काठमाण्डौ– परिवर्तन नेपालको असार २३ गते काठमाडौंमा बसेको कार्यसमितिको बैठकले नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई परिवर्तन सम्मान, चेतन कार्की स्मृति पुरस्कार र दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले २०८२ सालको चेतन कार्की स्मृति पुरस्कार संचारकर्मी कृष्ण भट्टराईलाई अर्पण गर्ने निर्णय गरेको छ । यसैगरी कलाकार शारदा गिरी र निर्देशक, कलाकार विश्वदिप घिमिरेलाई २०८२ सालको दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । सचारकर्मी कृष्ण भट्टराईलाई चलचित्र क्षेत्रको विकास विस्तार र पेशाकर्मीको उत्थानका लागि विगत अढाई दशक भन्दा बढी समय देखि पत्रकारीतामा संलग्न रहि योगदान पुऱ्याए वापत चेतन कार्की स्मृति पुरस्कार प्रदानगर्न लागिएको हो । यो पुरस्कार २०७९ सालमा स्थापना गरिएको हो ।
बिगत चार दशक देखि नेपाली चलचित्र टेलि चलचित्रमा अभिनय गर्दै आएकी कलाकार शारदा गिरी र विगत अढाई दशक भन्दा बढी समय देखि नेपाली रंगमञ्च चलचित्र र टेलिचलचित्रमा निर्देशन तथा अभिनय गर्दै आएका विश्वदिप घिमिरेलाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार दिने निर्णय भएको हो । यो पुरस्कार २०७३ सालमा स्थापना गरिएको हो । दुवै पुरस्कारको राशी जनही रु.१५,००० (अक्षरुपी पन्ध्र हजार) रुपैया रहेको छ । बैठकमा पुरस्कार छनोट समितिका सदस्य बरिष्ठ सञ्चारकर्मी तथा गीतकार शान्तिप्रिय, डिजाईनर तथा गीतका सुन्दर श्रेष्ठ र परिवर्तन नेपालका मानार्थ सदस्य तथा चलचित्र निर्देशक माधव राज खरेलको उपस्थिती रहेको थियो ।
परिवर्तन नेपालले आफ्नो स्थापनाकाल वि.सं. २०५३ साल देखि विभिन्न स्रष्टा, सर्जक र परिवर्तन नेपालसँग आवद्ध चलचित्रकर्मीलाई परिवर्तन विशेष सम्मान प्रदान गर्दै आएको छ । सोही अनुरुप आफ्नो कला यात्राको प्रारम्भिक दिनमा परिवर्तन नेपालसंग आवद्ध रही आएका लोकप्रिय अभिनेता आर्यन सिग्देल, अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली र ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई परिवर्तनकर्मी विशेष सम्मान अर्पण गर्ने निर्णय पनि सोही बैठकले गरेको छ । यसैगरी चलचित्रमा छाँयाकारको रुपमा काम गर्दै प्राविधिकहरुको पेशागत हकहितका लागि प्रतिवद्ध भई काम गर्दै आएका छांयाकार वीरेन्द्र प्रसाद भट्ट र गीत संगीतको क्षेत्रमा पत्रकारीता मार्फत र गीत संगीत उत्थानका लागि अवार्डको आयोजना गरी काम गर्दै आएकी सञ्चारकर्मी तथा गीतकार सविता पोखरेललाई परिवर्तन विशेष सम्मान गर्ने निर्णय गरेको छ।
परिवर्तन नेपालका महासचिव देवेन्द्र पाण्डेका अनुसार यी सबै पुरस्कार तथा सम्मान आगामी श्रावणको तेस्रो सातामा आयोजना गरिने विशेष समारोह मार्फत प्रदान गरिनेछ।



