आज मिति वैशाख १९ गतेका दिन काठमाण्डौ वडा कायॅलय ३०, ग्यानेशवर र लायन्स कल्व अफ काठमाण्डौ कृयेटिभ युथको संयुक्त आयोजनामा विपन्न ३०० परिवारलाई राहत वितरण भएको छ। वडा कायॅलयका अध्यक्ष दम बहादुर काकीॅ भन्नु हुन्छ अहिले सम्म हजारौको संख्यामा राहत वितरण भइसकेको छ र साथै वहाॅं भन्नु हुन्छ आज भएको राहत वितरणमा लायन्स कल्व अफ काठमाण्डौ कृयेटिभ युथको महत्वपूणॅ भूमिका रहेको थियो। वडा कायॅलयका अध्यक्ष दम बहादुर काकीॅ विशेष गरी लायन्स कल्ब अफ काठमाण्डौ कृयेटिभ युथको उपाध्यक्ष श्याम पर्साद रेग्मीलाई वहाॅंको अमूल्य योग्दानको लागि धन्यवाद दिदै जोन च्येरपरसन गनीका गुरुङ र कल्ब अध्यक्ष अनिल बुजाॅ मगरको नेतित्वलाई सम्मान व्यक्त गनुॅ हुन्छ। कल्बको संस्थापक अध्यक्ष तथा जोन च्येरपरसन गनीका गुरुङ भन्नु हुन्छ आज लायन्स कल्ब अफ काठमाण्डौ कृयेटिभ युथको उपाध्यक्ष श्याम पर्साद रेग्मीको कारण कल्बले विपन्न ३०० परिवारलाई सहयोग गनॅ सफल भएको छ। त्यसैगरी कल्ब अध्यक्ष अनिल बुजाॅ मगर भन्छन् ३० दिन देखि विभिन्न परिवारलाई सहयोग गदैं आइरहेको छौं भोलिका दिनमा पनि विपन्न परिवारलाई सहयोग गर्ने छौं ।





जनकपुरधाम, १९ वैशाख : कोभिड–१९को जोखिमलाई ध्यान दिदैँ यहाँस्थित जानकी मन्दिरमा यसपटक माता जानकीको जन्मोत्सव जन्म संस्कारको विधि र पूजापाठमा मात्र सीमित गरिएको छ । जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै उत्सवका कार्यक्रम स्थगन गरी यसपटक मन्दिरमा जन्म संस्कार विधि एवं पूजापाठ गरी मनाइँदै छ ।
जन्मोत्सवका दिन जानकी मन्दिरमा नौ दिनसम्म बधाइ गीत, प्रवचन, दूधमति स्नान, रामायण प्रदर्शन, जानकी जन्मको विवेचना, छठिहार, गर्भगृहमा अभिषेक र जन्मोत्सव विधि, सोहर (जन्मका बेला गाइने गीत) गङ्गा आरती, दीपोत्सवलगायतका कार्यक्रममा देश–विदेशका हजाराँै साधुसन्त र श्रद्धालुको सहभागितामा हर्षोल्लासपूर्वक मनाइने चलन रहेकामा यसपटक कलश स्थापना गरी दैनिक पूजापाठ मात्र भइरहेको छ ।
जानकीको वैशाख शुक्ल नवमी तिथिमा मिथिलाको पुनौरा भन्ने स्थानमा जन्म भएको जनाइएको छ । त्यसैले यस तिथिलाई जानकी नवमी पनि भनिन्छ ।यस तिथिलाई मिथिलावासी धेरै महत्वपूर्ण ठान्दछन् र यस अवसरमा जनकपुरधामको जानकी मन्दिरमा मात्र होइन, सम्पूर्ण मिथिलाञ्चलमा ठाउँठाउँमा ठूलो धार्मिक मेला लाग्ने गरेकोमा यसपटक सबै कार्यक्रम स्थगन गरिएको छ ।
जानकी मिथिलाको माटोको उपज र उपलब्धि भएकाले उहाँप्रति सबै मिथिलावासी नतमस्तक हुन्छन्, यस अवसरमा हार्दिक धार्मिक भावनाको स्पष्ट प्रकटीकरण देखिन्छन् । उहाँ महिलोचित गुणबाट परिपूर्ण भएकाले आज पनि मिथिलाञ्चलका महिला उनको पदचिह्नको अनुशरण गरेर आफूलाई धन्य ठान्दछन् । यही भावभूमिमा मिथिला क्षेत्रमा एउटा भनाइ छ– गौरी सन भाग आओर सीता सन सोहाग ।
अर्थात् विवाहिता स्त्रीको भाग्य गौरीजस्तो र सौभाग्य जानकीजस्तो हुनु पर्दछ । विवाहित स्त्रीले जानकी नवमीका दिन व्रत गर्ने चलन पनि छ । धार्मिक ग्रन्थहरूमा भूमिबाट उत्पन्न भएका कारण जानकीलाई अन्नपूर्णा स्वरूपा भनिएको छ । जानकीको व्रतले घरमा सुख, समृद्धि, अन्न र वैभव प्राप्ति, धैर्य, विवेक, ज्ञान, ममता, समर्पण उत्पन्न हुने मान्यता रहेको छ ।
जानकीलाई लक्ष्मीको अवतार पनि मानिएको छ । त्यसैले उहाँकै अनुकम्पाले मिथिलावासीहरू सुखी जीवन एवं सम्पन्न जीवन सृष्टिको शुरूदेखि नै व्यतित गर्दै आएको विश्वास पाइन्छ । जनक, जानकी, मिथिला र जनकपुरधाम धेरै ठाउँमा एकाकार र पर्यायवाची रहेको छ, त्यसैले जनकपुरधामको पहिचान जानकी र मिथिलाबाट भएको छ ।
