generalnews
||Power News Asia||

आजको समाचार

पत्रकार सिटौलाको स्मृतिमा चलचित्र पत्रकार संघ नेपालद्वारा अक्षय कोष स्थापना

समाचार


काठमाडौं  - चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । उक्त अवसरमा स्व. सिटौलाको तस्बिरमा माल्यार्पण गर्दै वरिष्ठ पत्रकार तथा कलाकारहरूले उहाँप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।

संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा अध्यक्ष बलामीले कम्तीमा १० लाख रुपैयाँभन्दा माथिको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभयो । हरेक वर्ष माघ १८ गते स्व. दिनेश सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गर्ने तथा संघको वार्षिक उत्सवका अवसरमा ‘स्व. दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गर्ने उद्देश्य सहित उक्त अक्षय कोष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख अतिथि दिनेश डिसीले स्व. सिटौलाको नेपाली चलचित्र उद्योग र चलचित्र पत्रकारितामा रहेको योगदानको स्मरण गर्दै अक्षय कोषमा सहयोग गर्न सबैसँग अपिल गर्नुभयो । उहाँले स्व. सिटौलाले पुराना तथा नयाँ पुस्ताका पत्रकार र चलचित्रकर्मीहरूबीच सहकार्य र सहजीकरणको वातावरण सिर्जना गर्दै आएको उल्लेख गर्दै बोर्डका तर्फबाट अक्षय कोषमा रु. ५१ हजार सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो ।

त्यसैगरी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै स्व. सिटौलाको योगदानको चर्चा गर्नुभयो । उहाँले स्व. सिटौला मिलनसार, सहयोगी भावना र सकारात्मक सोचका धनी व्यक्तित्व भएको उल्लेख गर्दै व्यक्तिगत रूपमा रु. १० हजार सहयोग प्रदान गर्नुभयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष विदुर गिरी, सल्लाहकार डब्बु क्षेत्री तथा वरिष्ठ चलचित्र पत्रकारहरू ध्रुव लम्साल, जयन सुब्बा मानन्धर, कृष्ण भट्टराई, दीपज्योति थापा, रोयल आचार्यलगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्व. सिटौलाको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव रघुनाथ सापकोटाले गर्नुभएको थियो भने समापन उपाध्यक्ष कुवेर गिरीले गर्नुभएको थियो ।

स्थापित अक्षय कोषमा विभिन्न संघ–संस्था तथा व्यक्तिहरूबाट सहयोग घोषणा गरिएको छ । ओएसआर डिजिटलले रु.३१ हजार, चलचित्र लेखक प्रदीप भारद्वाजले रु. २५ हजार, निर्माताद्वय सरोज वली र मोहितवंश आचार्यले रु. २५ हजार, षट्कोण आट्र्सले रु. २५ हजार, दिलासा क्रिएसनका तर्फबाट वरिष्ठ चलचित्र पत्रकार लक्ष्मण सुवेदीले रु. ११ हजार तथा चलचित्र ‘राम नाम सत्य’ टिमले रु. १० हजार सहयोग घोषणा गरेका छन् । यसअघि चलचित्र पत्रकार तथा अन्य सहयोगी निर्माता एवं व्यक्तिहरूबाट रु. ३ लाखभन्दा बढी सहयोग संकलन भइसकेको संघले जनाएको छ ।

यसैबीच, प्रदर्शनको ५१औँ दिनको अवसरमा चलचित्र ‘झरी पछिको इन्द्रेणी’ टिमले अक्षय कोषका लागि रु. १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउँदै थप सहयोग संकलन गरिएको जानकारी दिइएको छ । कोषमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूको सूची संघले क्रमशः औपचारिक रूपमा सार्वजनिक गर्दै जाने जनाएको छ ।

कल्चर एम्बेस्डर २०२६ : अर्बिन चन्द र दिप्सन कार्की घोषित

समाचार


काठमाडौं । शुक्रबार सम्पन्न “कल्चर एम्बेस्डर २०२६” प्रतियोगितामा अर्बिन चन्द र दिप्सन कार्की विजेता घोषित भएका छन्। उक्त प्रतियोगिता डान्स र मोडलिङ गरी दुई विधामा सञ्चालन गरिएको थियो।

डान्स विधातर्फ दिप्सन कार्की “डान्स कल्चर च्याम्पियनशिप” को विजेता घोषित भए भने किड्स कल्चर एम्बेस्डरको उपाधि अर्बिन चन्दले हात पार्न सफल भए।

कार्यक्रममा निर्णायकको भूमिकामा माया लामा, आस्तिक कार्की, समीक्षा कार्की, रसिला लामा र सपना माझी रहनुभएको थियो। निर्णायकहरूको मूल्याङ्कनका आधारमा प्रतियोगीहरूलाई विभिन्न उपाधि प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा स्वोयच्छा पन्त फस्ट रनरअप घोषित भइन् भने सिद्धार्थ बी.के. रनरअप बने। साथै, प्रसिद्धि अधिकारी र लिटिल आइडल एन्जल चन्द विशेष उपाधिबाट सम्मानित भएका थिए।

दर्शकको लोकप्रियताका आधारमा प्रदान गरिने “मोस्ट पपुलर” उपाधि अर्बिन चन्द र दिप्सन कार्कीले जित्न सफल भए।

कार्यक्रमको सफल सञ्चालन नवराज देउवाले गर्नुभएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले नेपाली कला, संस्कृति र प्रतिभालाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

