generalnews
||Power News Asia||

आजको समाचार

मदनकृष्ण श्रेष्ठद्वारा डा. झाको प्रेमिल गीत सार्वजनिक

समाचार


काठमाडौं - गायक, संगीतकार तथा गीतकार एवं वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा. रणजित कुमार झाको नयाँ प्रेमिल गीत ‘न गाँस्थे म प्रित’ सार्वजनिक भएको छ। गीतसँगै यसको म्युजिक भिडियो पनि राजधानीमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो।

आइतबार काठमाडौंको न्यूरोडस्थित रञ्जना हलमा आयोजित कार्यक्रममा ख्यातिप्राप्त अभिनेता, गायक, संगीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

डा. झाकै शब्द, संगीत र स्वर रहेको ‘न गाँस्थे म प्रित’ प्रेम, आकर्षण र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर तयार पारिएको छ। फिल्मी गीतको शैलीमा निर्माण गरिएको गीतको भिडियोमा पनि प्रेमका कोमल अनुभूति र भावनात्मक सम्बन्धलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। यो गीत डा. रणजित कुमार झाको ‘जीवन पथ–२’ एल्बममा समावेश छ।

गीतको एरेन्ज पविधान खालिङले गरेका छन् भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।

सोहल्या र सुरेशको प्रेमिल अभिनय

गीतको म्युजिक भिडियोमा सोहल्या झा र सुरेश कोहलीले अभिनय गरेका छन्। भिडियोमा दुवैलाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ।

भिडियोको निर्देशन, कथा लेखन तथा कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्। रामशरण उप्रेतीको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन, कलर तथा जीएफएक्स रहेको छ। सरोज पाण्डेले मेकअप गरेका छन् भने सूर्य ओलीले प्रोडक्सन सम्हालेका छन्।

कार्यक्रममा डा. रणजित कुमार झाले चिकित्सा पेसासँगै आफूले संगीतप्रतिको रुचिलाई पनि निरन्तरता दिँदै आएको बताए। ‘जीवन पथ–२’ अन्तर्गत सार्वजनिक गरिएको ‘न गाँस्थे म प्रित’ मार्फत आफूभित्र रहेका अव्यक्त प्रेमिल भावनालाई संगीतको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेको उनको भनाइ थियो।

निर्देशक तथा कोरियोग्राफर कविराज गहतराजले गीत सुन्नासाथ आफू कल्पनाको संसारमा पुगेको अनुभव भएको र त्यही भावनालाई दृश्यमा उतार्ने प्रयासस्वरूप भिडियो तयार गरिएको बताए।

बुवाको गीतमा छोरीको अभिनय

अध्ययनका सिलसिलामा हाल भारतमा रहेकी भिडियोकी मोडल तथा डा. झाकी छोरी सोहल्या झाले भिडियो सन्देशमार्फत आफूले करिब ६ वर्षदेखि सिक्दै आएको भरतनाट्यमको अनुभव भिडियो निर्माणमा समेत उपयोग भएको बताइन्। उनले आफ्नै बुवाको गीतको भिडियोमा अभिनय गर्न पाउँदा निकै खुसी लागेको बताएकी छन्।

अर्का कलाकार सुरेश कोहलीले ‘न गाँस्थे म प्रित’ मार्फत फिल्मी गीत तथा फिल्मी शैलीको भिडियोमा काम गर्दाको फरक अनुभव हासिल भएको बताए।

कार्यक्रममा गायक राजेशपायल राईले डा. रणजित झाको प्रतिभालाई नजिकबाट बुझेपछि आफू प्रभावित भएको बताए। उनका अनुसार डा. झाको स्वरमा असाधारण प्रतिभा रहेको छ।

प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले डा. रणजित कुमार झाको व्यक्तित्वमा संगीत गहिरोसँग जोडिएको उल्लेख गर्दै “रणजितको नशा–नशामा संगीत छ” भन्ने भाव व्यक्त गरे।

चिकित्सकसँगै संगीतकर्मीको फरक पहिचान

डा. रणजित कुमार झा चिकित्सा क्षेत्रसँगै संगीतमा समेत लामो समयदेखि सक्रिय छन्। उनले बंगलादेशबाट एमबीबीएस तथा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एमडी गरेका छन्। भारतस्थित अपोलो अस्पतालबाट मधुमेह तथा मुटुसम्बन्धी दुई विषयमा फेलोसिपसमेत गरेका डा. झाको चिकित्सा क्षेत्रमा करिब २१ वर्षको सेवा अनुभव रहेको छ।

सप्तरीको ग्रामीण क्षेत्रस्थित कल्याणपुर प्राथमिक स्वास्थ्य उपचार केन्द्रबाट चिकित्सकीय सेवा सुरु गरेका उनले जिरी अस्पताल, दोलखा, प्रादेशिक अस्पताल लहान, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज हुँदै हाल वीर अस्पतालमा सेवा दिइरहेका छन्। यस अवधिमा उनले करिब ९ वर्ष विभिन्न अस्पतालको नेतृत्वदायी भूमिकासमेत निर्वाह गरिसकेका छन्।

चिकित्सा क्षेत्रमा सक्रिय रहे पनि संगीत उनको जीवनको अर्को महत्वपूर्ण पाटो हो। करिब तीन दशक लामो सांगीतिक यात्रामा उनले गीत लेख्ने, संगीत सिर्जना गर्ने तथा आफ्नै स्वरमा गीत प्रस्तुत गर्दै आएका छन्।

स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री, २०७७ बाट विभूषित डा. झा २०७२ सालको भूकम्पका बेला पुर्‍याएको सेवासहित स्वास्थ्य तथा संगीत क्षेत्रमा गरेको योगदानका लागि विभिन्न संघ–संस्थाबाट सम्मानित भइसकेका छन्।

संगीत क्षेत्रमा योगदानका लागि उनले नेपाली हिमालयन म्युजिक अवार्ड २०७२, १३औँ म्युजिक खबर म्युजिक अवार्ड २०२५ अन्तर्गत म्युजिक खबर संगीतकर्मी सम्मान, निम अवार्ड संगीतकर्मी सम्मान २०२५ लगायत विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्।