उहाँको मैथिली, सीता, जानकी र सिया पर्यायवाची नामहरू रहेका छन् । उहाँले लोककल्याणका लागि आफ्नो जीवनको आहुति आनन्दपूर्वक दिएकी थिइन् । अतः पण्डित सतानन्दले यसरी लेखेका छन् ः
जानकी स्वयं वेदमाता, जानकी त्रिकोणात्मिका
जानकी विन्दु रूपाच, सर्वविद्या समन्विता
अर्थात् जानकीमै सबै वेद, शास्त्र पुराण रहेको छ र उहाँ मूल प्रकृतिरूपी महाशक्ति हुनुहुन्छ । किंवन्तीअनुसार अनिकालबाट मुक्तिका लागि राजर्षि जनकले पुनौरामा हलेष्टि यज्ञ गर्दा जानकीको जन्म भएको थियो । राष्ट्र कवि माधवप्रसाद घिमिरेले जानकीको जन्म वर्णन गर्दै यसरी लेखेका छन् ः
जन्मिन यहाँ जानकी
मञ्जरीजस्तै धानकी
माण्डवी, कीर्ति, उर्मिला
बहिनी बाल चञ्चला
………………………
लावण्यमयी जानकी
गहुँ र गोरी जानकी
…………………..
अर्पित भइन् राममा
यही हो मेरो मिथिला
धरती शस्यश्यामला
शास्त्रमा सीता शब्दको तात्विक महत्वका सन्दर्भमा सी मा रहेको इकार प्रपञ्च बीज मानिएको छ, त्यही नै माया र विद्यास्वरूप हो । स कार सत्यको नाम हो, यसैबाट अमृत प्राप्ति र सोम हुन् । माताको दोस्रो स्वरूप नारी हो, जो पृथ्वीबाट हलोको क्रममा उत्पन्न भइन् । उनलाई इच्छा, क्रिया, सोम, सूर्य र आगोको शक्ति पनि मानिएको छ ।
जानकीको सौन्दर्य अलौकिक र अवर्णनीय थियो । कवि तुलसीदासका अनुसार जानकीको सौन्दर्य मूर्तिमान साक्षात् शोभालाई पनि माथ गर्ने खालको थियो, मर्यादा पुरूषोत्तम रामको चित्त पनि चञ्चल भएको थियो जब उहाँले अपूर्व सुन्दरी जानकीलाई सर्वप्रथम देखेका थिए ।
यसरी मिथिलाको माटोमा जानकीले जन्म लिनु नै एउटा स्वर्गीय वरदानभन्दा कम होइन । त्यसैले मिथिलाको संस्कृतिमा उहाँको जीवन चरित्र वन्दनीय, स्मरणीय र पूजनीय रहेको छ ।रासस File Photo
नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्।
नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्।
रोल्पाका ४ बालबालिकाको मृत्युमा महासंघको गम्भिर ध्यानाकर्षण
काठमाडौं, १९ वैशाख- बेवारीसे अबस्थामा जंगलमा छोडिएको बमलाई खेलौना सम्झेर खेलाउदा बम विस्फोट भई रोल्पामा ४ जना बालबालिकाहरुको मृत्यू हुन गएको भन्दै बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बैशाख १८ गते विहिवार राती प्रेस बिज्ञप्ती जारी गर्दै महासंघले घटना उपर छानबिन गरि यथार्थ विवरण सार्वजनिक गर्न, दोशीलाई कार्वाही गर्न, मृतक बालबालिकाको परिवारलाई क्षतिपुर्ती दिलाउन, बेवारिसे बमहरु निस्कृय पार्न राज्य समक्ष जोडदार माग राखेको छ । त्यसो त महासंघका अध्यक्ष मनोज कुमार कँडेलले भनेका छन् 'जुनयुद्धको नाम सिर्जिएको यस प्रकारको मान्छेहरु मर्ने खेलको जिम्मा प्रचण्ड बाबुराम र हाल माओबादीको राम्रो नराम्रो सबै पक्षको जिम्मा दिएकोले नेकपाले लिनुपर्छ र बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघको यसका लागि जोडदार माग राख्दछ' ।
बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपालद्वारा जारी प्रेस विज्ञप्ती-
प्रेस विज्ञप्ती
रोल्पामा ४ बालबालिकाको मृत्यु दुखद घटना महासंघको गम्भिर ध्यानाकर्षण
सर्बप्रथम रोल्पाको त्रिबेणी गाउँपालीकाको वडा न.ं ७ मा बेवारसे भनिएको बम बिस्फोट पश्चात ज्यान गुमाउन पुगेका सम्पूर्ण ४ जना बालबालिका प्रति हार्दिक श्रद्धान्जिली अर्पण गर्दछु र ति बालबालिकाको शोकाकुल परिबार प्रति धर्यधारन गर्ने शक्ती मिलोस भागवानसँग प्रार्थना गर्दछु ।
