generalnews
||Power News Asia||

आजको समाचार

डा. प्रसाईँको राष्ट्रिय गीत ‘हट्छ औँसीको डार्क’ सार्वजनिक

समाचार


काठमाडौं – देशमा प्रतिनिधिसभा निर्वाचनको माहौल तात्दै गर्दा साङ्गीतिक क्षेत्रबाट पनि सचेतना र राष्ट्रियताको सन्देश प्रवाह गर्ने क्रम तीव्र बन्दै गएको छ। यसै सन्दर्भमा डा. ओमकृष्ण प्रसाईँको शब्द तथा स्वरमा र्‍याप शैलीको नयाँ राष्ट्रिय गीत ‘हट्छ औँसीको डार्क’ सार्वजनिक गरिएको छ।
गीतको शीर्षकले नै यसको गहिरो भाव र सन्देशलाई स्पष्ट पार्छ। यहाँ ‘औँसीको डार्क’ अर्थात् अन्धकारले समाज र राजनीतिमा व्याप्त निराशा, विकृति र अन्योलतालाई सङ्केत गरेको छ। आसन्न निर्वाचनको समयमा सार्वजनिक भएको यस गीतले अब त्यो अन्धकार हट्ने र देशमा नयाँ आशा तथा उज्यालो छाउने विश्वास व्यक्त गरेको छ।
युवा पुस्तालाई लक्षित गर्दै र्‍याप शैली अपनाइएको यस गीतले मतदानमार्फत सकारात्मक परिवर्तन सम्भव छ भन्ने सन्देश दिन खोजेको छ। ऊर्जा र चेतनाले भरिएको यस गीतको अडियो निर्माण पक्ष पनि मजबुत रहेको छ। सञ्जय हमालले बिट एरेन्ज गरेको गीतमा गोविन्द सोनीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। सबु केसी र आर्जु चौधरीले सहायक गायनमा साथ दिएका छन् भने अनीश लिम्बुले ए लेभल स्टुडियोमा गीत रेकर्ड गरेका हुन्।
गीतको सन्देशलाई प्रभावकारी रूपमा पर्दामा उतार्न यसको म्युजिक भिडियो पनि आकर्षक बनाइएको छ। ममता रायमाझीको निर्माण तथा प्रमोद डिजीको निर्देशनमा तयार भएको भिडियोमा डा. ओमकृष्ण प्रसाईँसहित रविना श्रेष्ठ, सूर्य तामाङ, राम विष्ट, सिर्जना बस्नेत, प्रकाश खतिवडा, नायरा प्रसाईँ, अंकिता थेबे, कल्पना मगर, मन्सुल थापा र आयुषी कार्कीको अभिनय रहेको छ।
भिडियोलाई प्रशान्त केसी र उनकी टोलीले छायाङ्कन गरेका हुन् भने लक्ष्मण चौहानले सम्पादन, रङ्ग संयोजन र पोस्टर डिजाइनको जिम्मेवारी सम्हालेका छन्। सुष्मा जोशीको मेकअप, कल्पना मगरको कोरियोग्राफी र बुद्धि माझीको सहायक निर्देशन रहेको यस भिडियोले गीतको भावलाई जीवन्त बनाएको छ।
निर्वाचनको छेकोमा सार्वजनिक भएको यो साङ्गीतिक कोसेलीले आम मतदातालाई सचेत गराउँदै देशको अन्धकार हटाएर उज्यालो भविष्य निर्माण गर्न प्रेरित गर्ने विश्वास निर्माण पक्षले लिएको छ।

भव्य रूपमा सम्पन्न चौथो ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड–२०८२’

