ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय मामृतात्॥
काठमाण्डौ - महाशिवरात्रि हिन्दू धर्मको एक प्रमुख पर्व हो, जुन आरध्यदेव भगवान शिवको आराधनामा मनाइन्छ। यो पर्व विशेषगरी फाल्गुन कृष्ण चतुर्दशी (फागुन महिनाको कृष्ण पक्षको १४औँ दिन) मा मनाइन्छ। आउनुहोस् शिवरात्रिको बारेमा केही जानकारी लिऔं ।
१. के हो त शिवरात्री ?
शिवप्रिया रात्रिः शिवरात्रिः अर्थात् कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्री हो । जुन रात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्री भनिन्छ । यस दिन शिवार्चनका साथै रात्रि–जागरणको विशेष महत्त्व भएकोले कल्याण चाहने साधकहरुले रातभर जागरण सहित विधिपूर्वक व्रत गर्नु पर्ने शास्त्रीय विधान छ । भगवान् शिवको निर्गुण निराकारबाट सगुण साकार रुपमा दिव्य अवतरणको मंगलसूचक रातको नाम नै महाशिवरात्री हो । भगवती पार्वतीको जिज्ञासामा शिव भन्नुहुन्छ – फागुन कृष्ण चतुर्दशीको रात्रि शिवरात्रीका नामले प्रसिद्ध छ । यस दिन व्रतोपवास गर्ने साधकले मलाई प्रसन्न गर्दछ ।
फाल्गुने कृणपक्षस्य या तिथिः स्याच्चतुर्दशी ।
तस्यां या तामसी रात्रिः सोच्यते शिवरात्रिका ।।
तत्रोपवासं कुर्वाणः प्रसादयति मां ध्रुवम् ।। (शिवपुराण)
२. शिवरात्री कहिले मनाउने वा मनाईन्छ त ?
महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ ।
माघफाल्गुनयोर्मध्ये या च कृष्णा चतुर्दशी ।
तस्यां जागरणादु्रद्रः पूजितो भुक्तिमुक्तिदः ।। (गरुडपुराण– १२४ अध्याय)
यस रात्रिलाई अर्धरात्रिव्यापिनी चतुर्दशी (जुन दिन आधारातसम्म चतुर्दशी तिथि हुन्छ त्यो) तिथिमा गर्नुपर्ने कुरा ईशान संहितामा उल्लेख गरिएको छ–
तत्कालव्यापिनी ग्राह्या शिवरात्रिव्रते तिथिः ।
अर्द्धरात्रादधश्चोर्द्ध्वं युक्ता यत्र चतुर्दशी ।।
व्याप्ता सा दृश्यते तस्यां तस्यां कुर्यात् व्रतं नरः ।।
चाहे यो तिथि पूर्वा (त्रयोदशी तिथिले युक्त) होस्, चाहे परा (चतुर्दशीयुक्त) होस् । फागुन कृष्ण चतुर्दशी तिथि आधा रातसम्म भएको दिन शिवरात्री व्रत गर्ने साधकले अनन्त फल प्राप्त गर्दछ भनी नारदसंहितामा उल्लेख गरिएको छ । यस सम्बन्धमा तीन ओटा पक्षहरु छन्–
१.चतुर्दशी तिथिलाई प्रदोषव्यापिनी (रातको सुरुवातमा मात्र भएको)
२.निशीथव्यापिनी (आधारातसम्म भएको)
३. उभय (दुवै) व्यापिनी । व्रतराज, निर्णयसिन्धु र धर्मसिन्धु आदि ग्रन्थहरुका अनुसार निशीथव्यापिनी चतुर्दशी तिथिलाई नै लिनु पर्दछ । अतः आधारातसम्म भएको चतुर्दशी तिथि नै मुख्य हो, तर यसको अभावमा प्रदोषव्यापिनीलाई लिने भएकोले यसलाई गौण मानिन्छ । त्यसैले पूर्वा अथवा परा दुवै अवस्थामा जुन निशिथव्यापिनी चतुर्दशी तिथि छ, त्यसैमा व्रत गर्नुपर्दछ भन्ने शास्त्रीय नियम छ ।
३. शिवरात्री र शिवको महिमा र महत्व ।
ज्योतिषशास्त्रका अनुसार फागुन कृष्ण चतुर्दशी तिथिमा चन्द्रमा सूर्यको नजिक हुन्छ । अतः त्यसै समय जीवनरुपी चन्द्रमाको शिवरुपी सूर्यसँग योग (मिलन) हुन्छ । यस चतुर्दशीमा शिवपूजा गर्नाले जीवलाई अभीष्टतम पदार्थको प्राप्ति हुन्छ ।
भगवान् शंकरमा अनुपम सामञ्जस्य, अद्भुत समन्वय र उत्कृष्ट सद्भावको दर्शन हुन्छ । त्यसैले वहाँको सत्प्रेरणाद्वारा विश्व–कल्याणको महान् कार्यमा प्रवृत्त हुनु मानवमात्रको परम कर्तव्य हो । भगवान् शिव अर्धनारीश्वर भएर पनि कामविजेता हुनुहुन्छ । गृहस्थ भएर पनि परम विरक्त हुनुहुन्छ । विषपान गरेका कारण नीलकण्ठ भएर पनि विषबाट अलिप्त हुनुहुन्छ । ऋद्धि–सिद्धिहरुका मालिक भएर पनि तिनीहरुबाट अलग हुनुहुन्छ । उग्र भएर पनि सौम्य र अकिंचन भैकन पनि सर्वेश्वर हुनुहुन्छ । निधारमा प्रलयकालको अग्नि र शिरमा परम शीतल गंगाजी वहाँको अनुपम शृंगारका रुपमा रहेका छन् । भगवान् शिवको सान्निध्यमा साँढे र सिंह त्यसैगरी मयूर र सर्पले एक–आपसमा रहेको वैरभावलाई सजिलै भुली एकसाथ क्रीडा गर्दछन् । यसले समस्त विरोधी भावहरुको विलक्षण समन्वयको शिक्षा दिने भएकाले विश्वलाई सह–अस्तित्व अपनाउनका लागि राम्रो मार्गनिर्देशन मिल्दछ ।
यसैगरी वहाँको श्रीविग्रहरूप शिवलिंग ब्रह्माण्ड र निराकार ब्रह्मको प्रतीक भएकोले सर्वपूज्य छ । निराकार ब्रह्मको कुनै रूप, रंग, आकार आदि नभए जस्तै शिवलिंगको पनि छैन । जसरी गणितमा शून्य केहि नभएर पनि सबथोक हुन्छ । जस्तै कुनै अंकको दाहिने भएर शून्यले त्यसको दशगुणा मूल्य गरिदिन्छ । त्यसैगरी शिवलिंगको पूजाबाट भगवान् शिव पनि दाहिने भएर मानवमात्रलाई अनन्त सुख–समृद्धि प्रदान गर्नुहुन्छ ।
४. शिवरात्री चतुर्दशीमा नै किन मनाईन्छ त ?
