generalnews
||Power News Asia||

आजको समाचार

वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ सम्मान अर्पण

समाचार


काठमाडौँ –वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ सम्मान अर्पण गरिएको छ । बुधबार काठमाडौँमा एक विशेष कार्यक्रमबिच मिलाप मासिकले उनलाई सम्मान प्रदान गरेको हो ।

कार्यक्रमका मिलाप मासिकका सम्पादक कृष्ण भुसाल, महाकाव्यकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ,  वरिष्ठ गायक तथा संगीतकार कन्हैया सिंह, चलचित्र निर्देशक माधव राज खरेल, सानु श्रेष्ठ, मिलाप फाउन्डेसन अध्यक्ष गीता अधिकारीलगायतले उनलाई सम्मान प्रदान गरे ।

कार्यक्रममा गायक तथा संगीतकार कन्हैया सिंह, अनेसासका पूर्वअध्यक्ष लेकाली, महाकाव्यकार खेमनाथ दाहाल लगायतले गायिकाको गायनको चर्चा गरेका थिए ।

नेपाली गायन क्षेत्रमा आफ्नै पहिचान स्थापित अञ्जनाले एक हजारको हाराहारीमा गीत गाएकी छन् । उनको ‘आँखैमा राख्छु मेरो देश’, ‘म त काली सुन्दरी’, ‘बदनाम भए म तिम्रै कारणले’, ‘आँधी सारी तिम्रो माया’, ‘ठ्याक्कै भेटौंला’, ‘नजर नजरको’, ‘जसले मुटु चुडेर लग्यो’, ‘माइला रोधी घरमा (कौडा)’, ‘मान चाहे नमान तिमी मेरो हौ’ लगायत धेरै गीतहरू श्रोता–दर्शकबिच निकै मन पराइएका छन् । गायिका गुरुङ पछिल्लो केही वर्षदेखि अमेरिका बस्दै आएकी छन् ।

सन्तोष श्रेष्ठले गायनमार्फत जीवन्त पारे रूपकको छन्द कविता ‘रारा तिमी स्वर्गकी अप्सरा’

समाचार


काठमाण्डौ – कवि तथा गजलकार रूपक अलंकारको कविता ‘रारा तिमी स्वर्गकी अप्सरा’ अहिले विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीतमा सार्वजनिक गरिएको छ। स्रग्विणी छन्दमा रचना गरिएको यो कविता रूपकको हालै प्रकाशित कवितासंग्रह ‘शान्त शर्वरी’ मा समावेश गरिएको हो। श्रेष्ठले उक्त कवितालाई आफ्नै संगीत संयोजन र गायनमार्फत् जीवन्त बनाएका छन्।

छन्द कवितालाई निरन्तर संगीतमा रूपान्तरण गर्दै आएका श्रेष्ठ भन्छन्, “छन्दको कोमलता, लयमधुरता र प्रभावकारितालाई संगीतमा उतार्दा त्यसको ओज अझ बढ्छ। यदि शब्दहरू संगीतमैत्री भए, गीत झनै सुन्दर र सशक्त बन्छ।”

कवि रूपकका अनुसार, ‘शान्त शर्वरी’ संग्रहका दुई कवितालाई सन्तोष श्रेष्ठले संगीतबद्ध गरी स्वर दिएका छन्।उनका शब्दमा, “यसअघि सन्तोषजीले पञ्चचामर छन्दमा मेरो ‘म हुँ स्वतन्त्र रापती’ कविता पनि गाउनुभएको थियो, जुन श्रोताले निकै मन पराउनुभयो।”

‘रारा तिमी स्वर्गकी अप्सरा’ मार्फत् कवि रूपक र संगीतकार सन्तोष श्रेष्ठले नेपाली छन्द कवितालाई आधुनिक संगीतको माध्यमबाट नयाँ स्वाद र सौन्दर्य प्रदान गरेका छन्।

कलाकार प्रबेश उप्रेतीद्धारा अभिनित ‘फूल फुल्यो केशरी’ गीतको म्युजिक भिडियो सार्वजनिक

समाचार


काठमाण्डौ – ‘फूल फुल्यो केशरी’ गीतको म्युजिक भिडियो हालै ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतमा कलाकार प्रबेश उप्रेती र आशा भुषालको उत्कृष्ट अभिनय देख्न सकिन्छ, अन्नपुर्ण बेसक्याम्प क्षेत्रको रमणीय मनोरम दृश्यलाई  समेटेर तयार पारिएको यो भिडियोको निर्देशन र छायांकन मरुभूमि नारायणले गरेका हुन् ।

