generalnews
||Power News Asia||

आजको समाचार

‘मेरो त्रिशूली’मा पीडा, सम्झना र फेरि उठ्ने आशा

समाचार


“एउटा नदी, हजारौँ सम्झना र एउटा कहालीलाग्दो विपत्ति । त्रिशूलीसँग जोडिएको शैशबकाल, आफ्नै माटोको पीँडा र प्रभावित परिवारको मौन आवाजलाई सङ्गीतमा उतार्दै साहस शाक्यले ल्याएका छन्—‘मेरो त्रिशूली’।”

काठमाडौं – नदीको पनि आफ्नै आवाज हुन्छ । कहिले त्यो आवाज सुमधुर लाग्छ, कलकल बगिरहेको  कञ्चन अनि मनमोहक ! अनि कहिले त्यो आवाज किनारमा खेलिरहेका बालबालिकाको हाँसोमा सुनिन्छ, कहिले बृद्धा भएका बाआमाको खुशीमा  सुनिन्छ । कहिले माछा मारिरहेका मानिसका आशामा एउटाआवाज भेटिन्छ । 

तर, कहिलेकाहीँ त्यही आवाज अचानक बदलिन्छ–“गर्जनमा, भेलमा र विनाशको चीत्कारमा ! हो, त्रिशूली पनि त्यस्तै नदी हो । यसले नुवाकोट र आसपासका भूगोलका मानिसलाई केवल पानी दिएको छैन, जीवन दिएको छ । पुस्तौँका सम्झना बोकेको छ । कसैको शैशबकाल यसकै नदिको किनारमा बितेको छ, कसैको प्रेमकथा यसकै छेउमा सुरु भएको छ, कसैको जीविकोपार्जन यसैसँग जोडिएको छ ।

तर, प्राकृतिक विपत्तिको एउटा क्षणले यही परिचित त्रिशूलीलाई धेरै परिवारका लागि पीँडाको नाम बनाइदियो । घर–आँगनमा सन्नाटा छायो । कतिपय परिवारले प्रियजन गुमाए । कतिपयले आफ्नो सम्पत्ति र जीवनभरको कमाइ गुमाए । अनि त्रिशूलीसँग जोडिएका पुराना ती खुसीका सम्झनाहरू अचानक पीँडादायी स्मृतिमा बदलिन पुगे ।

यही पीँडा, यही सम्झना र त्यसपछि फेरि उठ्ने मानवीय साहसलाई सङ्गीतमा उतारेर सङ्गीतकर्मी “साहस शाक्यले ‘मेरो त्रिशूली’” सार्वजनिक गरेका छन् ।

यो गीत एउटा नदीको कथा मात्र होइन । यो एउटा भूगोलको कथा हो । यो आफ्ना मानिसहरूको कथा हो । र सबैभन्दा महत्वपूर्ण–यो विपत्तिपछि पनि जीवन अघि बढ्छ भन्ने आशाको कथा हो ।
“जब आफ्नै ठाउँको पीँडाको गीत बन्छ” साहस शाक्यका लागि त्रिशूली टाढाको कुनै नदी होइन । नुवाकोटमा जन्मिएका शाक्यले आफ्नो शैशबकालदेखि युवावस्थासम्मको लामो समय त्यही भूगोलमा बिताएका छन् । उनको जीवनका प्रारम्भिक सम्झना त्यही माटोसँग जोडिएका छ । साङ्गीतिक यात्राको सुरुवाती संघर्ष पनि यहि नुवाकोटबाटै सुरु भयो । त्यसैले त्रिशूलीमा आएको विपत्तिको पीँडा उनले अरू कसैले सुनाएको कथाजस्तो मात्र महसुस गरेनन् । त्यो ठाउँमा उनको आफ्नै कथा थियो । आफ्नै शैशबकालसँग जोडिएको नदी थियो । आफूले चिनेको भूगोलमा मानिसहरूले भोगेको दुःख थियो । 

सायद यही भावनात्मक सम्बन्धले उनलाई एउटा प्रश्नतिर पु¥यायो– “यो पीँडालाई कसरी आवाज दिने ?” उनको उत्तर थियो—सङ्गीत ।  शब्दमार्फत पीँडा बोलाउने, धुनमार्फत सम्झना जगाउने र स्वरमार्फत आशा बाँड्ने प्रयासका रूपमा ‘मेरो त्रिशूली’ जन्मिएको हो ।

गीतमा त्रिशूलीसँग जोडिएका पुराना दिनहरूको सम्झना छ । विपत्तिले दिएको चोट छ । बिछोडको पीँडा छ । तर त्यही पीँडाको बीचमा फेरि जीवन फर्किने आशा अनि विश्वास पनि छ । त्यसैले गीतको भाव अन्ततः निराशामा पुगेर रोकिँदैन । बरु एउटा आशावादी वाक्यमा पुग्छ–“फेरि त्रिशूली हाँस्नेछ । ”

त्रिशूली केवल नदी होइन, यो एउटा स्मृतिको एउटा अध्याय हो । नेपालका धेरै नदीहरूजस्तै त्रिशूली पनि भूगोलको सीमाभन्दा धेरै ठूलो अर्थ बोकेको सभ्यताको प्रतिक हो । यससँग मानिसको दैनिकी जोडिएको छ । यात्रासँग जोडिएको छ । पर्यटनसँग जोडिएको छ । संस्कृतिसँग जोडिएको छ । अनि सबैभन्दा महत्वपूर्ण मानिसका व्यक्तिगत स्मृतिहरूसँग जोडिएको छ । अनन्तकालका लागी । 
त्यसैले एउटा प्राकृतिक विपत्तिले नदीको बहाव मात्र परिवर्तन गर्दैन । त्यसले मानिसको स्मृतिको अर्थ पनि बदलिदिन्छ । हिजोसम्म जहाँ बाल्यकाल सम्झिन्थे, आज त्यही ठाउँमा विपत्तिको दृश्य सम्झनुपर्ने अवस्था आउको छ । धुमिल स्मृति हैन विकराल स्पष्ट तस्वीरका साथमा ।

शाक्यको ‘मेरो त्रिशूली’ यही स्मृतिको दोहोरोपनमा उभिएको गीत हो । एउटा त्रिशूली छ, जसले शैशबकालका खुसीहरू बोकेको थियो । अनि अर्को त्रिशूली छ, जसले विपत्तिको कहालीलाग्दो दृश्य देखायो ।

तर, शाक्यले गीतमार्फत यी दुई त्रिशूलीलाई अलग गरेका छैनन् । बरु विगत, वर्तमान र भविष्यलाई एउटै भावनात्मक यात्रामा जोड्ने प्रयास गरेका छन् । त्यसैले गीत सुन्दा केवल विपत्तिको पीँडा मात्र महसुस हुँदैन । त्यससँगै एउटा प्रश्न पनि उठ्छ “के हामी फेरि उही मुस्कान फर्काउन सक्छौँ ?” गीतको उत्तर सकारात्मक छ ।

