क्यानाडामा छायांकन गरिएको ‘यसरी यसरी’ सार्वजनिक,

PNA

जीवन पराजुलीको निर्देशनमा पहिलो पाइला

|
|


काठमाडौं -  नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय गायक तथा संगीतकार सुरज कालाखेतीको नयाँ रोमान्टिक गीत ‘यसरी यसरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। चलचित्र तथा म्युजिक भिडियोका सफल छायाँकार जीवन पराजुलीले निर्देशन गरेको उक्त भिडियो विनु अधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

क्यानाडाका विभिन्न रमणीय तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरूमा छायांकन गरिएको भिडियोले प्रेम, भावना र सम्बन्धका मधुर पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। आकर्षक दृश्य संयोजन र रोमान्टिक कथावस्तुले भिडियोलाई थप प्रभावशाली बनाएको निर्माण पक्षको विश्वास छ।

गीतमा चर्चित गीतकार डीपी खनालको शब्द, सुरज कालाखेतीको संगीत तथा सुरज कालाखेतीविनु अधिकारीको सुमधुर स्वर रहेको छ। गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रोमन बज्राचार्यले गरेका हुन् भने रेकर्डिङ राज रेकर्डिङ स्टुडियोमा सम्पन्न गरिएको हो।

म्युजिक भिडियोमा विनु अधिकारी, रमन पराजुली, सुरज कालाखेतीनविना श्रेष्ठको अभिनय रहेको छ। कलाकारहरूको स्वाभाविक अभिनय, रोमान्टिक प्रस्तुतिकरण तथा क्यानाडाको मनमोहक प्राकृतिक दृश्यले भिडियोको सौन्दर्यलाई अझ उचाइ दिएको छ।

भिडियोका छायाँकार उत्तम अर्याल हुन्। अनिता ओलीको मेकअप, मनोज बीकेको कोरियोग्राफी तथा राजेश कुमारको सम्पादन एवं कलर ग्रेडिङ रहेको भिडियोको निर्देशन जीवन पराजुलीले गरेका छन्।

लामो समयदेखि नेपाली चलचित्र तथा दर्जनौं म्युजिक भिडियोमा छायांकनको जिम्मेवारी सम्हाल्दै आएका पराजुलीले यसै भिडियोमार्फत निर्देशन क्षेत्रमा औपचारिक रूपमा प्रवेश गरेका हुन्। उनको निर्देशन यात्राको सुरुआती प्रयासका रूपमा सार्वजनिक भएको ‘यसरी यसरी’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण टिमले जनाएको छ।

प्रेम र संवेदनाले भरिएको यो गीत तथा भिडियोले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ।