social
||Power News Asia||

आजको समाचार

आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु

सामाजिक


जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन् । 

एकाएक उच्च ज्वरो खाएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताए । 

उनले भने, “उच्च ज्वरो आएपछि उहाँलाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरेका थियौँ, उहाँको कोरोनाको आरडिटी परीक्षणको रिपोर्ट  नेगेटिभ छ, मृत्यु भएकोे कारणबारे थप बुझदैछौँ ।” 

मृत्यु भएकी महिलाको कोरोना भाइरसको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको जनाएको छ ।

श्रमिकलाई सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउन उपराष्ट्रपतिको आग्रह

सामाजिक


उपराष्ट्रपति नन्दबहादुर पुनले लकडाउन लम्बिदै जाँदा काममा जान नपाउने र रोजगारी खोसिने अवस्थाले श्रमिक वर्गको आगामी दिन झनै कठिन बन्ने परिदृष्य देखा परिरहेकाले उचित कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका लाखौँ नेपालीले रोजगारी गुमाउन सक्ने, त्यसबाट देशभित्र उत्पन्न हुने बेरोजगारी तथा देशको अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा ध्यान दिन र तयारी गर्न आग्रह गर्नुभएको हो ।

विश्व जगत्ले नै आगामी आफ्ना कार्यक्रम श्रमिक वर्ग केन्द्रित बनाउने र नेपाल सरकारले पनि आगामी बजेट निर्माणमा यसमा उचित ध्यान दिने उपराष्ट्रपतिको विश्वास छ । संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको भन्दै उहाँले श्रमिकको हकहितका लागि भएको संवैधानिक व्यवस्थाको कार्यान्वयनलाई यो कठिन अवस्थामा अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कोरोना भाइरसको विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रणका लागि अधिकांश देश लकडाउनमा गएसँगै यसबाट सबैभन्दा बढी श्रमिक वर्ग प्रभावित भएको उल्लेख गर्दै उपराष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका लाखौँ नेपाली श्रमिक दाजुभाइ तथा दिदी–बहिनीहरुको अवस्था कठिन बनिरहेको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

वैदेशिक रोजगारीमा रहेका सयौँ नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएकामा चिन्ता व्यक्त गर्दै उहाँले शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । उपराष्ट्रपतिले श्रमिक दिवसले मजदुरलगायत सबै श्रमजीवी वर्गको अधिकार प्राप्ति तथा उत्थानका लागि सबैलाई प्रेरणा दिन सकोस् भनी कामना गर्नुभएको छ ।

राष्ट्रियसभा अध्यक्षको आग्रह

दिवसकै अवसरमा शुभकामना दिँदै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारसँग श्रमिक तथा मजदुर वर्गका लागि राहतका विशेष कार्यक्रम ल्याउन अनुरोध गर्नुभएको छ । उहाँले कोरोना भाइरसको महामारीका कारणले देश–विदेशमा रहेका श्रमिक तथा मजदुर बेरोजगार हुनुपर्ने अवस्था आएकाले राहतका कार्यक्रम ल्याउन अनुरोध गर्नुभएको छ ।

“विभिन्न आरोह–अवरोह पार गर्दै आफ्ना अधिकार स्थापित गराउन सफल श्रमिक तथा मजदुर वर्ग अहिले कोरोनाको महामारीका कारण सबैभन्दा बढी समस्यामा परेका छन”, सन्देशमा भनिएको छ, “उनीहरुले आफ्नो दैनिक जीविकोपार्जनमा कठिनाइ भोग्नुपरेको छ । यस अवस्थामा राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतिका लागि महत्वपूर्ण भूमिका रहेको श्रमिक तथा मजदुर वर्गको स्वरोजगार, जीविकोपार्जन, रोजगारी तथा राहतका विशेष कार्यक्रम ल्याउन सरकारसमक्ष अनुरोध गर्दछु ।”

कोरोना भाइरसबाट सङ्क्रमित नेपाल र विश्वभरका सम्पूर्ण नागरिकमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कोरोनाको सङ्क्रमणलाई विश्वले छिट्टै पराजित गर्दै जनजीवन सामान्य अवस्थामा फर्कने विश्वास व्यक्त गर्नुभएको छ ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन गर्न पाउनेलगायत पेशागत हितको प्रवद्र्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको शिकागो शहरमा भएको सङ्घर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको थियो । सोही दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ ।

आज १ सय ३१ औं अन्तर्राष्ट्रिय मे दिवस अर्थात संसारका मजदुरहरुको दिवस

सामाजिक


काठमाडौं,वैशाख १९ ।आज १ सय ३१ औं अन्तर्राष्ट्रिय मे दिवस अर्थात संसारका मजदुरहरुको दिवस । यो वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण संसारका मजदुर वर्गले घरभित्रै बसेर यो दिवस मनाउनु परेको छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको अन्तर्राष्ट्रिय श्रमिक दिवस मजदुर आन्दोलनको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।मजदुर आन्दोलन चर्कदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालियो ।विश्वका मजदुरले सो दिवसलाई विशेष पर्वका रूपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।नेपालमा विराटनगरमा वि.सं. २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । वि.सं. २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो । यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ । नेपालमा पनि आज विभिन्न कार्यक्रमगरी मजदुर दिवस मनाइँदै छ ।

श्रमजीवीलाई सरकारले विशेष राहत प्याकेज ल्याओस् : प्रचण्ड

सामाजिक


१९ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन आफ्नै पार्टी नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्यि श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ । यतिबेला संसारभरका श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेको छ । दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।’ 

अध्यक्ष प्रचण्डले देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनु पर्ने कर्तव्य पनि स्मरण गराएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न पनि अपिल गर्दै प्रचण्डले स्वदेश तथा विदेशमा रहेका श्रमजीवि जनसमुदायमा सु–स्वास्थ र प्रगतिको अपेक्षा सहित शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओली भन्छन्– सरकारले श्रमिकलाई भोकै राख्दैन

सामाजिक


१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण श्रमिकको जीवन कष्टकर भएकोमा आफू दुःखी रहेको बताएका छन् । उनले श्रमिकले भोग्नु परेको पीडाप्रति आफू संवेदनशील रहेको भन्दै भोकै नराख्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति म अत्यन्तै दुःखी छु ।’ उनले भने, ‘घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन । रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ ।’अहिले कोरोना भाइरसको महामारीका कारण न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने चेपुवामा श्रमिकहरू रहेको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यसबाट सिर्जना भएको पीडाप्रति म जानकार तथा संवेदनशील छु ।’विश्वभरिका कोरोना प्रभावित २१० मुलुकमा जस्तै हाम्रो देश नेपालको पनि उत्पादन प्रणालीको कडी टुटेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रा सिर्जनशील हातहरु यतिखेर लकडाउनमा छन् । हाम्रो श्रमको प्रतिक्षामा रहेका उत्पादनका साधनहरु पनि लकडाउनमा छन् ।’उनले  अहिलेको लकडाउन विश्वव्यापी र बाध्यकारी भएको बताएका छन् । कोरोना भाइरसका कारणले यसलाई स्वीकार्नु पर्ने बाध्यता रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई उनीहरुले हासिल गरेको दक्षता अनुरुपको स्वरोजगारी सिर्जना गर्न सरल कर्जा र प्रविधि हस्तान्तरणको प्रबन्ध गर्ने र स्वदेशमा रहेका वा विदेशमा रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा जोड्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाएका छन् । ‘विभिन्न मन्त्रालय, निकाय र सार्वजनिक संस्थाहरु मार्फत सिर्जना भएका कामका अवसरहरु नेपालीलाई नै सुनिश्चित गर्ने व्यवस्था मिलाइने छ,’ ओलीले भनेका छन् ।श्रमिकहरुको अभावलाई सम्बोधन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र श्रम तथा सीप तालीमसम्बन्धी सबै निकायका कार्यक्रमहरुलाई एकीकृत रुपमा परिचालन गर्ने बताउँदै प्रधानमन्त्री ओलीले आवश्यक परेमा सबै पालिका तहमा छोटो अवधिका घुम्ती तालीम शिविरसमेत सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।कृषिको आधुनिकीकरण र व्यवासायीकरण मार्फत उत्पादन र रोजगारी बृद्धि गर्ने भन्दै उनले जमिन नहुने श्रमिकहरुका लागि भूमि बैंकलाई कार्यान्वयनमा ल्याई त्यसैको माध्यमद्वारा भूमिको व्यवस्था गर्ने आश्वासन दिएका छन् ।विगतका जनआन्दोलन र द्वन्द्वकालका युवा तथा अरू घाइतेहरुको उपचारको प्रवन्ध सरकारले गर्ने बताएका छन् । उनले भनेका छन्,  ‘अझै पनि उपचारबिहीन अवस्थामा रहिरहेका छन् । तिनको उपचारका लागि सरकारले पटकपटक गरेका आह्वान र प्रयासहरुको सन्देश उचित रुपमा संप्रेषण हुन सकेन । म आह्वान गर्दछु, सम्पूर्ण घाइतेहरु प्रशासनको संपर्कमा आउनुहोस् । अब आफ्नो शरीरमा गोली र छर्रा बोकेर नबस्नुहोस्, उपचारको प्रबन्ध सरकारले गर्छ ।’यसले निर्माण, रोजगारी र उत्पादनमा पारेको प्रतिकूल प्रभावको अवस्थाले श्रमजीवी वर्गको बुझाइजस्तै श्रम र उत्पादनको सम्बन्ध एवं त्यसको महत्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘श्रम बिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ भन्ने आजको यथार्थले स्पष्ट पारेको छ ।’उनले यस अप्ठ्यारो समयमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा ऐक्यबद्धता जाहेर गरेका छन् ।

कुलमानको दैनिकी : खाने टुङ्गो छैन, घुम्ने फुर्सद छैन

सामाजिक


काठमाडौं । कुलमान घिसिङले सारा मुलुक झलमल्ल बनाएका छन् । यसका लागि उनले घामको उज्यालो त्यागेका छन् । अर्थात उनको ज्यानमा घामको न्यानो पर्दैन । किनभने, दिनभर उनी कार्यलय/कार्यक्षेत्रमा खटिएका हुन्छन् । घाम ताप्ने फुर्सद हुँदैन । यही कारण उनको शरीरमा ‘भिटामिन डी’को कमी छ ।

अनलाइखबरको भेटमा कुलमानले सुनाएका थिए, ‘कहिलेकाहीँ चिकित्सकले भिटामिन डीको औषधी सेवन गर्नुपर्छ भन्छन् । अरु त खास समस्या छैन । 

कुलमानको दैनिकी कसरी बित्छ ? खाने–पिउने तालिका के छ ? कुनबेला उठ्छन्, कुनबेला सुत्छन् ? धपेडी र दबावबीच गुज्रने दैनिकीबीच आफूलाई कसरी ‘फिट एन्ड फाइन’ राख्छन् ?

अनलाइनखबरसँगको कुराकानीमा कुलमान भन्छन्, ‘कामको चापले गर्दा धेरैजसो समय कार्यलयमा बित्छ । घुम्ने, रमाइलो गर्ने, भोज भतेरमा जाने फुर्सद बिरलै मिल्छ ।’

कतिसम्म भने, साँझ पाँच बजेपछि पनि उनी कार्यलयमा बसेर काम गर्छन् । घडीको काँटाले रातको १० बजेको संकेत गर्छ, तैपनि उनलाई हतार हुँदैन । जबसम्म आफ्नो कार्य सम्पादन चुस्त ढंगले हुँदैन, उनलाई चैनको निद्रा पर्दैन । उनको यही दृढता, कार्यक्षमता र शक्तिले आज देश झलमल्ल भएको छ । 

कुलमान घिसिङ राति घर पुग्ने टुंगो हुँदैन । कहिले कार्यकक्षमै १० बज्छ । घर पुग्दा प्रायः सुनसान हुन्छ । सबै सुतिसकेका हुन्छन् । चिसो गाँस टिप्छन् । यस्तो, उस्तो खाने भन्ने छैन । घरको भान्सामा जे पाकेको छ, त्यही खाने हो ।

दिनभरको कामको धपेडी, थकानसँगै उनी ओछ्यानमा घुस्रन्छन् । गहिरो निद्रा पर्छ ।

बिहान निद्राले छाड्दा पाँच बजेको हुन्छ । एक लिटर मनतातो पानी पिउँछन्, बाथरुम जान्छन्, फ्रेस हुन्छन् । शरीर हल्का भएपछि व्यायाम गर्छन् । केही आसनको योगाभ्यास गर्छन् । विगतमा उनी यस्ता आसन राम्ररी गर्थे, अहिले फुर्सद मिलेको छैन । त्यसपछि सामान्य हिसाबले शरीर तन्काउने, खुम्च्याउने, मर्काउने गर्छन् ।