‘संवाद र समाधान’ युवा संस्करणमा युवा, नेतृत्व र जिम्मेवारीबारे गहन बहस

समाचार


काठमाडौँ । ‘संवाद र समाधान : From Dialogue to Solutions’ शीर्षकअन्तर्गत युवा संस्करणमा आधारित कार्यक्रम ‘युवा र भविष्य : अवसर कि अन्योल ?’ विषयमा संवाद–आधारित छलफल सम्पन्न भएको छ। शुक्रबार, ६ फेब्रुअरी २०२६ साँझ ८:०० देखि ९:०० बजेसम्म आयोजना गरिएको उक्त कार्यक्रम पोडकास्ट तथा प्यानल टकको रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रमको एपिसोड ‘Youth, Leadership & Responsibility (युवा, नेतृत्व र जिम्मेवारी)’ मा विभिन्न क्षेत्रका विज्ञ, युवा नेता र चिन्तकहरूको सहभागिता रहेको थियो। विशेष अतिथिका रूपमा विज्ञ तथा विश्लेषक डा. समीर खरेलले युवाले पहल लिनुपर्नेमा जोड दिँदै आजका धेरै युवा केवल सामाजिक सञ्जाल र एल्गोरिदममै सीमित भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले मुलुक नयाँ निर्वाचनतर्फ अघि बढिरहेको सन्दर्भमा देशको हितका लागि आदर्श र विवेकशील नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रमका अर्का विशेष अतिथि विश्लेषक उत्तम कार्कीले युवाले नीति बुझ्नुपर्ने, सल्लाह दिन सक्ने क्षमतामा विकास गर्नुपर्ने र राजनीति मात्र नभई सबै क्षेत्रमा सक्रिय सहभागिता जनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले पारस्परिक सहकार्य र संवादलाई प्राथमिकतामा राख्दै युवाको संलग्नता बढाउनुपर्नेमा जोड दिनुभयो।

युवा नेता तथा मिडिया स्ट्राटेजिस्ट राजु भट्टराईले आर्टिफिसियल इन्टेलिजेन्स (AI) लगायत नयाँ प्रविधिका क्षेत्रमा प्रशस्त अवसर रहेको उल्लेख गर्दै त्यससँगै चुनौतीहरू पनि रहेको बताउनुभयो। उहाँले समयअनुसार सीप र सोच विकास गर्न युवालाई आग्रह गर्नुभयो।

एपिसोड १ का अतिथि वक्ताका रूपमा लेखक गौरव ओझाले युवाले आफ्नो स्थान खोजिरहेको उल्लेख गर्दै नैतिक पक्षमा केही कमजोरी देखिए पनि स्पष्ट दृष्टि र सोचसहित अघि बढेमा नेपाल र युवाको भविष्य उज्यालो हुने धारणा व्यक्त गर्नुभयो। त्यस्तै, आईसीटी विज्ञ तथा युवा आवाजका प्रतिनिधि गंगा भण्डारीले ‘जेन जी’ आन्दोलनले युवालाई ऊर्जावान बनाएको बताउँदै विवेकपूर्ण तरिकाले राष्ट्र र नागरिकको हितका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न युवालाई आह्वान गर्नुभयो।

कार्यक्रमको सञ्चालन तथा सहजीकरण सरोज ओझाले गर्नुभएको थियो। संवाद आधारित छलफल श्रृंखलाअन्तर्गत आयोजित यस कार्यक्रममा युवाको भूमिका, नेतृत्व क्षमता र जिम्मेवारीबारे गम्भीर विमर्श गरिएको आयोजकले जनाएको छ।

बबिताले आश्मालाई बनाईन् ‘कलियुगकी राधा’

समाचार


काठमाण्डौ - बबिता मानन्धरको नयाँ लोक आधुनिक शैलीको गीत ‘कलियुगकी राधा’ सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच बरिष्ठ गायिकाहरु कुन्ति मोक्तान, सुक्मित गुरुङ, मोनिला सोताङ र देविका बन्दनाले उक्त गीतलाई संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको गीतमा बबिता मानन्धरको स्वर, डिपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र कुमार केसीको मिक्सिङ रहेको छ । यस्तै राजिव समरले निर्देशन गरेको गीतको भिडियोमा आश्मा बिश्वकर्मा र अभिषेक श्रेष्ठको नृत्य रहेको छ । भिडियोमा दिनेश पराजुलीको छायाँकन र डिन्सन शाहको सम्पादन छ । शुरेश मानन्धरले निर्माण गरेको गीत डान्सिङ्ग बिटमा आधारित छ । गीतमा आधुनिक समाजमा प्रेम, नारी भावना र सम्बन्धको यथार्थलाई समेटिएको छ ।

साढे दुई दशक देखि निरन्तर संगीतकर्ममा सक्रिय गायिका मानन्धरको श्रृतिमधुर स्वरले गीतलाई भावनात्मक बनाएको छ । गायिका मानन्धरले संगीतकार थापाको प्रसंसा गर्दै उनको संगीतमा स्वर दिन निकै मेहनत गर्नु परेको बताइन । आफुले सक्दो राम्रो गाउने कोसिस गरेको भन्दै उनले शब्द र संगीतको उत्कृष्ट संयोजनले गीत पनि उत्कृष्ट बनेको बिश्वास राखिन । उनले गीतकार खनालका शब्दहरु भावनात्मक रहेकोले आफुलाई मन परेको समेत बताइन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बरिष्ठ गायिका कुन्ति मोक्तानले बबिताको स्वरको मुक्त कण्ठले प्रसंसा गरेकी छिन । उनले बबिताले जस्तो सुकै जनराको गीतलाई पनि न्याय गर्न सक्ने जनाइन । यस्तै बरिष्ठ गायिका सुक्मित गुरुङले बबिताको गायकी उच्च कोटीको भएको बताएकी छिन । उनले ‘कलियुगकी राधा’को शब्द, संगीत र भिडियो समेत निकै राम्रो बनेको प्रतिक्रिया दिइन ।

कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ गायिका मोनिला सोताङले ‘कलियुगकी राधा’ले दर्शक स्रोताको मन जित्ने बिश्वास राखिन । आफुलाई हरेक कोणबाट अडियो र भिडियो दुबै मन परेको उनको भनाई छ । यस्तै अर्की बरिष्ठ गायिका देबिका बन्दनाले चलचित्रका थुप्रै आइटम गीतमा बबिताकै स्वर सुन्दै आएको र आज पनि उनको स्वरको गुणस्तर उस्तै रहेको बताइन ।

कार्यक्रममा बोल्दै संगीतकार थापाले नेपाली संगीतका सिद्धहस्त अग्रज गायिकाहरुको बाहुलीबाट गीत बिमोचन गर्न पाउनु आफुहरुका लागि गर्वको क्षण भएको बताए । यस्तै मोडल आश्मा बिश्वकर्माले दर्शकहरुले गीत तथा भिडियो मन पराउने विश्वास राखिन ।


 

साहित्यकार पोखरेलको "फकलीको गाउँ" सार्वजनिक

समाचार


काठमाडौं -  साहित्यकार लेखनाथ पोखरेलको नियात्रा संग्रह ‘फकलीको गाउँ’ अंग्रेजी संस्करणमा पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई विषयवस्तु बनाएर पस्किएको कृति ‘फकलीको गाउँ’को अंग्रेजी संस्करण पाठकमाझ आएको हो ।

यात्रा वृत्तान्तमा आधारित विभिन्न शीर्षकमा दिएर बाईस गुच्छाहरूको संगालोको रूपमा तयार पारिएको कृतिमा लेखकले विविध प्रसंगको संग्रह गर्नुभएको छ ।

कृतिमा ‘ऐँसेलुखर्कको चिठ्ठा, मैले देखेको मधेस, लुइँचको शिकार, पशुपतिको टुँडाल, खार्पादेखि खार्पासम्म, लालबहादुर शास्त्रीसँगको भेट, अक्कुम आओ, बियरको पहिलो घुट्को, सिलाङ धुम्न जाँदा, मेरो पहिलो जागिर, ओलाङ्चुंगोलाको रोमाञ्चक यात्रा, ऐतिहासिक मिल्सएरिया, फकलीको गाउँ, ओडारका मान्छे, तमोरको खोच, इलामदेखि सिंगापुरसम्म, दुल्लु पुग्दा, नेपाल बन्द, वरुण उपत्यकादेखि बाह्रबिसेसम्म, रिडीको खाष्टो, हिमालपारिको जिल्ला जाँदा र मेलवर्न घुम्न जाँदा जस्ता शीर्षकमा लेखकले यात्रा गर्दा देखेका, भोगेका, अनुभव गरेका र ऐतिहासिक तथ्य पस्कनु भएको छ । ‘धरणीमा मेरो यात्रा’बाट सुरु गरिएको कृतिमा नागाल्याडको संस्कृति भुटान नरेशको प्रसंगमा पनि यसमा समेटिएको छ ।

कृतिमा लेखकले उहाँका जीवनका बाल्यकालदेखि यौवनसम्मका स्मृतिहरू, विद्यार्थीकालका अनुभव र अनुभूति, जागिरे जीवनका भोगाइ र अवकाश प्राप्त जीवनका अनुभवहरू जस्ता चार कालखण्डलाई बढो रोचक, सन्देश मूलक, तथ्यपरक र ज्ञानबर्द्धक रूपमा पस्किएको महाकाव्यकार खेमनाथ दाहाल बताउनुहुन्छ ।

‘लेखक लेखनाथ पोखरेलले अत्यन्तै सरल भाषा र पठनीय शैलीमा ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, राजनीतिक र राष्ट्रियचेतले ओतप्रोतयुक्त यात्रा विवरणका रूपमा प्रस्तुत गर्नुभएको छ कृतिमा’, स्रष्टा दाहालले भन्नुभयो, ‘नेपाली संस्करण जस्तै अंग्रेजीलाई पनि पाठकले मन पराउनेछन् ।’

आफूले देखेका भोगेका अनुभूति र यात्रा विवरणलाई यस कृतिमा उतार्ने कोसिस गरेको भन्दै लेखक पोखरेलले ‘आफ्नो अतीतलाई उधार्ने र आफ्नो स्मृतिलाई तिखार्ने प्रयासपछि बितेका क्षणका अनगिन्ती कुराको स्मणको ठूलै संगालो आफूभित्र जम्मा हुन पुग्यो, ती सबै संस्मरणलाई लिपिबद्ध गर्ने जमर्कोले यो कृति तयार भएको हो’, भन्नुभयो । उहाँले अंग्रेजी संस्करणको पनि माग भएको हुँदा यसै रूपमा पाठकमाझ आएको बताउनुभयो ।

नेपाली संस्रकणको पत्रकार/लेखक कृष्ण भुसालले सम्पादन गर्नुभएको थियो भने महाकाव्यकार खेमनाथ दाहालको भूमिका छ । आशिष पोखरेल प्रकाशक रहनु भएको २२४ पृष्ठको यस कृतिको मूल्य ४५० रुपैयाँ राखिएको छ ।