‘साथी तँ रक्सी नखा’ र ‘रातकी रानी’ पनि आउँदै

‘न गाँस्थे म प्रित’ सार्वजनिक भएसँगै गीत डा. रणजित कुमार झाकै युट्युब च्यानलका साथै विभिन्न डिजिटल तथा म्युजिक स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध भएको छ।

कार्यक्रममा डा. झाको परिचयात्मक भिडियोसँगै उनका आगामी गीतहरू ‘साथी तँ रक्सी नखा’ र **‘रातकी रानी’**को भिडियो ट्रेलरसमेत सार्वजनिक गरिएको थियो।

चिकित्साको सेतो कोटभित्र संगीतको रंग बोकेर हिँडिरहेका डा. रणजित कुमार झाको ‘न गाँस्थे म प्रित’ ले उनको चिकित्सकीय परिचयसँगै एक संवेदनशील सर्जकको अर्को परिचयलाई पनि दर्शाएको छ।

टिन भोग नेपाल २०२६ : म्याडी रोकाया र प्रसुना हमाल बने विजेता

समाचार


काठमाडौं । युवापुस्ताको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व र सिर्जनशीलतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको टिन भोग नेपाल २०२६ भव्य समारोहका साथ सम्पन्न भएको छ। प्रतियोगितामा म्याडी रोकाया र प्रसुना हमालले विजेताको उपाधि हात पारेका छन्।

प्रतियोगितामा सलिनी शाह र इमरान अली प्रथम उपविजेता घोषित भएका छन्। कार्यक्रममा सहभागी प्रतियोगीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास, व्यक्तित्व र आकर्षक प्रस्तुतीमार्फत दर्शक तथा निर्णायकको ध्यान आकर्षित गरेका थिए।

यसैगरी सौरव कडायतले लोकप्रियताको उपाधि प्राप्त गरेका छन्। उनी प्रतियोगिताको ब्रान्ड अम्बस्सदोरसमेत घोषित भएका छन्। अलिशा चौलागाईं पनि प्रतियोगिताको ब्रान्ड अम्बस्सदोरका रूपमा चयन भएकी छन्।

कार्यक्रममा रितु देव र क्रिशल बस्नेतले आयोजकको रोजाइको उपाधि प्राप्त गरे। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई समेत कार्यक्रममा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

डी.ई. इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगिताकी आयोजक अमिषा ओली हुन्। कार्यक्रम व्यवस्थापनको जिम्मेवारी बिबश थापाले सम्हालेका थिए भने कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए।

टिन भोग नेपाल २०२६ ले नेपाली किशोरकिशोरी तथा युवापुस्तामा रहेको प्रतिभा, आत्मविश्वास र रचनात्मक क्षमतालाई उजागर गर्ने महत्वपूर्ण मञ्चका रूपमा आफूलाई प्रस्तुत गरेको छ। प्रतियोगितामार्फत नयाँ प्रतिभाहरूलाई मोडलिङ, फेसन तथा मनोरञ्जन क्षेत्रमा अघि बढ्ने अवसर प्रदान गर्ने उद्देश्य राखिएको आयोजक पक्षले जनाएको छ।

विजेता तथा विभिन्न विधाका उपाधि विजेताहरूलाई आगामी दिनमा नेपाली फेसन तथा मनोरञ्जन क्षेत्रमा थप सक्रिय रूपमा अघि बढ्ने अवसर मिल्ने विश्वास आयोजकको छ।

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

समाचार


काठमाडौं - महाभारतको युद्ध सकिए पनि त्यसले जन्माएको हिंसा, प्रतिशोध, सत्ता संघर्ष र नैतिक संकट भने समाप्त हुँदैन। यही युद्धपछिको अँध्यारो समय र मानवीय मनोविज्ञानलाई केन्द्रमा राखेर धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रूपान्तरित प्रस्तुति ‘द एज अफ डार्कनेस’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ।

चलचित्र निर्देशक राजेन्द्र सलभले नेपाली रूपान्तरण गरेको नाटकको निर्देशन सुदीप खतिवडा ले गरेका हुन्। महाभारतको युद्धपछिको सामाजिक, राजनीतिक तथा मानवीय संकटलाई आधार बनाइएको नाटकले प्राचीन कथामार्फत आजको समाजमा देखिने हिंसा, सत्ता संघर्ष, प्रतिशोध र नैतिक संकटलाई समकालीन ढंगले प्रस्तुत गरेको निर्देशक खतिवडाले बताएका छन्।

करिब ११ वर्षअघि यही नाटकमार्फत अभिनय यात्रामा प्रवेश गरेका खतिवडा अहिले भने निर्देशकका रूपमा ‘द एज अफ डार्कनेस’ लिएर मञ्चमा फर्किएका छन्। त्यसबेला कलाकारका रूपमा प्रस्तुत भएको नाटकलाई अहिलेको समय, परिवेश र दर्शकसँग जोड्दै नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास गरिएको उनले बताए।
मण्डला थिएटरको प्रस्तुतिमा रहेको नाटकले युद्धपछि बाँकी रहने हिंसा र प्रतिशोधसँगै सत्ता, नैतिक द्वन्द्व तथा मानवीय जिम्मेवारीका गम्भीर प्रश्न उठाउँछ। युद्धमा विजयी र पराजित दुवै पक्षले भोग्नुपर्ने मानसिक, सामाजिक र मानवीय क्षतिलाई नाटकले मञ्चीय भाषामार्फत प्रस्तुत गरेको छ।

नाटकमा सबिना चौधरी, कमल रेग्मी, राजाराम गौतम, जिनलव दोर्जे वम्जन, आभुषण घिमिरे, मिलन पन्त, इन्द्रकुमार लिम्बु, जोहेब शाह, सुजित मल्ल ठकुरी, सामना राई, विजय दोङ, सौगन श्रेष्ठ, राजु श्रेष्ठ, नित्य पौडेल, विश्वजित ढकाल, मनुमित लेप्चा, घमन शाही, आरती बरुवाल, सुनिता राई, कुमार लामा, सुरेन्द्र विश्वकर्मा, सुजाता राई, अविशेक खतिवडा, सम्पदा लकान्द्री र सुजल कोइराला लगायतका कलाकारले अभिनय गरेका छन्।

