automobile
||Power News Asia||

आजको समाचार

दुई हजार पच्चीस मतदाता कायम

अटोमोबाइल


काठमाडौँ- राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरेपछि आयोगले जारी गरेको नामावली नै कायम हुने भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको मतदाता नामावलीपछि नाम, थर सच्याउन र नामावलीउपर दाबी विरोध गर्न तय गरेको समयसीमाभित्र कुनै निवेदन वा दाबी विरोध नपरेको जानकारी दिनुभएको छ । सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गरेको थियो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म दाबी विरोध र नाम सच्याउन निवेदन आह्वान गरिएकोमा कुनै निवेदन परेन ।

राष्ट्रिय सभा निर्वाचनका लागि स्थापना गरिएको सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार उम्मेदवारी दर्ता हुँदैछ । विराटनगरस्थित निर्वाचन कार्यालयका प्रमुख लेबन कश्यपले ९२ जना प्रदेश सभा सदस्य र २७२ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी प्रदेश १ मा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि ३६४ जना मतदाता कायम भएको जानकारी दिनुभयो । प्रदेश २ मा १०४ प्रदेश सभा सदस्य र २६८ स्थानीय तहका गरी कुल ३७२ जना मतदाता कायम भएको निर्वाचन कार्यालयका प्रमुख पुष्पा झाले जानकारी दिनुभयो ।

बागमती प्रदेशमा १०९ प्रदेश सभा सदस्य र २३७ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३४६ जना मतदाता रहेका छन् । गण्डकीमा ५९ प्रदेश सभा सदस्य र १७० स्थानीय तहका गरी कुल २२९ मतदाता रहने भएका छन् । लुम्बिनीमा ८१ प्रदेश सभा सदस्य र २१५ स्थानीय तहका गरी कुल २९६ मतदाता रहनेछन् । कर्णालीमा ३५ प्रदेश सभा सदस्य र १५६ स्थानीय तहका प्रमुख गरी १९१ जना मतदाता कायम भएका छन् । सुदूरपश्चिममा ५२ प्रदेश सभा सदस्य र १७५ स्थानीय तहका प्रमुख गरी २२७ जना मतदाता रहेका छन् ।

पहिलेभन्दा ३ लाख सस्तोमा नयाँ स्कोडा र्‍यापीड, यस्तो छ सबै भेरियन्टको मूल्य

अटोमोबाइल


काठमाडौं । स्कोडा र्‍यापीडको नयाँ मोडल नेपाली बजारमा आगामी हप्ताबाट बिक्री सुरु हुने भएको छ । नेपालको लागि स्कोडाको आधिकारीक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ टिएसआई इन्जिनसहितको स्कोडा र्‍यापीडको बिक्री सुरु गर्ने भएको हो ।

कम्पनीले नयाँ र्‍यापीडको मूल्य समेत प्रकाशन गरिसकेको छ । साउन ८ गते कम्पनीले नयाँ मोडलको मूल्य प्रकाशन गरेको हो । कम्पनीले प्रकाशन गरेको नयाँ मूल्य अनुसार यसको सुरुवाति भेरियन्ट र्‍यापीड एक्टीभ राइडरको मूल्य ३४ लाख ९० हजार रुपैयाँ हुने छ । यसअघि बिक्री हुँदै आएको रेगुलर मोडल र्‍यापीडको सुरुवाति मूल्य ३८ लाख ४५ हजार रुपैयाँ थियो भने टप भेरियन्टको मूल्य ५७ लाख ९५ हजार रुपैयाँ थियो ।

विभिन्न ५ भेरियन्टमा नेपाल आउन लागेको र्‍यापीड टिएसआईको अन्य भेरियन्टमा राइडर प्लसको मूल्य ३६ लाख ९० हजार, एम्बीएन्टको मूल्य ४३ लाख ९० हजार, स्टाइल भेरियन्टको मूल्य ५० लाख ९० हजार, ओनेक्स भेरियन्टको ४४ लाख ९० हजार र मोन्टेकार्लो भेरियन्टको मूल्य ५१ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

किन भयो सस्तो ?