चलचित्र ‘द चेन्ज’लाई अन्तर्राष्ट्रिय अवार्ड 

समाचार


काठमाडौँ - नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ संस्करणको नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) २०२६मा नेपाली लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) पुरस्कृत भएको छ । १६ माघदेखि १८ माघसम्म  काठमाडौँमा आयोजना भएको यो चलचित्र महोत्सवमा ‘द चेन्ज’लाई सर्ट फिल्म तर्फ ‘स्पेसल मेनसन अवार्ड’ प्रदान गरिएको छ । यो चलचित्रकी नायिका एवम् गायिका सरिता भारती, नायक प्रवण भुसाल र चलचित्र निर्देशक डब्बु क्षत्रीले महोत्सवमा यो अवार्ड ग्रहण गरे ।

तीन दिनसम्म काठमाडौँका तीन स्थानमा आयोजित महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन गरिएको थियो । सो प्रदर्शनपछि भुकुटी मण्डपको नेपाल पुलिस क्लबमा आयोजना गरिएको ग्रान्ड फिनाले अवार्ड समारोहमा अन्तर्राष्ट्रिय निर्णायकहरुले द चेन्जलाई यो अवार्ड प्रदान गरेका हुन् । 

महिनावारी हुँदा अझै पनि नेपाली समाजमा महिलाहरूलाई अछुतको व्यवहार गर्ने कुप्रथा रहेको आफूले यसमा कुप्रथाको सिकार भएकी नारीको भूमिका निर्वाह गरेको अभिनेत्री एवम् गायिका सरिताले अवार्ड ग्रहण समारोहमा बताइन् । अभिनेता प्रवणले यसमा यस्ता कुप्रथा विरुद्ध सामाजिक जनचेतना फैल्याउने काम गरेको बताए ।

गत महिना मात्र बंगलादेशको बोगुरा सहरमा सम्पन्न ‘छैटौँ बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा द चेन्जलाई स्पेसल मेनसन अवार्ड प्रदान गरिएको थियो । यो महोत्सवमा ‘इन्टरनेशलन सर्ट इन्डोर’ तर्फ द चेन्जलाई अवार्ड प्रदान गरिएको थियो । बंगलादेशमा पनि यो चलचित्रका निर्देशक डब्बु क्षत्री, अभिनेता प्रवण भुसाल र अभिनेत्री सरिता भारतीले अवार्ड ग्रहण गरेका थिए । यस्तै दोस्रो संस्करणको ग्रामिण चलचित्र महोत्सवमा द चेन्जले उत्कृष्ट लघु चलचित्रको अवार्ड जितेको थियो । सो महोत्सवमा यो चलचित्रबाट डब्बु क्षत्रीले उत्कृष्ट निर्देशक, प्रवण भुसालले उत्कृष्ट अभिनेता र सरिता भारतीले अभिनेत्री तर्फको जुरी अवार्ड जितेका थिए । यसरी द चेन्जले लगातार एउटा राष्ट्रिय र दुई वटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अवार्ड जितिसकेको छ । यो चलचित्र अन्य अन्तर्राष्ट्रिय महोत्सवहरूमा पनि चयन भएको छ । 

 यो लघु चलचित्रमा प्रवण र सरितासँगै कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा, सुरज अधिकारीसहितको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई निर्देशक डब्बु क्षत्रीले नै लेखेका हुन भने जसमा ओम सुनारको पार्श्व संगीत, रामशरण उप्रेतीको छायांकन, वीरेन्द्र भाट विपिनको सम्पादन, अर्विसा भुसाल, युविका बुढाथोकी र सरिता भारतीको निर्माण रहेको छ । विलक्षण क्रियसन प्रा।लि।को ब्यानरमा यो लघु चलचित्र निर्माण गरिएको हो ।

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव भव्यताकासाथ सम्पन्न

समाचार


काठमाडौँ - नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल  (NCIFF) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन गरिएका थिए। महोत्सवको समापन भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना गरिएको विशेष समारोहमार्फत गरिएको हो।

समापन समारोहमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र तथा चलचित्रकर्मीलाई अवार्ड प्रदान गरिएको थियो। राष्ट्रिय फिचर चलचित्रतर्फ सुवर्ण थापाको निर्देशनमा बनेको ‘द सेक्रेट अफ राधा’ ले सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रको अवार्ड प्राप्त गरेको छ। सर्वोत्कृष्ट राष्ट्रिय अभिनेताको अवार्ड चलचित्र ‘ज्वाइँ साब’ बाट जितु नेपालले प्राप्त गर्दा चलचित्र ‘कोसेढुंगा’ बाट सुरक्षा पन्त सर्वोत्कृष्ट राष्ट्रिय अभिनेत्री घोषित भइन्। सोही चलचित्र ‘कोसेढुंगा’ का निर्देशक सरोज पौडेलले सर्वोत्कृष्ट राष्ट्रिय निर्देशकको अवार्ड प्राप्त गरे भने ‘द सेक्रेट अफ राधा’ का लागि नरेन्द्र मैनालीले सर्वोत्कृष्ट राष्ट्रिय छायांकनको अवार्ड हात पारे। वृत्तचित्र ‘इन्टु द मिस्ट’ बाट सचिन घिमिरेले सर्वोत्कृष्ट राष्ट्रिय लेखक अवार्ड प्राप्त गरे।

