अञ्जनाको‘भोटेकोशी झैँ’मा प्रेम, पीडा र प्रतिशोधको कथा

PNA

कन्हैया सिंहको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र अञ्जना गुरुङको स्वरमा नयाँ गीत सार्वजनिक

|
|


काठमाडौं - प्रेमको गहिराइमा डुबेको सम्बन्ध जब धोका र पीडामा परिणत हुन्छ, त्यसबाट जन्मिने भावनाले मानिसको मनमा कस्तो रूप लिन्छ ? यही प्रश्नको वरिपरि प्रेम, पीडा र प्रतिशोधको कथा बुन्दै नयाँ गीत ‘भोटेकोशी झैँ’ सार्वजनिक भएको छ। स्वरमाधुरी अञ्जना गुरुङको स्वरमा रहेको गीतको भिडियो उनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सुमधुर सङ्गीत र भावनात्मक कथावस्तुलाई केन्द्रमा राखिएको गीतले प्रेम सम्बन्धभित्रको विश्वास, धोका र त्यसपछि उत्पन्न हुने मानसिक परिवर्तनलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

गीतमा वरिष्ठ गायक तथा सङ्गीतकार कन्हैया सिंह परियारको शब्द रचना रहेको छ भने कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत दिएका छन्। देवेन्द्र नेवाको सङ्गीत संयोजन, एसबी मुस्कानको सङ्गीत सञ्चयक तथा प्रकाश मिश्रको सङ्गीत सम्पादन रहेको गीत काठमाडौंस्थित अकोस्टिक स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियो भने निर्देशक सुब्रत आचार्यले निर्देशन गरेका हुन्। भिडियोमा माधवराज खरेल, पवित्रा आचार्य र याना सिलवालको अभिनय रहेको छ। अनिश स्याङदेनको छायांकन रहेको भिडियोमा केर डी. कोइन्च लिनुचले दृश्य सम्पादन तथा कलरको जिम्मेवारी सम्हालेका छन्।

भिडियोमा प्रेमबाट प्रतिशोधसम्मको यात्रा

‘भोटेकोशी झैँ’को विशेषता यसको गीतमा मात्र सीमित छैन। भिडियोले एउटा भावनात्मक कथा बोकेको छ। आफूले माया गरेको व्यक्तिबाट धोका पाएपछि पात्रमा आउने मानसिक परिवर्तन, पीडा र अन्ततः जन्मिने प्रतिशोधलाई भिडियोको कथानक बनाइएको छ।  प्रेमको सुरुवाती मिठासदेखि सम्बन्धमा आउने दरार र त्यसपछि उत्पन्न हुने आक्रोशसम्मको यात्रालाई भिडियोमा दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ। यसले गीतका शब्द र सङ्गीतलाई कथासँग जोड्दै दर्शकलाई भावनात्मक रूपमा कथाभित्र प्रवेश गराउने प्रयास गरेको छ।

कलाकारहरूको अभिनय, दृश्यको प्रस्तुतिशैली र कथावस्तुलाई समान प्राथमिकता दिइएकाले ‘भोटेकोशी झैँ’ केवल श्रव्य सामग्रीका रूपमा नभई गीतसँगै कथा भन्ने म्युजिक भिडियोका रूपमा आएको छ।

नेपाली गीत–सङ्गीतको क्षेत्रमा झन्डै तीन दशकदेखि सक्रिय कन्हैया सिंह परियार गायक तथा सङ्गीतकारका रूपमा स्थापित नाम हुन्। गायन र सङ्गीत सिर्जनासँगै गीत लेखनमा समेत सक्रिय उनले आफ्ना सिर्जनामार्फत प्रेम, जीवन र मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्दै आएका छन्। त्यस्तै अर्कोतर्फ, अञ्जना गुरुङ नेपाली सुगम सङ्गीत तथा चलचित्र सङ्गीत क्षेत्रमा परिचित गायिका हुन्। लामो समयदेखि कन्हैया सिंह परियार र अञ्जना गुरुङबीचको साङ्गीतिक सहकार्य निरन्तर रहँदै आएको छ। गायन, सङ्गीत सिर्जना र विभिन्न साङ्गीतिक गतिविधिमा उनीहरूको सहकार्यले नेपाली सङ्गीत क्षेत्रमा छुट्टै पहिचान बनाएको छ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका कन्हैया–अञ्जना दम्पती नेपाल आउने क्रममा हरेक वर्ष नेपाली श्रोता तथा दर्शकमाझ नयाँ साङ्गीतिक कोशेली प्रस्तुत गर्दै आएका छन्।  केही समयअघि उनीहरूको स्वरमा रहेको ‘फोटो खिचौँ न’ सार्वजनिक भएको थियो। उक्त गीतले पनि पछिल्लो समय श्रोता तथा दर्शकमाझ राम्रो चर्चा पाउँदै आएको छ।

कन्हैया–अञ्जनाको साङ्गीतिक सहकार्य गीत सिर्जना र गायनमा मात्र सीमित छैन। नेपाली सङ्गीत क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टा तथा कलाकारलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूले ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ समेत स्थापना गरी प्रदान गर्दै आएका छन्।

कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’  मार्फत स्रष्टा सम्मानमा पनि सक्रिय

नेपाली सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका स्रष्टा तथा कलाकारलाई प्रदान गरिँदै आएको उक्त पुरस्कारले सङ्गीत क्षेत्रमा सक्रिय प्रतिभालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। हालसम्म गायिका चन्द्रकला शाह (२०७८), गीतकार विश्व बल्लभ (२०७९), वाद्यवादक कृष्ण गन्धर्व (२०८०), लोकगायक रेशम थापा (२०८१) र गायक कमल विक ‘निर्मोही’ (२०८२) उक्त पुरस्कारबाट सम्मानित तथा पुरस्कृत भइसकेका छन्।  यसरी कन्हैया–अञ्जना जोडीको साङ्गीतिक यात्रा सिर्जना र प्रस्तुतिमा मात्र सीमित नभई नेपाली गीत–सङ्गीतका स्रष्टाको सम्मान तथा नयाँ पुस्तालाई प्रोत्साहन गर्ने अभियानसँग समेत जोडिँदै गएको देखिन्छ।

‘भोटेकोशी झैँ’ले थपेको अर्को अध्याय

नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर सक्रिय कन्हैया सिंह परियार र अञ्जना गुरुङले आफ्ना सिर्जनामार्फत मनोरञ्जनसँगै नेपाली सङ्गीतको संरक्षण, प्रवर्द्धन र स्रष्टाको सम्मानमा योगदान दिँदै आएका छन्।त्यही यात्राको अर्को कडीका रूपमा सार्वजनिक भएको ‘भोटेकोशी झैँ’ ले प्रेम, पीडा र प्रतिशोधलाई सङ्गीत तथा दृश्यको माध्यमबाट प्रस्तुत गरेको छ। कन्हैया सिंहको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र अञ्जना गुरुङको स्वरमा तयार भएको यो गीतले उनीहरूको लामो साङ्गीतिक सहकार्यमा अर्को अध्याय थपेको छ।