समाचार


काठमाण्डौ- सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ को चौथो संस्करण भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौँस्थित चलचित्र विकास बोर्डको हलमा आयोजित ‘चौथो विराट फिल्म एन्ड म्युजिक अवार्ड–२०८२’ कार्यक्रममा नेपाली चलचित्र तथा गीत–संगीत क्षेत्रका स्रष्टाहरूलाई विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको प्रमुख आतिथ्यता तथा बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र र संगीत गरी कुल ३६ विधामा अवार्ड वितरण गरिएको थियो। यसमध्ये २४ विधा संगीततर्फ र १२ विधा चलचित्रतर्फ समावेश गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा चलचित्र विकास बोर्डको सहकार्य रहेको थियो भने २०८१ सालमा प्रदर्शन भएका फिल्म तथा सार्वजनिक गीत–संगीतलाई प्रतिस्पर्धामा समेटिएको थियो।

लाइफटाइम अचिभमेन्टदेखि पत्रकारिता पुरस्कारसम्म

प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्देशक शुभाष गजुरेललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ सहित नगद रु. २५,५५५ प्रदान गरियो। पत्रकार श्री कृष्ण भट्टराईलाई नगद रु. ११,१११ सहित पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा लेखक तथा निर्देशक काजी लिम्बु, कलाकार श्रेया दुलाल, निर्माता सुनीता सापकोटा, राम नारायण उपाध्याय र बिज्ञान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो।

जुरी टिममा निर्देशक तथा सम्पादक रक्षा सिंह राणा, छायाँकार शिव ढकाल, गीतकार प्रमोद ढुंगाना, निर्देशक ऋषि लामिछाने, लेखक तथा निर्देशक अमरदीप सापकोटा तथा गायक नविन कुमार पौडेल रहेका थिए।

चलचित्रतर्फका प्रमुख विजेताहरु:

  • उत्कृष्ट फिल्म: सतीदेवी

  • उत्कृष्ट निर्देशक: मिलन चाम्स (अञ्जिला)

  • उत्कृष्ट अभिनेता: विजय वराल (पूर्ण बहादुरको सारंगी)

  • उत्कृष्ट अभिनेत्री: केकी अधिकारी (बोक्सीको घर)

  • उत्कृष्ट सह–अभिनेत्री: श्रृजना अधिकारी (सतीदेवी)

  • उत्कृष्ट सह–अभिनेता: कामेश्वर चौरसिया (फेरी रेशम फिलिली)

  • उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान (पिताम्बर)

  • उत्कृष्ट सम्पादक: सन्देश शाह (ज्वाईं साव)

  • उत्कृष्ट संगीतकार: आशिष अविरल (पूर्ण बहादुरको सारंगी)

  • उत्कृष्ट पटकथा संवाद: लक्ष्मण सुवेदी (सतीदेवी)

  • उत्कृष्ट रंग संयोजन: राजेन्द्र मोक्तान (अञ्जिला)

  • उत्कृष्ट इन्करेज्मेन्ट अवार्ड: बाल कलाकार मंजिला बानियाँ र हर्षिका ओली (सतीदेवी)

संगीत तर्फका उत्कृष्ट विजेताहरु:

  • उत्कृष्ट गायक (आधुनिक): रुद्र शेखर शर्मा (के छ सान्नानी)

  • उत्कृष्ट गायिका (आधुनिक): अञ्जु पन्त (थाहै थिएन दिल)

  • उत्कृष्ट संगीतकार: मनोज चौलागाईं

  • उत्कृष्ट गीतकार (आधुनिक): प्रतिमा गुरुङ (न जिउन सकें न मर्न सकें)

  • पब्लिक च्वाइस अवार्ड: ईश्वर वल्लभ उप्रेती (आदत बन्यौ)

  • उत्कृष्ट म्युजिक भिडियो निर्देशक: राजेन्द्र बस्नेत (मेरो घरको मुन्तिर)

  • उत्कृष्ट छायाँकार (म्युजिक भिडियो): मदन काश्यप घिमिरे (अजम्बरी माया)

  • उत्कृष्ट गायक (लोक पप): दिनेश भारती (चन्द्र कुमारी)

  • उत्कृष्ट गायक (लोक): चन्द्र लामा (मुटुमा बसेकी माया)

  • उत्कृष्ट गीतकार (गजल): तुलाराम लामिछाने (समय खराव छ)