लघु चलचित्र ‘दृश्य (द लाइट अफ आइज)’ ले सर्वोत्कृष्ट राष्ट्रिय विशेष उल्लेख अवार्ड प्राप्त गरेको छ। जुरी विशेष उल्लेख अवार्ड निर्देशक पत्रिका घिमिरेको ‘ह्वाट ग्रोज इन थारी मैलाको भेगिटेबल गार्डेन रु’ तथा निर्देशक डब्बु क्षेत्रीको ‘द चेन्ज’ लाई प्रदान गरिएको थियो। अन्य राष्ट्रिय विधातर्फ निर्देशक ड्यानियल गदालको ‘इनार’ ले सर्वोत्कृष्ट राष्ट्रिय लघु चलचित्र, निर्देशक लावा प्याकुरेलको ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ ले सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्र, निर्देशक गोविन्द प्रसाद ढकालको ‘साइलन्ट स्कार्स’ ले सर्वोत्कृष्ट राष्ट्रिय बाल चलचित्र, निर्देशक आस्था श्रेष्ठको ‘रङ सबै गुलाबी’ ले सर्वोत्कृष्ट राष्ट्रिय महिला चलचित्र तथा निर्देशक सुनिल बाबु पन्तको ‘अजिमा एण्ड सिक्स जेन्डर्स’ ले सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक चलचित्रको अवार्ड प्राप्त गरेको छ।

महोत्सवमा ४० भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्रकर्मी, निर्णायक तथा अतिथिहरूको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय श्रेणी अन्तर्गत आयोजित प्यानल छलफलमा बेलायतकी अन्तर्राष्ट्रिय जुरी सदस्य एड्रिना कुलिग, अर्जेन्टिनाका डा. जर्ज जोर्गे क्यारोभोत्ता, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सूर्य थपलिया तथा डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङ सहभागी थिए। महोत्सव बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय, गोकर्णेश्वर नगरपालिका, चलचित्र विकास बोर्ड तथा नेपाल पर्यटन बोर्डको सहकार्य र सहयोगमा सम्पन्न गरिएको आयोजकले जनाएको छ। महोत्सवअन्तर्गत अष्ट्रेलियाली चलचित्र निर्देशक मौलिनाथ गंगुलीद्वारा मास्टर क्लास पनि सञ्चालन गरिएको थियो।

अन्तर्राष्ट्रिय चलचित्रतर्फ भारतका निर्देशक जयन चेरियनको ‘रिदम अफ दमाम’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्रको अवार्ड प्राप्त गरेको छ। सोही चलचित्रबाट चिनमाया सिद्धिले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेताको अवार्ड जितेका छन्। अष्ट्रेलियाका निर्देशक मौलिनाथ गंगुलीको ‘कुप्पा’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छोटो चलचित्र, लिथुआनियाका निर्देशक गिएड्रे जेनेभिसियुटेको ‘द हेड’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर वृत्तचित्र तथा इजरायलका निर्देशक हावर्ड रिपको ‘गिम्पेलः द फूल रिटर्न्स टु पोल्याण्ड’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छोटो वृत्तचित्रको अवार्ड प्राप्त गरेको छ।

यसैगरी बेलायतकी निर्देशक स्वेकृति राईको ‘द पिपल क्लोजेस्ट टु हेभन’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय महिला चलचित्र, काजाकस्तानको ‘स्पार्क’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय बाल चलचित्र, क्यानडाकी निर्देशक फरीबा फरजामको ‘रिड्याक्टेड ड्रिम्स’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र, थाइल्याण्डको ‘रे द रग’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय एनिमेशन चलचित्र तथा बंगलादेशको ‘द टेस्ट अफ हनी’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वातावरणीय चलचित्रको अवार्ड प्राप्त गरेको छ।

भारतको चलचित्र ‘सी इट’ का लागि शान्ति मोहन र मुकुन्द मूर्तिले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय निर्देशक अवार्ड प्राप्त गरेका छन्। जर्मनीका ओली ड्युरले ‘जेपेलिन राइट अबभ’ बाट सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लेखक अवार्ड जित्दा ब्राजिलकी क्यारोलिन रोहरिगले ‘ट्राइ योर लक’ बाट सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेत्री अवार्ड प्राप्त गरिन्। भारतका बेनिश मुजसाबाले ‘नेचर्स ब्यान्डेज’ का लागि सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छायांकन अवार्ड प्राप्त गरेका छन् भने बंगलादेशका निर्देशक जमिल्लाह भान डर हल्स्टको ‘ह्वेयर द किड्स ह्याभ नो नेम’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय जुरी अवार्ड हात पारेको छ।

विशेष उल्लेख अवार्डतर्फ हङकङका निर्देशक क्रिस्टिन युङको ‘महाकुम्भः एन ओसन अफ डिभोशन’, चीनका निर्देशक बिङ लुओको ‘न्यु डन’ तथा फ्रान्सकी निर्देशक पाउलिन बर्नार्ड–भर्नायको ‘कासा सुसाना’ सम्मानित भएका छन्।

सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

समाचार


काठमाण्डौ - गायक सानुबाबु महर्जनको नेपाल भाषाको नुगः या मिखां र नेपाली भाषाको तिम्रो याद गरी दुई एल्बम गत हप्ता ज्यापु प्रज्ञा भवनमा ललितपुरमा एक समारोहका विच विमोचन गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर  चिरीबाबु महर्जनको उक्त दुई एल्बमको विमोचन गर्नु भएको हो । उक्त समारोहमा  बरिष्ठ गायिका तथा प्राज्ञ संगीत राना प्रधान, संगीतकार जुगल डंगोल, संगीतकार भुपेन्द्र रायमाझी,  गायक रत्न बेहोसी, गायक तथा समालोचक अमरराज शर्मा राजोपाध्याय, गायक जुजुकाजी रञ्जित, गायिका संगीता शाक्य, संगीतकार मनराजा नकर्मी, संचारकर्मी तथा गीतकार डब्बु क्षेत्री, चलचित्र निर्देशक माधब राज खरेल लगनयतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

