काठमाडौं, जेठ १४ । आज देशका पूर्वी, मध्य तथा पश्चिम पहाडी भू-भागमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी न्यून चापीय प्रणाली र स्थानिय वायुको प्रभाव कायमै रहेकाले आज पहाडी भू-भागमा आंशिक बदलीसंगै अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
त्यस्तै, भोलि देशको पूर्वी भूभागका केही स्थान र मध्य तथा पश्चिमी पहाडी भूभागमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको तापक्रम २१ डिग्री मापन गरिएको छ ।
राजविराज, जेठ १४ । जतिसक्दो छिटो शव व्यवस्थापन गर्नुपर्ने तर स्वाब परीक्षणको रिपोर्ट ढिलो आउने भएपछि मृतक परिवारले मङ्गलबार विहान मृत्यु भएकी गर्भवती महिलाको दाहसंस्कार गरेका छन्। सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सुन्दरी खोलामा व्यक्तिगत सुरक्षा सामग्री पीपीई लगाएका स्वास्थ्यकर्मीको निगरानीमा परिवारका सदस्यले कुलधर्मअनुसार शवको अन्तिम संस्कार गरेका छन्।
मृतक परिवारका चार जनाको उपस्थितीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले सावधानीपूर्वक शव व्यवस्थापन गरेको नगरप्रमुख बसन्त मिश्रले बताए। दाहसंस्कारमा संलग्न मृतकका परिवारका सदस्यले पनि पीपीई लगाएका थिए। कोरोनाको लक्षण भएकी सप्तरीको कञ्चनरुप–११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवती महिलाको बिहान साढे ६ बजे मृत्यु भएको थियो।
उनलाई अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला मृत्यु भएको परिवारका सदस्यले बताए। उनलाई १० दिनदेखि ज्वरो आइरहेको थियो। साढे पाँच वर्षका जुम्ल्याहा छोरा, छोरीकी आमा उनी १८ साताकी गर्भवती थिइन्।
कोरोना संक्रमणसित मिल्ने लक्षणहरु देखिएकोले मंगलबार बहिान साढे ११ बजे मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित वि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।
मकवानपुर, जेठ १४ । हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथै घाइते तीन जनालाई उपचारका लागि चितवन लगिएको छ । त्यसैगरी हावाहुरीले हेटौँडालगायत मकवानपुर जिल्लाको विभिन्न स्थानमा कर्कटपाताले निर्माण गरिएका घरका छानासमेत उडाएको छ ।
हावाहुरीले लाखौँ मूल्य बराबरको फलफूल, तरकारी नष्ट गरेको छ । खेतमा लगाइएको भिण्डी, घिरौला, बोडी, लौका, सिमी, काउलीका साथै मकैबाली र आँपमा समेत क्षति पु(याएको जिल्ला कृषि ज्ञान केन्द्र मकवानपुरले जनाएको छ ।
त्यसैगरी हावाहुरीले हेटौँडास्थित फरेष्टी कलेजमा एक दर्जन सालको रुख ढालेको र विद्युत् पोलसमेत ढलेका सो कलेजले जनाएको छ ।रासस
काठमाडौं, जेठ १४ । शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्।
गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको हो।
आफ्नै घरमा आत्महत्या गरेका तामाङको शव सोमबार राति गुपचुपरूपमा जलाउन लाग्दा महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी चौकी नाङ्लेभारेको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भने, “जलाउनै लाग्दा शव हामीले नियन्त्रणमा लिएर परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएका छौँ। घटनाको थप अनुसन्धान हुँदैछ।”