गीतका शब्द र संगीत दीपक शर्माका हुन् भने अनु चौधरी र सविन सुवेदीले सुमधुर स्वरमा गीतलाई जीवन्त बनाएका छन् । संगीत संयोजनमा पुरुषोत्तम सुवेदी, ध्वनि सम्पादनमा नरेन्द्र बियोगी, र सम्पादन तथा कलरमा रोशन धितालको योगदान रहेको छ ।

‘फूल फुल्यो केशरी’ गीतले फूलको फुलाइसँगै मानवीय प्रेम, आत्मिक सम्बन्ध र जीवनको सुन्दरतालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । निर्देशक मरुभूमि नारायणको कलात्मक दृष्टि, प्रबेश उप्रेतीको स्वाभाविक अभिनय र आशा भुषालको भावनात्मक उपस्थितिले यो गीतलाई अझ हृदयस्पर्शी बनाएको छ ।

नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल माघमा

समाचार


काठमाडौं- ‘१४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल–२०२६’ आगामी माघको पहिलो साता काठमाडौँमा आयोजना हुने भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा यो महोत्सव हुन लागेको हो । आयोजकका अनुसार महोत्सवको लागि चलचित्र धमाधम प्राप्त भइरहेको छन् ।

यो महोत्सवको लागि आयोजक पक्षले आगामी मंसिरको पहिलो साता भित्र नेपाली चलचित्र, आदिवासी चलचित्र, वृत्तचित्र, लघु चलचित्र, म्युजिकल चलचित्र समावेश गर्न पनि आयोजक पक्षले जनाएको छ । महोत्सवको लागि फिल्म फ्रि वे डट कम तथा मार्फत नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभलका साइटबाट चलचित्रको आवेदन दिन सकिने छ । यस्तै आयोजक विलक्षण क्रियसनको कार्यालयमा समर्पक गरेर पनि महोत्सवमा चलचित्र समावेश गर्न पाइने छ ।

१५ वर्षअघिबाट सुरु गरिएको यो महोत्सवले नेपाल र अफ्रिकासँगै संसारभरका चलचित्र सांस्कृतिक आदान प्रदानमा महत्त्वपूर्ण योगदान दिँदै आएको यो महोत्सवकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा। मञ्जु मिश्रले बताएकी छिन्,‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदान प्रदानसँगै दुई वर्ष यताबाट यो महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रलाई पनि प्रदर्शन गर्दै आएका छौँ । महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो नारा रहेको छ ।’

यो महोत्सव निर्देशक डब्बु क्षत्रीले आगामी मंसिरको दोस्रो साताबाट निर्णायक टिमले चलचित्र चयनको प्रक्रिया सुरु गर्ने छन् । चयन भएका चलचित्रहरूको विवरण मंसिरको अन्तिम साता सार्वजनिक गर्ने र माघको पहिलो साता यो महोत्सव आयोजना गरिने पनि क्षत्रीले जानकारी गराए । बिगत झैँ यस पटक पनि महोत्सवमा विदेशी चलचित्रकर्मीको सहभागिता हुने भएको छ । महोत्सवमा उत्कृष्ट भएका चलचित्र, कलाकार, प्राविधिकलाई अवार्ड समेत प्रदान गरिने भएको छ । क्षत्रीका अनुसार महोत्सवमा यस पटक नृत्य सम्बन्धी प्रशिक्षण, चलचित्रमा जेनजी पुस्ताबारे अन्तरक्रिया, मास्टर क्लास पनि आयोजना गरिने भएको छ । कलाकारको चित्र प्रदर्शनी पनि आयोजना गरिने भएको छ ।

कलाकार संघमा रिक्त रहेको पदमा चारजना पदाधिकारीहरुलाई गराईयो सपथग्रहण

समाचार


काठमाण्डौ– नेपाल चलचित्र कलाकार संघले वर्तमान कार्यसमितिमा रिक्त रहेको विभिन्न पदमा पदाधिकारीहरुको मनोनित गरेको छ । गत कात्तिक २ गते बसेको बैठकले सङ्घको बिधान परिच्छेद ८ को दफा २६ को उपदफा (ग) र सोही परिच्छेद ८ को दफा २६ को उपदफा (ध) बमोजिम पदाधिकारीहरुको मनोनित गरिएको हो।