स्कोडाले भारतीय बजारलाई केन्द्रमा राखेर ल्याएको टिएसआई इन्जिन १.० लिटर टर्बो इन्जिन हो । यसअघि र्‍यापीडमा १.६ लिटर क्षमताको इन्जिन रहेको थियो । इन्जिन क्षमता कम हुँदा यसको राजस्वमा १० प्रतिशतको फाइदा हुने भएकाले कम्पनीले यसको मूल्यपनि १० प्रतिशतले नै घटाएर निर्धारण गरेको हो ।

यस्तो छ नयाँ र्‍यापीड टिएसआई

भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा र्‍यापीड आउने छ । यसमा रहेको १.० लिटर टिएसआई इन्जिनले १०८ बीएच पावर र १७५ एनएम टर्क प्रदान गर्ने छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । नयाँ र्‍यापीड पेट्रोल इन्जिनमा मात्रै उपलब्ध हुने छ ।

नयाँ इन्जिनले १८.९७ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । कारमा ४६० लिटरको बुट स्पेश उपलब्ध रहने छ । कारमा आधुनिक टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम उपलब्ध रहेको छ ।

अटोमेटिक क्लाइमेट कन्ट्रोल, एयरव्याग, एबीएस, इबीडी, चाइल्ड सेफ्टी लक, फ्रन्ट र साइड इम्प्याक्ट बीम, एड्जस्टेवल सिट, इन्जिन इमोविलाइजर, क्र्यास सेन्सर, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर उपलब्ध रहेका छन् ।

सरकारी नीतिविपरीत विद्युतीय गाडीमा कर

अटोमोबाइल


काठमाडौं, जेठ १७ । विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन गर्ने सरकारी नीतिविपरीत अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यस्ता सवारीसाधन आयातमा उच्च दरले कर बढाएका छन्। बजेटसँगै आएको आर्थिक विधेयकमा विद्युतीय सवारीसाधनको खरिदमा गाडीको क्षमता हेरेर ३० देखि ८० प्रतिशतसम्म भन्सार शुल्क र ४० प्रतिशतसम्म अन्तःशुल्क कर लगाउने व्यवस्था गरिएको छ।

विधेयकमा पिकपावर तीनसय किलोवाटभन्दा बढीका कार, जिप, भ्यानमा ८० प्रतिशत भन्सार शुल्क र ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था छ।यसअघि विद्युतीय निजी सवारीसाधन खरिदमा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट शुल्क लाग्ने गथ्र्यो। अब भने विद्युतीय सवारीसाधनको मूल्य झन्डै दोब्बर पर्ने भएको आजको नागरिक दैनिकमा खवर छ ।

सवारीसाधन आयात सम्बन्धी व्यवस्था परिमार्जन, चलखल बढ्ने खतरा

अटोमोबाइल


काठमाडौं । सरकारले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटमा सवारीसाधन पैठारी सम्बन्धी विषेश व्यवस्थामा केही परिमार्जन गरेको छ । यसले आगामी दिनमा चलखेल बढ्ने खतरा बढेको छ ।

कस्ता कम्पनीले सवारीसाधन आयात गर्न पाउने भन्ने विषयमा ५ खण्डमा व्याख्या गरिएको छ । यस्ता सर्तको खण्ड (क) मा निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधन नेपाल स्थित आधिकारिक बिक्रेताले मात्र पैठारी गर्न पाउने छ भन्ने उल्लेख गरिएको छ । जुन व्यवस्था यसअघि पनि गरिएको थियो ।

तर, सरकारले यस वर्षको बजेटमा सवारीसाधन आयात सम्बन्धी व्यवस्थामा परिमार्जनगरि खण्ड (ङ) मा नयाँ व्यवस्था गरेको छ । खण्ड (क) मा उल्लिखत शर्त उलङ्घन गरी सवारी वा ढुवानीका साधन पैठारी गरेमा त्यस्ता सवारी साधन तथा ढुवानी साधनको मूल्यको तिस प्रतिशत जिरवाना गरी जाँचपास गर्न सकिने छ । भन्ने नयाँ व्यवस्था गरेको छ ।

