काठमाडौ– नेपालीहरुको महान चाड बडा दशैं तथा विजया दशमी वर्षेनी मनाईने फगत एक चाड मात्रै होईन, यो त नेपाली समाजलाई एकै सूत्रमा बाँध्ने प्रमुख पर्व पनि हो । यस्ता पर्वहरुले हामी नेपालीहरुलाई एक सुत्रमा बाँध्ने गरको छ । समग्रमा भन्नु पर्दा दशैं तिहार तथा छट जस्ता पर्वहरुले पारिवारिक पुर्नमिलनको अवसर पनि बनाई दिएको छ । गाउँमा सामूहिक पूजापाठ, मेलापात, रमाइलो, सामूहिक भोजजस्ता गतिविधिले सामुदायिक सम्बन्ध बलियो हुन्छ । शहरमा पनि साथीभाइबीच भेटघाट र शुभकामना आदान–प्रदान हुन्छ । यस वर्षको दशैं पनि असोज ६ गते घटस्थापनाबाट सुरु भई २१ गते पुर्णिमाको दिनवाट समापन हुँदैछ । हुन त करिब दुई सातासम्म चल्ने यो पर्वले धार्मिक श्रद्धा, साँस्कृतिक परम्परा, सामाजिक एकता र आर्थिक गतिविधि सबैलाई जोड्ने काम गर्छ ।
दशैंको पहिलो दिन घटस्थापना नै सम्पूर्ण पर्वको आधार हो । यस दिन बिहानै साइत मिलाएर घर–घरमा कलश स्थापना गरिन्छ । कलशलाई शक्तिको प्रतीक मानिन्छ । त्यसैगरी, बालुवा थापेर जौ रोपिन्छ जसलाई जमरा भनिन्छ । दशौं दिनसम्म बढाइएको जमरा देवी दुर्गाको आशीर्वादको प्रतीकका रूपमा टीका थाप्दा प्रयोग गरिन्छ । घटस्थापनाले दुर्गा पूजाको औपचारिक शुरुवात जनाउँछ ।
घटस्थापनापछि लगातार नौ दिनसम्म देवी दुर्गाका नौ रूपहरूको विशेष पूजा आराधना हुन्छ, जसलाई नवरात्रि भनिन्छ । भक्तजन उपवास बस्छन्, मन्दिर–मन्दिरमा भीड लाग्छ र देवीस्थानहरूमा विशेष पूजा हुन्छ । द्वितीया, तृतीया र चतुर्थी भक्तजनले साधारण पूजा गर्ने र देवीको स्तुति गर्ने परम्परा हुन्छ । पञ्चमी र षष्ठी विशेष गरी परिवारजनले घरमै देवीको पूजा गर्ने दिन मानिन्छ ।
सप्तमी अर्थात फूलपाती– यस दिन गोरखाबाट विशेष विधिमा ल्याइएको फूलपाती काठमाडौं स्थित दशैघरमा भित्राईने परम्परा रहँदै आएको छ । यसै दिन देवीको प्रतीकका रूपमा आम नेपालीहरुले आ–आफ्नो घरमा फूलपातीलाई भित्राउने गर्दछन् अर्थात जमरा राखिन्छ ।
अष्टमी अर्थात महाअष्टमी– यस दिनलाइ महाअष्टमी पनि भनिन्छ यस दिन देवीलाई बलिप्रदान गर्ने चलन छ । शक्तिपीठ, मन्दिर र घर–घरमा विशेष पूजा–विधि हुन्छ। रातभर देवीको नाममा बलि दिने प्रचलन अझै पनि कतिपय ठाउँमा रहिआएको छ ।
नवमी अर्थात महानवमी – यस दिनमा विशेषत दशैं घरमा अस्त्र शस्त्रको पूजा गरिन्छ । यस दिन हातहतियार, मोटरगाडी तथा ईन्जिनहरुको समेत पनि पुजा गर्ने गरेको पाईन्छ । सेनादल, प्रहरीलगायत सुरक्षासंस्थामा यस दिनलाई विशेष पर्वका रूपमा मनाइन्छ । तुलजा भवानी र अन्य शक्तिपीठमा विशेष पूजा हुन्छ ।
दशौं दिन अर्थात विजया दशमी– यस दिनलाई पर्वको विशेष दिनको रुपमा मानिन्छ । धार्मिक विश्वास अनुसार दशमीको दिन देवी दुर्गाले महिषासुर नामक दैत्यलाई बध गरी सत्य र धर्मको विजय स्थापित गर्नुभएको थियो। यसैले यस दिनलाई “विजया दशमी“ भनिन्छ ।
(दशैमा नवदुर्गा देवीको पुजा तथा आरधना गर्दा प्रयोग गरिने मन्त्रहरुः पहिलो दिन–“ॐ देवी शैलपुत्र्यै नमः”, दोश्रो दिन– “ॐ देवी ब्रह्मचारिण्यै नमः”, तेस्रो दिन– “ॐ देवी चन्द्रघण्टायै नमः”, चौथो दिन–“ॐ देवी कुष्माण्डायै नमः”, पाँचौं दिन–“ॐ देवी स्कन्दमातायै नमः”, छैठौं दिन“ॐ देवी कात्यायन्यै नमः”, सातौं दिन–“ॐ देवी कालरात्र्यै नमः”, आठौं दिन– “ॐ देवी महागौर्यै नमः”, नवौं दिन– “ॐ देवी सिद्धिदात्र्यै नमः”)