कार्तिक १३ गते विहिबार राजधानीमा एक समारोहको आयोजना गरी वर्तमान कार्यसमितिमा रिक्त रहेका पदमा उपाध्यक्ष दुईजना र सदस्य दुईजना गरी चारजना पदाधिकारीहरुलाई सपथग्रहण गराएको छ । सङ्घको बिधान बमोजिम २जना उपाध्यक्षमा क्रमशः जयन्त रेग्मी र राजकुमार शाहलाई मनोनय गरेको थियो । त्यसैगरी सदस्यहरुमा क्रमशः जीवन थापा र श्रीदेव भट्टराईलाई मनोनित गरिएको सङ्घका अध्यक्ष मोहन निरौलाले शो समारोहलाई जानकारी गराउनुभएको छ । चारैजना पदाधिकारीहरुलाई सङ्घका अध्यक्ष निरौलाले सपथ ग्रहण समेत गराउनुभएको थियो ।

सोही समारोहमा आगामी नोभेम्बर ९ देखि १६ सम्म बेलायतमा सम्पन्न हुन गईरहेको International Federation of Actors (FIA) को अन्तर्राष्ट्रिय अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन जान लाग्नुभएका सङ्घका कोषाध्यक्ष सुनिल कटुवाललाई पनि अबिर र खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । उक्त सम्मेलनमा ६० मुलुकका चलचित्रकर्मीहरु सम्बद्ध सङ्घ संस्थाका ४५० भन्दा बढी प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहने कुरा अध्यक्ष निरौलाले बताउनु भयो ।

समारोहमा सङ्घका अध्यक्ष मोहन निरौलाले सदस्यता वितरण र नवीकरणमा विधान अनुसारको मापदण्ड प्रमाणीकरणलाई कडाईका साथ लागु गरिएको साथै लेखा प्रणालीलाई पारदर्शी र थप व्यवस्थित गरिएको कुरा जानकारी गराउँदै सङ्घले गरेका अन्य कार्यहरुको बारेमा समेत प्रकाश पार्नुभएको थियो । नव नियुक्त पदाधिकारीहरुलाई चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समिर बलामी, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, वरिष्ठ चलचित्रकर्मी एवं सङ्घका कानुनी सल्लाहकार कृष्ण ढुङ्गाना लगायतले शुभकामना सहित बधाई दिनुभएको थियो।

कार्यक्रममा सहभागी अतिथिहरु विच संघका बरिष्ठ उपाध्यक्ष शिवहरी नेपाल“बैरागी” ले स्वागत मन्तव्य राख्नु भएको थियो भने सङ्घका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा सम्पन्न सो समारोह गोपाल ढकाल“‘छन्दे” ले सञ्चालन गर्नुभएको थियो ।

एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण

समाचार


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम आज औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ।

कार्यक्रमको उद्घाटन उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्की र एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त रूपमा गर्नुभयो।

कार्यक्रममा एनआरएनए उपाध्यक्ष मनोजकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले धन्यवाद ज्ञापन गर्दै एनआरएनएप्रति आभार व्यक्त गर्नुभयो।

एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले सम्बोधन गर्दै भन्नुभयो –
“यो परियोजना केवल संरचना हस्तान्तरण होइन, प्रवासी नेपालीहरूको मातृभूमिप्रतिको जिम्मेवारी र सहकार्यको प्रतिक हो। स्मार्ट, सुरक्षित र दिगो सहर निर्माणतर्फ यो कदमले नयाँ अध्याय सुरू गरेको छ।”

७५ लाख ४४ हजार रुपैयाँको लागतमा सम्पन्न यस परियोजनामा सिभिल निर्माण, आधुनिक डिजाइन, भिडियो वाल, नेटवर्क प्रणाली र अपरेशनल उपकरणहरूको प्रतिस्थापन तथा मर्मत कार्य गरिएको छ।