  • उत्कृष्ट निर्देशक (भाषाभाषी चलचित्र): दिनेश लिङ्ग्देन (दुस्प्रयास)

  • उत्कृष्ट अभिनेता (भाषाभाषी चलचित्र ‘तलास’): राजकुमार लिङ्ग्देन

कला क्षेत्रलाई उत्साह

नेपाली चलचित्र तथा गीत–संगीत क्षेत्रमा क्रियाशील स्रष्टाहरूलाई प्रोत्साहन, सम्मान र पहिचान दिलाउने उद्देश्यले आयोजना हुँदै आएको ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ ले यस वर्ष पनि कला क्षेत्रलाई थप ऊर्जा प्रदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा कलाकार, निर्देशक, निर्माता, पत्रकार तथा संगीतकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। चौथो संस्करण सफलतापूर्वक सम्पन्न भएसँगै आगामी वर्ष अझ व्यापक र समावेशी रूपमा आयोजना गर्ने तयारीसमेत सुरु गरिएको आयोजकले जानकारी दिएको छ।

नेपाली चलचित्रको इतिहास जोगाउने अभियान

समाचार


काठमाण्डौ- चलचित्र विकास बोर्डद्वारा स्थापना गरिएको चलचित्र संग्राहलयको मंगलबार औपचारिक शुभारम्भ गरिएको छ। लक्ष्मी कुमारी बस्नेतले एक विशेष समारोहका बीच संग्राहलयको उद्घाटन गरेकी हुन्। नेपाली चलचित्रको ऐतिहास झल्कने सामग्रीहरु राखिने संग्राहलय चलचित्र विकास बोर्डले सञ्चालनमा ल्याएको हो ।

बोर्डको प्रेक्षालयमा सम्पन्न कार्यक्रममा चलचित्रकर्मी, स्रष्टा तथा विभिन्न संस्थाहरूले नेपाली चलचित्रको इतिहास झल्कने महत्वपूर्ण सामग्रीहरू हस्तान्तरण गरेका थिए। ऐतिहासिक क्यामेरा, क्यासेट, टेप, पोस्टर, आर्टवर्क, स्क्रिप्ट तथा संग्रहयोग्य कागजातहरू सचिव बस्नेतलाई औपचारिक रूपमा बुझाइएको थियो। सोही अवसरमा बोर्डका तर्फबाट सामग्री उपलब्ध गराउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान पनि गरिएको थियो।

संग्राहलय नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको बोर्डले जनाएको छ। कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले स्वदेशी चलचित्र सङ्ग्रहालय स्थापना आफ्नो दीर्घकालीन सपना रहेको उल्लेख गरे। उनले यसलाई नेपाली चलचित्रको आत्मा जोगाउने अभियानका रूपमा व्याख्या गर्दै भने,

“नेपाली चलचित्रको इतिहास केवल सम्झनामा सीमित नहोस्, त्यसलाई पुस्तान्तरण गर्न सकिने गरी संस्थागत रूपमा संरक्षण गर्नुपर्छ भन्ने सोचका साथ हामीले यो पहल गरेका हौँ।”

अध्यक्ष डिसीले विगतका संघर्ष, प्रविधिगत विकास र सिर्जनात्मक यात्रालाई एकै थलोमा अभिलेखीकरण गर्नु समयको माग भएको धारणा व्यक्त गरे। साथै, आगामी दिनमा सङ्ग्रहालयलाई डिजिटल अभिलेखीकरणसँग जोड्दै अनुसन्धानकर्ता, विद्यार्थी तथा चलचित्रप्रेमीका लागि अध्ययन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए।
“यो सुरुआत मात्र हो। हामी यसलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा विस्तार गर्नेछौँ,” उनले प्रतिबद्धता जनाए।