ज्योतिषशास्त्रका अनुसार प्रतिपदा आदि १६ ओटा तिथिहरुको अग्नि आदि गरिएका देवताहरु स्वामी हुन्छन् । अतः जुन तिथिको जुन देवता स्वामी हुन्छन्, ती देवताको त्यसै तिथिमा व्रत, पूजा आदि गर्नाले उनको विशेष कृपा उपासकलाई प्राप्त हुन्छ । चतुर्दशी तिथिका स्वामी शिव हुन् अर्थात् भगवान् शिवको तिथि भनेको चतुर्दशी हो । त्यसैले यस तिथिको रातिमा व्रत गरिने भएकोले यस व्रतको नाम शिवरात्रि रहन गयो । यसैगरी प्रत्येक महिनाको कृष्णपक्षको चतुर्दशी तिथिमा पनि शिवरात्री व्रत हुन्छ, जसलाई महाशिवरात्री व्रत भनिन्छ ।
शिवभक्तहरु प्रत्येक कृष्णचतुर्दशीमा व्रत गर्ने गर्दछन् तर फागुन कृष्ण चतुर्दशी तिथिको आधारातमा आदिदेव भगवान् शिव करोडौँ सूर्यको समान तेज सहित लिंग रुपमा प्रकट हुनु भएकोले यो पर्व महाशिवरात्रीका नामले प्रसिद्ध भएको कुरा ईशानसंहितामा उल्लेख गरिएको छ–
फाल्गुनकृष्णचतुर्दश्यामादिदेवो महानिशि ।
शिवलिङ्गतयोद्भूतः कोटिसूर्यसमप्रभः ।।
यो व्रत ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री–पुरुष र बालक–युवा–वृद्ध आदि सबैले गर्न सक्दछन् । प्रत्येक एकादशी व्रत लगायत अन्य व्रतहरु जस्तै महाशिवरात्रि व्रत पनि सबैले गर्नुपर्दछ । नगरिएको खण्डमा दोष लाग्दछ ।
५. महाशिवरात्रिमा बसिने व्रतको महत्त्व के छ त ?
महाशिवरात्रीको दिन भगवान् शिवको उपासना गर्नाले उपासकलाई भोग एवं मोक्ष दुवैको प्राप्ति हुने कुरा शिवपुराणको कोटिरुद्रसंहितामा उल्लेख गरिएको छ । ब्रह्मा, विष्णु र पर्वतीले सोधेपछि भगवान् शिवले भन्नुभयो– शिवरात्रि व्रत गर्नाले महान् पुण्यको प्राप्ति हुन्छ । मोक्षार्थीलाई मोक्षको प्राप्ति गराउने भएकाले चार व्रतहरुको नियमपूर्वक पालना गर्नुपर्दछ ।
ती चार व्रत यस प्रकार छन्– १. भगवान् शिवको पूजा, २. रुद्रमन्त्रको जप, ३. शिवमन्दिरमा उपवास र ४. काशीमा देहत्याग । शिवपुराणमा मोक्षमार्गका नामले प्रसिद्ध यी चार मार्गहरु मध्ये पनि शिवरात्रीव्रतको विशेष महत्त्व भएकोले यसलाई अवश्य गर्नुपर्दछ । किनकि वहाँले हामीलाई काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यादि विकारहरुबाट मुक्त गरी परम सुख, शान्ति, ऐश्वर्यादि प्रदान गर्नुहुन्छ ।
शिवपुराणका अनुसार प्रत्येक महिनाको शिवरात्रिव्रत भन्दा फागुन कृष्ण चतुर्दशीको दिन मनाइने महाशिवरात्री व्रतको विशेष महिमा भएको कुरा प्रष्ट हुन्छ । यो सबैका लागि धर्मप्राप्तिको उत्तम साधन हो । निष्काम अथवा सकाम भावले सबै मानिस, वर्ण, आश्रम, स्त्री, बालक र देवताहरुका लागि समेत यो महाव्रत परम हितकारक मानिएको छ । भगवान् शिव अभिषेक, वस्त्र, धूप, अर्चन तथा पुष्पादिसमर्पणबाट भन्दा व्रत–उपवासबाट धेरै खुसी हुने कुरा यस कथनबाट प्रष्ट हुन्छ–
न स्नानेन न वस्त्रेण न धूपेन न चार्चया ।
तुष्यामि न तथा पुष्पैर्यथा तत्रोपवासतः ।। (शिवपुराण)
६. शिवपूजा रातिमा नै किन गरिन्छ त ?
अन्य देवताहरुको पूजा एवं व्रतादि कार्य प्राय दिनमा नै हुन्छन् भने भगवान् शिवलाई रात्रि नै किन प्रिय भयो ? र त्यो पनि फागुन कृष्ण चतुर्दशी तिथि नै किन ? भन्ने जिज्ञासाको समाधानका सन्दर्भमा विद्वान्हरुको कथन छ– भगवान् शंकर संहारशक्ति र तमोगुणका अधिष्ठाता हुनुहुन्छ । त्यसैले तमोमयी (तमोगुणले युक्त) रात्रिसँग वहाँको स्नेह हुनु स्वाभाविक नै हो । रात्रि संहारकालको प्रतिनिधि हो । त्यसको आगमनसँगै सर्वप्रथम प्रकाशको संहार हुन्छ । त्यसैगरी समस्त जीवको दैनिक कर्मचेष्टाहरु पनि समाप्त हुन्छन् र अन्त्यमा निद्राद्वारा चेतनाको पनि नाश भई सम्पूर्ण विश्व संहारिणी रात्रिको काखमा अचेतन भएर खस्दछ । अतः प्राकृतिक दृष्टिले भगवान् शिवलाई रात्रि प्रिय भएको कुरा सहजै प्रष्ट हुन्छ । स्कन्दपुराणका अनुसार रातको चारै प्रहरहरुमा शिवको पञ्चामृत स्नान सहित विशेष प्रकारले पूजा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।
ततो रात्रौ प्रकर्तव्यं शिवप्रीणनतत्परः ।
प्रहरे प्रहरे स्नानं पूजाञ्चैव विशेषतः ।।
त्यसैले भगवान् शिवको आराधना शिवरात्रिको दिनमा मात्र नभई अन्य समयमा समेत प्रदोष (रात्रिको प्रारम्भ) मा नै गर्नु उपयुक्त मानिन्छ ।
७. कृष्णपक्षमा नै गर्नुको रहस्य के हो त ?