यसले यसअघि नेपाली भन्सारमा रोकिएका सवारीसाधन नेपाल प्रबेशको बाटो खोलेको छ भने भविष्यमा यही प्रकृयाबाट गाडी आयात गर्न थप प्रोहोत्सान दिएको छ ।

यसअघि व्यवस्था भएको कुनै डिलर कम्पनीबाट आयात भएको भए उत्पादक, डिलर र आयातकर्ता बीच भएको ‘ट्राइपाटी एग्रिमेन्ट’ अनिवार्यरुपमा देखाउनु पर्ने व्यवस्थालाई यसपटकको बजेटले हटाइ दिएको छ । यसले कुनैपनि स्थानबाट खरिद गरेर ल्याइने नयाँ सवारीसाधन सहजै नेपाल आउने बाटो खोलेको हो ।

‘यसरी सबै गाडी सहजै ल्याउने वातावरण निर्माण हुँदा कम मूल्यमा गाडी ल्याउने र ३० प्रतिशत जरिवाना तिरेर भन्सार पास गर्ने परिपाटी मौलाउने संभावना बढेको छ’ एक व्यवसायीले भने ।

यसअघि कानुनी रुपमा कडाई गर्दासमेत आधिकारीक बिक्रेता नभइ गाडी ल्याउनेहरु बढेको समयमा बजेटले यस्तो व्यवस्था गरेकाले थप चलखेल हुने खतरा बढेको हो ।

एउटै इलेक्ट्रीक कारमा २ करोड मूल्य बढ्ने, मोटर क्षमता अनुसार फरक अन्तःशुल्क

अटोमोबाइल


काठमाडौं । सरकारले इलेक्ट्रीक सवारीसाधनमा व्यापक करको दरमा परिमार्जन गरेको छ । हिजो सार्वजनिक भएको बजेटले इलेक्ट्रीक कारको भन्सार ८० प्रतिशत कायम गर्दै त्यसमा ५० प्रतिशत छुट दिएको छ भने अन्तःशुल्क मोटर क्षमताको आधारमा लगाउने निर्णय गरेको छ ।

सरकारले यसअघि इलेक्ट्रीक कारमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ४ प्रतिशत मात्रै सडक दस्तुर लिदै आएको थियो ।

कुन मोटरमा कति अन्तःशुल्क

५० किलोवाटसम्मका मोटर जडान भएका कारमा ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ । त्यस्तै ५० देखि १०० किलोवाटसम्मका मोटर भएका ४० प्रतिशत अन्तःशुल्क र १०० सयदेखि १५० किलोवाटसम्मका कारमा ५० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

त्यसैगरि १५० देखि २०० किलोवाट क्षमता मोटर जडित कारमा ६० प्रतिशत, २०० सयदेखि ३०० किलोवाट सयसम्मका कारमा ७० प्रतिशत र त्यसभन्दा माथिका कारमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था बजेटले गरेको छ ।

उदाहरणमा हेरौं कति बढ्ला मूल्य

केही महिना अघि नेपालमा ल्याएर १ करोड ५० लाखसम्ममा बिक्री गरेको यो कार ७४ हजार पाउण्ड खरिद मूल्यमा आएको थियो । आजको एक्सचेञ्ज रेट अनुसार यसको खरिद मूल्य १ करोड ९ लाख ५२ हजार हुन्छ ।

सरकारले हिजो ल्याएको बजेट अनुसार यो गाडीमा ८० प्रतिशत भन्सार शुल्क लाग्छ । इलेक्ट्रीक सवारीसाधन भन्दै यसमा ५० प्रतिशत भन्सार छुटको व्यवस्था गरेको छ । यसले ४० प्रतिशत मात्रै भन्सार तिरे पुग्छ । भन्सार शुल्क वापत ४३ लाख ८० हजार ८०० रुपैयाँ पुग्छ ।

उक्त भन्सार शुल्क सहितको रकम १ करोड ५३ लाख ३२ हजार ८०० रुपैयाँमा ६० प्रतिशत अन्तःशुल्क लाग्ने छ । यसमा ९१ लाख ९९ हजार ६८० रुपैयाँ अन्तःशुल्क लाग्ने छ । अउडी इट्रोनमा १६५ किलोवाटको मोटर प्रयोग गरिएकाले यसमा अन्तःशुल्क ६० प्रतिशत लागेको हो ।

