धार्मिक, साँस्कृतिक र सामाजिक पर्वको संगम बडा दशैं

PNA

​​​​​​​बडा दशैं  वर्षेनी मनाईने फगत एक चाड मात्रै होईन,  यो त नेपाली समाजलाई एकै सूत्रमा बाँध्ने प्रमुख पर्व पनि हो

|
|


काठमाडौ– नेपालीहरुको महान चाड बडा दशैं तथा विजया दशमी वर्षेनी मनाईने फगत एक चाड मात्रै होईन, यो त नेपाली समाजलाई एकै सूत्रमा बाँध्ने प्रमुख पर्व पनि हो । यस्ता पर्वहरुले हामी नेपालीहरुलाई एक सुत्रमा बाँध्ने गरको छ । समग्रमा भन्नु पर्दा दशैं तिहार तथा छट जस्ता पर्वहरुले पारिवारिक पुर्नमिलनको अवसर पनि बनाई दिएको छ । गाउँमा सामूहिक पूजापाठ, मेलापात, रमाइलो, सामूहिक भोजजस्ता गतिविधिले सामुदायिक सम्बन्ध बलियो हुन्छ । शहरमा पनि साथीभाइबीच भेटघाट र शुभकामना आदान–प्रदान हुन्छ । यस वर्षको दशैं पनि असोज ६ गते घटस्थापनाबाट सुरु भई २१ गते पुर्णिमाको दिनवाट समापन हुँदैछ । हुन त करिब दुई सातासम्म चल्ने यो पर्वले धार्मिक श्रद्धा, साँस्कृतिक परम्परा, सामाजिक एकता र आर्थिक गतिविधि सबैलाई जोड्ने काम गर्छ ।

दशैंको पहिलो दिन घटस्थापना नै सम्पूर्ण पर्वको आधार हो । यस दिन बिहानै साइत मिलाएर घर–घरमा कलश स्थापना गरिन्छ । कलशलाई शक्तिको प्रतीक मानिन्छ । त्यसैगरी, बालुवा थापेर जौ रोपिन्छ जसलाई जमरा भनिन्छ । दशौं दिनसम्म बढाइएको जमरा देवी दुर्गाको आशीर्वादको प्रतीकका रूपमा टीका थाप्दा प्रयोग गरिन्छ । घटस्थापनाले दुर्गा पूजाको औपचारिक शुरुवात जनाउँछ ।

घटस्थापनापछि लगातार नौ दिनसम्म देवी दुर्गाका नौ रूपहरूको विशेष पूजा आराधना हुन्छ, जसलाई नवरात्रि भनिन्छ । भक्तजन उपवास बस्छन्, मन्दिर–मन्दिरमा भीड लाग्छ र देवीस्थानहरूमा विशेष पूजा हुन्छ । द्वितीया, तृतीया र चतुर्थी  भक्तजनले साधारण पूजा गर्ने र देवीको स्तुति गर्ने परम्परा हुन्छ । पञ्चमी र षष्ठी  विशेष गरी परिवारजनले घरमै देवीको पूजा गर्ने दिन मानिन्छ ।

सप्तमी अर्थात फूलपाती– यस दिन गोरखाबाट विशेष विधिमा ल्याइएको फूलपाती काठमाडौं स्थित दशैघरमा भित्राईने परम्परा रहँदै आएको छ । यसै दिन देवीको प्रतीकका रूपमा आम नेपालीहरुले आ–आफ्नो घरमा फूलपातीलाई भित्राउने गर्दछन् अर्थात जमरा राखिन्छ ।

अष्टमी अर्थात महाअष्टमी– यस दिनलाइ महाअष्टमी पनि भनिन्छ यस दिन देवीलाई बलिप्रदान गर्ने चलन छ । शक्तिपीठ, मन्दिर र घर–घरमा विशेष पूजा–विधि हुन्छ। रातभर देवीको नाममा बलि दिने प्रचलन अझै पनि कतिपय ठाउँमा रहिआएको छ ।

नवमी अर्थात महानवमी – यस दिनमा विशेषत दशैं घरमा अस्त्र शस्त्रको पूजा गरिन्छ । यस दिन हातहतियार, मोटरगाडी तथा ईन्जिनहरुको समेत पनि पुजा गर्ने गरेको पाईन्छ । सेनादल, प्रहरीलगायत सुरक्षासंस्थामा यस दिनलाई विशेष पर्वका रूपमा मनाइन्छ । तुलजा भवानी र अन्य शक्तिपीठमा विशेष पूजा हुन्छ ।

दशौं दिन अर्थात विजया दशमी– यस दिनलाई पर्वको विशेष दिनको रुपमा मानिन्छ । धार्मिक विश्वास अनुसार दशमीको दिन देवी दुर्गाले महिषासुर नामक दैत्यलाई बध गरी सत्य र धर्मको विजय स्थापित गर्नुभएको थियो। यसैले यस दिनलाई “विजया दशमी“ भनिन्छ ।