दशैंको दशौं दिन अर्थात विजया दशमीको दिन घरका ज्येष्ठ सदस्यबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा परापुर्वकाल देखी चल्दै आएको छ र शो निरन्तरता आज पनि यथावत नै छ । आशीर्वादमा दीर्घायु, स्वास्थ्य, समृद्धि र प्रगतिका शुभकामना दिने गरिन्छ । परिवारका सदस्यहरू मात्र होइन, आफन्त, छिमेकी र समाजका अन्य व्यक्ति तथा दशैं विदेशमा रहेका आफन्तजनहरूसंग पनि भेटघाट गरी टीका लगाउने र शुभकामना साटासाट गर्ने चलनले आम रुपमा हामी नेपालीहरुलाई सामाजिक पनि बनाएको । टिका, जमरा लगाउने तथा आफन्तविचको भेट र आर्शिवाद लिने ठाउँ अनुसराको प्रचलनमा भने केही फरक पाईन्छ, कतै कतै विजया दशमीसंगै दशै सकियो भन्ने चलन पनि छ भने प्रायः ठाउँहरुमा पुर्णिमाको दिनसम्म पनि टिका जमरा ग्रहण गर्ने प्रचलन रहँदै आएको पाईन्छ ।
दशैं नजिकिँदै गर्दा बजारमा विशेष चहलपहल देखिन्छ । नयाँ कपडा, जुत्ता, गहना, खाद्यान्न, मासु, मिष्ठान्न आदिको बिक्री बढ्छ । कृषकले पनि वर्षभर मेहनत गरेर उत्पादन गरेका धान, तरकारी, फलफूल बजारसम्म पुर्याउने अवसर पाउँछन् । यसरी दशैंले समग्र रुपमा देशको अर्थतन्त्रलाई समेत चलामान बनाएको हुन्छ ।
समयसँगै दशैं मनाउने तरिका पनि परिवर्तन हुँदै गएको छ । पुराना पुस्ताले धार्मिक अनुष्ठानलाई बढी महत्व दिने गरेका छन् भने नयाँ पुस्ताले दशैंलाई सामाजिक भेटघाट र रमाइलोको अवसरका रूपमा लिन थालेका छन् । कतिपय शहरहरुमा पार्टी तथा भोजभतेरलाई बढी जोड दिएको पाईन्छ भने गाउँमा अझै पनि परम्परागत पूजा–विधि कायम छ । तर जसरी जे परिवर्तन भए पनि दशैंको मूल आत्मा भने परिवारलाई एकत्रित गर्ने, आशीर्वाद थाप्ने र मेलमिलाप गर्ने संस्कारमा केन्द्रित रहन्छ ।
दश दिनसम्मको धार्मिक विधि–विधानले नेपाली समाजमा श्रद्धा र आस्थाको भाव जागृत गराउनुका साथै टीकाले परिवार र समाजलाई अझ नजिक बनाउने गर्दछ । दुर्गा भवानीको आराधना, धर्मको विजय, सामाजिक मेलमिलाप र आर्थिक गतिविधिसहित दशैं नेपालीको जीवनमा केवल पर्व मात्र नभई सांस्कृतिक धरोहरका रूपमा स्थापित हुदै आएको छ ।
नेपालभर मनाइएको यस वर्षको विजया दशमीले फेरि एकपटक दशैं नेपालीको धार्मिक आस्था मात्र होइन, सांस्कृतिक पहिचान, सामाजिक सम्बन्ध र राष्ट्रिय एकताको पनि अभिन्न सूत्र हो भन्ने विश्वासलाई थप बलियो बनाउदै गएको छ ।
लेखकः कमला जोशी (सम्पादक, पावर न्यूज मासिक)
बनेपा — काभ्रेको निर्माण व्यवसायमा एक नयाँ आयाम थपिएको छ। बनेपा नगरपालिका–७, उग्रचण्डीस्थित पेट्रोल पम्पको पछाडि रहेको बनेपा मार्वल प्यालेस प्रा.लि. आजबाट औपचारिक रूपमा सेवा प्रारम्भ गरेको छ। नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा रिबन काट्दै शुभारम्भ गरिएको हो। नगर प्रमुख शाक्यले कार्यक्रममा शुभकामना व्यक्त गर्दै भने, "गुणस्तरीय सामाग्री स्थानीय बजारमै सहज रूपमा उपलब्ध हुने यो प्रतिष्ठानले निर्माण क्षेत्रमा नयाँ सम्भावना र विश्वासको जग बसाउनेछ।
निजी क्षेत्रको यस्ता लगानीले रोजगारी र आर्थिक प्रवाहमा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिएको छु।" उद्घाटन समारोहमा स्थानीय व्यवसायी, इन्जिनियर, निर्माण व्यवसाय संलग्नहरू, र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। झण्डै ३० वर्षको व्यवसायिक अनुभव र ४ करोड रुपैयाँभन्दा बढी लगानीमा सञ्चालनमा ल्याइएको यो प्रतिष्ठानबारे सञ्चालक सन्दिप अग्रवालले भने, "हामीले देश-विदेशका उत्कृष्ट ब्राण्डका सामाग्रीहरू अब बनेपामै उपलब्ध गराउने प्रण गरेका छौं। सेवा, गुणस्तर र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर व्यवसाय अघि बढाउनेछौं।" अंकित अग्रवालले प्रतिष्ठानमा उपलब्ध वस्तुहरूको विवरण दिँदै भने, "यहाँ टायल्स, मार्वल, ग्रेनाइट, बाथरुम फिटिङ्स, सेनेटरी सामान, पाइप फिटिङ्सलगायत निर्माण सामग्रीहरू थोक मूल्यमा उपलब्ध छन्।