गाडीको खरिद मूल्यमा भन्सार र अन्तःशुल्क जोड्दा २ करोड ४५ लाख ३२ हजार ४८० रुपैयाँ हुन्छ । उक्त रकममा भ्याट वापतको १३ प्रतिशत ३१ लाख ८९ हजार २२२ रुपैयाँ जोड्दा २ करोड ७७ लाख २१ हजार ७०२ रुपैयाँ हुन आउँछ ।

अझै, यसमा सडक दस्तुरको रुपमा ५ प्रतिशत लाग्ने व्यवस्था गरिएको छ । यो व्यवस्था अनुसार १३ लाख ८६ हजार ८५ रुपैयाँ तिर्नु पर्ने हुन्छ । यी सबै रकम जोड्दा २ करोड ९१ लाख ७ हजार ७८७ रुपैयाँ हुन्छ ।

यसमा व्यवसायीले २० प्रतिशत कुल नाफा राखेर बिक्री गरेको खण्डमा पनि यो गाडीको मूल्य ३ करोड ४९ लाख २९ हजार ३४४ रुपैयाँ पर्न आउँछ ।

यसले एउटा अउडीको मूल्य झण्डै २ करोड रुपैयाँले वृद्धि हुने छ ।

कियाको निरो बुकिङ गरेकालाई लकडाउन खुलेलगत्तै डेलिभरी

अटोमोबाइल


काठमाडौं, १५ जेठ । नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गरेका ग्राहकले लकडाउन खुलेलगत्तै उक्त एसयुभी चलाउन पाउने भएका छन् । नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले लकडाउन खुलेलगत्तै बुकिङ गरेका ग्राहकलाई उक्त गाडी हस्तान्तरण गर्ने तयारी गरेको छ ।

उक्त गाडीको कन्साइनमेन्ट (खेप) कोरियाबाट नेपालका लागि एक हप्ता अगाडि नै चलान भइसकेको छ । लकडाउन खुल्दासम्म गाडी नेपाल आइसक्ने भएकोले कम्पनीले बुकिङ गरेका ग्राहकलाई गाडी नेपाल आइपुग्नेबित्तिकै हस्तान्तरण गर्ने योजना बनाएको हो ।

एकपटकको फुल चार्जमा ४८० किलोमिटरसम्म गुड्ने उक्त एसयुभी नेपाली कार पारखीले निकै रुचाएर बुकिङ गरेका छन् । यसमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसको १५० किलोवाटको इलेक्ट्रिक मोटरले २०१ बिएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यो एसयुभी स्टार्ट गरेको ८ सेकेन्डभित्रै १०० किलोमिटरको गतिमा कुद्न सक्छ ।

डिसी फास्ट चार्जरबाट पूरा चार्ज गर्न ८० मिनेट लाग्ने यो गाडी भित्रिएपछि नेपाली बजारमा सर्वाधिक माइलेज दिने विद्युतीय एसयुभीमा यही पर्नेछ । निरो सन् २०१९ को पहिलो त्रैमासबाट एसियाली बजारमा बिक्री सुरु गर्ने निर्माता कम्तीको योजना अनुरुप नेपाल आउन लागेको हो ।

ब्रेकमा समस्या आएपछि रोयल इन्फिल्डले फिर्ता माग्यो १५ हजार मोटरसाइकल

अटोमोबाइल


काठमाडौं । रोयल इन्फिल्डले आफ्नो नयाँ मोटरसाइकलमा समस्या देखिएपछि फिर्ता मागेको छ । केही समय अगाडी मात्र सार्वजनिक भएको मोटरसाइकल ६५० ट्वीनलाई फिर्ता मागेको हो ।

ब्रेकमा समस्या आएपछि कम्पनीले अन्य देशमा निर्यात गरेको मोटरसाइकलसमेत फिर्ता मागेको छ । कम्पनीले भारत बाहेक अन्य देशमा बिक्री गरेको १५ हजार २०० यूनिट मोटरसाइकलमा समस्या देखिएपछि रिकल गरेको हो ।