बोर्डले भविष्यमा चलचित्रकर्मी, विभिन्न संस्थाहरू तथा निजी संग्राहकहरूसँग सहकार्य गर्दै संग्राहलयलाई थप व्यवस्थित र समृद्ध बनाउने योजना रहेको जनाएको छ। नेपाली चलचित्र उद्योगको समग्र इतिहासलाई एकै स्थानमा संरक्षण गर्ने यो पहलले चलचित्र क्षेत्रलाई नयाँ आयाम दिने विश्वास गरिएको छ।

“एक कम्पनी, एक आईएसआईएन” को नीति अवलम्बन गर्नुपर्ने चेम्बर अध्यक्ष अग्रवालको सुझाव

समाचार


काठमाडौं, फागुन ११ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले पूँजी बजारलाई थप सुदृढ, पारदर्शी र लगानीमैत्री बनाउन आवश्यक रहेको औंल्याउनुभएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड द्वारा आयोजित प्रस्तावित *धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२* सम्बन्धी मस्यौदामाथि आयोजित अन्तरक्रिया कार्यक्रममा विशिष्ट वक्ताका रूपमा बोल्दै उहाँले उक्त धारणा राख्नुभएको हो। निजी क्षेत्रको तर्फबाट आफ्नो धारणा राख्ने क्रममा उहाँले पूँजी बजार सुधारका लागि एकीकृत नीति आवश्यक रहेकोमा जोड दिनुभयो।

उहाँले विकासोन्मुख देश नेपालका लागि पूँजी बजार आर्थिक विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसले बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन, उद्योग-व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा विदेशी लगानी आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रस्तावित निर्देशिका बजारलाई जटिल बनाउने होइन, तरल, सुरक्षित र लगानीमैत्री बनाउने लक्ष्यका साथ परिमार्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

अध्यक्ष अग्रवालले विगतमा लागू गरिएको दोहोरो आईएसआईएन (अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर) प्रणालीका कारण एउटै कम्पनीका शेयरको फरक–फरक मूल्य कायम भई बजारमा सट्टेबाजी तथा मूल्य विकृति बढेको उल्लेख गर्नुभयो। यसले लगानीकर्तामा भ्रम र अविश्वास सिर्जना गर्नुका साथै बजार सूचकांक र कारोबारमा नकारात्मक प्रभाव परेको उहाँको भनाइ थियो। अन्तर्राष्ट्रिय अभ्यासअनुसार “एउटै कम्पनी, एउटै आईएसआईएन” को नीति अवलम्बन गर्नुपर्ने सुझाव उहाँले दिनुभयो।

उहाँका अनुसार संस्थापक र सर्वसाधारण शेयरबीचको विभाजनले शेयरको तरलता घटाउने, बोनस, हकप्रद तथा लाभांश वितरणजस्ता संस्थागत कार्यहरूमा प्राविधिक जटिलता बढाउने र नियामक निकायको अनुगमनमा कठिनाइ सिर्जना गर्ने समस्या देखिएको छ। साथै दोहोरो आईएसआईएन व्यवस्थाले पूर्ण अभौतिक (डिम्याट) प्रणाली, टी+२ सेटलमेन्ट, बजार निर्माता व्यवस्था (मार्केट मेकिङ) तथा डिजिटल स्वचालनजस्ता आधुनिकीकरणका प्रयासमा अवरोध पुर्‍याउन सक्ने उहाँले बताउनुभयो।

आपूर्ति संरचना सुधारका लागि संस्थापक शेयरमा अत्यधिक लक–इन अवधि तथा कूलिङ अवधिका कारण बजारमा शेयर आपूर्ति सीमित भई सट्टेबाजी बढ्ने अवस्था रहेको भन्दै उहाँले क्रमिक रूपमा निश्चित सीमा (जस्तै २० प्रतिशतसम्म) शेयर खुला गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो। यसले बजारमा आपूर्ति सन्तुलन कायम गरी मूल्य स्थिरता ल्याउन सहयोग पुग्ने उहाँको धारणा थियो।