नेपाली भाषातर्फ तिम्रो याद एल्बममा पाँचवटा गीतहरु समावेश गरिएको छ । जसमा, गीतकार दिनेश अधिकारीको शब्द, संगीतकार राजु सिँह संगीत तथा  फिरोज बज्राचार्यको संगीत संयोजन रहेको तिम्रो मात मीठो बोलको गीत देखी लिएर  डब्बु क्षेत्रीको शब्द , जुगल डंगोलको संगीत, संयोजन  रहेको अनायासै तिम्रो याद गीत पनि उक्त एल्बममा समावेश गरिएको छ । अनायासै तिम्रो याद गीतमा भने सानुबाबुलाई गायनमा गायिका निशा देशारले पनि साथ दिनु भएको छ । त्यस्तै गरी श्रीपुरुष ढकालको शब्द  तथा भूपेन्द्र रायमाझीका संगीत, संयोजन संयोजन रहेको धेरै धेरै माया दिएर बोलको गीत पनि उक्त एल्बममा समावेश गरिएको छ । उक्त एल्बममा अमरराज शर्मा राजोपाध्यायको शब्द, संगीत र  जुगल डंगोल संगीत संयोजन रहेको गीत कसैले त रक्सी भन्छन् र जुगल डंगोलको  शब्द, संगीत तथा संगीत सयोजन रहेको यस्तै होकि माया भन्नु बोलको गीत समेत समावेश गरिएको छ ।

त्यस्तै नेपाल भाषाको एल्बम नुगः या मिखां मा आठवटा गीतहरु समावेश गरिएको छ । जसमा, सानुबाबु महर्जनको स्वर, शब्द, संगीत  र भूपेन्द्र बज्राचार्य संगीत संयोजनमा नग्या मिसा, सानुबाबु महर्जनकै स्वर, शब्द, संगीत तथा जुगल डंगोलको संगीत संयोजन रहेको गीत हिँसि दुख मयु पनि एल्बम नुगः या मिखां मा समावेश रहेको छ । हिँसि दुख मयु गीतमा गायक महर्जनलाई गायिका निशा देशारले साथ दिनु भएको छ । त्यस्तै दुर्गालाल श्रेष्ठको शब्द तथा सानुबाबु महर्जनको स्वर, संगीत तथा जुगल डंगोलको संगीत संयोजन रहेको ख्वमाल ख्वका बोलको गीतका साथै धर्मकृष्ण सिकर्मीको शब्द, सानुबाबु महर्जनको स्वर, संगीत तथा रबिक धाय को संगीत संयोजन रहेको गीत व स्वःसां वाला, रेखा भाय को शब्द, सानुबाबु महर्जनको स्वर, संगीत तथा सुमन कपालीको संगीत संयोजन रहेको गीत छुं छुं म्हाय, सानुबाबु महर्जन को स्वर, शब्द र संगीत तथा रबिक धाय को संगीत संयोजन छुं मयु जित, दुर्गालाल श्रेष्ठ को शब्द तथा जुगल डंगोल संगीत संयोजन रहेको मां यः मां बोलको गीतलाईपनि उक्त एल्बममा समावेश गरिएको छ । त्यसैगरी जगमोहन वामि को शब्द, संगीत र जुगल डंगोल संगीत संयोजन जिमि कला तरक भिं पनि उक्त एल्बममा समावेश गरिएका गीतहरु हुन् ।

उक्त समारोहमा दुईवटा म्यूजिक भिडियोहरु क्रमशः हिसि दुम्ह मयजुमस्यु जितः छु जु छु जु  पनि प्रस्तुत गरिएको थियो । प्रस्तुत गीतका कलाकार, निर्देशक, छाँयाकार तथा प्राविधिकहरुको पनि उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।

समारोहलाई संचारकर्मी तथा कार्यक्रम संञ्चालक सुरज बज्रचार्यले सहजीकरण गर्नु भएको थियो भने उक्त समारोहमा दुवै एल्मबमा सहभागी कलाकार, श्रष्टा तथा सर्जकहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । दर्शक तथा समर्थकहरुको बाक्लो उपस्थितीमा सम्पन्न गरिएको समारोहको सभापतित्व ज्यापु समाजको प्रथम उपाध्यक्ष शर्मिला महर्जनले गर्नु भएको थियो । 


   
 

संवाद र समाधान’ कार्यक्रममा युवा र भविष्यबारे गहन बहस, अवसर सिर्जनामा जोड

समाचार


काठमाडौँ | “युवा र भविष्यः अवसर कि अन्योल ?” भन्ने मूल विषयमा आधारित संवाद र समाधान (From Dialogue to Solutions) कार्यक्रमअन्तर्गत एक संवाद आधारित छलफल श्रृंखला सम्पन्न भएको छ। उद्घाटन सत्रमा विभिन्न क्षेत्रका विज्ञ, शिक्षाविद्, उद्यमी तथा सामाजिक चिन्तकहरूले नेपाली युवाको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रमका विशिष्ट अतिथि अनुसन्धानधाता  डा. प्रमोद केसीले युवाका लागि स्पष्ट रोडम्याप आवश्यक रहेको उल्लेख गर्दै युवाको दृढ संकल्पअनुसार नीति तथा कार्यक्रम निर्माण हुनुपर्ने बताए। उनले समस्या समाधानका लागि वैज्ञानिक सोच (Scientific Temperament) विकास गर्दै प्रमाणमा आधारित समाधान खोज्नुपर्नेमा जोड दिए।