नाटकको संगीत संयोजनमा सौरभ चालिसे, सलिना विक, जीवन राई र कुमार लामा रहेका छन्। मञ्चीय प्रस्तुति, प्रकाश, संगीत र कलाकारको सामूहिक अभिनयमार्फत युद्धपछिको भय, अराजकता र मानवीय संवेदनाको अवस्थालाई प्रभावशाली रूपमा प्रस्तुत गरिएको छ।

महाभारतको युद्धलाई केवल विजय र पराजयको कथाका रूपमा नभई युद्धपछि बाँकी रहने अँध्यारो र त्यसबाट जन्मिने अर्को संघर्षको कथा का रूपमा हेर्ने प्रयास ‘द एज अफ डार्कनेस’ को मुख्य विशेषता हो । 

मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक आगामी भदौ १४ गतेसम्म प्रदर्शनमा रहनेछ।

“मन फेरियो” : बदलिँदो सम्बन्ध र मानवीय संवेदनाको मार्मिक कथा

समाचार


काठमाडौं - समय, सम्बन्ध र आर्थिक हैसियतसँगै मानिसको सोच र व्यवहारमा आउने परिवर्तनलाई विषयवस्तु बनाइएको नयाँ नेपाली गीत “मन फेरियो” सार्वजनिक भएको छ। चर्चित सर्जक कृष्ण क्षेत्री “नेपाली मान्छे” का मार्मिक तथा यथार्थपरक शब्द, अनन्त अजय को भावपूर्ण स्वर तथा साहस शाक्य को संगीत र संगीत संयोजनमा गीत तयार भएको हो।

गीतले संघर्षका दिनमा साथ दिएका सम्बन्धहरू सफलता, समय र परिस्थितिसँगै कसरी बदलिन सक्छन् भन्ने यथार्थलाई संवेदनशील ढङ्गले प्रस्तुत गरेको छ। सम्बन्धको मूल्य, त्याग, अपनत्व र बदलिँदो मानवीय मनोभावलाई गीतले भावनात्मक रूपमा उजागर गरेको छ।  गीतका शब्दकार कृष्ण क्षेत्री “नेपाली मान्छे” पश्चिम नवलपरासीका स्थापित सर्जक तथा व्यवसायी हुन्। फर्निचर, इलेक्ट्रोनिक्स तथा होटल व्यवसायमा सक्रिय क्षेत्री नेपाली गीतसङ्गीत क्षेत्रमा समेत निरन्तर योगदान दिँदै आएका छन्। उनको चर्चित गीत “जलाएर मुटु” ले व्यापक लोकप्रियता हासिल गरेको थियो। उनी गौतम बुद्ध म्युजिक अवार्ड २०८१ मा उत्कृष्ट शब्दतर्फ सम्मानितसमेत भइसकेका छन्।

यसअघि क्षेत्रीकै शब्द तथा संगीतमा गायक राज सिग्देल को स्वर रहेको “गन्तव्य” गीतले समेत चर्चा पाएको थियो। उक्त गीत Raj Sigdel YouTube Channel मार्फत सार्वजनिक गरिएको थियो। त्यसबाहेक उनका विभिन्न सिर्जनाहरू विभिन्न फुटकर एल्बममा समेत समावेश छन्। “पूर्णिमा” एल्बममा गायक खेम थापा को स्वरमा रहेको “जब तिमी रिसाएर गयौ” लाई समेत आफ्नो समयको चर्चित गीतका रूपमा लिइन्छ।

गीतका गायक अनन्त अजय नेपाली गीतसङ्गीत क्षेत्रमा उदाउँदै गरेका प्रतिभाशाली गायक हुन्। हालसम्म करिब एक दर्जन गीतमा स्वर दिइसकेका अजय विशेषगरी भावनात्मक गहिराइ र सशक्त शब्द भएका गीत गाउन रुचाउँछन्। पछिल्लो समय उनी आफ्नै सांगीतिक पहिचान निर्माण गर्ने क्रममा छन्।

त्यस्तै, गीतका संगीतकार तथा संगीत संयोजक साहस शाक्य नेपाली संगीत क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय छन्। आधुनिक गीत, भजन, ध्यान संगीतलगायत विभिन्न सांगीतिक विधामा काम गर्दै आएका शाक्यको नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान रहँदै आएको छ।

गीतको म्युजिक भिडियो भूपेन चौधरी ले निर्देशन गरेका हुन्। The Content Nepal को प्रस्तुति रहेको भिडियोमा चर्चित मोडल तथा टिकटकर्स अवि मल्ल, मनिषा भण्डारी, अमर सिरिस, प्रिया क्षेत्री लगायत स्वयं गीतकार कृष्ण क्षेत्री “नेपाली मान्छे” को समेत अभिनय रहेको छ।

गन्तव्य एग्रो भिलेज रिसोर्ट, खुर्सानीबारी को दोस्रो प्रस्तुतिका रूपमा आएको उक्त भिडियोमा गीतको भावअनुसार सम्बन्ध, संघर्ष र बदलिँदो परिस्थितिको कथालाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ।  भावनात्मक कथा, सशक्त अभिनय, मिठासपूर्ण गायन र प्रभावशाली संगीत संयोजनका कारण “मन फेरियो” ले नेपाली गीतसङ्गीतका श्रोतामाझ विशेष प्रभाव पार्ने अपेक्षा गरिएको छ।

“लोक दोहोरी च्याम्पियन” असोज ३ गतेदेखि दर्शक माझ आउने

समाचार


काठमाडौं – रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी कार्यक्रम “लोक दोहोरी च्याम्पियन” को पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा “लोक दोहोरी च्याम्पियन” को उद्देश्य, निर्माण टोली, निर्णायक मण्डल तथा प्रसारणसम्बन्धी जानकारी सार्वजनिक गरिएको हो ।