श्रेष्ठले विश्वका स्मार्ट सहरहरू — सिङ्गापुर, टोक्यो, लन्डन र दुबईका ट्राफिक प्रणालीबाट प्रेरणा लिँदै नेपालमा पनि एआई (AI) आधारित ट्राफिक व्यवस्थापन र रियल टाइम डेटा मोनिटरिङ प्रणाली लागू गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा एनआरएनए सिईओ रवि किरण अधिकारीले संस्थाले हालसम्म गरेका गतिविधिहरू र आगामी परियोजनाहरूको बारेमा जानकारी दिँदै भन्नुभयो –
“एनआरएनएले प्रवासी नेपालीको सीप, स्रोत र सोचलाई मातृभूमिको विकासमा उपयोग गर्ने प्रयासलाई निरन्तरता दिइरहेको छ। ट्राफिक कन्ट्रोल रुम जस्ता परियोजनाले संस्थाको सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाएको छ।”

एनआरएनएले आगामी चरणमा ‘Breathalyzer Devices’ ट्राफिक प्रहरीलाई उपलब्ध गराउने योजना अघि सारेको छ, जसले मदिरा सेवनपछि सवारी चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न र दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउनेछ।

त्यसैगरी, एनआरएनएले हालैको Gen Z आन्दोलनबाट क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको पुनर्निर्माण गर्ने तयारी समेत गरेको जनाएको छ।

कार्यक्रममा एनआरएनए विपद् व्यवस्थापन तथा पुनर्निर्माण समिति संयोजक मनोजकुमार श्रेष्ठले अभियानमा साथ दिने सबैलाई धन्यवाद दिँदै भने,
“यो काम एनआरएनए र नेपाल प्रहरीबीचको सहकार्यको उत्कृष्ट उदाहरण हो। यसले ट्राफिक व्यवस्थापनमा नयाँ आयाम थप्नेछ।”

एआईजी दानबहादुर कार्कीले पनि एनआरएनएलाई धन्यवाद व्यक्त गर्दै भने,
“यस्ता अभियानहरूले प्रहरी संगठनमा ऊर्जा थप्ने काम गर्छन्। ट्राफिक नियम पालन र नागरिक सचेतनाको क्षेत्रमा यस्ता सहयोगले महत्वपूर्ण योगदान पुर्‍याउँछ।”

एसएसपी नवराज अधिकारीले पनि धन्यवाद ज्ञापन गर्दै भने,
“एनआरएनएको सहयोगले ट्राफिक प्रहरीको मनोबल बढाएको छ। यस्तो सहकार्यले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ।”

यससँगै, काठमाडौं उपत्यकाको ट्राफिक कन्ट्रोल रुम अब अत्याधुनिक, स्मार्ट र दिगो स्वरूपमा सञ्चालनमा आउने भएको छ। यसले सडक सुरक्षा, आपतकालीन प्रतिक्रिया र नागरिक सेवामा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।

कार्तिक २१ गते अञ्जना गुरुङको एकल सांगीतिक कार्यक्रम को आयोजना हुँदै

समाचार


काठमाण्डौ– नेपाली सुगम संङ्गीतको क्षेत्रको लागी एक लोकप्रिय नाम हो गायिका अन्जना गुरुङ । गायिका अञ्जना गुरुङले विगत दुई दशक भन्दा लामो समयदेखी नेपाली गीत सङ्गीतका विभिन्न विधाहरुमा आफ्नो जादुमय स्वर प्रस्तुत गर्दै आउनु भएको छ साथै उहाँ चलचित्रको पाश्र्वगायनमा पनि सफल गायिकाको रुपमा चिनिनहुन्छ ।

यहि कार्तिक २१ गते शुक्रबारका दिन काठमाण्डौमा टिका गोपाल एम्. क्रियशनले गायिका गुरुङको एकल साङितिक कार्यक्रम–२०८२ को आयोजनामा गर्ने भएको छ । उक्त दिन गायिका अञ्जना गुरुङको लोकप्रिय गीतहरुको प्रस्तुती हुुने आायोजक टिका गोपाल एम्. क्रियशनका अध्यक्ष गीत सिंहले बताउनु भयो । गायिका गुरुङका “आँखैमा राख्छु मेरो देश, म त काली सुन्दरी, बदनाम भए म तिम्रै कारणले, आँधी सारी तिम्रो माया, ठ्याक्कै भेटौंला, नजर नजरको, जसले मुटु चुडेर लग्यो, माईला रोधी घरमा (कौडा), मान चाहे नमान तिमी मेरो हौ " लगायत सयौं गीतहरु चर्चामा रहेका छन् ।