सम्पूर्ण वस्तुहरू गुणस्तरीय र ब्राण्डेड छन्।" पङ्कज अग्रवालले ढुवानी सुविधाको उल्लेख गर्दै भने, "हामी काभ्रे जिल्लाभर निःशुल्क ढुवानी सेवा दिनेछौं। ग्राहकलाई समय, पैसा र झन्झटबाट बचाउन यो सेवा प्रभावकारी हुनेछ। हामी ‘मंगलम पाइप फिटिङ्स’को आधिकारिक डिस्टिब्युटर पनि हौं, जसले गर्दा उपभोक्तालाई भरपर्दो सेवा दिन सक्नेछौं।" विशेष रूपमा, बनेपा मार्वल प्यालेसमा कजारिया, लेमिनार, प्राइम, एटीएस, साउथ ग्रेनाइट, राजस्थानी मार्वल, ज्याक वार, केरोभिट बाथ वेर जस्ता अन्तर्राष्ट्रिय स्तरका ब्राण्डका सामाग्रीहरू सजिलै पाइनुका साथै सम्पूर्ण सामग्रीमा वारेन्टीसहितको सेवा प्रदान गरिने छ। स्थानीय इन्जिनियरले भने, "हामीजस्ता निर्माण व्यवसायीका लागि यस्ता प्रतिष्ठान स्वर्ग समान हुन्। पहिले काठमाडौँसम्म जानुपर्ने वस्तुहरू अब बनेपामै पाइने हुँदा समय र लागत दुवै बच्नेछ।"
समिर लामा/ काठमाण्डौ– गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको हालै सम्पन्न निर्वाचनले सुजन लामा मोक्तानलाई २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गर्दै नयाँ नेतृत्वको सुरुवात गरेको छ । पेशाले पर्यटन व्यवसायी तथा अन्तर्राष्ट्रिय अनुभवले भरिपूर्ण मोक्तानको विजयले एनआरएनए पोर्चुगलमा नयाँ ऊर्जा, स्वच्छ दृष्टिकोण र युवामुखी नेतृत्वको संकेत दिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर गरेका मोक्तानले भारत, दुबई, अष्ट्रिया र जर्मनीमा पर्यटन व्यवस्थापन तथा ग्लोबल डेस्टिनेसन सस्टेनेबिलिटी सम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् । नेपालमै सात वर्ष पर्यटन, कर्पोरेट र बैंकिङ क्षेत्रसँग जोडिएर काम गरिसकेका उनी पछिल्लो दशकदेखि पोर्चुगलको लिस्बनमा पर्यटन तथा सामाजिक अभियन्ताका रूपमा सक्रिय छन् । आफ्नो कार्यकालमा नेपाल–पोर्चुगल सम्बन्ध सुदृढ गर्ने योजना राखेको भन्दै मोक्तानले भने“ “एनआरएनए एउटा नाफारहित संस्था हो । त्यसलाई विवादमुक्त, पारदर्शी र नेपाली डायस्पोराको साझा थलो बनाउने हाम्रो उद्देश्य हो,” मोक्तानको अध्यक्षीय कार्ययोजना नेपाल र पोर्चुगलबीचको सम्बन्धलाई सांस्कृतिक, सामाजिक र आर्थिक क्षेत्रमा फैलाउने दिशामा केन्द्रित छ ।
विशेषगरी, पोर्चुगलको पर्यटकीय बजारबाट नेपालमा गुणस्तरीय टुर प्याकेजमार्फत पर्यटक पठाउने, नेपाली दूतावास र पोर्चुगिज संस्थाहरूसँग सहकार्य गरी संयुक्त कार्यक्रम गर्ने, सामाजिक मनोपरामर्श (काउन्सेलिङ) कार्यक्रममार्फत नेपाली समुदायमा एकता, समझदारी र समावेशी सोचको विस्तार गर्ने, युवाहरूलाई शिक्षा र रोजगारीको क्षेत्रमा वैधानिक मार्गदर्शन प्रदान गर्ने, र गैरराजनीतिक, सफा छविका अभियन्ताहरूलाई एनआरएन अभियानमा जोड्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
मोक्तानले संस्थाभित्र गुटबन्दी, स्वार्थ र सत्ता मोहका कारण संस्थाको प्रतिष्ठामा आँच पुगेको स्वीकार गर्दै अब समय व्यक्तिगत फाइदा होइन, साझा भविष्य मा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । साथै संस्था सधैं हाम्रो घरजस्तो हुनेछैन । त्यसैले आज गरिने कामहरू पारदर्शी, उत्तरदायी र दीर्घकालीन सोचले गरिनुपर्ने बताए । सुजन लामा मोक्तान एचएलसी संयोजक डा. शेष घलेद्वारा मान्यता प्राप्त अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । यसलाई एनआरएनए पोर्चुगलको पहिलो वैधानिक निर्वाचनका रूपमा समेत चिनिएको छ ।