कम्पनीले रोयल इनफिल्ड इन्टरसेप्टर ६५० र कन्टीनेन्टल जीटी ६५० को ब्रेकमा समस्या आएका कारण फिर्ता मागेको कम्पनीले जनाएको छ । युरोपीयन मुलुकहरु तथा दक्षिण कोरियमा निर्यात भएका मोटरसाइकलमा उक्त समस्या आएको हो ।

कम्पनीले डिलर मार्फत ग्राहकहरुलाई सम्पर्क गरेर उक्त समस्याको जानकारी दिएको जनाएको छ । कम्पनीले आफ्ना सर्भिस सेन्टर मार्फत उक्त समस्या हल गर्ने बताएको छ । मर्मत गरेर हुने अबस्थामा मर्मत गर्ने तथा ब्रेक नै परिर्वतन समेत गरिदिने जनाइएको हो । उक्त समस्या समाधान गर्न कुनै शुल्क नलिने समेत बताइएको छ ।

रोयल इन्फिल्ड इन्टरसेप्टर ६५० नेपाली बजारमा सार्वजनिक हुने तयारीमा रहेका थियो । कोरोनाका कारण नेपालमा लकडाउन कायम रहेका कारण यो मोटरसाइकलको बिक्री समेत अन्योलमा परेको छ ।

भारतीय बजारमा बीएस ६ मापदण्ड अनुसारको मोटरसाइकल सार्वजनिक भइसकेको छ भने, नेपाल आएको ६५० ट्वीन बीएस ४ मापदण्डको रहेको छ । नेपाली बजारमा यसमो मूल्य १२ लाख ५० तोकेर बिक्री सुरु गर्ने तयारीमा कम्पनी रहेको थियो ।

एबीएस भएको मोटरसाइकल किन्न चाहनेलाई यस्ता छन् छनोट

अटोमोबाइल


काठमाडौं । नेपालको अटो बजारमा सधै भारतीय बजारको प्रभावमा सधै रहने गरेको छ । नेपालमा बिक्री हुने धेरै जसो सवारीसाधन भारतीय बजारबाट आयात हुने गरेको छ ।

भारत सरकारले मोटरसाइकल उत्पादक कम्पनीहरुलाई १२५ सीसीभन्दा माथिका इन्जिन क्षमता भएका मोटरसाइकलमा अनिवार्य एबीएस गरेसँगै नेपाली बजारमा समेत एबीएस सुबिधा भएका मोटरसाइकल भित्रन थालेका छन् ।

नेपाली बजार दुई दर्जन भन्दा धेरै ब्राण्डका मोटरसाइकल उपलब्ध रहेका छन् । सबै कम्पनीले आफ्ना ग्राहकललाई उत्कृष्ट उत्पादन दिने प्रयास गरिरहेका हुन्छन् । यस्तोमा सुरक्षा फिचरको रुपमा रहेको एबीएस सिस्टमले मोटरसाइकललाई सुरक्षीत बनाएको हुन्छ ।

नेपाली बजारमा होन्डा, बजाज, यामाहा, टीभीएस, हिरो, बेनेली, सीएफमोटो जस्ता धेरै ब्राण्डले एबीएस युक्त मोटरसाइकल बिक्री गर्दै आएका छन् । नेपाली बजारमा सफल रहेको केही ब्राण्डसँग रहेका एबीएसयुक्त मोटरसाइकलहरु यसप्रकार छन् ।

१. होन्डा

नेपाली बजारमा स्कुटरको सबैभन्दा ठूलो मार्केट सेयर रहेको कम्पनी होन्डासँग कम सीसीका मोटरसाइकमा एबीएस सेवा रहेको मोटरसाइकल भने हालसम्म उपलब्ध रहेको छैन । होन्डा सीबीआर २५० आर, सीआरएफ २५० एल, अफ्रिका ट्वीन, सीबीआर ६०० आरआर जस्ता मोटरसाइकलमा एबीएस सुबिधा उपलब्ध रहेको छ ।