नेपाली सांङ्गीतिक जगतमा गयिका गुरुङ एक परिचित र सम्मानित नाम हो। नेपाली सुगम संङ्गीतदेखि चलचित्रको पाश्र्वगायनसम्म, उहाँले आफ्नो जादुमय स्वर प्रस्तुत गर्दै आईरहनु भएको छ । सादगीपूर्ण व्यक्तित्व र सालिन र भद्र स्वभावकी गायिका गुरुङको आफ्नो छुट्टै जादुमय स्वरका कारणले पनि नेपाली सांङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै स्थान रहेको छ। गायिका अञ्जना गुरुङको एकल सांङ्गीतिक कार्यक्रम केवल मनोरञ्जनको अवसर मात्र पनि होइन, नेपाली संङ्गीतप्रति र गयिका गुरुङ प्रति कृतज्ञता प्रकट गर्ने एउटा मञ्च पनि हो।

गायिका गुरुङको एकल साङितिक कार्यक्रम–२०८२ को विशेष अवसर पारेर गायिका गुरुङको संरक्षकत्व तथा नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” लाई पनि सोही समारोहमा प्रदान गरिने भएको छ । नगद एकाउन्न हजारको पुरस्कार राशी रहेको उक्त पुरस्कार यसवर्ष बरिष्ठ गायक कमल बि.क. “निर्मोही” लाई प्रदान गरिने भएको छ ।

नेपाली गीतहरुलाई सम्वद्र्धन तथा प्रवद्र्धन गर्नको लागी विगत लामो समयदेखी सक्रिय रहेका कमल बि.क. “निर्मोही” मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरुलाई नेपाली श्रोता तथा दर्शक माझ प्रस्तुत गर्दै आईरहनु भएको छ गायक नर्मोही पछिल्लो समय मृगौला रोगबाट समेत पिँडित छन् ।

यस अघि “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार” बाट बरिष्ठ गायिका चन्द्रकला शाह (२०७८), बरिष्ठ गीतकार बिश्व बल्लभ (२०७९), बरिष्ठ बाध्यबादक कृष्ण गन्धर्ब (२०८०) र बरिष्ठ लोकगायक रेशम थापा (२०८१) सम्मानित एवम् पुरस्कृत भईसक्नु भएकोछ ।

“कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” गायक निर्मोहीलाइ

समाचार


काठमाण्डौ– नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको नगद ५१,००० (एकाउन्न हजार) रुपैयाँ राशी सहितको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” यसवर्ष बरिष्ठ गायक कमल बि.क. “निर्मोही” लाई प्रदान गरिने भएको छ ।

नेपाली गीतहरुलाई सम्वद्र्धन तथा प्रवद्र्धन गर्नको लागी विगत लामो समयदेखी सक्रिय रहेका कमल बि.क. “निर्मोही” मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरुलाई नेपाली श्रोता तथा दर्शक माझ प्रस्तुत गर्दै आईरहेका छन् । विशेषतः गायक “निर्मोही” का “बुलबुल तालैमा, आउँ त भने, मैले भन्थे नी, सलल बग्ने, ताने झै माया, अरु मैले, बनको फुल फुलेछ, कठै सानु, भेरी दोभान, लाग्यो माया” लगायत दर्जनौँको संख्यामा रहेका उनका गीतहरु चर्चामा रहेका छन् । गायक निर्मोही प्रसिद्ध रेडियोकर्मी पनि हुन् ।

विशेष गरी कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार तथा सम्मानको उद्देश्य भनेको नेपाली सङ्गीत क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका अग्रज श्रष्ठा तथा कलाकारहरुलाई जीवीत रहँदै सम्मान पत्र सहितको नगद पुरस्कारबाट पुरस्कृत गर्नु रहेको यस पुरस्कारका संरक्षक गायक तथा सङ्गीतकार कन्हैया सिंह परियाले बताए । जुन पुरस्कार र सम्मानले सम्मान्नित हुने अग्रज श्रष्ठाको मनमा खुशी र जीवनमा थप सकारात्मक सोंच र उर्जाको बृद्धि होस् ।

टिका गोपाल डिजिटल एम्. क्रियशन प्रा.लि.का संचालक तथा कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार समितिका अध्यक्ष गीता सिंह र पुरस्कार छनौट समिति तथा कार्यक्रम संयोजक सङ्गीतकार सन्तोष श्रेष्ठद्धारा सयूक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा गायक निर्मोहीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