महाशिवरात्री कृष्णपक्षमा नै हुनुमा पनि ठूलो रहस्य लुकेको छ । शुक्लपक्षमा चन्द्रमा पूर्ण (सबल अर्थात् सम्पूर्ण कलाले युक्त) हुन्छ भने कृणपक्षमा क्षीण हुन्छ । चन्द्रमाको कलाको वृद्धिसँगै संसारका सबै रसवान् पदार्थमा वृद्धि र क्षयसँगै तिनीहरुमा ह्रास आउनु स्वाभाविक एवं प्रत्यक्ष छ । चन्द्रमा क्रमशः घट्दै औंशीको दिन पूरै क्षीण हुन्छ । त्यसको प्रभाव अण्ड–पिण्डवाद अनुसार मनका अधिष्ठाता भूमण्डलका समस्त प्राणीहरुमा पनि पर्दछ र उन्मना (उत्कण्ठित चित्त भएका) जीवहरुको अन्तःकरणमा तामसी शक्तिहरु प्रबुद्ध भई अनेक प्रकारका नैतिक एवं सामाजिक अपराधका कारण बन्दछन् । आध्यात्मिक भाषामा यिनै शक्तिहरुको अर्को नाम भूत–प्रेत आदि हुन्छ ।
शिवलाई यिनीहरुको नियामक मानिन्छ । जगदात्मा सूर्यको स्थितिले गर्दा दिनमा आत्मतत्व जागरुक हुने भएकाले यी तामसी शक्तिहरुले आफ्नो विशेष प्रभाव देखाउन सक्दैनन् । तर चन्द्रमा विहीन अन्धकारमय रात्रिको आगमनसँगै ती तत्त्वहरुले आफ्नो प्रभाव देखाउन थाल्दछन् । अतः जसरी पानी आउनु पूर्व पुल बनाइन्छ । त्यसैगरी यो चन्द्रक्षय (औंसी) तिथि आउनु भन्दा सद्यः पूर्व (अघिल्लो दिन) नै ती सम्पूर्ण तामसी वृत्तिहरुको एकमात्र अधिष्ठाता भगवान् आशुतोषको आराधना गर्ने विधान शास्त्रकारहरुले गर्नुभएको छ । विशेष गरी कृष्णचतुर्दशीकै रात्रिमा शिवको आराधना गर्नुको मुख्य रहस्य यही हो ।
८. फागुनमा नै गर्नुको कारण के हो त ?
प्रत्येक महिनाको कृष्णपक्षको चतुर्दशीलाई शिवरात्री मानिएकोले ती दिनहरुमा पञ्चांगमा समेत यही नाम लेखिन्छ । तर फागुन महिनाको शिवरात्रीलाई भने महाशिवरात्री भनिन्छ । जसरी औंसी तिथिको नकारात्मक प्रभावबाट बच्नका लागि त्यसको ठीक एक दिन अगाडि चतुर्दशीको दिन यो उपासना गरिन्छ, त्यसैगरी क्षय ९समाप्त० हुँदै गरेको वर्षको अन्तिम महिना चैतको ठीक एक महिना अगाडि फागुनमा नै यो पर्व मनाउने विधान शास्त्रहरुमा पाइन्छ । जुन कुरा सबै प्रकारबाट युक्तिसंगत छ । त्यसैगरी रुद्रहरु एकादश संख्यात्मक ११० भएकाले पनि यो पर्व ११ औँ महिना अर्थात फागुनमा सम्पन्न हुनुले पनि फागुनमा गर्नुको रहस्यलाई प्रकाशित गर्दछ ।
९. उपवास र रातिमा जागा बस्नुको रहस्य के हो त ?
हाम्रा पूर्वज ऋषि–महर्षिहरुले सम्पूर्ण आध्यात्मिक अनुष्ठानहरुमा उपवासलाई महत्त्वपूर्ण मानेका छन् ।
विषया विनिवर्तन्ते निराहारस्य देहिनः । (गीता– २।५९)
गीताको यस भनाई अनुसार उपवासलाई विषय निवृत्तिको अचूक साधन मानिएको छ । अतः आध्यात्मिक साधनाका लागि उपवास बस्नु अत्यावश्यक हुन्छ । उपवासका साथै रात्रिजागरणको पनि उत्तिकै महत्त्व छ । गीतामा भनिएको पनि छ –
या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी । (२।६९)
अर्थात् उपवास आदिद्वारा इन्द्रियहरु र मनलाई नियन्त्रण गर्ने संयमी व्यक्ति नै रातमा जागा बसी आफ्नो लक्ष्यप्राप्तिमा अग्रसर हुन सक्दछ । त्यसैले भगवान् शिवको उपासनाका लागि उपवास र रात्रि(जागरणको ठूलो महिमा छ । रात नै प्यारो लाग्ने भगवान् शिवप्राप्तिको समय रात्रि भन्दा बाहेक अरु कुन हुन सक्दछ रु अतः यी कारणहरुले गर्दा यस महान् पर्वमा शिवभक्तहरु उपवासका साथै रातिमा जागा बसी विधिपूर्वक शिवपूजा गर्ने गर्दछन् ।
(नोटः यो लेखलाई विभिन्न श्रोतहरुवाट आम पाठकहरुको जानकारीको लागी तैयार गरिएको हो । -Publisher/ Editor)
काठमाडौं - चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । उक्त अवसरमा स्व. सिटौलाको तस्बिरमा माल्यार्पण गर्दै वरिष्ठ पत्रकार तथा कलाकारहरूले उहाँप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।
संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा अध्यक्ष बलामीले कम्तीमा १० लाख रुपैयाँभन्दा माथिको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभयो । हरेक वर्ष माघ १८ गते स्व. दिनेश सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गर्ने तथा संघको वार्षिक उत्सवका अवसरमा ‘स्व. दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गर्ने उद्देश्य सहित उक्त अक्षय कोष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख अतिथि दिनेश डिसीले स्व. सिटौलाको नेपाली चलचित्र उद्योग र चलचित्र पत्रकारितामा रहेको योगदानको स्मरण गर्दै अक्षय कोषमा सहयोग गर्न सबैसँग अपिल गर्नुभयो । उहाँले स्व. सिटौलाले पुराना तथा नयाँ पुस्ताका पत्रकार र चलचित्रकर्मीहरूबीच सहकार्य र सहजीकरणको वातावरण सिर्जना गर्दै आएको उल्लेख गर्दै बोर्डका तर्फबाट अक्षय कोषमा रु. ५१ हजार सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो ।
त्यसैगरी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै स्व. सिटौलाको योगदानको चर्चा गर्नुभयो । उहाँले स्व. सिटौला मिलनसार, सहयोगी भावना र सकारात्मक सोचका धनी व्यक्तित्व भएको उल्लेख गर्दै व्यक्तिगत रूपमा रु. १० हजार सहयोग प्रदान गर्नुभयो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष विदुर गिरी, सल्लाहकार डब्बु क्षेत्री तथा वरिष्ठ चलचित्र पत्रकारहरू ध्रुव लम्साल, जयन सुब्बा मानन्धर, कृष्ण भट्टराई, दीपज्योति थापा, रोयल आचार्यलगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्व. सिटौलाको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव रघुनाथ सापकोटाले गर्नुभएको थियो भने समापन उपाध्यक्ष कुवेर गिरीले गर्नुभएको थियो ।