साथै अध्य​क्ष​ अग्र​वाल​ले अन्तर्राष्ट्रिय अभ्यासबमोजिम कम्पनीका सञ्चालकहरूले पनि विशेष परिस्थितिबाहेक आफ्नो तोकिएको सिलिङभन्दा माथिको शेयर बिक्री गर्न पाउनुपर्ने बताउँदै यसले शेयरको आपूर्ति बढाउने र अन्य क्षेत्रमा लगानी प्रोत्साहित हुने धारणा राख्नुभयो।

निर्देशिका कार्यान्वयनअघि सरोकारवालासँग व्यापक परामर्श गरी नियामकीय प्रभाव मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै उहाँले निजी क्षेत्रसँगको समन्वयले नीति कार्यान्वयनलाई प्रभावकारी र व्यवहारिक बनाउने विश्वास व्यक्त गर्नुभयो।

अन्त्यमा अध्यक्ष अग्रवालले पूँजी बजार सुधारका लागि सबै नियामक तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।

चलचित्र विकास बोर्डद्वारा मातृभाषी तथा आदिवासी जनजाति चलचित्र प्रवर्द्धनमा ४१ लाख ९५ हजार बजेट स्वीकृत

समाचार


काठमाडौं चलचित्र विकास बोर्ड ले मातृभाषी तथा आदिवासी जनजाति चलचित्र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै विभिन्न जातीय चलचित्रसँग सम्बन्धित संघ–संस्थासँग सहकार्य अघि बढाएको छ। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको बोर्डले आदिवासी जनजाति तथा मातृभाषी चलचित्र प्रवर्द्धन समितिको सिफारिसका आधारमा उक्त निर्णय गरेको जनाएको छ।

बोर्डका अनुसार मातृभाषी र आदिवासी जनजाति चलचित्रको संरक्षण, संवर्द्धन तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रु. ४१ लाख ९५ हजार बजेट स्वीकृत गरिएको छ। सो रकम विविध तालिम, कार्यशाला तथा चलचित्र महोत्सव सञ्चालनमा खर्च गरिने जानकारी दिइएको छ।

उक्त सम्झौताअनुसार निर्देशन तालिम, सिनेमाटोग्राफी प्रशिक्षण, कथा लेखन तथा निर्देशन कार्यशाला, अभिनय तथा छायांकन तालिम, सांस्कृतिक संरक्षणसम्बन्धी प्रशिक्षण तथा आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना गरिनेछ। यी कार्यक्रम देशका विभिन्न जातीय समुदायमा सक्रिय चलचित्रकर्मीलाई लक्षित गरी सञ्चालन गरिने बोर्डले जनाएको छ।

बोर्डका अध्यक्ष दिनेश डिसी ले यस पहललाई समावेशी चलचित्र उद्योग निर्माणतर्फको महत्वपूर्ण उपलब्धि बताउनुभयो। उहाँले भन्नुभयो, “नेपाल बहुभाषिक र बहुसांस्कृतिक देश हो। चलचित्र क्षेत्रले पनि यही विविधतालाई समेट्न आवश्यक छ। मातृभाषी तथा आदिवासी जनजाति चलचित्र प्रवर्द्धन गर्नु हाम्रो सांस्कृतिक जिम्मेवारी मात्र नभई राष्ट्रिय पहिचान जोगाउने अभियान पनि हो।”

यस कार्यक्रमले स्थानीय भाषा र संस्कृतिमा आधारित मौलिक कथाको दस्तावेजीकरणमा टेवा पुर्‍याउनेछ। साथै, नयाँ पुस्ताका चलचित्रकर्मीलाई सीप र दक्षतामा सशक्त बनाउँदै व्यावसायिक रूपमा अघि बढ्न सहयोग पुग्ने अपेक्षा बोर्डले गरेको  छ।

चलचित्र क्षेत्रमा सक्रिय विभिन्न जातीय संस्थाहरूले बोर्डको कदमलाई स्वागत गर्दै मातृभाषी चलचित्र निर्माणमा नयाँ ऊर्जा, अवसर र अन्तर्राष्ट्रिय पहिचान विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