कार्तिक महना भित्रै काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि गायक निर्मोहीलाई ५१,००० (एकाउन्न हजार) रुपैयाँको नगद सहितको पुरस्कार र सम्मान पत्रद्धारा सम्मानित गरिने विज्ञप्तीमा भनिएको छ । गायक नर्मोही पछिल्लो समय मृगौला रोगबाट समेत पिँडित छन् ।

यस अघि “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार” बाट बरिष्ठ गायिका चन्द्रकला शाह (२०७८), बरिष्ठ गीतकार बिश्व बल्लभ (२०७९), बरिष्ठ बाध्यबादक कृष्ण गन्धर्ब ( २०८०) र बरिष्ठ लोकगायक रेशम थापा (२०८१) सम्मानित एवम् पुरस्कृत भईसकेका छन् ।

बोर्डद्वारा १७८ चलचित्रकर्मीलाई परिचयपत्र वितरण

समाचार


काठमाण्डौ - चलचित्र विकास बोर्डले शुक्रबार एक विशेष कार्यक्रमका बीच १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको छ। २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका ती चलचित्रकर्मीहरूलाई बोर्डले सम्मानपूर्वक परिचयपत्र प्रदान गरेको हो। चाबहिल स्थित चलचित्र विकास बोर्डको हलमा आयोजित सो कार्यक्रमको अध्यक्षता बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका थिए भने विशेष अतिथि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरि निरौला रहेका थिए ।

यसअघि बोर्डले ३० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिक र अन्य क्षेत्रका व्यक्तिहरूलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको थियो। बोर्डले यसै आर्थिक वर्षदेखि परिचयपत्र प्राप्त गरेका विशिष्ट चलचित्रकर्मीहरूका लागि वार्षिक रु. १ लाख ५० हजार बराबरको तथा सामान्य चलचित्रकर्मीहरूका लागि रु. ७५ हजार बराबरको स्वास्थ्य बीमा सुविधा सुरु गरेको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष डीसीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्नु केवल औपचारिकता नभई पेशागत पहिचान र अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउने कदम समेत भएको बताए । उनले भने( ‘चलचित्रकर्मीको पहिचान, सामाजिक सुरक्षा र प्रतिष्ठाको संरक्षणका लागि बोर्ड निरन्तर क्रियाशील रहन प्रतिबद्ध छ । समारोहमा चलचित्रकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

रमेश दुलाल "कागे" को ‘२२औँ काग सम्मेलन’ भब्य रुपमा सम्पन्न

समाचार


काठमाडौं, काग तिहारको अवसरमा कलाकार रमेश दुलाल"कागे"ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औँ काग सम्मेलन’ भब्य रुपमा सम्पन्न गरेका छन ।

टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं  कागलाई आकर्षित गरे । बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ  हजारौ कागहरू आकाशबाट झर्दै भेला भएका थिए।

दुलालले कागसहित हालसम्म १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाजहरू नक्कली रूपमा निकाल्न सक्छन । साथै, उनले मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुन समेत प्रस्तुत गर्न सक्छन्।

उनका अनुसार, विगतका वर्षहरूमा उनले कहिले रत्नपार्कस्थित शान्ति बाटिकामा, कहिले एयरपोर्ट परिसरमा, त कहिले सामाजिक सन्देशसहित ‘काग सम्मेलन’ गर्दै आएका छन्।
दुलालले भने, “काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो। कागलाई यमराजको दूतका रूपमा मानिन्छ। यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ।”

काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन दुलालको यो कार्यक्रमलाई उपस्थित दर्शकहरूले सराहना गरेका छन्  भने बहुप्रतिभाको धनी दुलालको चर्चा गरेका छन ।
कार्यक्रमको मुख्य  प्रायोजकमा मोर्डन राप्ती रियल स्टेट र 
भरत विश्वकर्मा रहेका छन भने सहप्रायोजकमा
 ह्याम्स हस्पिटल,शंकर प्रसाद आचार्य,चुडा मैनाली,होराईजन स्पा,नौकरी नेपाल र शान्ती तथा ग्रामिण विकास केन्द्र नेपाल रहेका थिए भने मिडिया संयोजन जनसवाल रास्ट्रीय दैनिक र आर्टिस्ट खवर लगाएतले गरेका थिए ।