स्थापित अक्षय कोषमा विभिन्न संघ–संस्था तथा व्यक्तिहरूबाट सहयोग घोषणा गरिएको छ । ओएसआर डिजिटलले रु.३१ हजार, चलचित्र लेखक प्रदीप भारद्वाजले रु. २५ हजार, निर्माताद्वय सरोज वली र मोहितवंश आचार्यले रु. २५ हजार, षट्कोण आट्र्सले रु. २५ हजार, दिलासा क्रिएसनका तर्फबाट वरिष्ठ चलचित्र पत्रकार लक्ष्मण सुवेदीले रु. ११ हजार तथा चलचित्र ‘राम नाम सत्य’ टिमले रु. १० हजार सहयोग घोषणा गरेका छन् । यसअघि चलचित्र पत्रकार तथा अन्य सहयोगी निर्माता एवं व्यक्तिहरूबाट रु. ३ लाखभन्दा बढी सहयोग संकलन भइसकेको संघले जनाएको छ ।
यसैबीच, प्रदर्शनको ५१औँ दिनको अवसरमा चलचित्र ‘झरी पछिको इन्द्रेणी’ टिमले अक्षय कोषका लागि रु. १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउँदै थप सहयोग संकलन गरिएको जानकारी दिइएको छ । कोषमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूको सूची संघले क्रमशः औपचारिक रूपमा सार्वजनिक गर्दै जाने जनाएको छ ।
काठमाडौं - साहित्यकार लेखनाथ पोखरेलको नियात्रा संग्रह ‘फकलीको गाउँ’ अंग्रेजी संस्करणमा पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई विषयवस्तु बनाएर पस्किएको कृति ‘फकलीको गाउँ’को अंग्रेजी संस्करण पाठकमाझ आएको हो ।
यात्रा वृत्तान्तमा आधारित विभिन्न शीर्षकमा दिएर बाईस गुच्छाहरूको संगालोको रूपमा तयार पारिएको कृतिमा लेखकले विविध प्रसंगको संग्रह गर्नुभएको छ ।
कृतिमा ‘ऐँसेलुखर्कको चिठ्ठा, मैले देखेको मधेस, लुइँचको शिकार, पशुपतिको टुँडाल, खार्पादेखि खार्पासम्म, लालबहादुर शास्त्रीसँगको भेट, अक्कुम आओ, बियरको पहिलो घुट्को, सिलाङ धुम्न जाँदा, मेरो पहिलो जागिर, ओलाङ्चुंगोलाको रोमाञ्चक यात्रा, ऐतिहासिक मिल्सएरिया, फकलीको गाउँ, ओडारका मान्छे, तमोरको खोच, इलामदेखि सिंगापुरसम्म, दुल्लु पुग्दा, नेपाल बन्द, वरुण उपत्यकादेखि बाह्रबिसेसम्म, रिडीको खाष्टो, हिमालपारिको जिल्ला जाँदा र मेलवर्न घुम्न जाँदा जस्ता शीर्षकमा लेखकले यात्रा गर्दा देखेका, भोगेका, अनुभव गरेका र ऐतिहासिक तथ्य पस्कनु भएको छ । ‘धरणीमा मेरो यात्रा’बाट सुरु गरिएको कृतिमा नागाल्याडको संस्कृति भुटान नरेशको प्रसंगमा पनि यसमा समेटिएको छ ।
कृतिमा लेखकले उहाँका जीवनका बाल्यकालदेखि यौवनसम्मका स्मृतिहरू, विद्यार्थीकालका अनुभव र अनुभूति, जागिरे जीवनका भोगाइ र अवकाश प्राप्त जीवनका अनुभवहरू जस्ता चार कालखण्डलाई बढो रोचक, सन्देश मूलक, तथ्यपरक र ज्ञानबर्द्धक रूपमा पस्किएको महाकाव्यकार खेमनाथ दाहाल बताउनुहुन्छ ।
‘लेखक लेखनाथ पोखरेलले अत्यन्तै सरल भाषा र पठनीय शैलीमा ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, राजनीतिक र राष्ट्रियचेतले ओतप्रोतयुक्त यात्रा विवरणका रूपमा प्रस्तुत गर्नुभएको छ कृतिमा’, स्रष्टा दाहालले भन्नुभयो, ‘नेपाली संस्करण जस्तै अंग्रेजीलाई पनि पाठकले मन पराउनेछन् ।’
आफूले देखेका भोगेका अनुभूति र यात्रा विवरणलाई यस कृतिमा उतार्ने कोसिस गरेको भन्दै लेखक पोखरेलले ‘आफ्नो अतीतलाई उधार्ने र आफ्नो स्मृतिलाई तिखार्ने प्रयासपछि बितेका क्षणका अनगिन्ती कुराको स्मणको ठूलै संगालो आफूभित्र जम्मा हुन पुग्यो, ती सबै संस्मरणलाई लिपिबद्ध गर्ने जमर्कोले यो कृति तयार भएको हो’, भन्नुभयो । उहाँले अंग्रेजी संस्करणको पनि माग भएको हुँदा यसै रूपमा पाठकमाझ आएको बताउनुभयो ।
नेपाली संस्रकणको पत्रकार/लेखक कृष्ण भुसालले सम्पादन गर्नुभएको थियो भने महाकाव्यकार खेमनाथ दाहालको भूमिका छ । आशिष पोखरेल प्रकाशक रहनु भएको २२४ पृष्ठको यस कृतिको मूल्य ४५० रुपैयाँ राखिएको छ ।
काठमाण्डौ - गायक सानुबाबु महर्जनको नेपाल भाषाको नुगः या मिखां र नेपाली भाषाको तिम्रो याद गरी दुई एल्बम गत हप्ता ज्यापु प्रज्ञा भवनमा ललितपुरमा एक समारोहका विच विमोचन गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उक्त दुई एल्बमको विमोचन गर्नु भएको हो । उक्त समारोहमा बरिष्ठ गायिका तथा प्राज्ञ संगीत राना प्रधान, संगीतकार जुगल डंगोल, संगीतकार भुपेन्द्र रायमाझी, गायक रत्न बेहोसी, गायक तथा समालोचक अमरराज शर्मा राजोपाध्याय, गायक जुजुकाजी रञ्जित, गायिका संगीता शाक्य, संगीतकार मनराजा नकर्मी, संचारकर्मी तथा गीतकार डब्बु क्षेत्री, चलचित्र निर्देशक माधब राज खरेल लगनयतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
नेपाली भाषातर्फ तिम्रो याद एल्बममा पाँचवटा गीतहरु समावेश गरिएको छ । जसमा, गीतकार दिनेश अधिकारीको शब्द, संगीतकार राजु सिँह संगीत तथा फिरोज बज्राचार्यको संगीत संयोजन रहेको तिम्रो मात मीठो बोलको गीत देखी लिएर डब्बु क्षेत्रीको शब्द , जुगल डंगोलको संगीत, संयोजन रहेको अनायासै तिम्रो याद गीत पनि उक्त एल्बममा समावेश गरिएको छ । अनायासै तिम्रो याद गीतमा भने सानुबाबुलाई गायनमा गायिका निशा देशारले पनि साथ दिनु भएको छ । त्यस्तै गरी श्रीपुरुष ढकालको शब्द तथा भूपेन्द्र रायमाझीका संगीत, संयोजन संयोजन रहेको धेरै धेरै माया दिएर बोलको गीत पनि उक्त एल्बममा समावेश गरिएको छ । उक्त एल्बममा अमरराज शर्मा राजोपाध्यायको शब्द, संगीत र जुगल डंगोल संगीत संयोजन रहेको गीत कसैले त रक्सी भन्छन् र जुगल डंगोलको शब्द, संगीत तथा संगीत सयोजन रहेको यस्तै होकि माया भन्नु बोलको गीत समेत समावेश गरिएको छ ।
