वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान

PNA

राष्ट्रपति भवनमा भव्य समारोह

|
|


काठमाडौं -  नेपाली कला, सङ्गीत तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गर्दै ‘नातिकाजी राष्ट्रिय पुरस्कार तथा सम्मान २०८१’ भव्य रूपमा प्रदान गरिएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ले विभिन्न विधाका स्रष्टा, कलाकार तथा पत्रकारलाई पुरस्कार तथा सम्मान अर्पण गर्नुभएको हो ।

यस अवसरमा कला पत्रकार तथा गीतकार गीता अधिकारी र अनन्त वाग्लेलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान गरिएको थियो । पुरस्कारसँगै उहाँहरूलाई नगद राशिसहित सम्मान गरिएको थियो । दुई दशकभन्दा बढी समयदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी हाल हिमालय टाइम्स राष्ट्रिय दैनिक तथा मिलाप राष्ट्रिय मासिक पत्रिकासँग आबद्ध रहँदै आउनुभएको छ ।

समारोहमा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की तथा वीरेन्द्र पाठकलाई प्रदान गरिएको थियो । त्यस्तै, शशी गुरुङ, गणेश पराजुली, जुजुकाजी रञ्जित, अष्ट लामा, डा. भीमार्जुन आचार्य तथा निर्वाण सिं गुरुङ पनि विशिष्ट सङ्गीत सम्मानबाट सम्मानित हुनुभयो ।

यसैगरी ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ मनोज खड्का, रोशन गुरुङ, ताराप्रकाश लिम्बु, सरिता शाही, चाँद सिं तथा महेश्वरमान राजभण्डारीलाई प्रदान गरिएको थियो । नवप्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने ‘नातिकाजी नव प्रतिभा पुरस्कार’ विपना तामाङ, सहिमा श्रेष्ठ तथा सुरेश लामाले प्राप्त गर्नुभयो ।

कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार’ प्रमोद उपाध्यायलाई प्रदान गरिएको थियो ।

नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बाँसकोटा ले स्वर्गीय सङ्गीत महर्षि नातिकाजी श्रेष्ठ ले नेपाली सङ्गीतलाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई सामाजिक चेतना जगाउने शक्तिशाली साधनका रूपमा स्थापित गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले समाजले प्रत्येक वर्ष कला र सङ्गीत क्षेत्रमा समर्पित स्रष्टाहरूको योगदानको कदर गर्दै सम्मान तथा पुरस्कार वितरण गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रमलाई थप आकर्षक बनाउँदै सम्मानित तथा पुरस्कृत कलाकारहरूले स्वर्गीय नातिकाजीका चर्चित गीतहरू प्रत्यक्ष प्रस्तुत गरेका थिए । राष्ट्रपति भवनमा आयोजित समारोह नेपाली कला, सङ्गीत र पत्रकारिता क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा अत्यन्त भव्य र भावनात्मक बनेको थियो ।