अब एयरहोस्टेसले चकलेट बाँड्दिनन्

PNA


|
|


काठमाडौँ — सडक यातायातको दाँजोमा सुविधाका लागि हवाई उडानमात्रै प्रयोग गर्नेहरुका लागि केही नयाँ खबर आएको छ । अबदेखि आन्तरिक उडानमा एयरहोस्टेसले खानेकुरा चकलेट आदी बाढ्ने छैनन् । 

पानी पनि वितरण हुने छैन । र, उनीहरुले शौचालय जान पनि दिने छैनन् । यति मात्रै होइन, अब आन्तरिक उडानमा पहिलेको दाँजोमा धेरै सुविधा ‘तत्कालका लागि निषेध’ गरिएका छन् । यी सुविधा कटौती गरिदिएको हो कारोना भाइरसको महामारीले । ‘कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यून गर्न यसो गर्नु परेको’ एयरलायन्सले जनाएको छ ।

आन्तरिक उडानमा सर्वाधिक उडान गर्दै आएको बुद्ध एयरले यात्रुहरुको सुरक्षाका लागि नागरिक उड्डयन प्राधिकरणमा दर्ता गरेको निर्देशिका अनुसार, अब काठमाडौंसहित देशभरका कुनै पनि आन्तरिक तथा उस्ले गर्ने बाहिरका रुटमा यात्रुले जहाजको शौचालय प्रयोग गर्न पाउने छैनन् ।

‘संक्रमणबाट जोगिन यात्रुहरू विमानमा बसिसकेपछि हिँडडुल गर्न र अनावश्यक यताउती छुन पनि पाउने छैनन,’ बुद्धको निर्देशिकमा लेखिएको छ, ‘त्यस्तै विमानको शौचालय प्रयोग पनि निषेध गरिएको हुँदा बोर्डिङ अघि नै एयरपोर्ट शौचालय प्रयोग गर्न अनुरोध छ ।’उसले जहाजमा अबदेखि केहि समय अखबार वितरण बन्द गर्दै कम्पनीले सिटमा आफ्नै इन–फलाइट म्यागजिन पनि नराख्ने भनेको छ । 

यात्रुहरुलाई फ्लाइट–चेक–इन काउन्टरदेखि ब्यागेज बुझिञ्जेलसम्म मास्क अनिवार्य गरिएको छ । ‘सुरक्षित रहनु र मास्क लगाउनु अहिलेको मुख्य आवश्यकता हो,’ बुद्धले निर्देशिकामा भनेको छ, ‘हाम्रा कार्यालय, कार्गो, टिकट काउन्टर साथै विमानस्थल परिसरमा रहँदा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने छ । ’

यसैगरी हवाईयात्राभरि पनि मास्क अनिवार्य लगाउनु पर्ने छ । मास्क नलाई काउन्टरमा पुग्ने यात्रुकालागि उस्ले बजारमा उपलब्ध हुने मास्क उचित मूल्यमा बिक्री गरिने भनेको छ । तापक्रम जाचँ सबै स्टेशनमा अनिवार्य नै हुने भनिएको छ ।

भिजेको, प्वाल परेको तथा च्यातिएको मास्क लगाइ काउन्टरमा पुग्ने यात्रुलाई भने कर्मचारीले रोक्ने सक्ने अधिकार दिइएको छ । त्यस्तै संक्रमबाट जोगिने उपायमध्येको अर्को एक मिटरको सामाजिक दूरी अब यात्रुहरूले विमानस्थल, चेक–इन–काउण्टर, र्‍याम्प–बस आदीमा अनिवार्य गर्नुपर्ने छ । 

त्यस्तै र्‍याम्प–बसमा पनि अबका दिन भरीभराउ र उभ्याएर होइन बसको कुल क्षमतामा ७५ प्रतिशतमात्रै यात्रु राखिने छ । जहाजमा बोर्डिङ गर्नुअघि सबै यात्रुको हात स्यानिटाइज गरिनेछ । एक पटकमा ४ जना मात्रै चढाइनेछ । गन्तव्यमा पुगेर ओर्लिदा पनि एक पटकमा ४–४ जनाको दरले ओरालिनेछ । घरपालुवा जनावरलाई तत्कालका लागि ओसारपोसारमा रोक लगाइदिएको छ ।

हाल १३ वटा जहाज भएको बुद्धले हरेक दिन बिहान उडानमा जाने जहाजलाई किटाणुमुक्त गर्ने गरी सफाई गरिने जनाउँदै जहाज अवतरण भएलगत्तै पनि यात्रुहरुले बारम्बार छुने सिट ह्याण्डलदेखि रेलिङसम्म प्रत्येक स्टेशनमा स्यानिटाइज गर्ने छ ।

कोभिड–१९ ले आममानिसको जीवनशैली नै परिवर्तन गरिदिएको जनाउँदै बुद्धले विश्व स्वास्थ्य संगठनले महामारी संज्ञा नहटाउञ्जेल र यसको भ्याक्सिन खोज नभएसम्म हामी सतर्कता जारी नै राखिरहने भनेको छ ।

Related Post