त्यस्तै नेपाल भाषाको एल्बम नुगः या मिखां मा आठवटा गीतहरु समावेश गरिएको छ । जसमा, सानुबाबु महर्जनको स्वर, शब्द, संगीत र भूपेन्द्र बज्राचार्य संगीत संयोजनमा नग्या मिसा, सानुबाबु महर्जनकै स्वर, शब्द, संगीत तथा जुगल डंगोलको संगीत संयोजन रहेको गीत हिँसि दुख मयु पनि एल्बम नुगः या मिखां मा समावेश रहेको छ । हिँसि दुख मयु गीतमा गायक महर्जनलाई गायिका निशा देशारले साथ दिनु भएको छ । त्यस्तै दुर्गालाल श्रेष्ठको शब्द तथा सानुबाबु महर्जनको स्वर, संगीत तथा जुगल डंगोलको संगीत संयोजन रहेको ख्वमाल ख्वका बोलको गीतका साथै धर्मकृष्ण सिकर्मीको शब्द, सानुबाबु महर्जनको स्वर, संगीत तथा रबिक धाय को संगीत संयोजन रहेको गीत व स्वःसां वाला, रेखा भाय को शब्द, सानुबाबु महर्जनको स्वर, संगीत तथा सुमन कपालीको संगीत संयोजन रहेको गीत छुं छुं म्हाय, सानुबाबु महर्जन को स्वर, शब्द र संगीत तथा रबिक धाय को संगीत संयोजन छुं मयु जित, दुर्गालाल श्रेष्ठ को शब्द तथा जुगल डंगोल संगीत संयोजन रहेको मां यः मां बोलको गीतलाईपनि उक्त एल्बममा समावेश गरिएको छ । त्यसैगरी जगमोहन वामि को शब्द, संगीत र जुगल डंगोल संगीत संयोजन जिमि कला तरक भिं पनि उक्त एल्बममा समावेश गरिएका गीतहरु हुन् ।
उक्त समारोहमा दुईवटा म्यूजिक भिडियोहरु क्रमशः हिसि दुम्ह मयजु र मस्यु जितः छु जु छु जु पनि प्रस्तुत गरिएको थियो । प्रस्तुत गीतका कलाकार, निर्देशक, छाँयाकार तथा प्राविधिकहरुको पनि उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।
समारोहलाई संचारकर्मी तथा कार्यक्रम संञ्चालक सुरज बज्रचार्यले सहजीकरण गर्नु भएको थियो भने उक्त समारोहमा दुवै एल्मबमा सहभागी कलाकार, श्रष्टा तथा सर्जकहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । दर्शक तथा समर्थकहरुको बाक्लो उपस्थितीमा सम्पन्न गरिएको समारोहको सभापतित्व ज्यापु समाजको प्रथम उपाध्यक्ष शर्मिला महर्जनले गर्नु भएको थियो ।

काठमाण्डौ– नेपाली सुगम संङ्गीतको क्षेत्रको लागी एक लोकप्रिय नाम हो गायिका अन्जना गुरुङ । गायिका अञ्जना गुरुङले विगत दुई दशक भन्दा लामो समयदेखी नेपाली गीत सङ्गीतका विभिन्न विधाहरुमा आफ्नो जादुमय स्वर प्रस्तुत गर्दै आउनु भएको छ साथै उहाँ चलचित्रको पाश्र्वगायनमा पनि सफल गायिकाको रुपमा चिनिनहुन्छ ।
यहि कार्तिक २१ गते शुक्रबारका दिन काठमाण्डौमा टिका गोपाल एम्. क्रियशनले गायिका गुरुङको एकल साङितिक कार्यक्रम–२०८२ को आयोजनामा गर्ने भएको छ । उक्त दिन गायिका अञ्जना गुरुङको लोकप्रिय गीतहरुको प्रस्तुती हुुने आायोजक टिका गोपाल एम्. क्रियशनका अध्यक्ष गीत सिंहले बताउनु भयो । गायिका गुरुङका “आँखैमा राख्छु मेरो देश, म त काली सुन्दरी, बदनाम भए म तिम्रै कारणले, आँधी सारी तिम्रो माया, ठ्याक्कै भेटौंला, नजर नजरको, जसले मुटु चुडेर लग्यो, माईला रोधी घरमा (कौडा), मान चाहे नमान तिमी मेरो हौ " लगायत सयौं गीतहरु चर्चामा रहेका छन् ।
नेपाली सांङ्गीतिक जगतमा गयिका गुरुङ एक परिचित र सम्मानित नाम हो। नेपाली सुगम संङ्गीतदेखि चलचित्रको पाश्र्वगायनसम्म, उहाँले आफ्नो जादुमय स्वर प्रस्तुत गर्दै आईरहनु भएको छ । सादगीपूर्ण व्यक्तित्व र सालिन र भद्र स्वभावकी गायिका गुरुङको आफ्नो छुट्टै जादुमय स्वरका कारणले पनि नेपाली सांङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै स्थान रहेको छ। गायिका अञ्जना गुरुङको एकल सांङ्गीतिक कार्यक्रम केवल मनोरञ्जनको अवसर मात्र पनि होइन, नेपाली संङ्गीतप्रति र गयिका गुरुङ प्रति कृतज्ञता प्रकट गर्ने एउटा मञ्च पनि हो।
गायिका गुरुङको एकल साङितिक कार्यक्रम–२०८२ को विशेष अवसर पारेर गायिका गुरुङको संरक्षकत्व तथा नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” लाई पनि सोही समारोहमा प्रदान गरिने भएको छ । नगद एकाउन्न हजारको पुरस्कार राशी रहेको उक्त पुरस्कार यसवर्ष बरिष्ठ गायक कमल बि.क. “निर्मोही” लाई प्रदान गरिने भएको छ ।
नेपाली गीतहरुलाई सम्वद्र्धन तथा प्रवद्र्धन गर्नको लागी विगत लामो समयदेखी सक्रिय रहेका कमल बि.क. “निर्मोही” मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरुलाई नेपाली श्रोता तथा दर्शक माझ प्रस्तुत गर्दै आईरहनु भएको छ गायक नर्मोही पछिल्लो समय मृगौला रोगबाट समेत पिँडित छन् ।
यस अघि “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार” बाट बरिष्ठ गायिका चन्द्रकला शाह (२०७८), बरिष्ठ गीतकार बिश्व बल्लभ (२०७९), बरिष्ठ बाध्यबादक कृष्ण गन्धर्ब (२०८०) र बरिष्ठ लोकगायक रेशम थापा (२०८१) सम्मानित एवम् पुरस्कृत भईसक्नु भएकोछ ।