मौका मिलेमा र जाँगर चलेमा घर नजिकको बौद्ध स्तुपामा फन्को लगाउँछन् ।

घर फर्केपछि नुहाउँछन् । त्यसपछि कालो चिया पिउँदै दिनभरको सेड्युल तयार गर्छन् । त्यसपछि हल्का नास्ता लिन्छन् र घरबाट बाहिरिन्छन् ।

कार्यालयमा पाइला टेकेपछि उनको स्मृतिबाट घर–परिवार, आफन्त सबै हराउँछन् । उनी आफूलाई समेत भुल्छन् । दिनभर काममै दत्तचित्त भएर खटिन्छन् । बाँकी रहेको काम रातभर बसेर भए पनि सिध्याउँछन् । उनको यही कामप्रति इमान्दारी, लगनशीलता र जुझारुपनले त हो नि देश झलमल्ल भएको ।

खानपान

कुलमान घिसिङलाई खानपानमा उस्तो रुची छैन । मीठो मसिनो खाने सौख छैन । उनको जिब्रो लोभी पनि छैन ।

घरमा नास्ता खाएर निस्केका उनी दिउँसोका खाना कहाँ खान्छन्, कतिबेला खान्छन् ? टुंगो हुँदैन । जतिबेला जे भेट्छन्, खाइदिन्छन् । ‘टेबलमा जे आउँछ, त्यही खाइन्छ’ उनी भन्छन्, ‘नाइनास्ती गरिँदैन ।’

दिउँसोको खाना दाल, भात, तरकारी, अचार नै हो । त्यसो त घरमा बिहानै नास्ता गरेर आएका छन् भने मःम, चाउमिनले पनि पेट भरिन्छ । उनले अनलाइनखबरसँग भने, ‘खानपानमा म रसिक मान्छे होइन, अलि उदासीन छु ।’

राति घर पुगेपछि खाने पनि, त्यही दाल भात नै हो ।

उनमा मदिरापानप्रति पनि उस्तो आशक्ति छैन । पिउँदै नपिउने भने होइन । यसो बेलामौकामा साथीभाइ, आफन्तसँग पिउने हो । त्यो पनि नियन्त्रित मात्रामा । घरमा बेलाबखत पारिवारिक जमघट हुन्छ । यस्तोबेला उनलाई केही पकाउन जाँगर चल्छ । तर, उनमा पाककलाको राम्रो ज्ञान चाहिँ छैन ।

पहिरन

कुलमान अक्सर औपचारिक पहिरनमै हुन्छन् । अर्थात कोट, पाइन्ट ।

उनलाई पहिरनप्रति उस्तो आशक्ति छैन । धेरै असजिलो र झकिझकाउ भएर हिँड्न रुची लाग्दैन । बिहान घरबाट जुन लुगा लगाएर निस्कन्छन्, दिनभर त्यही लुगामा हुन्छन् ।

उनको कार्यालयको ह्याङगरमा टाई भने झुन्डिएको हुन्छ । बेलाबखत टाई पनि लगाउनुपर्ने अवस्था आउँछ । त्यसबाहेक उनले अतिरिक्त लुगाफाटो जगेडा गरेका छैनन् । एकसरो आङ ढाक्न पाए पुग्छ । न उनी घडी लगाउन रुचाउँछन्, न सिक्री झुन्ड्याउन ।

