूपमा सहभागिता जनाइएको थियो।


काठमाडौं- डिजिटल युगको विकाससँगै गीत–संगीतको क्षेत्रमा नयाँ–नयाँ प्रतिभाहरु उदाउँदै आएका छन्। यही क्रममा पर्सा, बिरगञ्जका बिज्ञान स्याङ्गबोले आफ्नो नयाँ गीत ‘यो नयन’ सार्वजनिक गरेका छन्। गीतमा बिज्ञान स्याङ्गबो र अस्मिता अधिकारीको सुमधुर आवाज सुन्न सकिन्छ। यस गीतका शब्द र संगीत पनि स्वयं विज्ञान स्याङ्गबोकै हुन्। गीतको एरेन्ज, मिक्सिङ र माष्टरिङको जिम्मेवारी बाबु प्रधानले सम्हालेका छन्।
निर्मल कुमार लामाको निर्देशनमा बनेको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र अन्जु तामाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ। सुन्दरताले भरिएकी अन्जु तामाङको यो पहिलो डेब्यु म्युजिक भिडियो हो। हाल उनी स्नातक तेस्रो वर्षमा अध्ययनरत छन्। भक्तपुरकी अन्जुले सानैदेखि नै गीत–संगीत र अभिनयमा रुचि राख्दै आएकी बताएकी छिन्। यस भिडियोमार्फत उनले अभिनय क्षेत्रमा आफ्नो उज्ज्वल भविष्यको संकेत देखाएकी छिन्।
गीतको छायांकन पवन शुस्लिङले गरेका छन् भने मेकअप शुभास तिमिल्सिनाको रहेको छ। भिडियोको सम्पादन र कलर ग्रेडिङ पनि पवन शुस्लिङकै हातबाट गरिएको हो। ‘यो नयन’ गीतलाई बिज्ञान स्याङ्गबोको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। विज्ञानले यसअघि आफ्नो आवाजमा १० वटा गीत सार्वजनिक गरिसकेका छन् र करिब १५० भन्दा बढी गीतका शब्द लेखिसकेका छन्।
चितवन, कात्तिक २२ | साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा आज गौरेश्वर पशुपति मन्दिर, नारायणगढमा चितवन–नवलपुर क्षेत्रीय संगठन विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा साँगे खोलाको पानी ढोलो क्षेत्रका मूल वंशज, हाल चितवन–नवलपुर क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिहरू, विवाहित छोरी–चेली र स्थानीय समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले अभियानका गतिविधि, उद्देश्य र संगठन विस्तारका आगामी योजनाबारे गहन छलफल गरेका थिए।
सो अवसरमा रवि भण्डारीको संयोजकत्वमा ११ सदस्यीय साँगे सभ्यता संरक्षण तथा विकास अभियान चितवन–नवलपुर कार्यसमिति गठन गरिएको छ। नवगठित समितिमा सह–संयोजक लक्ष्मी न्यौपाने, सचिव जीवन वाग्ले, कोषाध्यक्ष केशव राज काफ्ले रहेका छन। सदस्यहरूमा दधिराज वाग्ले, उर्मिला न्यौपाने, वासना पण्डित, प्रकाश भण्डारी, विष्णु वाग्ले घिमिरे, भगवती वाग्ले नेपाल र सागर काफ्ले रहेका छन।
कार्यक्रम अभियानका केन्द्रीय संयोजक सुरेन्द्र वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कवि तथा साहित्यकार माधवप्रसाद भारद्वाज प्रमुख अतिथि र अग्रणी महिला भुवनेश्वरी अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो।
करीब डेढ सय सहभागीको उपस्थिति रहेको सो कार्यक्रममा महासचिव सरोज ओझा, पूर्व वरिष्ठ प्रहरी उपरीक्षक हरिराज वाग्ले, इन्जिनियर ठाकुर प्रसाद पण्डित, र बाला शर्मा लगायतले अभियानका उद्देश्य र महत्वका बारेमा विचार व्यक्त गर्नुभएको थियो।
कार्यक्रमले साँगे सभ्यता संरक्षण तथा विकास अभियानलाई स्थानीय तहमा सशक्त रूपमा विस्तार गर्दै सांस्कृतिक पहिचान संरक्षणमा जोड दिने निर्णय गरेको छ।