काठमाण्डौ– नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको नगद ५१,००० (एकाउन्न हजार) रुपैयाँ राशी सहितको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” यसवर्ष बरिष्ठ गायक कमल बि.क. “निर्मोही” लाई प्रदान गरिने भएको छ ।
नेपाली गीतहरुलाई सम्वद्र्धन तथा प्रवद्र्धन गर्नको लागी विगत लामो समयदेखी सक्रिय रहेका कमल बि.क. “निर्मोही” मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरुलाई नेपाली श्रोता तथा दर्शक माझ प्रस्तुत गर्दै आईरहेका छन् । विशेषतः गायक “निर्मोही” का “बुलबुल तालैमा, आउँ त भने, मैले भन्थे नी, सलल बग्ने, ताने झै माया, अरु मैले, बनको फुल फुलेछ, कठै सानु, भेरी दोभान, लाग्यो माया” लगायत दर्जनौँको संख्यामा रहेका उनका गीतहरु चर्चामा रहेका छन् । गायक निर्मोही प्रसिद्ध रेडियोकर्मी पनि हुन् ।
विशेष गरी कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार तथा सम्मानको उद्देश्य भनेको नेपाली सङ्गीत क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका अग्रज श्रष्ठा तथा कलाकारहरुलाई जीवीत रहँदै सम्मान पत्र सहितको नगद पुरस्कारबाट पुरस्कृत गर्नु रहेको यस पुरस्कारका संरक्षक गायक तथा सङ्गीतकार कन्हैया सिंह परियाले बताए । जुन पुरस्कार र सम्मानले सम्मान्नित हुने अग्रज श्रष्ठाको मनमा खुशी र जीवनमा थप सकारात्मक सोंच र उर्जाको बृद्धि होस् ।
टिका गोपाल डिजिटल एम्. क्रियशन प्रा.लि.का संचालक तथा कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार समितिका अध्यक्ष गीता सिंह र पुरस्कार छनौट समिति तथा कार्यक्रम संयोजक सङ्गीतकार सन्तोष श्रेष्ठद्धारा सयूक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा गायक निर्मोहीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।
कार्तिक महना भित्रै काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि गायक निर्मोहीलाई ५१,००० (एकाउन्न हजार) रुपैयाँको नगद सहितको पुरस्कार र सम्मान पत्रद्धारा सम्मानित गरिने विज्ञप्तीमा भनिएको छ । गायक नर्मोही पछिल्लो समय मृगौला रोगबाट समेत पिँडित छन् ।
यस अघि “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार” बाट बरिष्ठ गायिका चन्द्रकला शाह (२०७८), बरिष्ठ गीतकार बिश्व बल्लभ (२०७९), बरिष्ठ बाध्यबादक कृष्ण गन्धर्ब ( २०८०) र बरिष्ठ लोकगायक रेशम थापा (२०८१) सम्मानित एवम् पुरस्कृत भईसकेका छन् ।
काठमाडौं - नेपाल सरकारले काभ्रेपलाञ्चोकको बनेपामा निर्माणाधिन अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपाः स्टुडियो’का लागि तीन करोड रुपैयाको अनुदान बजेट प्रदान गर्ने भएको छ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच शुक्रबार उक्त सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर सम्पन्न भएको हो ।
‘सिनेपाः स्टुडियो’ नेपाली चलचित्र उद्योगलाई प्रविधिक रूपमा सशक्त बनाउन, निर्मातालाई एकीकृत स्थानमा सवै प्रकारका सेवाहरु प्रदान गर्न का लागी र अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम नेपाली चलचित्र बनाउन बनाउन लक्षित परियोजना रहेको बोर्डका अध्यक्ष डिसीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘काभ्रेपलाञ्चोकको जिल्लको ऐतिहासिक शहर बनेपामा निर्माण भइरहेको सिनेपाः स्टुडियो नेपाली चलचित्र उद्योगका लागि नयाँ युगको सुरुआत हुनेछ, यो केबल स्टुडियो होइन, हाम्रो चलचित्र क्षेत्रको भविष्यमाथीको लगानी हो ।’
यसमा अत्याधुनिक फिल्म छायाङ्कन, ध्वनि रेकर्डिङ, सम्पादन, ‘भिजुअल इफेक्ट्स’, रङ्ग संयोजन र ‘पोस्ट–प्रोडक्सन’ सुविधा रहनेछन् । सिनेपाःको निर्माण सम्पन्न भएपछि नेपाली चलचित्रकर्मीलाई विदेशमा गएर चलचित्रको प्राविधिक काम महँगोमा गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास चलचित्रकर्मीहरुको रहेको छ ।
उक्त सम्झौता गर्दाको बखतामा चलचित्र विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई र योजना अधिकृत गिरीश शर्मा लगायतको पनि उपस्थिति रहेको थियो।
काठमाडौ– नेपालीहरुको महान चाड बडा दशैं तथा विजया दशमी वर्षेनी मनाईने फगत एक चाड मात्रै होईन, यो त नेपाली समाजलाई एकै सूत्रमा बाँध्ने प्रमुख पर्व पनि हो । यस्ता पर्वहरुले हामी नेपालीहरुलाई एक सुत्रमा बाँध्ने गरको छ । समग्रमा भन्नु पर्दा दशैं तिहार तथा छट जस्ता पर्वहरुले पारिवारिक पुर्नमिलनको अवसर पनि बनाई दिएको छ । गाउँमा सामूहिक पूजापाठ, मेलापात, रमाइलो, सामूहिक भोजजस्ता गतिविधिले सामुदायिक सम्बन्ध बलियो हुन्छ । शहरमा पनि साथीभाइबीच भेटघाट र शुभकामना आदान–प्रदान हुन्छ । यस वर्षको दशैं पनि असोज ६ गते घटस्थापनाबाट सुरु भई २१ गते पुर्णिमाको दिनवाट समापन हुँदैछ । हुन त करिब दुई सातासम्म चल्ने यो पर्वले धार्मिक श्रद्धा, साँस्कृतिक परम्परा, सामाजिक एकता र आर्थिक गतिविधि सबैलाई जोड्ने काम गर्छ ।
दशैंको पहिलो दिन घटस्थापना नै सम्पूर्ण पर्वको आधार हो । यस दिन बिहानै साइत मिलाएर घर–घरमा कलश स्थापना गरिन्छ । कलशलाई शक्तिको प्रतीक मानिन्छ । त्यसैगरी, बालुवा थापेर जौ रोपिन्छ जसलाई जमरा भनिन्छ । दशौं दिनसम्म बढाइएको जमरा देवी दुर्गाको आशीर्वादको प्रतीकका रूपमा टीका थाप्दा प्रयोग गरिन्छ । घटस्थापनाले दुर्गा पूजाको औपचारिक शुरुवात जनाउँछ ।