सादा जीवन, उच्च विचार छ घिसिङको ।

गाईबाख्रा चराउन गएका थिए, खेलौना ठानेको बमले लियो ज्यान

सामाजिक


रोल्पामा जंगलमा छोडिएको बेवारिसे बम विष्फोट हुँदा गाईबाख्रा चराउन गएका चार बालबालिकाले ज्यान गुमाएका छन्।मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगी रहेका छन्।५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता नवराज पोखरेलले गाई बाख्रा चराउन गएका बच्चाहरुले बेवारिसे अवस्थामा रहेको बमलाई खेलौना ठानेर खेलाउन खोज्दा विष्फोट हुन गई चार बालिबालिको एकै साथ मृत्यु भएको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले बेलुका ६ बजेतिर स्थानीय माईतेकापिना जंगलमा गाई बाख्रा चराउन गएका बालबालिकाले बेवारिसे अवस्थामा रहेको टुईञ्च मोटर बम चलाएपछि विस्फोट हुँदा दुःखद घटना भएको जानकारी दिए।‘बेवारिसे अवस्थामा त्यहाँ दुईवटा टुईञ्च मोटर बम जंगलमा रहेछन्, त्यसमध्ये एउटालाई बच्चाहरुले खेलाउना ठानेर खेलाउँदै गर्दा अचानक विष्फोट भई उनीहरुको घटानास्थलमै मृत्यु हुन पुग्यो,’ डिएसपी गुरुङले भने।घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी गएको हुँदा शवलाई प्राथमिक स्वास्थ्य चौकी होलेरीमा ल्याउन आग्रह गरिएको डिएसपी गुरुङले जानकारी दिए।

अब एयरहोस्टेसले चकलेट बाँड्दिनन्

सामाजिक


काठमाडौँ — सडक यातायातको दाँजोमा सुविधाका लागि हवाई उडानमात्रै प्रयोग गर्नेहरुका लागि केही नयाँ खबर आएको छ । अबदेखि आन्तरिक उडानमा एयरहोस्टेसले खानेकुरा चकलेट आदी बाढ्ने छैनन् । 

पानी पनि वितरण हुने छैन । र, उनीहरुले शौचालय जान पनि दिने छैनन् । यति मात्रै होइन, अब आन्तरिक उडानमा पहिलेको दाँजोमा धेरै सुविधा ‘तत्कालका लागि निषेध’ गरिएका छन् । यी सुविधा कटौती गरिदिएको हो कारोना भाइरसको महामारीले । ‘कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यून गर्न यसो गर्नु परेको’ एयरलायन्सले जनाएको छ ।

आन्तरिक उडानमा सर्वाधिक उडान गर्दै आएको बुद्ध एयरले यात्रुहरुको सुरक्षाका लागि नागरिक उड्डयन प्राधिकरणमा दर्ता गरेको निर्देशिका अनुसार, अब काठमाडौंसहित देशभरका कुनै पनि आन्तरिक तथा उस्ले गर्ने बाहिरका रुटमा यात्रुले जहाजको शौचालय प्रयोग गर्न पाउने छैनन् ।

‘संक्रमणबाट जोगिन यात्रुहरू विमानमा बसिसकेपछि हिँडडुल गर्न र अनावश्यक यताउती छुन पनि पाउने छैनन,’ बुद्धको निर्देशिकमा लेखिएको छ, ‘त्यस्तै विमानको शौचालय प्रयोग पनि निषेध गरिएको हुँदा बोर्डिङ अघि नै एयरपोर्ट शौचालय प्रयोग गर्न अनुरोध छ ।’उसले जहाजमा अबदेखि केहि समय अखबार वितरण बन्द गर्दै कम्पनीले सिटमा आफ्नै इन–फलाइट म्यागजिन पनि नराख्ने भनेको छ । 

यात्रुहरुलाई फ्लाइट–चेक–इन काउन्टरदेखि ब्यागेज बुझिञ्जेलसम्म मास्क अनिवार्य गरिएको छ । ‘सुरक्षित रहनु र मास्क लगाउनु अहिलेको मुख्य आवश्यकता हो,’ बुद्धले निर्देशिकामा भनेको छ, ‘हाम्रा कार्यालय, कार्गो, टिकट काउन्टर साथै विमानस्थल परिसरमा रहँदा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने छ । ’

यसैगरी हवाईयात्राभरि पनि मास्क अनिवार्य लगाउनु पर्ने छ । मास्क नलाई काउन्टरमा पुग्ने यात्रुकालागि उस्ले बजारमा उपलब्ध हुने मास्क उचित मूल्यमा बिक्री गरिने भनेको छ । तापक्रम जाचँ सबै स्टेशनमा अनिवार्य नै हुने भनिएको छ ।