नेपाली मौलिक लोकदोहोरीको संरक्षण, प्रवद्र्धन गर्दै नयाँ प्रतिभालाई अवसर दिने उद्देश्यले कार्यक्रम निर्माण गरिएको कार्यक्रम प्रमुख अनुपम गौतमले जानकारी दिए । कार्यक्रमको निर्देशन चलचित्र निर्देशक माधव राज खरेलले गर्नेछन भने निर्णायक मण्डलमा बरिष्ठ गायक तथा सर्जक पुरुषोत्तम न्यौपाने, रीता थापा मगर, पशुपति शर्मा र अमृत खाती रहेका छन् । त्यस्तै कार्यक्रमको सञ्चालन कमेडिन तथा कलाकार दिनेश काफ्ले र गायिका इप्सल सञ्ज्यालले गर्नेछन् ।

त्यस्तैगरी कार्यक्रम व्यवस्थापन गायक रामप्रसाद अवस्थीले सम्हाल्नेछन् भने, प्रतियोगी सम्योजकमा गायक तथा सर्जक दिपक खड्का, सङ्गीत निर्देशकमा राजु ढकाल, मेन्टर÷ कोचमा शिव हमाल, प्रोडक्सनमा गिरिराज ढकालले हेर्नेछन् । उक्त “लोक दोहोरी च्याम्पियन” छायांकन निर्देशनमा हेमन्त कटुवालले सम्हाल्ने छन भने ब्राण्ड एम्बेस्डरमा गायक तथा सर्जक शिरिश देवकोटा र कार्यक्रम परामर्श दाताको रुपमा सुवास केसीलाई अनुबन्धित गरिएको छ ।

“लोक दोहोरी च्याम्पियन” को स्याटेलाईट पार्टनर इमेज टेलिभिजन एच्डि, डिजिटल तथा युट्युव पार्टनर म्युजिक नेपाल ,भोटिङ पार्टनर खल्ति एप आइ एम ई , हस्पिटालिटी पार्टनर प्यासिफिक हस्पिटालिटी र ओपल ग्लोबल रहेको छ भने,फुड पार्टनरमा साप फाल्चा जोडिएको छ । 

आयोजकका अनुसार कार्यक्रमलाई आगामी असोज ३ गतेदेखि दर्शकमाझ ल्याउने तयारी भइरहेको छ। रगोन स्टुडियोको ब्यानरमा निर्माण भइरहेको यस कार्यक्रमले नेपाली लोकदोहोरी क्षेत्रमा रहेका प्रतिभालाई खोजी गर्दै उनीहरूलाई ठूलो मञ्च प्रदान गर्ने लक्ष्य लिएको छ ।

जुनियर मास्टर एन्ड मिस इटहरी–२०८३ को उपाधि शुभहाङ र मबिशालाई

समाचार


इटहरी — ड्रीम मोडलिङ एजेन्सी इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा ‘जुनियर मास्टर एन्ड मिस इटहरी–२०८३’ सिजन ५ भव्य रूपमा सम्पन्न भएको छ। इटहरीस्थित सोआल्टी वेस्टेन्ड इटहरीमा आयोजित प्रतियोगितामा बालबालिकाको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व, प्रस्तुति क्षमता तथा मोडलिङ सीपलाई मुख्य आधार बनाउँदै विभिन्न विधामा विजेताहरू घोषणा गरिएको हो। प्रतियोगिताको आयोजना ड्रीम मोडलिङ एजेन्सी इभेन्ट म्यानेजमेन्ट प्रालिले गरेको हो भने आयोजकका रूपमा सौरव म्यान भण्डारी रहेका थिए।

प्रतियोगिताको मुख्य उपाधि ब्वाइजतर्फ शुभहाङ राईले हात पारे भने गर्ल्सतर्फ मबिशा धुंगाना विजेता घोषित भइन्। त्यस्तै, ब्वाइजतर्फ नैतिक अग्रवाल फर्स्ट रनर–अप तथा नेभिल बराल सेकेन्ड रनर–अप बने। गर्ल्सतर्फ बिहानी पौडेल फर्स्ट रनर–अप र राब्या चौधरी सेकेन्ड रनर–अप घोषित भइन्। प्रतियोगितामा सहभागी बाल प्रतिभाहरूले विभिन्न चरणमा आफ्नो प्रस्तुति, आत्मविश्वास र सिर्जनात्मक क्षमता प्रदर्शन गरेका थिए।

यसैगरी, प्रतियोगितामा लोकप्रियता तथा दर्शकको समर्थनका आधारमा प्रदान गरिएको ‘भोटिङ स्टार’ उपाधि ब्वाइजतर्फ सनिश लाम्साल र गर्ल्सतर्फ नितिभा निरौलाले प्राप्त गरे। ‘पब्लिक च्वाइस’ विधामा ब्वाइजतर्फ सम्बग्य श्रेष्ठ र गर्ल्सतर्फ राब्या चौधरी विजेता बने। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हासिल गर्ने सबै विजेताहरूलाई आयोजकले बधाई तथा शुभकामना व्यक्त गरेको छ।

प्रतियोगिताको निर्णायक मण्डलमा मनोरञ्जन तथा फेसन क्षेत्रमा स्थापित व्यक्तित्वहरूको सहभागिता रहेको थियो। निर्णायकका रूपमा अभिनेता, मोडल तथा इन्फ्लुएन्सर नवनित राज प्रधान, उद्यमी, कस्मेटोलोजिस्ट तथा शिक्षिका अश्मीता ओली श्रेष्ठ, ‘मिस्टर नेपाल वर्ल्ड २०२४’ सन्तोष लोकशुम लिम्बू, प्रदेश नम्बर १ का क्षेत्रीय निर्देशक रोनक अग्रवाल तथा ‘हिमालयन रोडिज सिजन ७’ का फाइनलिस्ट सौरव आचार्य रहेका थिए। निर्णायकहरूले सहभागीहरूको आत्मविश्वास, व्यक्तित्व, प्रस्तुति, अनुशासन तथा समग्र प्रतिभाका आधारमा मूल्यांकन गरेका थिए।

सौरव आचार्यले ‘हिमालयन रोडिज सिजन ७’ मा आफ्नो आत्मविश्वास, व्यक्तित्व, प्रतिस्पर्धात्मक भावना र प्रभावशाली प्रस्तुतिका कारण पहिचान बनाएका छन्। त्यस्तै, अन्य निर्णायकहरूले पनि आ–आफ्नो क्षेत्रमा हासिल गरेको अनुभव र विशेषज्ञताका आधारमा प्रतियोगिताको मूल्यांकनमा योगदान दिएका थिए।