घटस्थापनापछि लगातार नौ दिनसम्म देवी दुर्गाका नौ रूपहरूको विशेष पूजा आराधना हुन्छ, जसलाई नवरात्रि भनिन्छ । भक्तजन उपवास बस्छन्, मन्दिर–मन्दिरमा भीड लाग्छ र देवीस्थानहरूमा विशेष पूजा हुन्छ । द्वितीया, तृतीया र चतुर्थी भक्तजनले साधारण पूजा गर्ने र देवीको स्तुति गर्ने परम्परा हुन्छ । पञ्चमी र षष्ठी विशेष गरी परिवारजनले घरमै देवीको पूजा गर्ने दिन मानिन्छ ।
सप्तमी अर्थात फूलपाती– यस दिन गोरखाबाट विशेष विधिमा ल्याइएको फूलपाती काठमाडौं स्थित दशैघरमा भित्राईने परम्परा रहँदै आएको छ । यसै दिन देवीको प्रतीकका रूपमा आम नेपालीहरुले आ–आफ्नो घरमा फूलपातीलाई भित्राउने गर्दछन् अर्थात जमरा राखिन्छ ।
अष्टमी अर्थात महाअष्टमी– यस दिनलाइ महाअष्टमी पनि भनिन्छ यस दिन देवीलाई बलिप्रदान गर्ने चलन छ । शक्तिपीठ, मन्दिर र घर–घरमा विशेष पूजा–विधि हुन्छ। रातभर देवीको नाममा बलि दिने प्रचलन अझै पनि कतिपय ठाउँमा रहिआएको छ ।
नवमी अर्थात महानवमी – यस दिनमा विशेषत दशैं घरमा अस्त्र शस्त्रको पूजा गरिन्छ । यस दिन हातहतियार, मोटरगाडी तथा ईन्जिनहरुको समेत पनि पुजा गर्ने गरेको पाईन्छ । सेनादल, प्रहरीलगायत सुरक्षासंस्थामा यस दिनलाई विशेष पर्वका रूपमा मनाइन्छ । तुलजा भवानी र अन्य शक्तिपीठमा विशेष पूजा हुन्छ ।
दशौं दिन अर्थात विजया दशमी– यस दिनलाई पर्वको विशेष दिनको रुपमा मानिन्छ । धार्मिक विश्वास अनुसार दशमीको दिन देवी दुर्गाले महिषासुर नामक दैत्यलाई बध गरी सत्य र धर्मको विजय स्थापित गर्नुभएको थियो। यसैले यस दिनलाई “विजया दशमी“ भनिन्छ ।
(दशैमा नवदुर्गा देवीको पुजा तथा आरधना गर्दा प्रयोग गरिने मन्त्रहरुः पहिलो दिन–“ॐ देवी शैलपुत्र्यै नमः”, दोश्रो दिन– “ॐ देवी ब्रह्मचारिण्यै नमः”, तेस्रो दिन– “ॐ देवी चन्द्रघण्टायै नमः”, चौथो दिन–“ॐ देवी कुष्माण्डायै नमः”, पाँचौं दिन–“ॐ देवी स्कन्दमातायै नमः”, छैठौं दिन“ॐ देवी कात्यायन्यै नमः”, सातौं दिन–“ॐ देवी कालरात्र्यै नमः”, आठौं दिन– “ॐ देवी महागौर्यै नमः”, नवौं दिन– “ॐ देवी सिद्धिदात्र्यै नमः”)
दशैंको दशौं दिन अर्थात विजया दशमीको दिन घरका ज्येष्ठ सदस्यबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा परापुर्वकाल देखी चल्दै आएको छ र शो निरन्तरता आज पनि यथावत नै छ । आशीर्वादमा दीर्घायु, स्वास्थ्य, समृद्धि र प्रगतिका शुभकामना दिने गरिन्छ । परिवारका सदस्यहरू मात्र होइन, आफन्त, छिमेकी र समाजका अन्य व्यक्ति तथा दशैं विदेशमा रहेका आफन्तजनहरूसंग पनि भेटघाट गरी टीका लगाउने र शुभकामना साटासाट गर्ने चलनले आम रुपमा हामी नेपालीहरुलाई सामाजिक पनि बनाएको । टिका, जमरा लगाउने तथा आफन्तविचको भेट र आर्शिवाद लिने ठाउँ अनुसराको प्रचलनमा भने केही फरक पाईन्छ, कतै कतै विजया दशमीसंगै दशै सकियो भन्ने चलन पनि छ भने प्रायः ठाउँहरुमा पुर्णिमाको दिनसम्म पनि टिका जमरा ग्रहण गर्ने प्रचलन रहँदै आएको पाईन्छ ।
दशैं नजिकिँदै गर्दा बजारमा विशेष चहलपहल देखिन्छ । नयाँ कपडा, जुत्ता, गहना, खाद्यान्न, मासु, मिष्ठान्न आदिको बिक्री बढ्छ । कृषकले पनि वर्षभर मेहनत गरेर उत्पादन गरेका धान, तरकारी, फलफूल बजारसम्म पुर्याउने अवसर पाउँछन् । यसरी दशैंले समग्र रुपमा देशको अर्थतन्त्रलाई समेत चलामान बनाएको हुन्छ ।
समयसँगै दशैं मनाउने तरिका पनि परिवर्तन हुँदै गएको छ । पुराना पुस्ताले धार्मिक अनुष्ठानलाई बढी महत्व दिने गरेका छन् भने नयाँ पुस्ताले दशैंलाई सामाजिक भेटघाट र रमाइलोको अवसरका रूपमा लिन थालेका छन् । कतिपय शहरहरुमा पार्टी तथा भोजभतेरलाई बढी जोड दिएको पाईन्छ भने गाउँमा अझै पनि परम्परागत पूजा–विधि कायम छ । तर जसरी जे परिवर्तन भए पनि दशैंको मूल आत्मा भने परिवारलाई एकत्रित गर्ने, आशीर्वाद थाप्ने र मेलमिलाप गर्ने संस्कारमा केन्द्रित रहन्छ ।
दश दिनसम्मको धार्मिक विधि–विधानले नेपाली समाजमा श्रद्धा र आस्थाको भाव जागृत गराउनुका साथै टीकाले परिवार र समाजलाई अझ नजिक बनाउने गर्दछ । दुर्गा भवानीको आराधना, धर्मको विजय, सामाजिक मेलमिलाप र आर्थिक गतिविधिसहित दशैं नेपालीको जीवनमा केवल पर्व मात्र नभई सांस्कृतिक धरोहरका रूपमा स्थापित हुदै आएको छ ।
नेपालभर मनाइएको यस वर्षको विजया दशमीले फेरि एकपटक दशैं नेपालीको धार्मिक आस्था मात्र होइन, सांस्कृतिक पहिचान, सामाजिक सम्बन्ध र राष्ट्रिय एकताको पनि अभिन्न सूत्र हो भन्ने विश्वासलाई थप बलियो बनाउदै गएको छ ।
लेखकः कमला जोशी (सम्पादक, पावर न्यूज मासिक)
बनेपा — काभ्रेको निर्माण व्यवसायमा एक नयाँ आयाम थपिएको छ। बनेपा नगरपालिका–७, उग्रचण्डीस्थित पेट्रोल पम्पको पछाडि रहेको बनेपा मार्वल प्यालेस प्रा.लि. आजबाट औपचारिक रूपमा सेवा प्रारम्भ गरेको छ। नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा रिबन काट्दै शुभारम्भ गरिएको हो। नगर प्रमुख शाक्यले कार्यक्रममा शुभकामना व्यक्त गर्दै भने, "गुणस्तरीय सामाग्री स्थानीय बजारमै सहज रूपमा उपलब्ध हुने यो प्रतिष्ठानले निर्माण क्षेत्रमा नयाँ सम्भावना र विश्वासको जग बसाउनेछ।