भिजेको, प्वाल परेको तथा च्यातिएको मास्क लगाइ काउन्टरमा पुग्ने यात्रुलाई भने कर्मचारीले रोक्ने सक्ने अधिकार दिइएको छ । त्यस्तै संक्रमबाट जोगिने उपायमध्येको अर्को एक मिटरको सामाजिक दूरी अब यात्रुहरूले विमानस्थल, चेक–इन–काउण्टर, र्‍याम्प–बस आदीमा अनिवार्य गर्नुपर्ने छ । 

त्यस्तै र्‍याम्प–बसमा पनि अबका दिन भरीभराउ र उभ्याएर होइन बसको कुल क्षमतामा ७५ प्रतिशतमात्रै यात्रु राखिने छ । जहाजमा बोर्डिङ गर्नुअघि सबै यात्रुको हात स्यानिटाइज गरिनेछ । एक पटकमा ४ जना मात्रै चढाइनेछ । गन्तव्यमा पुगेर ओर्लिदा पनि एक पटकमा ४–४ जनाको दरले ओरालिनेछ । घरपालुवा जनावरलाई तत्कालका लागि ओसारपोसारमा रोक लगाइदिएको छ ।

हाल १३ वटा जहाज भएको बुद्धले हरेक दिन बिहान उडानमा जाने जहाजलाई किटाणुमुक्त गर्ने गरी सफाई गरिने जनाउँदै जहाज अवतरण भएलगत्तै पनि यात्रुहरुले बारम्बार छुने सिट ह्याण्डलदेखि रेलिङसम्म प्रत्येक स्टेशनमा स्यानिटाइज गर्ने छ ।

कोभिड–१९ ले आममानिसको जीवनशैली नै परिवर्तन गरिदिएको जनाउँदै बुद्धले विश्व स्वास्थ्य संगठनले महामारी संज्ञा नहटाउञ्जेल र यसको भ्याक्सिन खोज नभएसम्म हामी सतर्कता जारी नै राखिरहने भनेको छ ।

चैतको घरभाडा मिनाहा भए/नभएको अनुगमन गर्दै स्थानीय तह

सामाजिक


सरकारले चैत महिनामा असंगठित श्रमिकहरुले तिर्नुपर्ने घरभाडा मिहाना गर्न आग्रह गरेको थियो । सो अनुसार घर भाडा मिनाहा भए-नभएको अनुगमन स्थानीय तहबाट हुने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

परिषद्को १४ वैशाखको निर्णयअनुसार चैत महिनाको घर भाडा मिनाहा गर्न घरबेटीलाई आग्रह गरिएको थियो । त्यसको कार्यान्वयन भए-नभएको अनुगमन स्थानीय तहबाट गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित घरधनीले रोजगारीका कारण रोजगारी वा काम गुमाएका असंगठित बाहेकका अन्य श्रमिकसँग लकडाउन अवधिभर घरभाडा माग नगर्ने र निजहरुले आम्दानी गरेपश्चात घरबहाल रकम भुक्तानी गर्न पाउने सुविधा प्रदान गर्ने निर्णय समेत गरेको छ ।

घरभाडा छुट गरेका घर मालिकलाई सो महिनाको घरबाहल कर र त्यसबाट हुने आय कर छुट गर्ने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

साढे २५ लाख धरौटी बुझाएर छुटेलगत्तै फेरि पक्राउ परे सुलभ अग्रवाल

सामाजिक


काठमाडौं जिल्ला अदालतमा २५ लाख धेरौटी बुझाएर रिहा भएका शंकर ग्रुपका मालिक सुलभ अग्रवाल फेरि पक्राउ परेका छन्। अदालतको आदेशपछि अग्रवाल रिहा भएलगत्तै बिहीबार उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ‘सम्पत्ति शुद्धिकरण विभागले उहाँलाई छानबिन गर्ने भनेकाले पक्राउ गरिएको हो,’ ज्ञवालीले भने। यसअघि कालोबजारी आरोपमा अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो।  मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए। तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। उनको नीलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन बरामद भएको थियो। सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिमाना माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको थियो। उनलाई कालोबजारी ऐनअन्तर्गत १ वर्षसम्म कैद र सार्वजनिक पदाधिकारी भएकाले अर्को ६ महिना सजाय थपको माग गरिएको थियो। अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन्।