इटहरीमा आयोजना गरिएको यस प्रतियोगिताले बालबालिकामा लुकेर रहेका प्रतिभालाई उजागर गर्दै उनीहरूलाई फेसन, मोडलिङ तथा मनोरञ्जन क्षेत्रमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ। प्रतियोगितामार्फत बालबालिकाको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूलाई सिर्जनशील, अनुशासित र प्रतिस्पर्धात्मक वातावरणमा अघि बढ्न प्रेरित गर्ने उद्देश्य राखिएको थियो।

‘जुनियर मास्टर एन्ड मिस इटहरी–२०८३’ सिजन ५ को समापनसँगै विजेताहरूले आगामी दिनमा मोडलिङ, फेसन, मनोरञ्जन तथा विभिन्न सिर्जनात्मक गतिविधिमा अघि बढ्ने अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ। आयोजक ड्रीम मोडलिङ एजेन्सी इभेन्ट म्यानेजमेन्ट प्रालिले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सहभागी, अभिभावक, निर्णायक, प्रायोजक, सहकार्य गर्ने संस्था तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

सोआल्टी वेस्टेन्ड इटहरीमा २०८३ साल साउन २३ गते आयोजित उक्त कार्यक्रममा विजेता तथा उपाधिधारीहरूलाई सम्मान तथा शुभकामना प्रदान गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो। प्रतियोगिताका विजेताहरूले प्राप्त गरेको सफलता उनीहरूको आगामी यात्रा र प्रतिभा विकासका लागि महत्वपूर्ण अवसर बन्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

मलेसियामा नेपालको ऐतिहासिक गौरव : दिप्सन कार्की बने ‘किड्स टुरिज्म एम्बासडर युनिभर्स वर्ल्ड २०२६

समाचार


काठमाडौं | नेपालका प्रतिभाशाली बाल प्रतिनिधि दिप्सन कार्कीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शिर उच्च बनाउँदै मलेसियाको साबाह राज्यस्थित पर्यटकीय सहर कोटा किनाबालुमा सम्पन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता ‘किड्स टुरिज्म एम्बासडर युनिभर्स वर्ल्ड २०२६’ को मुख्य उपाधि जित्न सफल भएका छन्। विश्वका विभिन्न देशबाट सहभागी भएका प्रतिभावान् बालप्रतिनिधिहरूमाझ उत्कृष्ट प्रदर्शन गर्दै उनले नेपालको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेका हुन्। यस ऐतिहासिक सफलतासँगै दिप्सनले नेपाली बालप्रतिभाको क्षमता, आत्मविश्वास, नेतृत्वदक्षता तथा नेपालको पर्यटन र सांस्कृतिक पहिचानलाई विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल भएका छन्।

पर्यटन, संस्कृति, व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा अन्तर्राष्ट्रिय मित्रतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न राष्ट्रका बालप्रतिनिधिहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताका प्रत्येक चरणमा दिप्सनले आत्मविश्वासपूर्ण प्रस्तुति, अनुशासित व्यवहार, उत्कृष्ट सार्वजनिक वक्तृत्वकला, सिर्जनात्मक सोच, सकारात्मक व्यक्तित्व तथा अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई प्रस्तुत गर्ने क्षमताका कारण निर्णायक मण्डलको विशेष प्रशंसा प्राप्त गरेका थिए। उनी प्रत्येक मूल्याङ्कन चरणमा उत्कृष्ट अंक हासिल गर्दै अन्ततः प्रतिष्ठित ‘किड्स टुरिज्म एम्बासडर युनिभर्स वर्ल्ड २०२६’ को उपाधि जित्न सफल भएका हुन्।

प्रतियोगिताका क्रममा दिप्सनले नेपालको प्राकृतिक सौन्दर्य, हिमाल, पहाड र तराईको विविधता, विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदाहरू, सांस्कृतिक विविधता, मौलिक कला, परम्परा, धार्मिक सहिष्णुता तथा नेपालको पर्यटन सम्भावनाबारे प्रभावशाली प्रस्तुति दिएका थिए। उनले नेपाललाई केवल सगरमाथाको देशका रूपमा मात्र नभई संस्कृति, सभ्यता, आतिथ्यता र प्राकृतिक सम्पदाले भरिपूर्ण विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष परिचित गराएका थिए। उनको प्रस्तुतिले निर्णायकहरू मात्र होइन, सहभागी देशका प्रतिनिधिहरूको समेत ध्यान आकर्षित गरेको आयोजकले जनाएको छ।

यस उपलब्धिलाई नेपालको बालप्रतिभाले अन्तर्राष्ट्रिय क्षेत्रमा हासिल गरेको महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ। सानै उमेरमा विश्वस्तरीय प्रतियोगितामा सहभागी भई नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय उपाधि जित्नु सम्पूर्ण नेपालीका लागि गर्वको विषय बनेको छ। दिप्सनको सफलताले नेपालका अन्य बालबालिकालाई पनि आफ्नो प्रतिभा विश्वमाझ प्रस्तुत गर्न, आत्मविश्वासका साथ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन तथा देशको पहिचानलाई अझ उचाइमा पुर्‍याउन प्रेरणा दिने विश्वास गरिएको छ।

यस ऐतिहासिक सफलताको अर्को महत्वपूर्ण पक्ष भनेको दिप्सन कार्की नेपालमा न्यु राइज इन्टरटेनमेन्टद्वारा आयोजना गरिएको प्रतिष्ठित ‘किड्स कल्चर ग्ल्याम’ प्रतियोगिताका विजेता हुन्। सोही राष्ट्रिय प्रतियोगिताबाट छनोट भई उनले नेपालको आधिकारिक प्रतिनिधिका रूपमा मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए। नेपालभित्रको प्रतिस्पर्धाबाट विश्व मञ्चसम्म पुगेर मुख्य उपाधि जित्न सफल हुनु ‘किड्स कल्चर ग्ल्याम’ जस्ता राष्ट्रियस्तरका प्लेटफर्महरूले नेपाली बालप्रतिभालाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्न सफल भएको उदाहरणका रूपमा हेरिएको छ।