निजी क्षेत्रको यस्ता लगानीले रोजगारी र आर्थिक प्रवाहमा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिएको छु।" उद्घाटन समारोहमा स्थानीय व्यवसायी, इन्जिनियर, निर्माण व्यवसाय संलग्नहरू, र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। झण्डै ३० वर्षको व्यवसायिक अनुभव र ४ करोड रुपैयाँभन्दा बढी लगानीमा सञ्चालनमा ल्याइएको यो प्रतिष्ठानबारे सञ्चालक सन्दिप अग्रवालले भने, "हामीले देश-विदेशका उत्कृष्ट ब्राण्डका सामाग्रीहरू अब बनेपामै उपलब्ध गराउने प्रण गरेका छौं। सेवा, गुणस्तर र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर व्यवसाय अघि बढाउनेछौं।" अंकित अग्रवालले प्रतिष्ठानमा उपलब्ध वस्तुहरूको विवरण दिँदै भने, "यहाँ टायल्स, मार्वल, ग्रेनाइट, बाथरुम फिटिङ्स, सेनेटरी सामान, पाइप फिटिङ्सलगायत निर्माण सामग्रीहरू थोक मूल्यमा उपलब्ध छन्।
सम्पूर्ण वस्तुहरू गुणस्तरीय र ब्राण्डेड छन्।" पङ्कज अग्रवालले ढुवानी सुविधाको उल्लेख गर्दै भने, "हामी काभ्रे जिल्लाभर निःशुल्क ढुवानी सेवा दिनेछौं। ग्राहकलाई समय, पैसा र झन्झटबाट बचाउन यो सेवा प्रभावकारी हुनेछ। हामी ‘मंगलम पाइप फिटिङ्स’को आधिकारिक डिस्टिब्युटर पनि हौं, जसले गर्दा उपभोक्तालाई भरपर्दो सेवा दिन सक्नेछौं।" विशेष रूपमा, बनेपा मार्वल प्यालेसमा कजारिया, लेमिनार, प्राइम, एटीएस, साउथ ग्रेनाइट, राजस्थानी मार्वल, ज्याक वार, केरोभिट बाथ वेर जस्ता अन्तर्राष्ट्रिय स्तरका ब्राण्डका सामाग्रीहरू सजिलै पाइनुका साथै सम्पूर्ण सामग्रीमा वारेन्टीसहितको सेवा प्रदान गरिने छ। स्थानीय इन्जिनियरले भने, "हामीजस्ता निर्माण व्यवसायीका लागि यस्ता प्रतिष्ठान स्वर्ग समान हुन्। पहिले काठमाडौँसम्म जानुपर्ने वस्तुहरू अब बनेपामै पाइने हुँदा समय र लागत दुवै बच्नेछ।"
समिर लामा/ काठमाण्डौ– गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको हालै सम्पन्न निर्वाचनले सुजन लामा मोक्तानलाई २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गर्दै नयाँ नेतृत्वको सुरुवात गरेको छ । पेशाले पर्यटन व्यवसायी तथा अन्तर्राष्ट्रिय अनुभवले भरिपूर्ण मोक्तानको विजयले एनआरएनए पोर्चुगलमा नयाँ ऊर्जा, स्वच्छ दृष्टिकोण र युवामुखी नेतृत्वको संकेत दिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर गरेका मोक्तानले भारत, दुबई, अष्ट्रिया र जर्मनीमा पर्यटन व्यवस्थापन तथा ग्लोबल डेस्टिनेसन सस्टेनेबिलिटी सम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् । नेपालमै सात वर्ष पर्यटन, कर्पोरेट र बैंकिङ क्षेत्रसँग जोडिएर काम गरिसकेका उनी पछिल्लो दशकदेखि पोर्चुगलको लिस्बनमा पर्यटन तथा सामाजिक अभियन्ताका रूपमा सक्रिय छन् । आफ्नो कार्यकालमा नेपाल–पोर्चुगल सम्बन्ध सुदृढ गर्ने योजना राखेको भन्दै मोक्तानले भने“ “एनआरएनए एउटा नाफारहित संस्था हो । त्यसलाई विवादमुक्त, पारदर्शी र नेपाली डायस्पोराको साझा थलो बनाउने हाम्रो उद्देश्य हो,” मोक्तानको अध्यक्षीय कार्ययोजना नेपाल र पोर्चुगलबीचको सम्बन्धलाई सांस्कृतिक, सामाजिक र आर्थिक क्षेत्रमा फैलाउने दिशामा केन्द्रित छ ।
विशेषगरी, पोर्चुगलको पर्यटकीय बजारबाट नेपालमा गुणस्तरीय टुर प्याकेजमार्फत पर्यटक पठाउने, नेपाली दूतावास र पोर्चुगिज संस्थाहरूसँग सहकार्य गरी संयुक्त कार्यक्रम गर्ने, सामाजिक मनोपरामर्श (काउन्सेलिङ) कार्यक्रममार्फत नेपाली समुदायमा एकता, समझदारी र समावेशी सोचको विस्तार गर्ने, युवाहरूलाई शिक्षा र रोजगारीको क्षेत्रमा वैधानिक मार्गदर्शन प्रदान गर्ने, र गैरराजनीतिक, सफा छविका अभियन्ताहरूलाई एनआरएन अभियानमा जोड्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
मोक्तानले संस्थाभित्र गुटबन्दी, स्वार्थ र सत्ता मोहका कारण संस्थाको प्रतिष्ठामा आँच पुगेको स्वीकार गर्दै अब समय व्यक्तिगत फाइदा होइन, साझा भविष्य मा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । साथै संस्था सधैं हाम्रो घरजस्तो हुनेछैन । त्यसैले आज गरिने कामहरू पारदर्शी, उत्तरदायी र दीर्घकालीन सोचले गरिनुपर्ने बताए । सुजन लामा मोक्तान एचएलसी संयोजक डा. शेष घलेद्वारा मान्यता प्राप्त अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । यसलाई एनआरएनए पोर्चुगलको पहिलो वैधानिक निर्वाचनका रूपमा समेत चिनिएको छ ।
मोक्तानले अब एनआरएनएको नाममा हुने कुनै पनि अनियमितता, मानव तस्करी, वा स्वार्थपूर्तिको खेल अब स्वीकार्य नहुने भन्दै एक दशक लामो अन्तर्राष्ट्रिय अनुभव र नेपालको गाउँदेखि अन्तर्राष्ट्रिय मञ्चसम्मको समझ राख्ने आफ्नोे प्रमुख लक्ष्य रहेको भन्दैे नेपाललाई विश्वको एक प्रमुख पर्यटन गन्तव्य बनाउने तर्फ विशेष जोड दिने समेत बताएका छन् । उनले एनआरएनए पोर्चुगलमार्फत “नेपाल भ्रमण वर्षको पुनःघोषणा” गर्ने सन्देशसहित विभिन्न संवाद, प्रदर्शन र अवार्ड कार्यक्रमहरू आयोजना गर्ने तयारी पनि गरिरहेका छन् । एनआरएनए पोर्चुगलमा सुजन लामा मोक्तानको आगमनले युवा नेतृत्वको सम्भावना, प्रस्ट दृष्टिकोण र संस्थागत सुधारको अपेक्षा गरिएको छ ।