नेपाली सङ्गीत क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय साहस शाक्यका लागि ‘मेरो त्रिशूली’ अर्को एउटा गीत मात्र होइन, आफ्नै जीवनसँग जोडिएको सिर्जना पनि हो ।

शाक्य सङ्गीत संयोजकका रूपमा विशेष परिचित छन् । आधुनिक, पप, लोकलगायत विभिन्न विधाका सक्रिय शाक्यले चलचित्र तथा पाश्र्व सङ्गीतमा पनि उनको उत्तिकै सक्रियता रहँदै आएको छ । उनले हजारौको संख्यामा गीतहरुमा सङ्गीत संयोजन गरिसकेको बताइन्छ । लामो समय देखी अरूका गीतलाई धुन, संरचना र ध्वनिको माध्यमबाट पूर्णता दिँदै आएका शाक्यले ‘मेरो त्रिशूली’मा भने आफ्नै अनुभूति केन्द्रमा राखेका छन् ।

गीतको शब्द, सङ्गीत, सङ्गीत संयोजन, स्वर र मिक्सिङ–मास्टरिङ पनि उनकै रहेको छ । नुवाकोटमै जन्मिएका शाक्यको त्रिशुलीसँगको भावनात्मक जोडाईले पनि गीतलाई अझ उच्चकोटीको बनाएको छ ।

गीत सुन्दा एउटा सङ्गीतकर्मीले सिर्जना गरेको गीतभन्दा बढी एउटा व्यक्तिले आफ्नो ठाउँ, आफ्नो स्मृति र आफ्ना मानिसहरूप्रति व्यक्त गरेको भावनात्मक पत्रजस्तो अनुभूति हुन्छ ।
त्यो पत्र त्रिशूलीलाई लेखिएको छ । त्यो पत्र नुवाकोटलाई लेखिएको छ र त्यो पत्र ती परिवारलाई लेखिएको छ, जसका लागि प्राकृतिक विपत्तिले जीवनको एउटा अध्याय नै बदलिदिएको छ ।
‘मेरो त्रिशूली’को अर्को महत्वपूर्ण पक्ष यसको सामाजिक उद्देश्य पनि हो । विपत्ति भएपछि केही दिनसम्म समाचारमा चर्चा हुन्छ । सामाजिक सञ्जालमा तस्वीर र भिडियोहरू फैलिन्छन् । राहत र उद्धारका आवाजहरू उठ्छन् । राजनितक खिचातनी पनि हुन्छ । एक आपसमा दोषरोपण पनि गर्दछन् अनि समय बित्दै जाँदा समाचार देखी सवै कुराको प्राथमिकता फेरिन्छ । तर प्रभावित परिवारको जीवन भने त्यति छिटो सामान्य हुने छैन र  हुँदैन पनि । 

उनीहरूको दुःख लामो हुन्छ । घर पुनर्निर्माण गर्न समय लाग्छ । जीविका पुनः सुरु गर्न समय लाग्छ । प्रियजन गुमाएको पीँडा त झन् समयले पनि पूर्ण रूपमा मेटाउन सक्दैन । यो घाउ निको हुन लामो समय लाग्छ ।

यही कारण गीतमार्फत त्रिशूली बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको अवस्था देशभित्र मात्र होइन, विश्वभर पु¥याउने प्रयास शाक्यले गरेका छन् । यस गीतलाई मार्फत शाक्यले विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायसम्म यो आवाज पु¥याउने उद्देश्य राखेका छन् ।

साथै, प्रभावित परिवारका लागि आफ्नो क्षमताअनुसार सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आह्वान गरिएको छ । अर्थात् गीत यहाँ आएर मात्र सकिँदैन । गीत सुन्ने मानिससम्म पुगेर गीतको भावनात्मक पक्षले अर्को यात्रा सुरु गर्दछ । कसैले गीत सुनेर प्रभावित परिवारलाई सम्झिन सक्छन । कसैले सहयोग गर्न सक्छन । कसैले त्रिशूलीको कथा आफ्नो समुदायमा पु¥याउन सक्छन । र, यसरी एउटा गीत सामाजिक स्मृतिको माध्यम बन्न सक्छ ।

“सुदेश्ना इन्टरटेनमेन्ट” मार्फत सार्वजानिक गीतको दृश्यात्मक पक्षलाई क्यामेरामार्फत अनन्त अजयले आकार दिएका छन् । भिडियो सम्पादन बिरेन्द्र भाट “बिपिन” ले गरेका छन् । गीतको भिडियोले पनि सिर्जनाको भावलाई दृश्यमा विस्तार गर्ने प्रयास गरेको पाईन्छ ।

जहाँ शब्दले भन्न नसकेको कुरा दृश्यले बोल्छ, त्यहाँ नदी आफैँ एउटा पात्र बन्छ । किनार, पानी, भूगोल र मानिसका अनुहारहरूले गीतभित्रको भावलाई अझ गहिरो बनाउने प्रयास गर्छन् । किनभने विपत्तिको कथा केवल तथ्यांकले मात्र पूर्ण हुँदैन । कति घर प्रभावित भए भन्ने तथ्यांक महत्वपूर्ण छ । कति परिवारले क्षति बेहोरे भन्ने तथ्यांक पनि महत्वपूर्ण छ । तर त्यसको पछाडि रहेको एउटा आमाको आँसु, एउटा बालकको डर, एउटा परिवारको खाली आँगन र एउटा गाउँको मौनता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । ‘मेरो त्रिशूली’ले त्यही मानवीय पक्षलाई समात्न खोजेको छ ।

विपत्तिपछि पनि बाँकी रहन्छ—आशा, प्राकृतिक विपत्तिले मानिसको जीवनलाई एकैपटक तहसनहस पार्न सक्छ । तर त्यसपछि मानिस फेरि उठ्छ । ढलेको घर फेरि बनाउँछ । बगर बनेको जमिनमा फेरि खेती गर्छ । हराएको बाटो फेरि खोज्छ । र आँसु पुछ्दै जीवनलाई अगाडि बढाउँछ । यही मानवीय स्वभाव ‘मेरो त्रिशूली’को मूल भाव हो ।

गीतले विपत्तिलाई बिर्सन भनेको छैन । पीँडालाई छोप्न पनि खोजेको छैन । बरु पीँडालाई सम्झँदै त्यसबाट अघि बढ्ने साहस खोजेको छ ।

“फेरि त्रिशूली हाँस्नेछ ।” यो केवल एउटा गीतको लाइन मात्र होइन । यो त्रिशूलीसँग जीवन जोडिएका मानिसहरूको साझा आशा बन्न सक्ने उद्घोष् हो । गीतले, हिजो जहाँ पानी बगेको थियो, त्यही ठाउँमा भोलि फेरि जीवन बग्नेछ । हिजो जहाँ सन्नाटा थियो, त्यहाँ फेरि बालबालिकाको हाँसो सुनिन सक्छ । हिजो जहाँ आँसु थियो, त्यहाँ फेरि उत्सव आउन सक्छ । र त्यस दिन त्रिशूली फेरि उही पुरानो नदीजस्तै देखिन सक्छ “मानिसका कथा बोकेर, सम्झनाहरू बोकेर र नयाँ सपना र आशाहरू बोकेर ।” एक दिन पक्कै उज्याले छाउनेछ भनने भावलाई ब्यक्त गरेको पाईन्छ ।