२. बजाज

नेपाली बजारमा लोकप्रिय रहेको मोटरसाइकल ब्राण्ड बजाजको पोर्टफोलियोमा धेरै मोटरसाइकलमा एबीएस सुबिधा उपलब्ध रहेको छ । बजाज पल्सर एनएस १६० र एनएस २०० मा एबीएस सुबिधा उपलब्ध रहेको छ । बजाज पल्सर २२० केही दिनमा नै नेपाली बजारमा एबीएस सहित सार्वजनिक हुँदैछ । यस्तै बजाज डोमिनार ४०० मा समेत एबीएस सुबिधा रहेको छ ।

३.यामाहा

यामाहाले नेपाली बजारमा पछिल्लो समय एबीएस युक्त मोटरसाइकलको संख्या बढाएको छ । यामाहाको एफजेड भी ३, आर१५ भी३, एमटी १५, एफजेड २५ जस्ता मोटरसाइकलमा एबीएस सुबिधा उपलब्ध रहेको छ । नेपाली बजारमा नै एबीएस भएको पहिलो स्कुटर एनम्याक्स १५५ समेत सार्वजनिक गर्ने तयारी गरेको छ ।

४. टीभीएस

पछिल्लो समय नेपाली बजारमा आफुलाई स्थापित गर्न सफल रहेको टीभीएसले अपाचे आरआर ३१० एबीएस सुबिध रहेको मोटरसाइकल बिक्री गरिरहेको छ । पछिल्लो समय नेपाली बजार १५० सीसी सेग्मेन्ट र २०० सीसी सेग्मेन्टमा आफ्ुलाई स्थापित गरेको अपाचे आरटीआरी १६० ४भी तथा २०० ४ भी समेत नेपाली बजारमा चाँडै सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ ।

५. हिरो

हिरो मोटरसाइकलको आधिकारिक वितरक एनजीएम हिरोले नेपाली बजारमा एबीएस भएका २ मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ । एस्ट्रीम २०० तथा एक्सपल्स २००/ २०० टी बिक्री गरिरहेको छ । कम्पनीले एबीएस सहितको एस्ट्रीम १६० आर समेत नेपाल भित्र्याउने तयारी गरेको छ । यो मोटरसाइकल भारतीय बजारमा अर्को महिना सार्वजसनिक हुँदैछ ।

६. सुजुकी

एबीएस सहितको मोटरसाइकल बिक्री गर्नेमा सुजुकी पनि रहेको छ । सुजुकी जिक्सर १५० तथा २५० मोटरसाइकलमा एबीएस सुबिधा उपलब्ध रहेको छ ।

यसका अलावा नेपाली बजारमा उपलब्ध धेरै कम्पनीका मोटरसाइकलमा एबीएस सेवा उपलब्ध रहेको छ । बीएमडब्ल्यु, बेनेली, सीएफ मोटो, केटीएम, क्रसफायर जस्ता बिभिन्न ब्राण्डसँग एबीएस युक्त मोटरसाइकल उपलब्ध रहेको छ ।

६६० सीसी इन्जिनमा सुजुकीको नयाँ हस्टलर सार्वजनिक

अटोमोबाइल


जापानी अटो उत्पादक कम्पनी सुजुकीले आफ्नो रग्ड ह्याच कार ‘हस्टलर’को दोस्रो पुस्ताको गाडी सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ पुस्ताको हस्टलर पुरानोको तुलनामा केही ठूलो र फराकिलो रहेको कम्पनीले जनाएको छ । योसँगै पुरानो पुस्ताको हस्टलरको उत्पादन बन्द हुने कम्पनीले जानकारी दिएको हो ।

जापानी बजारमा सार्वजनिक भएको नयाँ हस्टलरमा दुई कलरको एक्सटेरियर दिइएको छ । यसको ह्वील र बम्पर मेट ब्ल्याक कलरमा सजिएको छ भने बडीलाई अन्य विभिन्न कलरले सजाइएको छ । यो सानो कारलाई जापानी हाइवेमा गुडाउन योग्य कारको रुपमा बजारमा उतारिएको अन्तर्राष्ट्रि समाचार मध्यमहरुले उल्लेख गरेको छन् । 