मोक्तानले अब एनआरएनएको नाममा हुने कुनै पनि अनियमितता, मानव तस्करी, वा स्वार्थपूर्तिको खेल अब स्वीकार्य नहुने भन्दै एक दशक लामो अन्तर्राष्ट्रिय अनुभव र नेपालको गाउँदेखि अन्तर्राष्ट्रिय मञ्चसम्मको समझ राख्ने आफ्नोे प्रमुख लक्ष्य रहेको भन्दैे नेपाललाई विश्वको एक प्रमुख पर्यटन गन्तव्य बनाउने तर्फ विशेष जोड दिने समेत बताएका छन् । उनले एनआरएनए पोर्चुगलमार्फत “नेपाल भ्रमण वर्षको पुनःघोषणा” गर्ने सन्देशसहित विभिन्न संवाद, प्रदर्शन र अवार्ड कार्यक्रमहरू आयोजना गर्ने तयारी पनि गरिरहेका छन् । एनआरएनए पोर्चुगलमा सुजन लामा मोक्तानको आगमनले युवा नेतृत्वको सम्भावना, प्रस्ट दृष्टिकोण र संस्थागत सुधारको अपेक्षा गरिएको छ ।
काठमाडौं— राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा राजधानीको अनामनगर स्थित सामाजिक विकास भवनमा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । मौसम परिवर्तनसँगै बाढी, पहिरो तथा सम्भावित दैवी प्रकोपका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै र पछिल्लो समय रगतको अभावबाट उत्पन्न स्वास्थ्य समस्याहरूको समाधानमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी प्रमुख एआइजी टेक तामाङ, लोकप्रिय नायक धिरेन शाक्य, निर्देशक माधवराज खरेल, संगीतकर्मी कस्तुप पन्त, गायक कुलेन्द्र विश्वकर्मा, संगीतकार नरहरी प्रेमी,सञ्चारकर्मी सुमन पण्डित र सविता पोख्रेल एवम् संस्थाका पदाधिकारी र सदस्यहरु लगायत दर्जनौं व्यक्तित्वहरुले रक्तदान गरेका थिए । यसका साथै, समाजसेवी, जनप्रतिनिधि, खेलाडी, राजनीतिक व्यक्तित्व तथा सर्वसाधारणहरुको समेत उक्त रक्तदान कार्यत्रक्रममा उल्लेखनीय सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, काठमाडौं महानगरपालिका, नेपाल फलफूल थोक व्यवसायी संघ, यसोदा ग्रुप अफ इन्डस्ट्रीज (करेन्ट नुड्ल्स), र माइलस्टोन इन्फ्रास्टक्चर इन्जिनियरिङ कन्सल्टेन्सीको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । नेपाली गीत–संगीत तथा कलाकारिता क्षेत्रमा क्रियाशील संघसंस्थाहरुको पनि सक्रिय सहकार्य रहेको थियो।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नारायण ब. थापा, निवर्तमान तथा संसथापक अध्यक्ष राजेन्द्र बजगाई, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा, महासचीव सनम कठायत, सचीव रिता केसी, वेनिषा पौडेल, एआइजी टेक तामाङ र एयोशा ग्रुपका अध्यक्ष चुन्ना पौडेलले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्दै आभार समेत प्रकट गरेका थिए । कार्यक्रम संयोजक तथा प्रतिष्ठानका महासचिव सनम कठायतले आगामी दिनमा पनि यस्ता सामाजिक र रचनात्मक क्रियाकलापमा प्रतिष्ठानलाई निरन्तर सक्रिय बनाउने प्रतिबद्धता जनाएका थिए ।
वरिष्ठ संगीतकार चेतन सापकोटा, संगीतकार संघ नेपालका अध्यक्ष अष्ट लामा, रोयल्टी संकलन समाजका सचिव बसन्त सापकोटा, गीतकार शंकर अधिकारी ’घायल’, म्यूजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ मलेकु, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, रापती समाजका अध्यक्ष गोबिन्द मधुर आचार्य, पत्रकार तथा गीतकार डब्बु क्षेत्री, प्रतिष्ठानका सल्लाहकार चलचित्र निर्देशक माधब राज खरेल, रबिन्द्र बराल, रमेश दाहाल र डा. ओमकृष्ण प्रसाईँ लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं, साउन ४ । पशुपतिनाथ मन्दिरको प्राङ्गणमा शनिवार (साउन ३ गते) मैथिल ब्राह्मण महासभाको २३औं वार्षिकोत्सव धार्मिक, सांस्कृतिक तथा सामाजिक उत्सवका रूपमा भव्य रूपमा सम्पन्न भयो। महासभाको तर्फबाट आयोजित यस विशेष कार्यक्रममा सत्यनारायण भगवानको पूजा, वैदिक मन्त्र उच्चारणसहित, पूर्ण श्रद्धा र विधिपूर्वक सम्पन्न गरियो।