मृतक तामाङ उनका आफ्नै जेठो भिनाजुको स्काभेटरको सहयोगीका रूपमा काम गर्ने गरेका थिए। परिवारमा चार भाइ छोरामध्ये उनी कान्छो हुन्। आत्महत्या गर्नुअघि उनले सोही कोठाको पलङमा सुसाइड नोट राखेको भेटिएको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान गर्दै गरेको प्रहरीले शव परीक्षणको रिपोर्ट आएपछि घटनाको थप विवरण प्राप्त हुने जानकारी दिएको छ।रासस
काठमाडौं, जेठ १३ । गत जेठ ९ गते राति रुपन्देही देवदहकी १५ वर्षीया दलित थरकी किशोरीलाई सोही ठाउँका २२ वर्षीय वीरेन्द्र भरसँग घरनजिकै रहेको एकान्त ठाउँमा एकसाथ स्थानीयले देखे।
एकान्त ठाउँमा एकसाथ भेटिएको भन्दै भोलिपल्ट जेठ १० गते वडा नं ११ का वडाअध्यक्ष अमरबहादुर चौधरीसहित समाजका अगुवाको छलफल भयो। छलफलमा वीरेन्द्रलाई कारबाही गर्नुको सट्टा किशोरीलाई उल्टो लज्जित बनाए। कथित तल्लो जातकी पासी परिवारलाई समाजका अगुवा भन्नेहरुले बोल्न दिएनन्।
किशोरीका परिवारले छोरीको विचल्ली हुने भन्दै केटालाई छुट दिन नहुने बताएपछि वडाध्यक्षसमेत संलग्न उक्त छलफलले किशोरीलाई केटाको जिम्मा लगाउने निर्णय ग¥यो। कथित उपल्लो जातका वीरेन्द्रले किशोरीलाई घर त लगे तर तल्लो जातको केटी घर ल्याएको भन्दै केटाका आमा जाई लागिन। त्यसको केही घन्टामै किशोरीको खोला किनारमा शव भेट्टियो।
‘छोरीलाई जबरजस्ती समाजले उपल्लो जातको केटासँग पठाइदिए, आज मेरी छोरीको हत्या भयो,’ किशोरीकी आमा शान्तिले भनिन्। शनिबार दिउँसो देवदह–२ पेटवनिया रोहिणी खोला किनार रूखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दीपक महतले बताए।
शरीरको माथिल्लो भागमा लगाएको कपडा च्यातिएको, भित्री वस्त्र देखिएको र चप्पलसमेत नलगाएको अवस्थामा उनको शव फेला परेको प्रहरीले बताएको छ। घटनाको प्रकृति र छोरीमाथि गरिएको दुव्र्यहारले आत्महत्या नभई हत्या भएको आमा शान्तिको जिकिर छ। नागरिक दैनिकबाट
काठमाडौँ, १३ जेठ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणपछि शिक्षा क्षेत्रमा उत्पन्न समस्या र समाधानका विषयमा सरकार र निजी शैक्षिक संस्थाबीचमा सहकार्यको सट्टा सामाजिक दूरी झनै बढेको पाइएको छ ।
सङ्क्रमणपछि जारी बन्दाबन्दीको अवस्थामा विद्यार्थीको शुल्क, भर्ना, परीक्षा प्रणाली, वैकल्पिक शिक्षाको मान्यता पाउने या नपाउने लगायतको विषयले सरकार र निजी क्षेत्रको दूरी बढाइदिएको छ तर द्वन्द्वले भन्दा सहकार्यले मात्र सङ्कट समाधान निस्कने बताइएको छ । (गोरखापत्रबाट)
काठमाडौँ, १३ जेठ । सर्तसहित होटलहरूलाई क्वारेन्टाइन बनाउन व्यवसायीहरू तयार भएका छन् । होटलहरूको छाता सङ्गठन होटल एसोसिएसन अफ नेपाल (हान)ले पर्यटन विभागसँगको छलफलपछि यसका लागि तयार भएको हो ।
यद्यपि हानले क्वारेन्टाइन सञ्चालनका लागि आफ्नो तर्फबाट विभिन्न सर्तसहितको विवरण विभागलाई बुझाएको छ । हानले स्वास्थ्यकर्मी र कोरोना रोकथामका लागि खटिएका व्यक्ति तथा विदेशमा अलपत्र रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउने क्रममा होटललाई क्वारेन्टाइनका रूपमा उपयोग गर्ने सरकारले निर्णय गरेमा त्यसका लागि आवश्यक समन्वय गर्न तयार रहेको जनाएको हो ।
यसरी क्वारेन्टाइन सञ्चालन गर्दा बस्ने पाहुनाको चेकइनपूर्व नै स्वास्थ्य चेकजाँच गरी सङ्क्रमण नभएको प्रमाण हुनुपर्ने, प्रत्येक दिन पटकपटक स्वास्थ्य जाँच हुनुपर्ने र होटल सञ्चालनका लागि तोकिएको अन्तर्राष्ट्रिय मापदण्डको क्षति हुन नहुने हानले सर्त राखेको छ ।