काठमाडौँ– नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ गायक कमल बि.के. ‘निर्मोही’ लाई ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ द्वारा सम्मानित गरिएको छ । नेपाली गीत–संगीतमा उहाँले पु¥याउनु भएको दीर्घसाधना र उल्लेखनीय योगदानको कदर गर्दै नगद रु. ५१ हजार, सम्मानपत्र र दोसल्ला सहित सम्मान प्रदान गरिएको हो । गायक निर्मोही पछिल्ला वर्षहरूमा मृगौला रोगबाट पीडित रहँदै पनि निरन्तर सांगीतिक सिर्जनामा सक्रिय रहनु भएकोछ । उहाँका ‘बुलबुल तालैमा’, ‘आऊँ त भने’, ‘मैले भन्थें नि’, ‘सलल बग्ने’, ‘ताने झैँ माया’, ‘अरू मैले’, ‘भेरी दोभान’ र ‘लाग्यो माया’ जस्ता गीतहरू आज पनि श्रोतामाझ अत्यन्त लोकप्रिय छन् । साथै, उहाँ एक कुशल रेडियोकर्मी समेत हुनुहुन्छ ।
राजधानी काठमाडौंमा सम्पन्न भएको उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. प्रमुख अतिथी रहनु भएको थियो भने कार्यक्रममा सांगीतिक क्षेत्रका वरिष्ठ कलाकार, स्रष्टा, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पुरस्कारका संरक्षक गायक तथा संगीतकार कन्हैया सिंह परियारले पुरस्कारको मूल उद्देश्य नेपाली संगीतमा उल्लेखनीय योगदान पु¥याएका अग्रज स्रष्टा र कलाकारहरूलाई जीवनकालमै सम्मान गर्ने रहेको बताउनुभयो । उहाँका शब्दमा, “यो सम्मानले कलाकारको मनमा खुसी, जीवनमा उत्साह र सर्जनामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।” त्यसैगरी कार्यक्रमका संयोजक किर्तिमान संगीतकार सन्तोष श्रेष्ठले कार्यक्रमको उदेश्य, उपादेयता र प्रभावकारिताको विषयमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी.ले ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ ले गीत संगीतमा आवद्ध कलाकारहरुलाई नगद राशी सहितको पुरस्कार प्रदान गर्नु प्रशंशनिय कार्य रहेको बताउँदै यस्ता सम्मान कार्यक्रमहरूले कलाकारहरूमा नयाँ उत्साह, ऊर्जा थप्ने काम गर्दछ भने कलाकर्मीहरूलाई निरन्तर सिर्जनशील रहन प्रेरणा दिने यस्ता कार्यक्रमहरू हरेक क्षेत्रबाट निरन्तर आयोजित हुनु आवश्यक रहेको बताउनु भयो ।” अध्यक्ष डि.सी.ले प्रवासमा रहेरपनि नेपाली गीत संगीतको विकासको लागी योगदान दिनु भएकोमा पुरस्कार समितिका संरक्षक कन्हैया सिंह परियार र अञ्जना गुरुङलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।
एरा प्रोडक्सनको ब्यवस्थापनमा आयोजना भएको उक्त कार्यक्रमको सञ्चालन चर्चित रेडियोकर्मी हेम सुवेदीले गर्नुभएको थियो । कार्यक्रमको सदस्य सचिव निर्देशक माधब खरेल हुनुहुन्थयो भने, कार्यक्रमको सभापतित्व टिका गोपाल एम्. क्रियशनकी अध्यक्ष गीता सिंहले गर्नुभएको थियो ।

“स्वरमाधुरी”को जादुमय एकल साङगीतिक प्रस्तुती
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ को विशेष अवसरमा ‘स्वरमाधुरी’ उपाधि प्राप्त वरिष्ठ गायिका अञ्जना गुरुङले आफ्ना केहि चर्चित गीतहरुलाई समावेश गरेर एकल सांस्कृतिक प्रस्तुति दिनुभयो । नेपाली संगीत क्षेत्रमा लामो योगदान दिँदै आएकी गुरुङले आफ्ना चर्चित गीतहरू “आँखीमा राख्छु मेरो देश, यस्तै हो माया मा, आँधी सरी तिम्रो माया, गङ्गारबे ढगुरुङ भाषाको गीत), जसले मुटु चुँडेर लग्यो, बदनाम भएँ म तिम्रैक कारणले, एटम बम, म त काली सुन्दरी, ठ्याक्कै भेटौला र माईली रोधी घरमा” प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाउनु भयो । उक्त एकल साङ्गीतिक प्रस्तुतीमा युगल गायन (ठ्याक्कै भेटौला)मा भने गायक तथा संगीतकार कन्हैया सिंह परियारले गायिका गुरुङलाई साथ दिनु भएको थियो ।
उहाँको मधुरस्वर र सजीव प्रस्तुतीले कार्यक्रमस्थलमा पुरानो नेपाली संगीतको सुवास फैलिएको थियो । साथै, राष्ट्रिय गीत तथा रोदी शैलीका आकर्षक नृत्य प्रस्तुतीहरूले पनि कार्यक्रममा थप रौनकता भरेका थिए । कार्यक्रमको कोरियोग्राफर भने नृत्य निर्देशन जोगेन्द्र के.सी. ले गर्नु भएको थियो ।