साहस शाक्यको ‘मेरो त्रिशूली’लाई गीतभन्दा परको एउटा आवाजको रूपमा सुन्न सकिन्छ । तर त्यसलाई त्यतिमै सीमित गर्दा यसको भावको एउटा महत्वपूर्ण पाटो छुट्न सक्छ । यो एउटा कलाकारले आफ्नो जन्मभूमिसँग गरेको संवाद हो । आफ्नो बाल्यकालसँग गरेको संवाद हो । प्राकृतिक विपत्तिमा पीँडित भएका मानिसहरूप्रति व्यक्त गरिएको संवेदना हो । र आगामी भविष्यप्रतिको चिन्ता, आशा र विश्वास पनि हो ।  

निश्चयनै सङ्गीतले नदीको बाढी रोक्न सक्दैन । हराएको घर तत्काल फर्काउन सक्दैन । गुमेको जीवन फिर्ता ल्याउन सक्दैन । तर सङ्गीतले एउटा काम अवश्य गर्न सक्छ, – “पीँडालाई आवाज दिन सक्छ ।” र कहिलेकाहीँ आवाज नै सहयोगको पहिलो सुरुवात बन्न सक्छ ।

हो, ‘मेरो त्रिशूली’ त्यही आवाज बन्ने सानो प्रयास हो । त्रिशूलीले धेरै कुरा बगाएर लगेको होला । तर मानिसका सम्झना बगाएर लैजान सक्दैन । ती सम्झना अब शब्दमा छन् । धुनमा छन् । स्वरमा छन् । र एउटा गीत बनेर संसारभर फैलिँदै छ ।

– माधब राज खरेल
 

विपत्तिका कारण १३औँ छायाँछवि तीज म्युजिक अवार्ड स्थगित, नतिजा सार्वजनिक

समाचार


काठमाडौं -छायाँछवि क्रियशनको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको छायाँछवि तीज म्युजिक अवार्डको १३औँ संस्करण यस वर्ष मुलुकमा उत्पन्न विपद्का कारण तत्काल आयोजना गर्न नसकिए पनि अवार्डको निरन्तरता भने कायम राखिएको छ।

नेपाली चलचित्र, गीत–संगीत तथा मनोरञ्जनका विभिन्न विधामा लामो समयदेखि सक्रिय रहँदै आएको छायाँछवि क्रियशनले मूलतः नेपाली चलचित्र तथा संगीत क्षेत्रको विकास, प्रवद्र्धन र सर्जकको सम्मानका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।

यतिबेला देशमा प्राकृतिक विपत्तिका कारण आम नेपाली शोक र संवेदनाको अवस्थामा रहेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। अकस्मात् आएको विपत्तिले धेरै परिवारलाई प्रभावित बनाएको छ भने बाढीले दिएको पीडाको घाउ अझै आलो नै रहेको छ।

यस्तो मानवीय संवेदनाको घडीमा नियमित रूपमा आयोजना हुँदै आएको छायाँछवि तीज म्युजिक अवार्डको १३औँ संस्करण तत्काल आयोजना गर्न उपयुक्त नदेखिएकाले कार्यक्रम स्थगित गरिएको अवार्डका अध्यक्ष शान्तिप्रियले बताएका छन्।

“छायाँछवि तीज म्युजिक अवार्ड हरेक वर्ष आयोजना हुँदै आएको हाम्रो नियमित कार्यक्रम हो। तर अहिलेको परिस्थिति सामान्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने अनुकूल छैन। आम नेपालीको मानसिक अवस्था पीडामा रहेको समयमा हामी पनि उत्सव मनाउने अवस्थामा छैनौँ,” अध्यक्ष शान्तिप्रियले भने, “यस वर्ष तत्काल अवार्ड कार्यक्रम आयोजना गर्न नसके पनि यसको निरन्तरता भने रोकिएको छैन।”

छायाँछवि तीज म्युजिक अवार्डको १३औँ संस्करणको नतिजा भने सार्वजनिक गरिएको छ। सार्वजनिक नतिजामा उत्कृष्ट ठहरिएका सर्जक तथा सिर्जनालाई केही समयपछि छुट्टै कार्यक्रम आयोजना गरी अवार्ड तथा सम्मान प्रदान गरिने अवार्डकी संयोजक **कृष्णा आचार्य ‘रोशनी’**ले बताएकी छन्।

“परिस्थितिका कारण अहिले अवार्ड समारोह आयोजना गर्न नसके पनि अवार्डको नतिजा सार्वजनिक गरेका छौँ। पुरस्कृत सर्जक तथा सिर्जनालाई अनुकूल समयमा छुट्टै कार्यक्रममार्फत अवार्ड तथा सम्मान प्रदान गरिनेछ,” संयोजक आचार्यले बताइन्।

१३औँ छायाँछवि तीज म्युजिक अवार्डको नतिजा

१. सर्वोत्कृष्ट तीज गीत मिक्सिङ
प्रकाश मिश्र — छम छम नाचीदेउ

२. सर्वोत्कृष्ट तीज गीत एरेञ्जर
विपिन आचार्य — छमछमी नाचौँ न

३. सर्वोत्कृष्ट तीज गीत मोडल नवप्रतिभा
आशा कार्की — मेरो माया जुनीभरिलाई

४. सर्वोत्कृष्ट तीज गीत मोडल पुरुष
सुमन सागर जङ्ग केसी — मेरो माया जुनीभरिलाई

५. सर्वोत्कृष्ट तीज गीत मोडल महिला
झरना रिसाल — माइतीघरको आँगन

६. सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
गम्भीर विष्ट — लाली लपक्कै

७. सर्वोत्कृष्ट तीज गीत शब्द
दीपक शर्मा — नौरती फूली

८. सर्वोत्कृष्ट तीज गीत लय
मनु पन्त — जन्मेर हुर्केको घर

९. सर्वोत्कृष्ट मौलिक तीज गीत लय
शंकर थापा ‘स्माइल’ — रानीहार

१०. सर्वोत्कृष्ट दोहोरी तीज गीत गायिका
निशा सुनार — लाली लपक्कै

११. सर्वोत्कृष्ट दोहोरी तीज गीत गायक
प्रकाश सपूत — लाली लपक्कै

१२. सर्वोत्कृष्ट तीज गीत गायिका
सरिता भारती — भिजायो फरिया बर्खैले

१३. सर्वोत्कृष्ट मौलिक तीज गीत गायिका
गंगा गौतम — नक्कल पार्ने बानी

१४. सर्वोत्कृष्ट तीज गीत
‘एक वर्षमा एकचोटी’ — अञ्जु श्रेष्ठ

१५. सर्वोत्कृष्ट तीज गीत जुरी
रश्मी पाण्डे — ह्विस्की फोरिन्छ

चीनको बेइजिङमा छैटौँ ग्लोबल कन्फ्रेन्स एण्ड अवार्ड समारोह सम्पन्न

समाचार


बेइजिङ– एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त आयोजनामा चीनको राजधानी बेइजिङस्थित होटल लिफनमा छैटौँ ग्लोबल कन्फ्रेन्स तथा अवार्ड समारोह भव्य रूपमा सम्पन्न भएको छ।