हानले क्वारेन्टाइन अवधिभर उपलब्ध गराइने चार छाक पौष्टिक आहार, आधारभूत सबै सेवा र कर्मचारीको पारिश्रमिक, सेवा शुल्क, कर दस्तुर र सबै खर्च होटलको स्तरअनुसारको विवरण पनि विभागलाई पेस गरेको छ ।
यद्यपि पछिल्लो दुई महिनाभन्दा बढी समय होटल बन्द रहेकाले कर्मचारीको उपलब्धताअनुसार क्वारेन्टाइन सञ्चालन गर्ने नगर्ने निर्णय भने सम्बन्धित होटलको रहने पनि हानले स्पष्ट पारेको छ । (गोरखापत्रबाट)
काठमाडौँ, १३ जेठ । झापाको गौरादह नगरपालिका–४, मजुवाकी किसान बालिका दाहालले एक बिघा क्षेत्रफलमा चैते धान लगाएका छन् । रोपिएको धानको बाला लपक्क नुहिएका छन् ।
फलाइ हेर्दा धान राम्रो हुने आशा थियो तर नुहेको बाला अचानक सुक्न थाल्यो । पहिलो दिन एक/दुईवटा मात्र बालामा यस्तो समस्या आएको थियो । दोस्रो दिन दुई तिहाइ बाली त्यस्तै भयो । तेस्रो दिन त पूरै खेतको धानको बाला सुकेर सेतै भयो ।
उनको जस्तै यो क्षेत्रका लगभग १५ घरपरिवारले ५० बिघा क्षेत्रफलमा लगाएको धान अहिले यस्तै अवस्थामा पुगेको छ । चैते धान काट्न हँसिया बोकेर खेतमा जाने बेलामा किसान अहिले आगो बोकेर डढाउन जानुपर्ने अवस्था आएको सोही क्षेत्रका अर्का किसान पर्शुराम धमलाले बताएका छन् । थन्क्याउने बेलाको बाली खेतमा सुकेर गएपछि किसानमा चिन्ता थपिएको छ ।
यो क्षेत्रका अधिकांश किसानको चैते धानमा अहिले बाला सुकेर जाने समस्या आएको छ । धानको डाँठमा कालो हुने र त्योभन्दा माथिको भाग सुक्ने गरेको सोही स्थानका किसान मचिन्द्र कार्कीले जानकारी दिएका छन् । (गोरखापत्रबाट)
ललितपुर, १३ जेठ । महालक्ष्मी नगरपालिकामा एकजना शंकास्पद कोरोना संक्रमितलाई गएराति पाटन अस्पताल लगिएको छ ।
क्वारेन्टाइनमा राखिएकी दाङ घर भएकी महिलालाई कोरोना संक्रमणको लक्षण देखिनथालेपछि आकस्मिक रुपमा अस्पताल लगिएको हो ।
महालक्ष्मी नगरपालिकाका अनुसार अथक प्रयासका बाबजुद पनि एम्बुलेन्सको व्यवस्था हुन नसकेपछि निजी सवारीसाधनमा पिपिई सेट लगाई पाटन अस्पतालमा महिलालाई उपचारका लागि लगिएको थियो । दाङ घर भई शंखादेवीमा बस्ने २३ वर्षीया महिला गत हप्तामात्र काठमाडौं प्रवेश गरेकी थिइन् । उनी काठमाडौं उपत्यका प्रवेशमा कडा पारिएको अवस्थाबीच उनी गाउँटोलमा फर्किएपछि त्रास मच्चिएको थियो ।
महिलालाई अकस्मात ज्वरो, घार्टिमा समस्या र वान्तामा रगत देखिएको खबर प्राप्त भएपछि आकस्मिक रुपमा अस्पताल लगिएको थियो ।

लायन्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथ र कोडिईसि वेभ नेपालले आज जेष्ठ १२ गतेका दिन यो लकडाउनका कारण ३७ परिवार विचल्लीमा परेकाहरूलाई राहत वितरण गरेर सहयोग गरेको छ ती ३७ परिवारलाई सहयोग गरेको छ। संस्थापक अध्यक्ष गनिका गुरुङ भन्नु हुन्छ लकडाउन आवश्यक्ता छ कोरोना भाईरस रोक्नका लागि तर लकडाउनको कारण हजारौ मानिसको जिन-जिवनमा प्रभाव परेको छ। केहि काम गनॅ नभएको कारण मानिसहरू दिनदिनै आर्थिक रूपले कमजोर हुदै गएको कारण लायन्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथले ५२ दिन देखि भोकै रहेको परिवारको पेट भर्ने काम गर्दै आएको छ। क्लब अध्यक्ष अनिल बुजाॅ मगर बताउनु हुन्छ आज ३७ परिवारलाई ५२० किलो चामल, ३७ लिटर सोईबिन र सूर्यमुखी तेल, सोईबिन र नुन प्रदान गर्न क्लब सफल भएको थियो र यसमा कोडिईसि वेभ नेपालले अमूल्य योगदान दिएको थियो र अस्ति मात्र निर्वाचित अध्यक्ष सुजना राई र विष्णु केसीका सहयोगले क्लबले ७५० भन्दा बढी मनिसलाई सहयोग गर्न सफल भएको थियो।