काठमाण्डौ – फिल्म ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्म माघको २३ गतेबाट रिलिजमा आउने पक्का भएको छ ।
आज ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । यो फिल्ममा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । उनको साथमा फिल्ममा नायकद्धय धिरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ । यही फिल्मबाट गायक समीर श्रेष्ठ फिल्मको पर्दामा नायकको रुपमा उदाउँदैछन् ।
महिला केन्द्रित यो फिल्मको फस्टलुकमा नायिका आना शर्माका विभिन्न लुक्स देख्न सकिन्छ । फिल्ममा उनी ‘रमी’ पात्रको भूमिकामा छिन् । उनीसँग जोडिएका पात्र र उनको कथाको वरिपरी यो फिल्म बनेको छ ।
आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यो फिल्ममा आर।पी प्रोडक्सन एसोसियट निर्माताको रुपमा छ । फिल्मका निर्माता सागर लम्साल हुन् ।
फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।
शिशिर विशांखेको डीओपी रहेको फिल्ममा सुनिल सिवाकोटीको सम्पादन, कपिल पराजुलीको कलर, कातिक बरालको कोरियोग्राफी छ ।
यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुगेका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मले केही फरक आयाम र कथा बोकेको भन्दै शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै नव–नायक समीर श्रेष्ठले आफू यो फिल्ममा संगीतकारको रुपमा जोडिएको र कथावस्तु मन परेपछि काम गरेको सुनाए ।
यस्तै, नायिका आना शर्माले ४ वर्ष अगाडि नै यो कथा आफूले सुनेको र यसको कथावस्तु फरक लागेकाले जोडिएको सुनाइन् । उनले अहिले आफ्नो जीवनमा ‘रमिताको पिरती’ नै घुमिरहेको तर्क गर्दैै दर्शकलाई यो फिल्मको कथावस्तु मनपर्ने तर्क गरिन् ।
काठमाडौँ –वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ सम्मान अर्पण गरिएको छ । बुधबार काठमाडौँमा एक विशेष कार्यक्रमबिच मिलाप मासिकले उनलाई सम्मान प्रदान गरेको हो ।
कार्यक्रमका मिलाप मासिकका सम्पादक कृष्ण भुसाल, महाकाव्यकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, वरिष्ठ गायक तथा संगीतकार कन्हैया सिंह, चलचित्र निर्देशक माधव राज खरेल, सानु श्रेष्ठ, मिलाप फाउन्डेसन अध्यक्ष गीता अधिकारीलगायतले उनलाई सम्मान प्रदान गरे ।
कार्यक्रममा गायक तथा संगीतकार कन्हैया सिंह, अनेसासका पूर्वअध्यक्ष लेकाली, महाकाव्यकार खेमनाथ दाहाल लगायतले गायिकाको गायनको चर्चा गरेका थिए ।
नेपाली गायन क्षेत्रमा आफ्नै पहिचान स्थापित अञ्जनाले एक हजारको हाराहारीमा गीत गाएकी छन् । उनको ‘आँखैमा राख्छु मेरो देश’, ‘म त काली सुन्दरी’, ‘बदनाम भए म तिम्रै कारणले’, ‘आँधी सारी तिम्रो माया’, ‘ठ्याक्कै भेटौंला’, ‘नजर नजरको’, ‘जसले मुटु चुडेर लग्यो’, ‘माइला रोधी घरमा (कौडा)’, ‘मान चाहे नमान तिमी मेरो हौ’ लगायत धेरै गीतहरू श्रोता–दर्शकबिच निकै मन पराइएका छन् । गायिका गुरुङ पछिल्लो केही वर्षदेखि अमेरिका बस्दै आएकी छन् ।
काठमाण्डौ – कवि तथा गजलकार रूपक अलंकारको कविता ‘रारा तिमी स्वर्गकी अप्सरा’ अहिले विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीतमा सार्वजनिक गरिएको छ। स्रग्विणी छन्दमा रचना गरिएको यो कविता रूपकको हालै प्रकाशित कवितासंग्रह ‘शान्त शर्वरी’ मा समावेश गरिएको हो। श्रेष्ठले उक्त कवितालाई आफ्नै संगीत संयोजन र गायनमार्फत् जीवन्त बनाएका छन्।
छन्द कवितालाई निरन्तर संगीतमा रूपान्तरण गर्दै आएका श्रेष्ठ भन्छन्, “छन्दको कोमलता, लयमधुरता र प्रभावकारितालाई संगीतमा उतार्दा त्यसको ओज अझ बढ्छ। यदि शब्दहरू संगीतमैत्री भए, गीत झनै सुन्दर र सशक्त बन्छ।”