समारोहमा नेपाल तथा चीनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका करिब डेढ दर्जन नेपालीसहित प्रतिष्ठित व्यक्तित्व, व्यवसायी, कलाकार, समाजसेवी तथा विभिन्न क्षेत्रका विज्ञहरूलाई सम्मान गरिएको छ।

नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, संस्कृति, आर्थिक तथा व्यावसायिक सहकार्यसँग जोड्दै दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको समारोहमा पर्यटन प्रवद्र्धन, आर्थिक सहकार्य तथा व्यावसायिक सम्बन्ध विस्तारका विषयमा समेत चर्चा गरिएको थियो।

चीनका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा एसिया प्यासिफिक ट्रेड एग्रिमेन्ट तथा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रमुख एवं चिनियाँ व्यवसायी वाङ यानसहित चिनियाँ व्यवसायी तथा उद्यमी गुओ कोनी ली, मेई तथा डविलिया औटीलाई विशेष सम्मान प्रदान गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत खनालले विश्वको महत्वपूर्ण शक्ति राष्ट्र चीनमा यस प्रकारको अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना हुनु आफैंमा महत्वपूर्ण उपलब्धि भएको बताए। यस्ता कार्यक्रमले नेपाल र चीनबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै पर्यटन, आर्थिक गतिविधि तथा दुई देशबीचको सहकार्य विस्तारमा समेत योगदान पुर्‍याउने उनको भनाइ थियो। विशेष अतिथि वाङ यानले नेपाल र चीनबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै आपसी सहकार्यलाई अझ व्यापक बनाउँदै लैजानुपर्नेमा जोड दिए।

नेपालबाट सहभागी वरिष्ठ गायक सीताराम पोखरेलले आयोजक संस्थाले विभिन्न मुलुकमा आयोजना गर्दै आएका अन्तर्राष्ट्रिय कार्यक्रमले नेपालको पर्यटन, कला तथा सांस्कृतिक पहिचान प्रवद्र्धनमा योगदान पुर्‍याएको बताए। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कला, संस्कृति र पर्यटनलाई जोडेर कार्यक्रम आयोजना गरिनु सकारात्मक भएको उनको भनाइ थियो।

त्यस्तै, लुम्बिनी प्रदेशकी पर्यटन विज्ञ तथा लुम्बिनी पर्यटन उद्योगसँग सम्बन्धित नेपाल सरकारकी उच्च अधिकारी शारदा बस्यालले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई चीनमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्न सके नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताइन्। उनले नेपाल–चीन पर्यटन सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिइन्।  नेपालका वरिष्ठ ईन्जिनियर मोहन संग्रौलाले नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो र ऐतिहासिक रहेको उल्लेख गर्दै अरनिकोको समयदेखि कायम रहेको प्रगाढ सम्बन्धलाई आधुनिक आर्थिक तथा व्यावसायिक सहकार्यसँग जोडेर थप विस्तार गर्नुपर्ने बताए।

समारोहमा वरिष्ठ गायक सीताराम पोखरेललाई ‘एपेक्स ग्लोबल विशेष सम्मान’ प्रदान गरिएको थियो। त्यसैगरी शिक्षा, सामाजिक सेवा, कला, गायन, युवा प्रतिभा, व्यवसाय, स्वास्थ्य सेवा तथा पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको आयोजकले जनाएको छ।

शिक्षा तथा समाजसेवी सम्मान ललिता प्रसाईँलाई, इन्जिनियरिङ सेवा सम्मान मोहन संग्रौलालाई, कला सम्मान पुरुषोत्तम आचार्यलाई, समाजसेवी सम्मान रिता देवी आचार्य कट्टेललाई, गायन सम्मान गणेश थापालाई तथा यूवा गायन सम्मान  अनामिका चौलागाईँलाई प्रदान गरिएको थियो।

यसैगरी कलाकारिता सम्मान इन्द्रबहादुर लामालाई, प्रवास समाजसेवी सम्मान रमेश आचार्यलाई, हेयर विशेषज्ञ सम्मान सविना खड्कालाई, महिला उद्यमी सम्मान सलिना लामालाई, स्वास्थ्य सेवा सम्मान कृष्ण घिमिरे महिला समाजसेवी सम्मान निशा लामालाई तथा अन्तर्राष्ट्रिय विज्ञ सम्मान दिनेश खनाललाई प्रदान गरिएको थियो। समारोहमा नेपालका रमा पोखरेल, सुनिता संग्रौला, सबला खड्का ९थापा० र ज्योती भट्टराईलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रम आयोजक संस्थाका प्रमुख तथा नेपाली अभिनेता श्रीदेव भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो। समारोहको सञ्चालन संस्थाका सल्लाहकार सोनीतराज ढुंगेलले गरेका थिए भने समापन राजेन्द्र लुईटेलले गरेका थिए।

समारोहकै क्रममा सातौँ ग्लोबल कन्फ्रेन्स तथा अवार्ड समारोह इन्डोनेसियाको बालीमा आयोजना गर्ने घोषणा गरिएको छ। आगामी संस्करणलाई अझ व्यापक अन्तर्राष्ट्रिय सहभागितासहित नेपाल प्रवद्र्धनसँग जोडेर अघि बढाउने आयोजकको तयारी छ।

नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई सांस्कृतिक, पर्यटन तथा आर्थिक सहकार्यसँग जोड्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान र सम्भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस समारोहले दुई देशबीचको सम्बन्ध विस्तारका लागि नयाँ संवाद र सहकार्यको आधार तयार गरेको आयोजक पक्षले जनाएको छ।

‘म्युजिक खबर तीज म्युजिक अवार्ड’ को पाँचौं संस्करण भव्यरुपमा सम्पन्न

समाचार


काठमाडौं– तीजमा संगीत संस्कृतिको प्रवद्र्धनको लागि आयोजना हुँदै आएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’ को पाँचौं संस्करण भव्यरुपमा सम्पन्न भएको छ । राजधानीको बानेश्वरस्थित क्रिष्टल पार्टीभेन्युमा आयोजित समारोहका बिच २२ विधामा अवार्ड प्रदान गरियो । कार्यक्रममा गायिका प्रिति आले उत्कृष्ट तीज गीत दोहोरी गायिका बनिन् भने गायक खुमन अधिकारीले उत्कृष्ट दोहोरी गायकको अवार्ड उचाले । गायिका आले र गायक अधिकारीले खाडी जानेलाई बोलको गीतबाट उत्कृष्ट तीज दोहोरी गीत गायक गायिका घोषित भएका हुन् । यस्तै गायिका पुजन काफ्ले तीजको लहर आउँदा बरिलै गीतबाट उत्कृष्ट मौलिक तिज गीत गायिकाको अवार्ड चुम्न सफल भइन् ।