कार्यक्रमको प्रमुख आकर्षण बनेका थिए नवविवाहित महिलाहरू । मधुश्रावणी पूजनमा सहभागी धीयापुत्रीहरू परम्परागत मैथिली पहिरनमा सजिएर उपस्थिति जनाएका थिए। ती धीयाहरूलाई पारम्परिक चुनरी ओढाइ, सिन्दूर, खोंइछ, र सम्मानपत्र प्रदान गरी संस्कार र संस्कृति जगेर्ना गर्ने कार्यमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागी संस्कारशील धीयाहरूमध्ये सोनु झा, काजल मिश्र, सिम्पी ठाकुर, रचना चौधरी, र अन्य प्रतिभावान महिलाहरूको सहभागिता उल्लेखनीय रह्यो। उनीहरूलाई महासभाको तर्फबाट हार्दिक बधाई र उज्ज्वल भविष्यको शुभकामना प्रदान गरिएको थियो।
कार्यक्रमको सफल आयोजनाको नेतृत्व काठमाडौं मैथिल ब्राह्मण महासभाकी अध्यक्ष पुनम झाले गर्नुभएको थियो। यसकार्यक्रमको सुरुवात ३ बर्ष पहिले झा कै पहलमा भएको थियो । त्यसो त अध्यक्ष झाले कार्यक्रमको समापनमा मन्तव्य दिँदै भन्नुभयो, “२३ वर्षे गौरवपूर्ण यात्रामा आज हामीले आफ्नो संस्कृति, परम्परा र सामाजिक चेतनालाई अझ सशक्त बनाउने लक्ष्यसहित यो कार्यक्रम सम्पन्न गरेका छौं। समाजलाई एकतामा बाँध्ने उद्देश्यले गरिएको यो प्रयास आगामी पुस्ताको लागि प्रेरणाको स्रोत बन्न सकोस भन्ने हाम्रो विश्वास छ।”
यस अवसरमा ‘सखी बहिनपा मैथिलानी समूह’ को उपस्थिति पनि विशेष रह्यो। समूहको अगुवाइमा सहभागी महिलाहरूलाई तेल, सिन्दूर, खोंइछ, र प्रसाद वितरण गर्दै प्रोत्साहन र सम्मान गरिएको थियो। महिलाहरूको सहभागिता र आत्मीयता यस कार्यक्रममा महत्वपूर्ण ऊर्जा र उल्लासको संचार गरेको देखिन्थ्यो।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, मैथिली भजन, पारम्परिक नृत्य, र मैथिल संस्कृति विषयक वक्तव्य समेत राखिएको थियो। साथै, महासभाको आगामी वर्षको योजनाहरू पनि सार्वजनिक गरिएको थियो—जसअन्तर्गत शिक्षामा पहुँच, संस्कृतिको संरक्षण, महिला सशक्तीकरण, र धार्मिक गतिविधिहरूलाई अझ विस्तार गरिने योजना छ।
कार्यक्रममा वरिष्ठ समाजसेवी, पूजारी वर्ग, युवा प्रतिनिधि, महिला समूह, पत्रकार, तथा अतिथिहरूको उपस्थिति रहेको थियो। सम्पूर्ण सहभागीहरूलाई आयोजक पक्षले हार्दिक धन्यवाद ज्ञापन गर्दै, आगामी वर्षहरूमा अझ सशक्त र समृद्ध आयोजनाको प्रतिबद्धता व्यक्त गरेको थियो।
काठमाडौं - चलचित्र लेखक तथा निर्देशक माधब राज खरेलद्धारा निर्देशित चलचित्र “चिट्ठी” भदौ २० गतेवाट प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको संचारकर्मी कमला जोशी निर्माता रहेको यस चलचित्रको वितरणको जिम्मेवारी कुवेर सिने डिस्ट्रीब्युशनले लिएको छ ।
केही समय अघि काठमाण्डौमा विशेष प्रदर्शनी गरिएको यस चलचित्रप्रति दर्शकहरुले देखाएको माया र दिएको प्रतिक्रियाले निर्माण पक्ष उत्साहित भएको छ । दुई घण्टा लामो चलचित्र “चिट्ठी” पुर्णतया हरर कमेडी तथा स्पेन्स र थ्रिलर शैलीमा तयार भएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रलाई पिजी सर्टिफिकेट दिएको छ, जसअनुसार १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा चलचित्र हेर्न पाउने भएका छन् ।
चलचित्रमा खड्गबहादुर पुन मगर ‘खवपु’, सञ्जित भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, नम्रता खरेलका प्रमुख भुमिका रहेको छ । त्यसैगरी मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरु समेत विशेष भुमिकामा देखिएका छन् ।