सुजुकीको हर्टटेक प्ल्याटफर्ममा तयार गरिएको यो कारमा निकै स्टाइलिस ड्यासबोड प्रदान गरिएको छ । कम्पनीले यसमा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम र डिजिटल कनेक्टीभिटी प्रदान गरिएको छ ।

कम्पनीले यसमा ६६० सीसी क्षमताको रेगुलर र टर्बो चार्ज्ड गरि दुई इन्जिन अप्सन दिएको छ । रेगुलर इन्जिनले अधिकतम ४९ एचपी पावर र टर्बो इन्जिनले ६४ एचपी पावर प्रदान गर्छ । यसमा सुजुकी स्मार्ट हाइब्रिड टेक्नोलोजी प्रयोग भएकाले यसले निकै राम्रो माइलेज दिने कम्पनीले दाबी गरेको छ ।

यी ४ कारण जसले तपाईको बाइक वा कारको इन्जिन सिज हुन्छ

अटोमोबाइल


काठमाडौं । मोटरसाइकल वा गाडीको इन्जिन सिज भएको हामीले सुनेका वा भोगेका छौ । आखिर के हो त इन्जिन सिज भनेको ? इन्जिन लक हुनु वा यो चल्न बन्द हुनु नै इन्जिन सिज हुनु हो । लापरवाहीका कारण पुरानो मात्र होइन, नयाँ सवारीसाधनको पनि इन्जिन सिज हुन सक्छ । त्यसमाथि नेपाली बटोको अवस्था र चालकले पनि चलाउँदा धेरै लापर्वाही गर्ने हुँदा इन्जिन नै सिज हुने गरेको छ ।

साधारण मोटरसाइकलको पनि इन्जिन सिज भएको खण्डमा ठूलो धनरासी खर्च हुन्छ । त्यसैले तपाईको सवारीसाधनमा यस्ता लक्ष्यण देखिएको छ भने तत्काल गाडी रोकेर ग्यारेजमा सम्पर्क गर्नुपर्छ । 

१. गाडी वा मोटरसाइकलको इन्जिन सिज हुनुको मूख्य कारण ओभर हिटिङ हो । साधन धेरै तात्यो भने यसको संकेत दिने प्रणाली सबै गाडी वा मोटरसाइकलमा दिइएको हुन्छ । यो कुरालाई कहिल्यै पनि बिर्सनु हुँदैन । यदि सवारीसाधनमा ओभर हिटिङको संकत बलिरहेको छ र तपाईले गाडी रोक्नुको सट्टा चलाई रहनु भयो भने तपाईको गाडी सिज हुन सक्छ ।

२. टाइमिङ बेल्ट वा टाइमिङ चेन टुट्नाले पनि इन्जिन सिज हुन्छ ।

३. इन्जिनको सिलिन्डरमा पानी पस्यो भने यसबाट पिस्टनमा नोक्सानी हुन्छ । यसबाट पनि इन्जिन सिज हुन्छ । खासगरी भारी पानीमा सवारीसाधन चलाउदा यस्तो समस्या आउन सक्छ । त्यसैले सवारीसाधन किन्दा दिइने म्यानुएल हेरेर आफ्नो गाडी कति गहिरो पानीमा चलाउन सकिन्छ सोही निर्देशाअनुसार चलाउनु पर्ने हुन्छ ।

नेपालको बिभिन्न क्षेत्रमा वर्षामा डुवान हुनेहुँदा सबै भन्दा धेरै गाडीको इन्जिन सिज पानीकै कारण हुने गरेको इन्जिनियरहरु बताउँछन् । उसोत पानीको कारण गाडीमा रहेको सम्पूर्ण वाइरिङ्गमा पनि समस्या आउने गरेको छ । 

४. खराब इन्धनका कारण पनि इन्जिन सिज हुन्छ । त्यसैले गुणस्तरीय पेट्रोल पम्पमा मात्र इन्धन भर्नु राम्रो हुन्छ । नेपालमा आउने तेलमा अझै प्रयोगकर्ताले ठुक्क हुने अवस्था आएको छैन । त्यसैले गाडीमा इन्धन हाल्दा सहि स्थानको छनोट गर्नु पर्छ ।