अवार्डमा रानीहार र तीन बहिनी गीतले ह्याट्रिक गर्न सफल भए । रानीहार गीतबाट किशोर थापाले सर्वोत्कृष्ट मिक्सिङ, शंकर थापा स्माइलले सर्वोत्कृष्ट संगीतकार र संगीता भण्डारीले सर्वोत्कृष्ट तीज गीत गायिका जुरीतर्फको अवार्ड चुम्न सफल भए । त्यस्तै तीन बहिनी गीतबाट सर्वोत्कृष्ट तीज दोहोरी संगीतमा तीन बहिनी गीतबाट रामकृष्ण बममल्ल, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक विष्णु शर्मा र इन्करेजमेन्ट अवार्डतर्फ आरती परियार, तनुजा शाही, पार्वती आचार्यले चुम्न सफल भए ।

आर्टिष्ट अफ नेपालको प्रस्तुति एवं शुभकामना मिडिया सोलुसनको आयोजनामा सम्पन्न सोहि समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पू¥याउने सशक्त नारीलाई सम्मान समेत अर्पण गरिएको थियो । समारोहकी प्रमुख अतिथि प्रतिष्ठित गायिका मिरा राणा, अवार्डका अध्यक्ष सबिता पोखरेल चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दिनेश डिसी, साहित्यिक पत्रकार संघ नेपालका अध्यक्ष राधेश्याम लेकालीले आ–आफ्नो क्षेत्रमा योगदान दिएका नारीलाई सम्मान अर्पण गरे । कार्यक्रममा बरिष्ठ गायिकाद्वय यशोदा पराजुली र टिका पुनलाई ‘आर्टिस्ट अफ नेपाल नारी रत्न सम्मान’ अर्पण गरिएको थियो भने कमला रिसाललाई ‘आर्टिस्ट अफ नेपाल साहित्य सम्मान’, अभिनेत्री न्यान्सी खड्कालाई ‘आर्टिस्ट अफ नेपाल चलचित्रकर्मी सम्मान’ र सोजना लोहारलाई ‘आर्टिस्ट अफ नेपाल कला पत्रकारिता सम्मान’द्वारा सम्मानित भए । समारोहमा चर्चित फेसन डिजाइनर काजल शर्मा ‘आर्टिस्ट अफ नेपाल फेसन सम्मान’, शितल शर्मा र अनिता कुवँर ‘आर्टिस्ट अफ नेपाल राष्ट्रिय गायन सम्मान’ बाट सम्मानित भए । सृष्टि घिमिरेलाई ‘आर्टिस्ट अफ नेपाल कोरियोग्राफी सम्मान’, अभिनेत्री तथा पर्वतारोही छिरिङ शेर्पालाई ‘आर्टिस्ट अफ नेपाल कला सम्मान’ जयन्ता अधिकारी र अन्जु परियार ‘आर्टिस्ट अफ नेपाल सामाजिक सेवा सम्मानबाट सम्मानित भए । कानुनविद कमलावली ‘आर्टिस्ट अफ नेपाल राष्ट्रिय सेवा सम्मान’ बाट सम्मानित भइन् ।

सर्वोत्कृष्ट तीज गीत संगीत संयोजक कृष्ण केसी, सर्वोत्कृष्ट कोरियोग्राफर जेरी भण्डारी घोषित भए । छेक्यो बरै बादलुले गीतबाट सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा अन्जिता विश्वकर्मा घोषित भइन् कर्णाली सलल बोलको गीतबाट नारायणी खत्री तीज गीत भिडियो मोडल महिलातर्फ नारायणी खत्री कर्णाली सलल गीतबाट, पुरुषतर्फ भुवन के। पोखरेल कम्मरु भाचौंला गीतबाट उत्कृष्ट ठहरिए । सर्वोत्कृष्ट तीज गीत संयुक्त मोडलमा झरना रिसाल र दिप्सा कार्कीले माइतीघरको आँगन गीतबाट अवार्ड हात पारे । बुलेट बाइक नवमोडल विधाको अवार्ड पूर्णिमा आचार्यले चुमिन् । कर्मै खोटी छ गीतबाट सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक विधाको अवार्ड निशान बानियाँले उचाले । सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार देवराज आचार्य –साउने झरीबाट चुम्न सफल भए । म्वाइँ खाँदै गीतबाट जेरी भण्डारीले सर्वोत्कृष्ट कोरियोग्राफरको अवार्ड चुम्न सफल भए ।

गीता वि।कले यो तीजमा बोलको गीतबाट अवार्ड हात पार्दा नाच छमछम गीतबाट सर्वोत्कृष्ट गीत संयुक्त गायन रिता बुर्लाकोटी-समिक्षा अधिकारी घोषित भए । सर्वोत्कृष्ट तीज दोहोरी शब्द तर्फ यो तीजमा गीतबाट कृष्ण लामिछानेले अवार्ड उचाले । यस्तै सर्वोत्कृष्ट मौलिक तीज गीत शब्द सरिता घिमिरे (नाचौं न छमछमी), सर्वोत्कृष्ट मौलिक तीज गीत शब्द विपिन किरणले (नाच छमछम) अवार्ड चुमे भने तीज आयो गीतबाट सर्वोत्कृष्ट तीज गीत गायिका चाँदनी शाक्यले अवार्ड चुम्न सफल भइन् । त्यसैगरी सर्वोत्कृष्ट तीज गीत डायस्पोरा गीतकार डा।अनितारा रञ्जितकारले ‘नाचौं न संगीनी’ गीतबाट अवार्ड चुम्न सफल भइन् भने डायस्पोरा गीतबाट शारदादेवी अधिकारीले ‘छक्कै परियो’ गीतबाट जुरी अवार्ड चुम्न सफल भइन् ।

सर्वोत्कृष्ट तीज गीत उषा मलाहको ‘चट्टै परेर’ गीतले चुम्न सफल भइन् भने सर्वोत्कृष्ट म्युजिक कम्पनी ‘छेक्यो बरै बादलुले’ गीतबाट हमाल म्युजिक बन्न सफल भयो । ‘नौरती फूली’ गीतबाट दिपक शर्मा पपुलर संगीतकार अफ इयर बन्न सफल भए ।
जुरी अवार्डतर्फ मौलिक तीज गीत शब्द ‘कर्मै खोटी छ’ गीतबाट सुनिल केसी, ‘चरि भए त’ गीतबाट राधा हमाल बानियाँले तीज गीत दोहोरी गायिका, ‘नाचौं न छमछमी’ गीतबाट विपिन आचार्यले म्युजिक एरेन्जरको अवार्ड चुम्न सफल भए । त्यस्तै गायिका आशा बुढाले ‘बुलेट बाइक’ गीतबाट पब्लिक च्वाइस अवार्ड चुम्न सफल भइन् । त्यस्तै इन्करेजमेन्ट अवार्ड नवगायिका ‘रातो सारी’ गीतबाट उमा श्रेष्ठ र इन्करेजमेन्ट अवार्ड संगीतकारतर्फ ‘रेलिमै घुमौंला फिरौंला’ गीतबाट रमेशराज भण्डारी उत्कृष्ट बन्न सफल भए ।