न्यु राइज इन्टरटेनमेन्टका अध्यक्ष नवराज देउवाले दिप्सन कार्कीको उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन महत्वपूर्ण योगदान पुगेको बताउँदै यस सफलताप्रति खुसी व्यक्त गरेका छन्। उनले नेपाली बालप्रतिभालाई विश्वस्तरीय अवसर प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘किड्स कल्चर ग्ल्याम’ प्रतियोगिताले आफ्नो लक्ष्य पूरा गर्न थालेको उल्लेख गर्दै आगामी वर्षहरूमा अझ धेरै नेपाली बालप्रतिभालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने योजना रहेको जानकारी दिए।

उनले नेपालका बालबालिकामा लुकेका प्रतिभालाई उचित प्रशिक्षण, व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने वातावरण सिर्जना गर्नु न्यु राइज इन्टरटेनमेन्टको प्राथमिक उद्देश्य रहेको बताए। साथै, भविष्यमा नेपालबाट अझ धेरै प्रतिभावान् बालप्रतिनिधिहरूलाई विश्वका प्रतिष्ठित प्रतियोगिताहरूमा सहभागी गराई नेपालको पर्यटन, संस्कृति, कला, भाषा तथा राष्ट्रिय पहिचानलाई विश्वभर प्रवर्द्धन गर्ने अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे।

दिप्सन कार्कीले प्राप्त गरेको ‘किड्स टुरिज्म एम्बासडर युनिभर्स वर्ल्ड २०२६’ उपाधिसँगै उनले विश्व समुदायसमक्ष नेपालको पर्यटन, संस्कृति, कला, परम्परा तथा राष्ट्रिय पहिचानलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण जिम्मेवारीसमेत प्राप्त गरेका छन्। आगामी दिनमा उनी विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम, सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधिहरूमा सहभागी भई नेपालको सकारात्मक छवि विश्वभर फैलाउने अपेक्षा गरिएको छ।

उनको यस सफलताले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न, बालप्रतिभाको क्षमता उजागर गर्न तथा नेपालको सांस्कृतिक सम्पदालाई विश्वसामु परिचित गराउन समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। साथै, यस्ता अन्तर्राष्ट्रिय उपलब्धिहरूले नेपालका बालबालिकामा आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई विश्वस्तरीय अवसर प्राप्त गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

दिप्सन कार्कीको यस ऐतिहासिक उपलब्धिप्रति देश तथा विदेशमा रहेका नेपाली समुदाय, विभिन्न सामाजिक तथा सांस्कृतिक संघ–संस्था, शिक्षाविद्, कलाकार, पर्यटनकर्मी, शुभेच्छुक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमसम्म उनको सफलताको व्यापक प्रशंसा भइरहेको छ भने नेपालका लागि उनले हासिल गरेको यो गौरवपूर्ण उपलब्धिलाई आगामी पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा लिइएको छ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउँदै विश्वकै प्रतिष्ठित उपाधि जित्न सफल दिप्सन कार्कीले नेपाली बालप्रतिभाको क्षमता कुनै पनि देशका प्रतिभाभन्दा कम नभएको सन्देश दिएका छन्। उनको यो ऐतिहासिक सफलताले नेपाललाई अन्तर्राष्ट्रिय बाल व्यक्तित्व विकास, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। दिप्सनको यस उपलब्धिले भविष्यमा अझ धेरै नेपाली बालप्रतिभालाई विश्व मञ्चमा पुग्ने मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

नेपालका देव जैसवाल बने ‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल २०२६’ किड्स मेल ग्रान्ड विनर, विश्व मञ्चमा नेपालको गौरव उच्च

समाचार


काठमाडौं, साउन १९। नेपालका प्रतिभाशाली बाल प्रतिनिधि देव जैसवाल ले मलेसियाको साबाह राज्यस्थित कोटा किनाबालुमा सम्पन्न अन्तर्राष्ट्रिय व्यक्तित्व, संस्कृति तथा पर्यटन प्रवर्द्धनसम्बन्धी प्रतिष्ठित प्रतियोगिता ‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल २०२६’ अन्तर्गत बालक विधामा ग्रान्ड विनर को सर्वोच्च उपाधि जित्दै नेपाललाई विश्व मञ्चमा गौरवान्वित बनाएका छन्। विश्वका विभिन्न देशबाट सहभागी भएका उत्कृष्ट प्रतिस्पर्धीबीच सम्पन्न अन्तिम प्रतिस्पर्धामा देवले आफ्नो आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, नेतृत्व क्षमता, नेपाली संस्कृति तथा पर्यटन प्रवर्द्धनप्रतिको समर्पण प्रभावकारी रूपमा प्रस्तुत गर्दै निर्णायकहरूको मन जित्न सफल भएका हुन्।

प्रतियोगिताका विभिन्न चरणमा उनले नेपालको मौलिक संस्कृति, परम्परा, सभ्यता, राष्ट्रिय पहिचान तथा प्राकृतिक सम्पदालाई आकर्षक ढंगले प्रस्तुत गरेका थिए। नेपाली पहिरन, संस्कार, भाषा र पर्यटनका सम्भावनाबारे उनले दिएको प्रस्तुति सहभागी तथा निर्णायकहरूको विशेष आकर्षणको केन्द्र बनेको थियो। उनको उत्कृष्ट प्रदर्शनले नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटनको अथाह सम्भावना बोकेको देश भएको सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याएको विश्वास गरिएको छ।

देव जैसवालको यो ऐतिहासिक सफलतालाई नेपाली बाल प्रतिभाको अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ। सानै उमेरमा विश्वस्तरीय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै सर्वोच्च उपाधि जित्नुले नेपाली बालबालिकामा रहेको प्रतिभा, आत्मविश्वास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्ने क्षमता प्रमाणित गरेको छ। यस उपलब्धिले भविष्यमा अझ धेरै नेपाली बाल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन प्रेरणा दिने अपेक्षा गरिएको छ।