बेवारीसे अबस्थामा जंगलमा छोडिएको बमलाई खेलौना सम्झेर खेलाउदा बम विस्फोट भई ४ जना बालबालिकाहरुको मृत्यू हुन गएको यो घटना प्रति बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल सरकारलाई यस महासघ निम्नानुसार गर्न गराउनको लागी हार्दिक अनुरोध गर्दछु ।
१) यस सम्बन्धमा यथार्थता छानविन गरि राज्यको तर्फबाट यथार्थ विवरण जारी गर्न अनुरोध गर्दछु ।
२) कोरोनाको महामारीमा पिडित अबस्थामा रहेका ति ४ बालबालिकाको परिबारलाई बालबालिकाको काजकृयाको लागी आबश्यक आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गर्दछु ।
३) विगत १० बर्षे कथित जनयुद्धको दौरान वेवारीसे फालिएका बिस्फोटक पर्दाथहरुलाई खोजविन गर्ने र तिनीहरुलाई निश्क्रिय बनाउने कार्यलाई तिब्रता दिइयोस । यस्तो अबस्था फेरी फेरी नदोहोरीनको लागी राज्य पूर्ण सचेत र सजक रहन अनुरोध गर्दछु ।
अध्यक्ष
मनोज कुमार कँडेल
बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपाल
बैशाख १८, २०७७
काठमाडौं, १९ बैसाख । कोरोना (कोभिड–१९) भाइरस संक्रमणले अहिले विश्वलाई आक्रान्त बनाएको छ । विश्वका अधिकांश देशमा लकडाउन जारी गरिएको छ । सबै मानिस कोरोना त्रासका कारण घरभित्र छन् ।
हुनेखानेका लागि त लकडाउनले कुनै समस्या छैन तर, विपन्न, असहायहरुका लागि कोरोना कहरका कारण जारी लकडाउन रोग भन्दा ठूलो समस्या बनेको छ । मान्छेले ढुङ्गा पकाएको बारेमा हामीले कथामा सुन्दै आएका थियौँ तर, केन्यामा भने वास्तविक जीवनमै यस्तो घटना घटेको छ ।
कोरोना भाइरसका संकटका कारण केन्यामा गरिबीसँग जुधिरहेकी एक महिलाले बच्चाको मन भुलाउनका लागि ढुङ्गा पकाएको नाटक गर्नुपरेको छ । आठ बच्चाकी ती महिलाको नाम पेनिना बहाती कित्साओ हो ।
पेनिना निरक्षर र विधवा छिन् । उनी मानिसहरुको कपडा धोएर आफ्नो र बच्चाको गुजारा गर्थिन् तर कोरोना भाइरस सङ्क्रमण फैलिएपछि उनको काम ठप्प भएको छ ।
पेनिनाको लागि गरिबी र मुस्किल यति बढेको छ कि अहिले आफ्ना बच्चालाई खुवाउन केही पनि छैन । यस कारण उनले बच्चाहरुलाई भुलाउनको लागि ढुङ्गा पकाउन थालिन् । केही पाकेको देखेपछि बच्चाहरु पर्खाइमा सुत्ने पेनिना सोच्छिन् ।
उनकी एक जना छिमेकीले बच्चाहरु रोएको आवाज सुनेपछि के भएछ भनेर त्यहाँ पुगेकी थिइन् । एक जना छिमेकीले भिडियो नै बनाएर सामाजिक सञ्जालमा यसबारेमा बताएकी छिन् ।
पेनिनाको कहानी सुनेर मानिसहरुले उनका लागि रकम जम्मा गरे र पूरै केन्याबाट फोन आउन थाल्यो । पेनिनाकी एक जना छिमेकीले उनको बैंकमा एकाउन्ट खोलिदिइन्, जसको माध्यमबाट पेनिनाले रकम प्राप्त गरिन् ।
केन्याका मानिसहरु यति दयालु हुन्छन् भनेर नसोचेको पेनिना बताउँछिन् । उनी यो सबै ‘एक चमत्कार’ मान्छिन् । उनले भनिन्, ‘म ढुङ्गा पकाएर उनीहरुलाई भुलाउने प्रयास गर्दैछु भनेर बच्चाहरुलाई थाहा थियो । तर मसँग योबाहेक अरु विकल्प थिएन ।’ केन्यामा तीन सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा १९ जनाको ज्यान गएको छ । एजेन्सी
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ।
विगत केही दिनयता देशमा पश्चिमी वायु स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए।
नेपालमा स्थिर रहेको पश्चिमी वायु र प्रि-मनसुन गतिविधि सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको हो।
अंग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ। विगत केही दिनदेखि देशमा पश्चिमी वायु स्थानीय वायु सक्रिय रहेको बंगालको खाडी अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद्को भनाइ छ।
हाल पूर्वी भू-भागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।