पूर्वको इलाममा फ्रेन्ड्स सिनेमाजको शाखा सञ्चालनमा

समाचार


काठमाडौं – पूर्वको रमणीय जिल्ला इलाममा आधुनिक सिनेमा हलको अभाव अन्त्य गर्दै फ्रेन्ड्स सिनेमाजले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। धरान र बुटवलमा सफल सञ्चालनपछि चेनको तेस्रो आउटलेटका रूपमा इलाम नगरपालिका–७ मा हल सुरु गरिएको हो।

शुक्रबार आयोजित उद्घाटन समारोह विशेष आकर्षणको केन्द्र बन्यो। कार्यक्रममा अभिनेता पल शाह, अभिनेत्री उषा उप्रेती तथा द्वन्द्व निर्देशक एवं निर्माता चन्द्र पन्तको उपस्थिति रहेको थियो। आफ्ना मनपर्ने कलाकारलाई नजिकबाट भेट्न पाउँदा स्थानीय दर्शक उत्साहित देखिन्थे। हल परिसर दर्शकको बाक्लो उपस्थितिले उत्सवमय बनेको थियो।  करिब ३ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको यस हलमा १८८ सिट क्षमता रहेको छ। नगरपालिकाको बहुतले पार्किङ भवनमा सञ्चालनमा आएको हलमा अत्याधुनिक ‘टुके प्रोजेक्सन’ र ‘डल्बी डिजिटल साउन्ड सिस्टम’ जडान गरिएको छ। यसले राजधानीका मल्टिप्लेक्ससरह ध्वनि र दृश्य अनुभव दिने सञ्चालकहरूको दाबी छ।

फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीले मोफसलका दर्शकलाई राजधानीस्तरको सुविधा उपलब्ध गराउने लक्ष्य रहेको बताए। “अब इलामका दर्शकले गुणस्तरीय फिल्म हेर्नका लागि अन्य सहर धाउनुपर्ने बाध्यता रहने छैन,” उनले उल्लेख गरे।

सञ्चालकहरू प्रदीप धामी, पुष्कर घिमिरे र आशिष एच तामाङका अनुसार पारिवारिक वातावरण, आरामदायी सिट र आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै हल सञ्चालनमा ल्याइएको हो। निर्देशक आशिष एच तामाङले नेपाली चलचित्रको बजार विस्तारका लागि जिल्ला–जिल्लामा साना तर सुविधासम्पन्न हल आवश्यक रहेको धारणा राखे। उनका अनुसार घरेलु बजार सुदृढ बनाउन मोफसलमै पूर्वाधार विस्तार अपरिहार्य छ।

इलाममा स्तरीय सिनेमा हल नहुँदा नयाँ चलचित्र प्रदर्शनमा ढिलाइ हुने अवस्था थियो। अब भने देशभर रिलिज भएकै दिन नयाँ नेपाली फिल्म इलाममा पनि प्रदर्शन हुनेछन्। यसले स्थानीय बासिन्दासँगै पर्यटकलाई समेत मनोरञ्जनको नयाँ विकल्प उपलब्ध गराएको छ।  फ्रेन्ड्स सिनेमाजले आगामी दिनमा अन्य सहरहरूमा पनि आफ्नो चेन विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ।

२६ विधामा ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ नोमिनेसन सार्वजनिक

समाचार


काठमाडौँ- नेपाली गीत–संगीत तथा चलचित्र क्षेत्रका स्रष्टालाई अवार्ड र सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करणका लागि नोमिनेसन सार्वजनिक गरिएको छ।

कार्यक्रम संयोजक सुरज पौडेलका अनुसार यस वर्ष सङ्गीततर्फ १५ विधा र चलचित्रतर्फ ११ विधा गरी जम्मा २६ विधामा नोमिनेसन घोषणा गरिएको हो। अवार्डमा सहभागिताका लागि गरिएको आह्वानपछि प्राप्त भएका चलचित्र तथा गीत–संगीत कृतिहरूलाई समेटेर नोमिनेसन तय गरिएको संयोजक पौडेलले जानकारी दिए।