संचारकर्मी सरोज कोईरालाको संगीत एवम् डा. कृष्णहरि बराल र कमला जोशीको शब्द रहेको चलचित्रका गीतहरुको लागी शिव परियार, बेनिशा पौडेल र बसन्त अर्यालको स्वर दिएका छन् । चलचित्रको कथा वस्तु अनुरुप तैयार भएको शिव ताण्डव गीतको संगीत संयोजन भने संगीतकार राजेन्द्र बजगाईंले गरेका हुन् । चलचित्रमा समावेश गरिएको शिव ताण्डवले पनि चलचित्रलाई एक अलग आकर्षण थप्ने विश्वास निर्देशक खरेलको रहेको छ ।
‘चिट्ठी’ लाई जीवन पराजुली र राजन खरेलले खिचेका हुन् भने राजेश कुमारको सम्पादन, समिर मियाँको ग्राफिक्स तथा भिएफ एक्स, किरण दाहालको द्वन्द्व, पुष्कर खत्रीको पाश्र्व संगीत, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ प्वाईन्ट वान साउण्ड डिजाईन रहेको छ ।
चलचित्रको गीत, ट्रेलर र पोष्टर छिट्टै सार्वजानिक गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रको प्रचार प्रसार सामाग्री भने अमृत चापागाईँ र साहिल खानको तैयार गरका छन् । चलचित्रको प्रचार प्रसार सामाग्री भने अमृत चापागाईँ र साहिल खानको तैयार गरका छन् ।
काठमाण्डौ- राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। राजेन्द्र बजगाईको अध्यक्षता एवं विशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् भने दीपक शर्मा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, सुजाता के.सी. उपाध्यक्षमा सहमतिमा चयन हुनु भएको छ भने सनम कठायत महासचिव पदमा निर्विरोध निर्वाचित हुनु भएको छ। रिता के.सी. सचिवमा सहमतिका आधारमा चयन हुनु भएको हो। बेनिश पौडेल महिला सचिव र प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। अन्य निर्वाचित सदस्यहरूमा मनोज परियार, वीरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गीता पाण्डे, सुभाष तिम्सिना, प्रमोद डि.जी. र प्रज्वल राज भट्ट रहेका छन्। १७ सदस्यीय कार्यसमितिमा बाँकी रहेका २ सदस्य नयाँ कार्यसमितिबाट चयन गरिनेछ।
कार्यक्रम अनामनगरस्थित किम्ची रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको थियो, जसमा संस्थाका संस्थापक सल्लाहकार राजु सिंह, डा.टिका भण्डारी, चलचित्र निर्देशक माधव राज खरेल, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गीतकार डा.ओमकृष्ण प्रसाईं, बी.बी. थापा, राजेन्द्र लुईटेल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नारायण थापाले गीत–संगीतमा देखिएको विकृति र विसङ्गतिलाई नियन्त्रण गर्न कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, महासचिव सनम कठायतले पछिल्लो समय कलाकर्मीहरूमा देखिएको नैराश्यताको अन्त्य गर्न केही रचनात्मक कार्यक्रमहरूको थालनी गर्ने, श्रष्टाहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखी सिङ्गो कलाकर्मी वर्गको हित हुने कार्यक्रमहरू सुरु गर्ने तथा स्वास्थ्य बीमा लगायतका सामाजिक कार्यहरूमा संस्था क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतिष्ठानका संस्थापक तथा निवर्तमान अध्यक्ष राजेन्द्र बजगाईले नवनिर्वाचित कार्यसमितिले प्रतिष्ठानको गौरव बढाउने विविध प्रभावकारी तथा रचनात्मक कार्यहरू गर्नेमा पूर्ण आशावादी रहेको बताउनुभयो। साथै, सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरूले आ–आफ्नो तहबाट समर्पित भएर श्रष्टामुखी कार्यहरू गर्दै जाने दृढ प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