भोलि देशको पहाडी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रही अपराह्नपछि पश्चिम र पूर्वी पहाडी भूभागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव २ र अधिकतम तापक्रम २५ दशमलव पाँच डिग्री सेल्सियस छ।
आगामी तीन दिनको मौसम पूर्वानुमानः
वैशाख १८ गते (बिहीबार)
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
वैशाख १९ गते (शुक्रबार)
दिउँसोः देशको पहाडी भू-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही अपरान्ह पछि पश्चिमी र पुर्वी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा र वाकी भु-भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी पहाडी भू-भाग तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा र वाकी भु-भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
वैशाख २० गते (शनिबार)
दिउँसोः देशको पश्चिमी पहाडी भू-भागमा मध्यान्नपछि तथा मध्य र पूर्वी भू-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति: देशको मध्य तथा पूर्वी पहाडी भू-भाग र पश्चिमी भू-भाग सामान्य बदली तथा पूर्वी खण्डको तराई भू-भागमा आंशिक बदली रही बाँकी अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पश्चिमी र पूर्वी पहाडी भू-भागका केही स्थानहरूमा र मध्य भू-भागका एक दुई स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। (रासस)
जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन् ।
एकाएक उच्च ज्वरो खाएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताए ।
उनले भने, “उच्च ज्वरो आएपछि उहाँलाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरेका थियौँ, उहाँको कोरोनाको आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ छ, मृत्यु भएकोे कारणबारे थप बुझदैछौँ ।”
मृत्यु भएकी महिलाको कोरोना भाइरसको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको जनाएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले लकडाउन लम्बिदै जाँदा काममा जान नपाउने र रोजगारी खोसिने अवस्थाले श्रमिक वर्गको आगामी दिन झनै कठिन बन्ने परिदृष्य देखा परिरहेकाले उचित कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका लाखौँ नेपालीले रोजगारी गुमाउन सक्ने, त्यसबाट देशभित्र उत्पन्न हुने बेरोजगारी तथा देशको अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा ध्यान दिन र तयारी गर्न आग्रह गर्नुभएको हो ।
विश्व जगत्ले नै आगामी आफ्ना कार्यक्रम श्रमिक वर्ग केन्द्रित बनाउने र नेपाल सरकारले पनि आगामी बजेट निर्माणमा यसमा उचित ध्यान दिने उपराष्ट्रपतिको विश्वास छ । संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको भन्दै उहाँले श्रमिकको हकहितका लागि भएको संवैधानिक व्यवस्थाको कार्यान्वयनलाई यो कठिन अवस्थामा अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कोरोना भाइरसको विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रणका लागि अधिकांश देश लकडाउनमा गएसँगै यसबाट सबैभन्दा बढी श्रमिक वर्ग प्रभावित भएको उल्लेख गर्दै उपराष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका लाखौँ नेपाली श्रमिक दाजुभाइ तथा दिदी–बहिनीहरुको अवस्था कठिन बनिरहेको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।
