सरकारी नीति कागजमै सीमित हुँदा लघुचलचित्र र म्युजिक भिडियो क्षेत्र मारमा
काठमाडौं-लघुचलचित्र तथा म्युजिक भिडियो क्षेत्र राज्यको बेवास्तामा परेको भन्दै सरोकारवालाले प्रभावकारी नीति, कानुन र प्रोत्साहनमूलक कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् ।
शुक्रबार परिवर्तन नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा लघुचलचित्र तथा म्युजिक भिडियो क्षेत्रका सरोकारवालाले राष्ट्रिय चलचित्र नीति र राष्ट्रिय संस्कृति नीतिमा उल्लेख गरिएका प्रावधान कार्यान्वयन हुन नसक्दा यस क्षेत्रमा आबद्ध कलाकार, सर्जक तथा प्राविधिकहरू समस्यामा परेको बताएका हुन् ।
कार्यक्रममा पत्रकार तथा साहित्यकार घनेन्द्र ओझाले सञ्चार मन्त्रालयले तयार गरेको राष्ट्रिय चलचित्र नीतिमा लघुचलचित्र, वृत्तचित्र तथा सांस्कृतिक चलचित्रलाई प्रोत्साहन गर्ने उल्लेख भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । राष्ट्रिय संस्कृति नीतिमा पनि नेपाली कला, संस्कृति र पुरातत्त्वको विकास तथा विस्तार गर्ने विषय समेटिएको उल्लेख गर्दै उहाँले नीतिअनुसार आवश्यक ऐन, कानुन निर्माण तथा संशोधन नहुँदा लघुचलचित्रकर्मी र म्युजिक भिडियो क्षेत्रका सर्जक प्रभावित भएको बताउनुभयो ।
नेपाली मौलिक संस्कृतिको संरक्षण र विस्तारका लागि नेपाली कला, संस्कृति र परम्परामा आधारित चलचित्र, लघुचलचित्र, गीत तथा म्युजिक भिडियो निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै ओझाले यस्ता सिर्जना सधैँ व्यावसायिक लाभका लागि मात्र निर्माण नहुने भएकाले राज्यले प्रोत्साहन र सहयोगको नीति लिनुपर्ने धारणा राख्नुभयो ।
चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दिनेश डीसीले चलचित्र नीतिअनुसार ऐन संशोधन हुन नसक्दा चलचित्र क्षेत्रका विभिन्न काममा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले आफ्नो दुईवर्षे कार्यकालमा चलचित्र क्षेत्रको विकासका लागि केही महत्त्वपूर्ण काम गरेको पनि उल्लेख गर्नुभयो ।
सञ्चारकर्मी शन्तराम बिडारीले चलचित्र क्षेत्र र पत्रकारिताबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै दुवै क्षेत्रबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
परिवर्तन नेपालका उपाध्यक्ष तथा विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले लाखौँ व्यक्तिको रोजगारीसँग जोडिएको लघुचलचित्र तथा म्युजिक भिडियो क्षेत्रको संरक्षण र संवर्द्धनका लागि राज्यका निकाय र सम्बन्धित संस्थाहरू जिम्मेवार बन्नुपर्ने बताउनुभयो । नेपाली गीतसङ्गीतमा विकृति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको नियन्त्रण तथा नियमनका लागि प्रभावकारी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वरिष्ठ चलचित्रकर्मी तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले चलचित्रकर्मी र म्युजिक भिडियो क्षेत्रका सर्जकका आफ्नै सीमितता भए पनि राज्यले नियमनसँगै प्रोत्साहन र सहयोगका नीति, ऐन तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । लाखौँ कलाकार, सङ्गीतकर्मी र प्राविधिकको भविष्य सुरक्षित हुने गरी राज्यले आवश्यक कदम चाल्नुपर्ने उहाँको भनाइ थियो ।
निरौलाले राज्यको सांस्कृतिक नीति र चलचित्र नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै चलचित्रलगायत सांस्कृतिक गतिविधिप्रति सरकारी उदासीनता कायम रहे यस क्षेत्रमा आबद्ध पेसाकर्मीको भविष्य अन्योलग्रस्त हुने बताउनुभयो ।
कार्यक्रमका संयोजक राज टाइगरको संयोजनमा सम्पन्न कार्यक्रममा परिवर्तन नेपालका महासचिव तथा म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेले यस क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गरी सञ्चार मन्त्रालय, संस्कृति मन्त्रालय, चलचित्र विकास बोर्डलगायत सम्बन्धित निकायमा आवश्यक प्रस्ताव पेस गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा साहित्यकार राधेश्याम लेकाली, कलाकारहरू मदनदास श्रेष्ठ, मिथिला शर्मा, सुवास गजुरेल, रामचन्द्र अधिकारी, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष उत्तम केसी, पूर्ण नेपाली, तुलसी गिरि भावुक, सरोज कोइराला, हेम प्रभास, विष्णु सुवेदी, रघुनाथ सापकोटा, रमेश सुवेदी, नारायण प्रधान, पुजना प्रधान, सुनिल कटुवाल, समीर बलामी, शारदा गिरी, हेम सुबेदी, लब प्याकुरेल, जेबी डीसी, मनिष श्रेष्ठ, शिवजी श्रेष्ठ, कुबेर गिरि, सबिता पोखरेल, नवराज रायमाझी, गोपाल बस्नेत, राजेन्द्र वाग्ले, शिवहरि सुवेदी, डीआर र बिमल श्रेष्ठलगायतको उपस्थिति थियो ।
परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली चलचित्रको प्रदर्शनमा आएको शिथिलता, चलचित्रको व्यापार उत्साहजनक हुन नसकेको तथा दर्शकको आकर्षण घट्दै गएको विषयमा पनि चिन्ता व्यक्त गरिएको थियो । कार्यक्रमको सहजीकरण माधवराज खरेलले गर्नुभएको थियो ।