काठमाडौं - नेपालमा मात्र नभएर विदेशी भुमिमा समेत आफ्नो शान, मान र प्रतिष्ठाको उजागर गर्दे नेपाली चलचित्र तथा कलाकारिता क्षेत्रको बृहत्तर हितका लागी अनवरत रुपमा कार्यरत नेपाली चलचित्र क्षेत्रमा दर्शकहरुवाट एक्सन किङ नायकको उपाधि पाएका एवम् पाकिस्तानका दर्शकहरुका प्रिय नायक शिवा अर्थात विशिष्ट कलाकार तथा अभिनेता शिव श्रेष्ठको अध्यक्षतामा “शिव श्रेष्ठ फाउण्डेशन” को आधिकारिक रुपमा स्थापना भएको छ । फाउण्डेशनको शुभारम्भसँगै आफ्नो पहिलो कार्यक्रम स्वरूप जेष्ट ३० गते शुक्रवार ललितपुरको सातदोवाटो स्थित महेन्द्र आदर्श विद्या आश्रममा “फ्री हेल्थ क्याम्प फर स्टुडेन्ट“ आयोजना गरेको छ ।
सिभिल सर्भिस हस्पिटल (सिभिल अस्पताल) को प्राविधिक सहकार्यमा सम्पन्न भएको स्वास्थ्य शिविरमा महेन्द्र आदर्श विद्या आश्रमका विद्यार्थीहरूका लागि नाक, कान, घाँटी, दाँत, स्त्रीरोग सेवा लगायत सम्पूर्ण जनरल हेल्थ एक्जामिनेशन सेवा निःशुल्क प्रदान गरिएको थियो । उक्त स्वास्थ्य शिविर बिहान १०ः३० बजेबाट सुरु भई दिउँसो ३ः०० बजेसम्म सञ्चालन भएको थियो ।
अध्यक्ष शिव श्रेष्ठले नेपाली कला, संस्कृति, चलचित्र, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक सेवामा योगदान पु¥याउने उद्देश्यका साथ फाउण्डेशन स्थापना गरिएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
कार्यक्रममा महेन्द्र आदर्श विद्या आश्रमका सञ्चालक समितिका तथा व्यवस्थापन समितिका पम्फा भुसाल विशेष अतिथि रूपमा सहभागी हुन भएको थियो । साथै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कोषाध्यक्ष सुनिल कटुवालसहित नेपाली फिल्म क्षेत्रका अन्य कलाकारहरूको समेत उल्लेखनीय रुपमा उपस्थिति रहेको थियो ।
फाउण्डेशनद्धारा आयोजित उक्त स्वास्थ्य शिविरबाट सयौं विद्यार्थीहरु लाभान्वित भएका छन् । स्वास्थ्य शिविरमा सहभागीहरूले यस्तो सामाजिक कार्यले नेपाली कलाकारहरूको सामाजिक उत्तरदायित्वप्रति सचेतता झल्काएको प्रतिक्रिया दिएका छन् ।
काठमाण्डौ - “राष्ट्रियता, लोकतन्त्र, समाजवाद र देश बिकासको लागि सडक यातायात“भन्ने मुल नाराका साथ नेपाली काँग्रेसका शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । संघको दोश्रो महाअधिवेशनबाट पुनः संस्थापक अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको अध्यक्षतामा सर्वसम्मत ६१ सदस्यीय नयाँ कार्यसमिति बनेको छ । मिति २०८२ साल बैशाख १० र ११ गते काठमाण्डौको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भएको उक्त राष्ट्रिय महाधिवेशनको नेपाली काँग्रेसका कार्यबाहक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि पूर्ण बहादुर खड्काले एक समारोहका विच उद्घाटन गर्नुभएको हो । संघका संस्थापक अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघले यातायात व्यवसायीहरुलाई संगठित गरी सार्वजनिक यातायात सेवालाई व्यवस्थित, मर्यादित, समयानुकूल यातायात सेवा संचालन, लगानीकर्ताको लगानी सुरक्षित, श्रमिकहरुको रोजीरोटीको संरक्षण गर्ने गराउने र सुरक्षित यात्रा सेवा पुर्याउने आदि कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउनुभयो ।
कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि खड्काले सार्वजनिक यातायात सेवाले आम नागरिकले पाउने सेवामा ठूलो योगदान रहेको बताउनुभयो ।
उक्त उद्घाटन कार्यक्रममा विशेष अतिथी नेपाली काँग्रेसका उपसभापति धनराज गुरूङ, त्यसै गरी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब अर्थ मन्त्री डाः प्रकाश शरण महत, केन्द्रिय सदस्य तथा पुर्व मन्त्री अर्जुन नर्सिङ के।