नेपाली सांगीतिक जगतकी धरोहर प्रतिष्ठित गायिका मिरा राणाको प्रमुख आतिथ्यता र अवार्ड आयोजक समितिकी अध्यक्ष सबिता पोखरेलको सभापतीत्व रहेको थियो । कार्यक्रममा प्रतिष्ठित कलाकारहरु मोहन निरौला, मदनदास श्रेष्ठ, गीतकार संघ नेपाल अध्यक्ष बसन्त बित्यासी थापा, रोयल्टी संकलन समाजका महासचिव चन्द्र शर्मा, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, बरिष्ठ गायिका देबिका बन्दना, बरिष्ठ पत्रकार एवं गीतकार – शान्तिप्रिय, डब्बु क्षेत्री, बरिष्ठ संगीतकार गणेश पराजुली, बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठ, बरिष्ठ गीतकार भरत बमजन, बरिष्ठ सौन्दर्यविद सोनी कारन्जित, ट्याटु आर्टिष्ट सुनिता कुँवर, लगायतका कलाकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा गायिका प्रिती आले र गायक खुमन अधिकारीले गायन प्रस्तुति दिएका थिए ।

‘Era’s Ambassador 2026–2’ मा यमेश र साईनाले मारे बाजी

समाचार


काठमाडौं । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘Era’s Ambassador 2026–2’ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । फिनालेमा यमेश याखा र साईना श्रेष्ठले विजेता उपाधि जितेका छन् ।

प्रतियोगितामा अनिशा थापा मगर र सिजन भण्डारी प्रथम रनरअप बने । आलोक तामाङ र श्रेया बोहरा दोस्रो रनरअप, समर्पण अधिकारी र राह्येल श्रेष्ठ तेस्रो रनरअप तथा प्रशान्त दीक्षित र आराधना श्रेष्ठ चौथो रनरअप घोषित भए ।

त्यस्तै, सनुका गुरुङले ‘अर्गनाइजर च्वाइस’ विशेष उपाधि प्राप्त गरिन् ।

विजेतालाई भियतनामका लागि ५० हजार रुपैयाँ तथा थाइल्यान्डका लागि २५ हजार रुपैयाँ बराबरको हवाई टिकटसहित क्राउन, स्यास, प्रमाणपत्र, मेडल, फोटो तथा भिडियो सुट, उपहार, बुके र ह्याम्पर्स प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका आयोजक तथा निर्देशक एमडी आनन्द सिंह हुन् । कार्यक्रममा मल्लिका दाहाल र सौगात राना कुँवरले कोरियोग्राफी गरेका थिए भने चन्द्रकुमार बुढाले कार्यक्रम व्यवस्थापन सम्हालेका थिए ।

आयोजकका अनुसार ‘Era’s Ambassador’ ले युवाहरूलाई व्यक्तित्व विकास, फेसन तथा मोडलिङका क्षेत्रमा अवसर प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन प्रोत्साहित गर्दै आएको छ ।

परिवर्तन नेपाल र आलोकनगर समुदायको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

समाचार


काठमाडौं - परिवर्तन नेपाल र आलोकनगर समुदायको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा आवश्यक परेका बिरामीका लागि रगतको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

मीनभवनस्थित प्रिमियर कलेज, आलोकनगरमा आयोजित कार्यक्रममा करिब ५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्यसम्बन्धी परामर्श सेवा लिएका थिए। स्वास्थ्य परीक्षणसँगै सोही अवसरमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

कार्यक्रम काठमाडौं महानगरपालिका–३१ का वडा अध्यक्ष सरोज ढकालको प्रमुख आतिथ्य तथा आलोकनगर समुदायका अध्यक्ष ध्रुव पोखरेलको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा बागमती प्रदेशका सांसद सुरजचन्द्र लामिछाने, चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दिनेश डी.सी., कलाकार संघका अध्यक्ष उत्तम के.सी., कलाकार पुजना प्रधानलगायत कलाकार, चलचित्रकर्मी, समाजसेवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

चलचित्र निर्देशक जनक दीप पराजुलीको संयोजकत्वमा आयोजित कार्यक्रमले समुदायस्तरमा स्वास्थ्यसम्बन्धी सचेतना विस्तार गर्नुका साथै रक्त अभावका कारण उपचारमा समस्या भोग्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने आयोजकको विश्वास छ।

कार्यक्रममा परिवर्तन नेपालका अध्यक्ष तथा कलाकार मोहन निरौलाले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै आगामी दिनमा पनि समुदाय केन्द्रित सामाजिक, स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने काठमाडौं महानगरपालिका–३१, सशस्त्र प्रहरी बल नयाँ बानेश्वर, एभरेस्ट हस्पिटल तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नयाँ बानेश्वरप्रति परिवर्तन नेपालका महासचिव देवेन्द्र पाण्डेले आभार तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो।

स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वलाई एउटै अभियानमार्फत अघि बढाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रमले समुदायमा सहकार्य, सहयोग र सामाजिक सेवाको भावना थप बलियो बनाउन योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

राष्ट्रिय नाचघरमा चम्किए बाल प्रतिभा, ‘डि एस ए स्टार सिजन–२०’को उपाधि विजेताले पाए