शैक्षिक मार्गदर्शक तथा आईटी क्षेत्रका विज्ञ डा. समीर खरेलले नेपाली सन्दर्भमा प्रश्न सोध्ने संस्कार विकास गर्नुपर्ने धारणा राखे। उनले प्रश्न गर्न हिच्किचाउन नहुने भन्दै आर्थिक रूपमा सक्षम परिवारका युवासमेत वैदेशिक रोजगारीमा जाने र नफर्कने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे।

विशेष अतिथि ECAN का निव​र्त​मान​ अध्यक्ष शेषराज भट्टराईले विश्व व्यवस्था एकध्रुवीयबाट बहुध्रुवीयतर्फ सरेको उल्लेख गरे। उनले सूचना प्रविधि (IT) क्षेत्रमा अपार सम्भावना रहेको भन्दै युवा जहाँबाट पनि आम्दानी गर्न सक्ने अवस्थामा पुगेको बताए। ज्ञान–आधारित अर्थतन्त्रतर्फ युवालाई उन्मुख गरिनुपर्ने र विश्वव्यापी श्रम गतिशीलताले नकारात्मक असर नपार्ने उनको भनाइ थियो।

उद्यमी तथा अतिथि वक्ता टंका भट्टराईले मानव संसाधनको अधिकतम र प्रभावकारी उपयोग आवश्यक रहेको बताए। उनले कृषि, पर्यटन, जलविद्युत् र आईटी क्षेत्र नेपाली सन्दर्भमा अत्यन्तै सम्भावनायुक्त रहेको उल्लेख गर्दै यी क्षेत्रमा युवाका लागि ठूलो अवसर भए पनि सरकारको सक्रिय भूमिका अझ सुदृढ हुनुपर्ने धारणा राखे।

सामाजिक सञ्जाल विज्ञ तथा आयोजक टोलीका सदस्य राजु भट्टराईले युवालाई हचुवाको निर्णयतर्फ होइन, नयाँ विमर्श पहिचान गर्नतर्फ प्रेरित गर्नुपर्ने बताए। युवाका विचार र सोचको कदर गर्दै तिनलाई सकारात्मक दिशामा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रमका सञ्चालक सरोज ओझाले सबै सहभागीलाई स्वागत गर्दै संवादको उद्देश्य स्पष्ट गरे। उनले समाज, अर्थतन्त्र र राजनीति सम्बन्धी जटिल समस्याका समाधान खोज्ने तथा युवाका चासोलाई केन्द्रमा राखेर यो संवाद श्रृंखला अवधारणागत रूपमा अघि बढाइएको बताए। जेन-जी आन्दोलनपछि युवाको सोचलाई कसरी सम्बोधन गर्ने?, उनीहरूका बौद्धिक धारणा के हुन्?  र तिनलाई व्यवहारिक समाधानमा कसरी रूपान्तरण गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको उनले स्पष्ट पारे।

कार्यक्रमले युवाका सवाललाई संवादमार्फत समाधानतर्फ लैजान सकिने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता छलफललाई निरन्तरता दिने आयोजकले जनाएको छ।

आयोडिनयुक्त नूनबारे भ्रम फैलाउने प्रयासलाई चिर्नुपर्नेमा सरोकारवालाहरुको जोड

समाचार


काठमाण्डौ । आयोडिन मन्थको अवसर पारेर राष्ट्रिय उपभोक्ता मन्चले अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । मन्चले माघ १८ गते अनामनगर स्थित सिलौटो कटेजमा स्वास्थ्य विज्ञ सहित सरोकारवाला निकायका अधिकारीहरुको उपस्थितीमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले प्याकेज गर्दा ५० पीपीए आयोडिन हुनुपर्ने व्यवस्था अनुसार नै साल्ट ट्रेडिङले नूनमा आयोडिन मिसाउने गरेको पाईएको  जानकारी दिनुहुँदै उडेर जाने प्रकृतिको भएकोले उक्त प्याकेट नुन उपभोक्ताको भान्छासम्म पुग्दा ३० पीपीएम रहने जनाउनुभयो । उहाँले गरिबीको रेखामुनि रहेका नागरिकहरूको हकमा आयोडिन सेवन अझै चुनौतीपूर्ण हुनसक्ने तर्क पेश गर्नुहुदै दिनमा एक छाक मात्रै खान पाउने वर्गले नूनको मात्रा पनि कम प्रयोग गर्ने भएकाले उनीहरूमा आयोडिनको मात्रा अपर्याप्त हुन सक्ने उल्लेख गर्नुभयो ।  

डा. सुवेदीले विदेशी अभ्यासको सन्दर्भ जोड्नुहुँदै नेपालमा आयोडिनको मात्रा बढी छ भन्न नमिल्ने बताउनुभयो । उहाँका अनुसार धेरै देशमा समुद्री खाद्य पदार्थ (सी–फुड) मार्फत पर्याप्त आयोडिन प्राप्त हुने भएकाले त्यहाँ नूनमा आयोडिनको मात्रा कम राखिएको हुन्छ। साथै, खाना पकाउने शैली पनि नेपालभन्दा फरक भएकाले त्यही मापदण्ड नेपालमा लागू गर्न नमिल्ने स्पष्ट पार्नुभयो ।

आयोडिनयुक्त नून सेवन गर्नु हुँदैन वा साल्ट ट्रेडिङको नूनमा आयोडिन अत्यधिक छ भन्ने गलत सन्देश फैलाउने प्रयास भइरहेको भन्दै डा. सुवेदीले उपभोक्तालाई सचेत रहन आग्रह समेत गर्नुभयो। उहाँले  नेपाली खाना पकाउने परम्परामा धेरै समयसम्म भुट्ने, मसला प्रयोग गर्ने र लामो समय पकाउने चलन भएकाले करिब १२ प्रतिशत आयोडिन नष्ट हुने जनाउनुभयो । त्यसैले हाल कायम गरिएको आयोडिनको मात्रा उपयुक्त रहेको उहाँको भनाइ छ। डा. सुवेदीले साल्ट ट्रेडिङले बिक्रि गर्ने नुनमा सहि मात्रामा आयोडिन मिसाईएको हुँदा अफवाहका पछाडि नलागि निर्धक्कले दुई बालबालिकाको लोगो चिन्ह अंकित नुन सेवन गर्न आग्रह गर्नुभयो ।