कवि रूपकका अनुसार, ‘शान्त शर्वरी’ संग्रहका दुई कवितालाई सन्तोष श्रेष्ठले संगीतबद्ध गरी स्वर दिएका छन्।उनका शब्दमा, “यसअघि सन्तोषजीले पञ्चचामर छन्दमा मेरो ‘म हुँ स्वतन्त्र रापती’ कविता पनि गाउनुभएको थियो, जुन श्रोताले निकै मन पराउनुभयो।”
‘रारा तिमी स्वर्गकी अप्सरा’ मार्फत् कवि रूपक र संगीतकार सन्तोष श्रेष्ठले नेपाली छन्द कवितालाई आधुनिक संगीतको माध्यमबाट नयाँ स्वाद र सौन्दर्य प्रदान गरेका छन्।
काठमाण्डौ – ‘फूल फुल्यो केशरी’ गीतको म्युजिक भिडियो हालै ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतमा कलाकार प्रबेश उप्रेती र आशा भुषालको उत्कृष्ट अभिनय देख्न सकिन्छ, अन्नपुर्ण बेसक्याम्प क्षेत्रको रमणीय मनोरम दृश्यलाई समेटेर तयार पारिएको यो भिडियोको निर्देशन र छायांकन मरुभूमि नारायणले गरेका हुन् ।
गीतका शब्द र संगीत दीपक शर्माका हुन् भने अनु चौधरी र सविन सुवेदीले सुमधुर स्वरमा गीतलाई जीवन्त बनाएका छन् । संगीत संयोजनमा पुरुषोत्तम सुवेदी, ध्वनि सम्पादनमा नरेन्द्र बियोगी, र सम्पादन तथा कलरमा रोशन धितालको योगदान रहेको छ ।
‘फूल फुल्यो केशरी’ गीतले फूलको फुलाइसँगै मानवीय प्रेम, आत्मिक सम्बन्ध र जीवनको सुन्दरतालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । निर्देशक मरुभूमि नारायणको कलात्मक दृष्टि, प्रबेश उप्रेतीको स्वाभाविक अभिनय र आशा भुषालको भावनात्मक उपस्थितिले यो गीतलाई अझ हृदयस्पर्शी बनाएको छ ।
काठमाडौं- ‘१४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल–२०२६’ आगामी माघको पहिलो साता काठमाडौँमा आयोजना हुने भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा यो महोत्सव हुन लागेको हो । आयोजकका अनुसार महोत्सवको लागि चलचित्र धमाधम प्राप्त भइरहेको छन् ।
यो महोत्सवको लागि आयोजक पक्षले आगामी मंसिरको पहिलो साता भित्र नेपाली चलचित्र, आदिवासी चलचित्र, वृत्तचित्र, लघु चलचित्र, म्युजिकल चलचित्र समावेश गर्न पनि आयोजक पक्षले जनाएको छ । महोत्सवको लागि फिल्म फ्रि वे डट कम तथा मार्फत नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभलका साइटबाट चलचित्रको आवेदन दिन सकिने छ । यस्तै आयोजक विलक्षण क्रियसनको कार्यालयमा समर्पक गरेर पनि महोत्सवमा चलचित्र समावेश गर्न पाइने छ ।
१५ वर्षअघिबाट सुरु गरिएको यो महोत्सवले नेपाल र अफ्रिकासँगै संसारभरका चलचित्र सांस्कृतिक आदान प्रदानमा महत्त्वपूर्ण योगदान दिँदै आएको यो महोत्सवकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा। मञ्जु मिश्रले बताएकी छिन्,‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदान प्रदानसँगै दुई वर्ष यताबाट यो महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रलाई पनि प्रदर्शन गर्दै आएका छौँ । महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो नारा रहेको छ ।’
यो महोत्सव निर्देशक डब्बु क्षत्रीले आगामी मंसिरको दोस्रो साताबाट निर्णायक टिमले चलचित्र चयनको प्रक्रिया सुरु गर्ने छन् । चयन भएका चलचित्रहरूको विवरण मंसिरको अन्तिम साता सार्वजनिक गर्ने र माघको पहिलो साता यो महोत्सव आयोजना गरिने पनि क्षत्रीले जानकारी गराए । बिगत झैँ यस पटक पनि महोत्सवमा विदेशी चलचित्रकर्मीको सहभागिता हुने भएको छ । महोत्सवमा उत्कृष्ट भएका चलचित्र, कलाकार, प्राविधिकलाई अवार्ड समेत प्रदान गरिने भएको छ । क्षत्रीका अनुसार महोत्सवमा यस पटक नृत्य सम्बन्धी प्रशिक्षण, चलचित्रमा जेनजी पुस्ताबारे अन्तरक्रिया, मास्टर क्लास पनि आयोजना गरिने भएको छ । कलाकारको चित्र प्रदर्शनी पनि आयोजना गरिने भएको छ ।