समाचार


काठमाडौं । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डि एस ए स्टार सिजन– २०’को फिनालेमा विधागत रुपमा बालबालिकाहरु विजेता बनेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ इभा न्यौपाने विजेता बन्दा स्वर्ण महर्जन ‘फस्ट रनरअप’, प्रिसा डंगोल ‘सेकेण्ड रनरअप’ र रुही कनौया ‘थर्ड रनरअप’ भए ।
त्यस्तै ‘जुनियर डान्सिङ स्टार’तर्फ दिक्षा खड्काले शीर्ष उपाधि जित्दा कृषा श्रेष्ठ ‘फस्ट रनरअप’, एलिज्ना प्याकुरेल ‘सेकेण्ड रनरअप’, सराया मल्ल ‘थर्ड रनरअप’, इथन महर्जन ‘फोर्थ रनरअप’, हेजल श्रेष्ठ ‘फिफ्थ रनरअप’, बिबिशा महर्जन ‘सिक्स्थ रनरअप’, परिश्री रिजाल ‘सेभेन्थ रनरअप’ र मायिरा बानियाँ ‘ऐठ्थ रनरअप’ बने ।
त्यस्तै ‘प्री–टिन डान्सिङ स्टार’तर्फ सान्सा नेपाल विजेता बन्दा सुभेक्षा दानी ‘फस्ट रनरअप’, समीक्षा रायमाझी ‘सेकेण्ड रनरअप’, निभा कायस्थ ‘थर्ड रनरअप’, प्रिन्जला खाती ‘फोर्थ रनरअप’, यरिका गुरुङ ‘फिफ्थ रनरअप’, फराह खान ‘सिक्स्थ रनरअप’, माहिरा पाण्डे ‘सेभेन्थ रनरअप’  रितु तामाङ ‘ऐठ्थ रनरअप र आर्रमित्मा गाहा मगर नाइन्थ रनरअप
भए ।
त्यस्तै ‘सिङ्गिङ स्टार’ तर्फ अमृता सुनवारले शीर्ष उपाधि चुम्दा सुनाक्षी दियाली ‘फस्ट रनरअप’, अभिषेक श्रेष्ठ ‘सेकेण्ड रनरअप’, श्रेयन थापा ‘थर्ड रनरअप’ र प्रसन्न श्रेष्ठ ‘फोर्थ रनरअप’ भए ।
त्यस्तै ‘डीएसए एक्टिङ स्टार’तर्फ साइमन महर्जन विजेता बन्दा निर्विघ्न घिमिरे ‘फस्ट रनरअप’, म्याक्स थापा ‘सेकेण्ड रनरअप’ र डाइलन श्रेष्ठ ‘थर्ड रनरअप’ घोषित भए ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी ८५ जना बालबालिकाहरुलाई काठमाडौंको बालाजु स्थित समृद्धि स्कुलमा एक महिनासम्म विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो ।
नेपाल प्रहरीका एआइजी डम्बरबहादुर विकको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको निर्णायकमा पतञ्जली आयुर्वेद नेपालको व्यवस्थापक प्रतिनिधि, युबा समाजसेवी, कवि तथा लेखक युवराज सुवेदी, सशस्त्र प्रहरीका पुर्व डीआइजी कृष्णभक्त ब्रम्हाचार्य, गायिका मनीषा पोखरेल र निर्देशक एवम् कोरिग्राफर मौसम हिमाली रहेका थिए । 
हर्लिस नेपालको प्रमुख प्रायोजन रहेको प्रतियोगितामा चोको फन क्रसको सहयोग थियो । परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) सोनिया जी आरले विजेताले म्युजिक भिडियोमा अभिनयसँगै सन् २०२७ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्वको अवसर पाएको बताइन् । हाउसका निर्देशक राज बराइलीले बालबालिकाका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धाको ढोका खोल्न प्रतियोगिता आयोजना गरिएको बताए ।

जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ को उपाधि आयना राईलाई

समाचार


काठमाडौं - सामरी इन्टरनेशनलद्वारा आयोजित जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल -२०२६ को भव्य ग्रान्ड फिनाले काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी २३ जना प्रतिभाशाली बालबालिकाले आत्मविश्वास, प्रतिभा, सिर्जनशीलता तथा आकर्षक स्टेज प्रस्तुतिमार्फत दर्शक तथा निर्णायकहरूको मन जितेका थिए।

प्रतियोगिताको मुख्य उपाधि आयना राईले जितेकी छन्। त्यस्तै एन्जेलिना राई प्रथम रनरअप, अनन्या पुरी द्वितीय रनरअप, अनमोल परियार तृतीय रनरअप, युबिया महर्जन चौथो रनरअप तथा बिद्या खत्री पाँचौँ रनरअप घोषित भए।

विशेष उपाधितर्फ एन्जेलिना राईले पब्लिक च्वाइस विनर, अंशु भण्डारीले भ्यूअर्स च्वाइस विनर तथा जिनियस प्रसाईंले म्यानेजमेन्ट च्वाइस विनरको उपाधि हासिल गरेका छन्।

श्रद्धेय गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता तथा सामरी इन्टरनेशनल इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत भरत सामरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपालको पहिलो सेफ गोविन्द नरसिंह केसी तथा विशिष्ट गायक एवं रेडियो नेपालका पूर्व निर्देशक सिताराम पोखरेलको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा रोजी श्रेष्ठ (सुमित्रा), बिपिशा भट्टराई, नीलम पौडेल र विजय शाही रहेका थिए। प्रतियोगितामा सहभागी २३ जना प्रतियोगीलाई उनीहरूको व्यक्तित्व, प्रतिभा, आत्मविश्वास तथा स्टेज प्रस्तुतिका आधारमा विभिन्न विशेष उपाधिसमेत प्रदान गरिएको थियो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परिचय राउन्ड, डिजाइनर वेयर, प्रश्नोत्तर, प्रतिभा प्रदर्शन तथा विजेता घोषणा मुख्य आकर्षणका रूपमा रहेका थिए।

यसै अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व एवं संस्थालाई नेपाल एक्सेलेन्सी अवार्डबाट सम्मान गरिएको थियो। नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी विशिष्ट तथा चर्चित गायिका ज्ञानु राणालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो।

त्यस्तै कृष्णप्रसाद पाण्डे, रीना श्रेष्ठ, नीलम पौडेल, विजय शाही, अर्जुन कार्की, अनमोल भगत, अर्शु महर्जन, रोजिन शाक्य, राज कार्की, शेखर वाग्ले, आगन पार्टी भेन्यु एण्ड रेस्टुरेन्ट तथा फेसन डिजाइनर दिलमाया मगरलाई नेपाल एक्सेलेन्सी अवार्डबाट सम्मान गरिएको थियो।

कार्यक्रमले बालबालिका तथा युवा प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा भविष्यका लागि नयाँ अवसर सिर्जना गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजक सामरी इभेन्टसका प्रमुख भरत सामरीले जानकारी दिए।

“जहाँ आत्मविश्वासले प्रतिभालाई भेट्छ, र सपनाले मञ्च पाउँछ” भन्ने मूल भावनासहित सम्पन्न प्रतियोगिताले प्रतिभा, फेसन, सिर्जनशीलता र आत्मविश्वासको सुन्दर उत्सव प्रस्तुत गरेको आयोजकले जनाएको छ।

आयोजकले प्रतियोगिताका सम्पूर्ण विजेता, उपाधि विजेता तथा सहभागी प्रतियोगी, सम्मानित व्यक्तित्व, निर्णायक मण्डल, अभिभावक, सञ्चारकर्मी, सहयोगी, ड्रेस पार्टनर जेमा फेसन तथा सम्पूर्ण शुभेच्छुकहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेको छ।

"हामी धराने काठमाडौं"को तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

समाचार


काठमाडौं । पेशा, व्यवसाय तथा विभिन्न सिलसिलामा काठमाडौंलाई कर्मथलो बनाएर बसोबास गर्दै आएका धरानेहरूलाई एकीकृत गर्दै आपसी सहकार्य, सम्मान र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको ‘हामी धराने काठमाडौं’ समूहले आफ्नो तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