यसैक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन नेपालकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले श्रीलङ्काको उदाहरण प्रस्तुत गर्दै आयोडिन घटाउँदाको नकारात्मक असरबारे जानकारी गराउनुभयो । श्रीलङ्कामा पनि आयोडिन बढी छ भन्ने भ्रम फैलाइएपछि सरकारले आयोडिनको मात्रा घटाएको र त्यसपछि अस्वस्थ बच्चा जन्मिने समस्या देखिएको उहाँको भनाइ थियो। अन्तर्राष्ट्रिय कार्यक्रममा श्रीलङ्काका पदाधिकारीहरूले नेपालले त्यस्तो गल्ती नगर्न सुझाव दिएको कुरा उहाँले  उल्लेख गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत  श्रेष्ठले कर्पोरेशनले नेपाल सरकारको निर्देशन अनुरुप नै नुनमा उचित मात्रामा आयोडिन मिसाएर नेपाल भर बिक्रि वितरण गर्दै आएको जानकारी दिनुहुँदै कर्पोरेशनले आयोडिनयुक्त नुनको अभाव हुन नदिन कम्तिमा पनि नेपालभर ६ महिनासम्मका लागि पुग्ने नुनको मौज्दात राख्ने गरेको र तोकिएका विकट जिल्लामा ९ रुपैयामै नुन बिक्री गर्दै आएको समेत बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले केही व्यापारी समूहले कानून विपरीत आयोडिनरहित नून उच्च मूल्यमा बिक्री गरिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभ्यो । एक केजी नून ३५० रुपैयाँसम्ममा बिक्री गरिएको पाइएकाले त्यस्ता व्यापारीमाथि कारबाही गरिएको र उपभोक्ताको हितविरुद्ध हुने कुनै पनि गतिविधिको मञ्चले सशक्त विरोध गर्ने उहाँले  बताउनुभयो । महर्जनले अनधिकृत रुपमा नुनको कारोबार गर्नेहरु उपर कडा कार्वाही हुनुपर्ने माग अघि सार्दै जनस्वास्थ्य माथि कसैलाई पनि खेलबाड गर्न छुट नरहेको भन्दै चेतावनी समेत दिनुभयो ।  

सो अवसरमा जनस्वास्थ्य विद् अरुणा उप्रेतीले पत्रु खानाको उपभोगले स्वास्थमा प्रतिकुल असर गर्ने भएकाले स्वस्थकर जीवन शैली अपनाउन सबैमा आग्रह गर्नुहुँदै आयोडिनयुक्त नुन मानव शरीरका लागि नभई नहुने पोषण त्तत्व भएकाले यसको उचित मात्रामा दैनिक सेवन गर्न आवश्यक रहेको बताउनुभयो ।साथै उहाँले आयोडिनको कमीले गलगाड हुने, गर्भ तुहिने आदी जस्ता विकराल स्वास्थ्य समस्या निम्तन सक्ने तर्फ सजक रहन पनि सबैमा आग्रह गर्नुभयो ।  

वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत विश्वराज दाहालले पिँक साल्टका नाममा बजारमा विभिन्न ब्राण्डमा अत्याधिक महँगो मूल्य तोकी मनलाग्दी रुपमा नुन बिक्री वितरण हुने गरेको पाईएको र त्यस्ता उपर कार्वाही गरी पसल वा डिपार्टमेण्टहरु उपर निगरानी बढाइएको जनाउनु भयो ।  

त्यसैगरी, खाद्य विज्ञ शोभिता श्रेष्ठले पनि नेपालमा परिकार पकाउने आनीबानीलाई ध्यानमा राख्दा हाल कायम आयोडिनको मात्रा बढी नभएको धारणा व्यक्त गर्नुभयो ।

अन्तर्कृयामा सहभागीहरुले साल्ट ट्रेडिङ कर्पोरेशन नेपालले बिक्री–वितरण गर्दै आएको आयोडिनयुक्त नूनमा आवश्यकभन्दा बढी आयोडिन रहेको भन्दै केही स्वार्थी समूहले फैलाइरहेको भ्रमप्रति सरोकारवाला निकायहरूले आपत्ति जनाए ।  राष्ट्रिय उपभोक्ता मञ्चद्वारा आयोजित ‘आयोडिन मन्थ’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरकारका प्रतिनिधिहरूले वैज्ञानिक आधारबिनै फैलाइँदै आएको यस्ता प्रचारप्रति बेलैमा ध्यानाकर्षण गराउनुपर्ने धारणा  राखे ।  

राष्टि««य उपभोक्ता मंचका महासचिव पुष्पराम पौडेलले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्नुहुँदै कार्यक्रमले पछिल्ला वर्षहरूमा साल्ट ट्रेडिङको आयोडिनयुक्त नूनमा आयोडिन बढी छ भन्ने भाष्य निर्माण गर्ने उद्देश्यले गरिएका केही अनुसन्धानहरू निष्पक्ष नरहेको कार्यक्रमले निष्कर्ष समेत निकालेको बताउनुहुँदै सचेतना अभिब्रिद्धीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिईएको जानकारी दिनुभयो ।