नेपालको आधिकारिक सहभागिता तथा राष्ट्रिय समन्वय म्याजेस्टिक ग्रुप नेपाल मार्फत गरिएको थियो। संस्थाले प्रतियोगिताका लागि आवश्यक तयारी, समन्वय तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ। साथै, देव जैसवालको सफलतामा साथ र सहयोग पुर्‍याउने अभिभावक, प्रशिक्षक, शुभेच्छुक, समर्थक तथा सम्पूर्ण आयोजक टोलीप्रति हार्दिक आभार व्यक्त गरिएको छ।

पर्यटन, संस्कृति, व्यक्तित्व विकास तथा अन्तर्राष्ट्रिय मित्रतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रका प्रतिनिधिहरूले आफ्नो देशको संस्कृति, कला, भाषा, पर्यटन तथा सामाजिक उत्तरदायित्वसम्बन्धी प्रस्तुति दिएका थिए। प्रतिस्पर्धाका विभिन्न चरणमा उत्कृष्ट प्रदर्शन गर्दै देव जैसवाल अन्ततः सर्वोच्च उपाधि जित्न सफल भएका हुन्।

यो सफलता केवल एउटा अन्तर्राष्ट्रिय उपाधिमा सीमित नभई नेपालको प्रतिष्ठा, संस्कृति र पर्यटनलाई विश्व समुदायमाझ थप परिचित गराउने महत्वपूर्ण अवसरका रूपमा समेत हेरिएको छ। यस उपलब्धिले नेपालका बाल प्रतिभाहरू विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको सशक्त सन्देश दिएको छ भने अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिलाई अझ प्रभावशाली बनाएको छ।

देव जैसवालको यस गौरवपूर्ण सफलताप्रति नेपालभरबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ। विभिन्न सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूले उनको उपलब्धिलाई नेपाली बाल प्रतिभाको ऐतिहासिक सफलता भन्दै प्रशंसा गरेका छन्। विश्व मञ्चमा नेपालको नाम उच्च राख्दै नेपाली संस्कृति, पहिचान र पर्यटनलाई प्रभावकारी रूपमा प्रस्तुत गरेकोमा देव जैसवालप्रति सम्पूर्ण नेपाली समुदायले गर्व व्यक्त गरेको छ। उनको यो उपलब्धिले आगामी दिनमा अझ धेरै नेपाली बाल प्रतिभालाई अन्तर्राष्ट्रिय अवसरतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास गरिएको छ।

कलाकारसहित ५० जनालाई सम्मान

समाचार


काठमाण्डौ– कलाकारिताको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले एकैपटक कलाकारसहित ५० जनालाई सम्मान गरिएको छ । वरिष्ठ कलाकारलाई नगदसहित साधना सममान प्रदान गरिएको छ । एभर ग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टले १४ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा कर्म अनुसार आआफ्नो पहिचान, विभिन्न विद्याका व्यक्तित्वहरूलाई सम्मान भन्ने नारासहित एकैपटक कलाकारसहित राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रममा चलचित्र, स्वास्थ्य, व्यवसाय, सौन्दर्य पर्यटन, पत्रकारिता, गीत, संगीत साथै विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाएका ५० जना व्यक्तित्वहरुलाई दशक सम्मान, विशेष सम्मान र प्रोत्साहन सम्मानद्वारा सम्मानित गरिएको हो ।

यसै बर्षदेखि सुुरु गरिएको दीर्घ साधना सम्मानसहित पुरस्कार विशिष्ट चलचित्रकर्मी शिवहरी नेपाल (बैरागी) लाई प्रदान गरिएको छ । वैरागीलाई आयोजकले लामो समयदेखि निरन्तर कलाकारितामा सक्रिय भएको कदर गर्दै नगद ३३ हजार तीनसय ३३ रुपैयाँ नगद राशीसहित दीर्घ साधना सम्मान प्रदान गरेको हो । विभिन्न विद्याका व्यक्तित्वहरुलाई सम्मानका साथै नेपालीकला, मौलिक संस्किृतिको जगेर्ना गर्ने उद्देश्यले उक्त कार्यक्रममा सन्चालन गरिएको एभर ग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टका अध्यक्ष गोपाल ढकाल छन्देले वताए । कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशेष अतिथिहरु प्रथम नेपाली नायिका भुवन चन्द, चैत्यदेवी सिंह, हास्य कलाकार बसुन्धरा भुसाल, नायक कृष्ण मल्ल, रवीन्द्र खड्का, मोहन निरौला, राजु शाह, कलाकार संघका अध्यक्ष उत्तम केसी, अभिनेत्री मिथिला शर्मा, नारायण प्रधान, गोपालकाजी कायस्थ, निर्मलराज पौडेललगायतले सम्मान गरेका हुन् ।

कार्यक्रममा सम्मानित भएकाहरुमा विशिष्ट चलचित्रकर्मी सुभाषप्रसाद गजुरेल, श्याम राई, चलचित्रकर्मी नरेन्द्र थापा, चलचित्रकर्मी आरपी पन्त, चलचित्रकर्मी कमलकान्त मैनाली, चलचित्रकर्मी सुशील पोखरेल, चलचित्रकमी एनबी महर्जन, चलचित्रकर्मी कृष्णप्रसाद ढुङ्गाना, चलचित्रकर्मी विजय देउजा, चलचित्रकर्मी मुकुन्द थापा, विश्व साइकलयात्री तथा विश्व शान्तिका अभियन्ता पुष्कर शाह, सञ्चारकर्मी, उद्घोषिका कल्याणी रिमाल, वरिष्ठ नेत्ररोग विशेषज्ञ, शिक्षाविद् तथा अनुसन्धानकर्ता प्रा.डा.मिनु चौधरीलगायत रहेका छन् । यसैगरी, नायक धिरेन शाक्य, चलचित्रकर्मी, व्यवसायी किशोर घिमिरे, चलचित्रकर्मी उमेश खड्का, चलचित्रकर्मी बद्रीप्रसाद पुडासैनी, नृत्य–थेरापीका प्रशिक्षक चरण प्रधान, साहित्यकार राधा पराजुली भण्डारी, होटल सञ्चालन निर्देशक दीपेन्द्र सिंह, शिक्षासेवी तथा समाजसेवी छवि घिमिरे, शिक्षाविद् तथा शैक्षिक नेतृत्वकर्ता रमिला सुबेदी, पत्रकार तथा गीतकार शान्तिप्रिय, चलचित्रकमी राजेन्द्र केसी राजु, पत्रकार श्याम स्मृतलगायत रहेका छन् ।