वि.सं. २०८० मा स्थापना भएको यस संस्थाले स्थापनाकालदेखि नै धरानबाट काठमाडौं आई विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूबीच आपसी सम्बन्ध विस्तार तथा सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ।

आउँदै गरेको नेपाली महिलाहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा संस्थाले शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको काठमाडौं ब्याङ्क्वेटमा तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा काठमाडौंमा रहेका धराने चेलीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा धराने चेली प्रा.डा. रोजी श्रेष्ठको उपस्थिति रहेको थियो। त्यस्तै, विशेष अतिथिका रूपमा हालै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएकी मारवाडी समुदायकी प्रीति अग्रवाल सहभागी हुनुभएको थियो।

कार्यक्रममा वरिष्ठ गायिका मधुरा श्रेष्ठ प्रधान, संगम श्रेष्ठ, सुरेन शाक्य, सपन श्रेष्ठ, कमलेश अग्रवाल, बालकुमारी शर्मा लगायत धरानसँग सम्बन्धित विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको संयोजन सुमी कर्माचार्य, पूजन न्यौपाने, कल्पना भण्डारी र सवि श्रेष्ठले गर्नुभएको थियो। संयोजक पूजन न्यौपाने प्रसाईंले उपस्थित अतिथिहरूलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुका साथै कार्यक्रमको उद्देश्य र गतिविधिबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन सुनिल शाक्य र सुमी कर्माचार्यले संयुक्त रूपमा गर्नुभएको थियो।

संस्थाका संस्थापक सदस्यहरू समेत कार्यक्रमलाई व्यवस्थित, सभ्य र मर्यादित बनाउन सक्रिय रूपमा खटिएका थिए। कार्यक्रममा संस्थाले प्रा.डा. रोजी श्रेष्ठ र सगरमाथा आरोही प्रीति अग्रवाललाई विशेष सम्मानसमेत प्रदान गरेको थियो।

कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरूले ‘हामी धराने काठमाडौं’ले स्थापना भएदेखि नै निरन्तर रूपमा नयाँ र उल्लेखनीय गतिविधि गर्दै आएको भन्दै संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्व र सक्रियताको प्रशंसा गरेका थिए। उनीहरूले काठमाडौंमा रहेका धरानेहरूलाई एउटै भावनात्मक सूत्रमा जोड्न संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका थिए।

कार्यक्रमलाई राष्ट्रिय गायक सपन श्रेष्ठ र गायिका सरिता श्रेष्ठ गुरुङका सांगीतिक प्रस्तुतिले थप मनोरञ्जनात्मक बनाएको थियो। कार्यक्रममा तीज शुभकामना आदानप्रदानसँगै विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति, तीज गीत तथा नृत्य, लाखे नाच प्रदर्शन, भेटघाट तथा दर खाने कार्यक्रम आयोजना गरिएको थियो।

त्यस्तै, सहभागीहरूबीच क्याटवाक, उत्कृष्ट नृत्य (बेस्ट डान्स) र उत्कृष्ट पोशाक (बेस्ट ड्रेस) लगायतका विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। कार्यक्रममा विभिन्न लक्की ड्रमार्फत सहभागीहरूलाई पुरस्कार प्रदान गरिएको थियो।

आत्मीय भेटघाट, सांस्कृतिक प्रस्तुति, मनोरञ्जन र आपसी सद्भावसहित सम्पन्न कार्यक्रमले काठमाडौंमा रहेका धरानेहरूबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै तीज पर्वको सांस्कृतिक र सामाजिक महत्वलाई समेत उजागर गरेको आयोजकले जनाएको छ।

‘जदौ’को टिजरमा त्रिकोणात्मक प्रेमसँगै जातीय विभेदको कथा

समाचार


काठमाडौं - अन्तरजातीय प्रेम र नेपाली समाजमा विद्यमान जातीय विभेदलाई कथाको केन्द्रमा राखिएको फिल्म जदौको टिजर सार्वजनिक भएको छ। शनिबार हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको करिब एक मिनेट लामो टिजरमा नयाँ पुस्ताको त्रिकोणात्मक प्रेमसँगै अभिभावक पुस्ताबीचको द्वन्द्वलाई प्रस्तुत गरिएको छ।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा तयार भएको टिजरले फिल्ममा प्रेम, पारिवारिक सम्बन्ध र सामाजिक विभेदबीचको संघर्षलाई प्राथमिकताका साथ उठाइएको संकेत गर्छ। टिजरमा अभिनेता प्रभातपाल ठकुरीको अभिनेत्री नीति शाह र राजश्री थापासँगको प्रेमसम्बन्धको आभास दिइएको छ। यस्तै, अभिभावक पुस्ताको प्रतिनिधित्व मुकुन भुसाल र ऋचा शर्माले गरेका छन्।

असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने ‘जदौ’लाई अन्तरजातीय प्रेमजोडीको सामाजिक कथामा आधारित फिल्मका रूपमा प्रस्तुत गरिएको छ। निर्देशक अन्जन शर्माका अनुसार नेपाली समाजमा व्याप्त जातीय विभेदका कारण उत्पन्न समस्या र त्यसको निराकरणका लागि चाल्नुपर्ने कदमलाई फिल्ममा सजीव ढंगले प्रस्तुत गरिएको छ।

लेखकसमेत रहेका अर्का निर्देशक काजी लिम्बूले फिल्ममा भरपूर मनोरञ्जनसँगै जातीय भेदभाव र असमानताबीचको खाडल पुर्न आवश्यक सामाजिक सन्देशलाई प्रभावकारी रूपमा उठाइएको बताए।

समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी र राजश्री थापाका साथै विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी,  सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की, स्वस्तिका चौधरीलगायतको अभिनय रहेको छ।

फिल्मका गीतमा प्रीति कौर, बाबुल गिरी र गोपाल लोहारको शब्द रहेको छ। अर्जुन पोखरेल र बाबुल गिरीले संगीत दिएका गीतमा राजनराज शिवाकोटी, रचना रिमाल, किरण गजमेर र बाबुल गिरीको स्वर सुन्न सकिन्छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन्। राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माता रहेको फिल्मका निर्माता सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल हुन्। शान्ति पुडासैनी कार्यकारी निर्माता तथा बिमला भण्डारी प्रोडक्सन हेडका रूपमा छन्।

फिल्मलाई एनजिसिएन ग्रुपले देशव्यापी रूपमा वितरण गर्नेछ।

त्रिकोणात्मक प्रेम, पारिवारिक द्वन्द्व र जातीय विभेदको सामाजिक यथार्थलाई एउटै कथामा जोडेको ‘जदौ’को टिजरले फिल्म मनोरञ्जनसँगै सामाजिक सरोकारको विषयलाई पनि पर्दामा उठाउन खोजेको संकेत गरेको छ।