सी , नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी, केन्द्रिय सदस्य तथा नेपाली काँग्रेस अन्तर्गत यातायात बिभाग प्रमुख शिब प्रशाद हुमागाई , केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभापति तथा पुर्व गृहराज्य मन्त्री इन्द्र बानियाँ ,केन्द्रिय सदस्य तथा पुर्व मन्त्री सुदुरपस्चिम सभापति वीर बहादुर बलायर ,केन्द्रिय सदस्य तथा पुर्व मन्त्री सीता गुरुङ लगायतका विशेष अतिथिहरुको उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा नेपाल सरकारले आफ्नो कमी कमजोरी सच्याएर जानुपर्ने बताउँदै वर्तमान सरकारसँग मिलेर संविधान शंशोधन छिटो अघि बढाउने पहल भइरहेको र संविधानमा भएका सुविधालाई घटाउने होइन बढाउने र अझ प्रभावकारी संविधान ल्याउने विशेष अतिथि धनराज गुरूङल बताउनुभयो ।
गुणस्तरीय बाटोको निर्माण सरकारले गर्नुपर्छ भने गुणस्तरीय यातायात संचालनको जिम्मा यातायात व्यवसायीले लिनुपर्ने विशेष अतिथि प्रकाश शरण महतले जिकिर गर्नुभयो । विशेष अतिथि अर्जुन नरसिंह के।सीले अहिले देश हड्तालको देश भएको भन्दै सरकार गम्भीर हुनपर्ने बताउनुभयो । शुभकामना व्यक्त गर्दै अतिथि अजय कुमार राईले यातायातको क्षेत्रमा अध्ययन, अनुसन्धान र तथ्याङ्कमा कमजोर भएकोले यस विषयमा पनि काम गर्नुपर्ने बताउनुभयो । विशेष अतिथि मन्त्री रामनाथ अधिकारी, सीता गुरुङ्गले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाली काँग्रेसका यातायात विभागका प्रमुख शिव हुमागाई शुभकामना व्यक्त गर्दै सार्वजनिक यातायातलाई व्यवस्थित, मर्यादित, संरक्षण र सम्वद्र्धन कसरी गर्ने भन्ने नै संघको उद्देश्य र लक्ष्य हुनुपर्ने बताउनुभयो ।
त्यस्तै नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिब डेगनाथ गौतम , नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ , अन्तरास्ट्रिय ट्रेड युनियन महासंघमा नेपालको तर्फबाट प्रतिनिधित्व सदस्य अजय कुमार राई, नेपाल यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष धर्मराज भण्डारी लगायतले पनि यातायात क्षेत्रमा ल्याउनुपर्ने सुधारका बारेमा बोल्दै महाअधिवेसनको सफलताको शुभकामना दिनुभएको थियो ।
महाअधिवेशनको दोश्रो दिन बन्द सत्रले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यसँगै वरिष्ठ उपाध्यक्षमा अर्जुन रानाभाट दोहोरिनु भएको छ भने र विजय बहादुर स्वाँर थप भएको छ । त्यस्तै महासचिवमा केदारनाथ पौडेल, कोषाध्यक्षमा राजेन्द्र विक्रम बाँनियाँ दोहोरिनु भएको छ । ६१ सदस्यीय अर्थात् सामान्य अवस्थामा भन्दा संख्याका रुपमा ठूलो कार्यसमिति बनेको छ । यस कार्यसमिलिे यातायात व्यवसायीको हकहित र यस क्षेत्रमा सुधारोन्मुख र स्तरीय कार्य गर्ने चुनौती भने बढेको छ ।
काठमाण्डौ - एनआरएनएको नेतृत्व पद व्यापारीकरण हुँदै गएका गम्भीर आरोपहरू बाहिर आएका छन्। नेतृत्वको आकांक्षामा रहेका केही व्यक्तिहरूले चुनाव जित्न राजनीतिक स्वार्थअनुसार समूह निर्माण गरेर करोडौँ रुपैयाँ असुली गरेको आरोप छ। २०२१-२३ कार्यकालका केही नेतृत्वलाई २०२३-२५ का उम्मेदवारहरूले सर्तसहित समर्थन गराएबापत आर्थिक लेनदेन गरिएको तथ्य बाहिर आइरहेको छ। अझ, प्रतिस्पर्धी समूहबाट बढी रकम लिएर अर्को पक्षलाई हराउने प्रयास समेत भइरहेको गम्भीर आरोपहरू लागेका छन्।
एनआरएनएको उद्देश्य भनेकै प्रवासी नेपालीहरूलाई एकजुट गरी उनीहरूको श्रम, सीप, पुँजी र ज्ञानलाई नेपालमा परिचालन गर्ने हो। तर, हाल संस्थाको नेतृत्व स्वार्थ, शक्ति, र आर्थिक फाइदामा मात्र केन्द्रित भएकाले एनआरएनए संकटमा पर्दै गएको छ। संस्थालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर सही मार्गमा ल्याउने जिम्मेवारी अब सम्पूर्ण प्रवासी नेपाली समुदायको भएको छ।
विश्लेषक : शिव प्रसाद पौडेल निवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक, एनआरएनए जापान