(दशैमा नवदुर्गा देवीको पुजा तथा आरधना गर्दा प्रयोग गरिने मन्त्रहरुः पहिलो दिन–“ॐ देवी शैलपुत्र्यै नमः”, दोश्रो दिन– “ॐ देवी ब्रह्मचारिण्यै नमः”, तेस्रो दिन– “ॐ देवी चन्द्रघण्टायै नमः”, चौथो दिन–“ॐ देवी कुष्माण्डायै नमः”, पाँचौं दिन–“ॐ देवी स्कन्दमातायै नमः”, छैठौं दिन“ॐ देवी कात्यायन्यै नमः”, सातौं दिन–“ॐ देवी कालरात्र्यै नमः”, आठौं दिन– “ॐ देवी महागौर्यै नमः”, नवौं दिन– “ॐ देवी सिद्धिदात्र्यै नमः”)

दशैंको दशौं दिन अर्थात विजया दशमीको दिन घरका ज्येष्ठ सदस्यबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा परापुर्वकाल देखी चल्दै आएको छ र शो निरन्तरता आज पनि यथावत नै छ । आशीर्वादमा दीर्घायु, स्वास्थ्य, समृद्धि र प्रगतिका शुभकामना दिने गरिन्छ । परिवारका सदस्यहरू मात्र होइन, आफन्त, छिमेकी र समाजका अन्य व्यक्ति तथा दशैं विदेशमा रहेका आफन्तजनहरूसंग पनि भेटघाट गरी टीका लगाउने र शुभकामना साटासाट गर्ने चलनले आम रुपमा हामी नेपालीहरुलाई सामाजिक पनि बनाएको । टिका, जमरा लगाउने तथा आफन्तविचको भेट र आर्शिवाद लिने ठाउँ अनुसराको प्रचलनमा भने केही फरक पाईन्छ, कतै कतै विजया दशमीसंगै दशै सकियो भन्ने चलन पनि छ भने प्रायः ठाउँहरुमा पुर्णिमाको दिनसम्म पनि टिका जमरा ग्रहण गर्ने प्रचलन रहँदै आएको पाईन्छ ।

दशैं नजिकिँदै गर्दा बजारमा विशेष चहलपहल देखिन्छ । नयाँ कपडा, जुत्ता, गहना, खाद्यान्न, मासु, मिष्ठान्न आदिको बिक्री बढ्छ । कृषकले पनि वर्षभर मेहनत गरेर उत्पादन गरेका धान, तरकारी, फलफूल बजारसम्म पुर्याउने अवसर पाउँछन् । यसरी दशैंले समग्र रुपमा देशको अर्थतन्त्रलाई समेत चलामान बनाएको हुन्छ ।

समयसँगै दशैं मनाउने तरिका पनि परिवर्तन हुँदै गएको छ । पुराना पुस्ताले धार्मिक अनुष्ठानलाई बढी महत्व दिने गरेका छन् भने नयाँ पुस्ताले दशैंलाई सामाजिक भेटघाट र रमाइलोको अवसरका रूपमा लिन थालेका छन् । कतिपय शहरहरुमा पार्टी तथा भोजभतेरलाई बढी जोड दिएको पाईन्छ भने गाउँमा अझै पनि परम्परागत पूजा–विधि कायम छ । तर जसरी जे परिवर्तन भए पनि दशैंको मूल आत्मा भने परिवारलाई एकत्रित गर्ने, आशीर्वाद थाप्ने र मेलमिलाप गर्ने संस्कारमा केन्द्रित रहन्छ ।

दश दिनसम्मको धार्मिक विधि–विधानले नेपाली समाजमा श्रद्धा र आस्थाको भाव जागृत गराउनुका साथै टीकाले परिवार र समाजलाई अझ नजिक बनाउने गर्दछ । दुर्गा भवानीको आराधना, धर्मको विजय, सामाजिक मेलमिलाप र आर्थिक गतिविधिसहित दशैं नेपालीको जीवनमा केवल पर्व मात्र नभई सांस्कृतिक धरोहरका रूपमा स्थापित हुदै आएको छ ।

नेपालभर मनाइएको यस वर्षको विजया दशमीले फेरि एकपटक दशैं नेपालीको धार्मिक आस्था मात्र होइन, सांस्कृतिक पहिचान, सामाजिक सम्बन्ध र राष्ट्रिय एकताको पनि अभिन्न सूत्र हो भन्ने विश्वासलाई थप बलियो बनाउदै गएको छ ।

लेखकः कमला जोशी (सम्पादक, पावर न्यूज मासिक)