वैदेशिक रोजगारीमा रहेका सयौँ नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएकामा चिन्ता व्यक्त गर्दै उहाँले शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । उपराष्ट्रपतिले श्रमिक दिवसले मजदुरलगायत सबै श्रमजीवी वर्गको अधिकार प्राप्ति तथा उत्थानका लागि सबैलाई प्रेरणा दिन सकोस् भनी कामना गर्नुभएको छ ।
राष्ट्रियसभा अध्यक्षको आग्रह
दिवसकै अवसरमा शुभकामना दिँदै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारसँग श्रमिक तथा मजदुर वर्गका लागि राहतका विशेष कार्यक्रम ल्याउन अनुरोध गर्नुभएको छ । उहाँले कोरोना भाइरसको महामारीका कारणले देश–विदेशमा रहेका श्रमिक तथा मजदुर बेरोजगार हुनुपर्ने अवस्था आएकाले राहतका कार्यक्रम ल्याउन अनुरोध गर्नुभएको छ ।
“विभिन्न आरोह–अवरोह पार गर्दै आफ्ना अधिकार स्थापित गराउन सफल श्रमिक तथा मजदुर वर्ग अहिले कोरोनाको महामारीका कारण सबैभन्दा बढी समस्यामा परेका छन”, सन्देशमा भनिएको छ, “उनीहरुले आफ्नो दैनिक जीविकोपार्जनमा कठिनाइ भोग्नुपरेको छ । यस अवस्थामा राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतिका लागि महत्वपूर्ण भूमिका रहेको श्रमिक तथा मजदुर वर्गको स्वरोजगार, जीविकोपार्जन, रोजगारी तथा राहतका विशेष कार्यक्रम ल्याउन सरकारसमक्ष अनुरोध गर्दछु ।”
कोरोना भाइरसबाट सङ्क्रमित नेपाल र विश्वभरका सम्पूर्ण नागरिकमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कोरोनाको सङ्क्रमणलाई विश्वले छिट्टै पराजित गर्दै जनजीवन सामान्य अवस्थामा फर्कने विश्वास व्यक्त गर्नुभएको छ ।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन गर्न पाउनेलगायत पेशागत हितको प्रवद्र्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको शिकागो शहरमा भएको सङ्घर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको थियो । सोही दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ ।
काठमाडौं,वैशाख १९ ।आज १ सय ३१ औं अन्तर्राष्ट्रिय मे दिवस अर्थात संसारका मजदुरहरुको दिवस । यो वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण संसारका मजदुर वर्गले घरभित्रै बसेर यो दिवस मनाउनु परेको छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको अन्तर्राष्ट्रिय श्रमिक दिवस मजदुर आन्दोलनको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।मजदुर आन्दोलन चर्कदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालियो ।विश्वका मजदुरले सो दिवसलाई विशेष पर्वका रूपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।नेपालमा विराटनगरमा वि.सं. २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । वि.सं. २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो । यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ । नेपालमा पनि आज विभिन्न कार्यक्रमगरी मजदुर दिवस मनाइँदै छ ।
१९ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन आफ्नै पार्टी नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्यि श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ । यतिबेला संसारभरका श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेको छ । दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।’
अध्यक्ष प्रचण्डले देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनु पर्ने कर्तव्य पनि स्मरण गराएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न पनि अपिल गर्दै प्रचण्डले स्वदेश तथा विदेशमा रहेका श्रमजीवि जनसमुदायमा सु–स्वास्थ र प्रगतिको अपेक्षा सहित शुभकामना व्यक्त गरेका छन् ।