सम्मानित भएका अन्यहरुमा सम्पादक बनिश शाह, शैक्षिक व्यक्तित्व बैकुण्ठ पाठक, चलचित्रकर्मी राजु शाही, समाजसेवी विश्वराम माकजु, कृषि अभियन्ता हेमकान्त पराजुली, चलचित्रकर्मी शिवशंकरप्रसाद रिजाल जोगिन्दर, गायक तथा संगीतकार तिलकध्वज कट्टेल, अडियो/भिडियो निर्देशक तथा क्रिएटिभ सञ्चारकर्मी मनिषराज पौडेल, नायिका तथा मोडल प्रेरणा शर्मा, समाजसेवी उद्धबप्रसाद पाण्डे, गायक गणेश थापा, अभिनेता, मोडल तथा निर्देशक शिबन पोखरेल, अटो व्यवसायी तथा समाजसेवी रोशनकुमार श्रेष्ठ, छायाँकार, सम्पादक तथा कलाकार अमृत सागरलगायत रहेका छन् ।, यस्तै नाटयकर्मी, चलचित्रकर्मी जेबी डिसी, नायिका तथा मोडल मोनिका दाहाल, भिजुअल इफेक्ट्सकर्ता अच्युत बजगाई, चलचित्र निर्देशक, लेखक तथा सञ्चारकर्मी जनक खड्का, कलाकार तथा निर्देशक इन्द्रबहादुर लामातामाङ खम्बे , कलाकार लेखक तथा निर्देशक विनयराज पौडेल, निर्देशक देवेन्द्र पाण्डे, कलाकार चन्द्रकला राई लब्ली, नायिका तथा मोडल सबिना कार्की, समाजसेवी तथा महिला सशक्तीकरण अभियन्ता दिलमाया तामाङ राना रहेका छन् ।

कार्यक्रममा नौमती बाजा समूह बालाजुले संगीतिक रौनकता थपेको थियो भने गायक तथा संगीतकार कृष्ण भट्टराईको गायनमा सम्पूर्ण दर्शकहरु रमाएका थिए  ।चुडामणि फुयालको कोरियोग्राफी रहेको एनके डान्स एन्ड फिल्म प्रोडक्सन साथै महान सिद्धार्थ हाइस्कुलका विद्यार्थीहरुको आर्षक प्रस्तुति सवैले रुचाएका थिए । उक्त कार्यक्रमको आयोजक समूहमा विशिष्ट चलचित्रकर्मी, सल्लाहकार रविन्द्र खड्का, नायक तथा मोडल श्रीदेव भट्टराई, सञ्चारकर्मी सोनितराज ढुंगेल, समाजसेवी राजन थापा, कलाकार तथा निर्देशक जीवन थापा, छायाँकार हर्कमान वाइबा रिदम, स्वास्थ्यकर्मी सिकृता वस्ती, गीतकार तथा लेखक भानुभक्त ढकाल रहेका थिए । बिशेष सहयोगी नायिका तथा मोडल तेजुला खतिवडा, कलाकार सुनील कटुवाल, नन्दकेशर ढकाल, राजु हिमाशिव, सनराईज धनुके, सुमन थापा, पशुपति सिंहकुँवरलगायत विभिन्न सहयोगी संघसंस्था, व्यक्तिहरुलाई कदरपत्र, मायाको चिनो प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमलाई सन्चारकर्मी, गायक तथा संगीतकार सरोज कोइरालाले संचालन गरेका थिए । आगामी समयमा अझै परिस्कृत रुपमा भव्य कार्यक्रम आयोजना गर्ने आयोजक संस्थाका अध्यक्ष तथा हाँस्यकलाकार गोपाल ढकाल छन्दे ले बताए ।
 

ऋणको पीडाको यथार्थ बोकेको ‘ऋणै ऋणमा डुबे आमा’ गीत चर्चामा

समाचार


काठमाडौं - पछिल्लो समय ‘ऋणै ऋणमा डुबे आमा’ बोलको गीत सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा व्यापक रूपमा चर्चामा रहेको छ। नेपाली समाजमा बढ्दो आर्थिक संकट, ऋणको बोझ र त्यसले निम्त्याएको पारिवारिक तथा मानसिक पीडालाई मार्मिक रूपमा प्रस्तुत गरिएको यो गीतले छोटो समयमै दर्शक तथा श्रोताको ध्यान तान्न सफल भएको हो।

गीतका शब्द दीपेन्द्र कुमार थापाले लेखेका हुन् भने संगीत अर्जुन पोखरेलले तयार पारेका छन्। गायक थानेश्वर गौतमको सशक्त स्वर रहेको गीतले ऋणको भारले थिचिएका सर्वसाधारणको दैनिकी, साहुको ऋण तिर्न नसक्दाको विवशता र जीवनसंघर्षलाई यथार्थपरक ढंगले चित्रण गरेको छ।

यही विषयवस्तुकै कारण धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले गीतलाई आफ्नो जीवनसँग जोड्दै प्रतिक्रिया जनाइरहेका छन्। टिकटकलगायत विभिन्न डिजिटल प्लेटफर्ममा गीतका अंश प्रयोग गरी भिडियो बनाउने क्रम पनि बढ्दो छ।

द डिभाइन म्युजिकमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा हिउँवाला गौतम, आस्मा पाण्डे र रमेश विश्वकर्माको अभिनय रहेको छ। भिडियोको निर्देशन माधव शर्माले गरेका हुन्।

समसामयिक सामाजिक यथार्थलाई संगीतमार्फत प्रस्तुत गर्ने प्रयासस्वरूप आएको ‘ऋणै ऋणमा डुबे आमा’ले आम नागरिकले भोगिरहेका आर्थिक समस्यालाई प्रभावकारी रूपमा उजागर गरेको भन्दै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।