अवार्ड समारोह यही फागुन १३ गते काठमाडौँमा आयोजना हुनेछ। अवार्डको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’का पहिलो, दोस्रो र तेस्रो संस्करण काठमाडौँमा भव्य तथा सभ्य रूपमा सम्पन्न भइसकेका छन्।

सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा हुने यस वर्षको अवार्डमा २०८१ सालमा प्रदर्शन तथा सार्वजनिक भएका चलचित्र र गीत–संगीतलाई समावेश गरिएको छ। साथै, अवार्ड कार्यक्रमलाई चलचित्र विकास बोर्डले सहकार्य गरेको छ। अवार्ड कार्यक्रममा एक जना श्रस्टालाई नगद २५ हजार पांच सय पचपन्न नगद सहित लाइफटाइम अचिभमेन्ट अवार्ड द्वारा सम्मान गरिनेछ। एक जना पत्रकारलाइ नगद सहित पुरस्कार पनि प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

यस्तो छ नोमिनेसन:

नोमिनेसन फिल्म तर्फ
१. उत्कृस्ट फिल्म
– बोक्सीको घर
– पूर्ण बहादुरको सारंगी
– सतीदेवी
– अञ्जिला
– पिताम्बर

२.उत्कृस्ट निर्देशक
- सरोज पौडेल (पूर्ण बहादुरको सारंगी)
– मिलन चाम्स (अञ्जिला)
- कृषा चौलागाई (पिताम्बर
- लक्ष्मण सुवेदी (सतीदेवी)
- वसन्त निरौला (ज्वाईं साव)

३.उत्कृस्ट अभिनेता
– विजय वराल (पूर्ण बहादुरको सारंगी)
– प्रदीप खड्का (पिताम्बर)
– जितु नेपाल (ज्वाईं साव)
– दयहाङ्ग राई (अञ्जिला)
- विनय श्रेष्ठ (फेरी रेशम फिलिली)

४.उत्कृस्ट अभिनेत्री
– सुपुस्पा भट्ट (फेरी रेशम फिलिली)
– केकी अधिकारी (बोक्सीको घर)
– मलिका महत (सतीदेवी)
– साम्राज्ञी आर एल शाह (लन्डन टु पेरिस)
- अन्जना बराइली (पूर्ण बहादुरको सारंगी)

५.सह-अभिनेत्री
– सृजना सुब्बा (अञ्जिला)
- अलिशा बास्तोला (पूर्ण बहादुरको सारंगी)
- गरिमा शर्मा (लन्डन टु पेरिस)
- सुरक्षा पन्त (पिताम्बर)
- सृजना अधिकारी (सतीदेवी)

६.छायाँकार
– पुरुसोत्तम प्रधान (पिताम्बर)
- शिवराम श्रेष्ठ (पूर्ण बहादुरको सारंगी)
–  सुसन प्रजापति (फेरी रेशम फिलिली)
- बाबु श्रेस्ठ (सतीदेवी)
- सुदिप बराल (अन्जिला)

७.सम्पादक
- मिलन श्रेष्ठ (अञ्जिला)
- सुरेन्द्र जी पौडेल (पूर्ण बहादुरको सारंगी)
- बन्दे प्रसाद (पिताम्बर)
- संदेश शाह (ज्वाईं साव)
- शजु चन्दन (लन्डन टु पेरिस)

८.संगीतकार
– थानेश्वर गौतम रात किन हुन्छ (अञ्जिला)
– आशिष अविरल रैयाँ चाँदीको ( पूर्ण बहादुरको सारंगी)
- अर्जुन पोखरेल कसम बत्तिको (ज्वाईं साव)
- प्रकाश सपुत बुझिन मैले (बोक्सीको घर)
- काली प्रसाद बासकोटा पारी त्यो डाडामा (फेरी रेशम फिलिली)

९.सह अभिनेता
- सौगात मल्ल (पिताम्बर)
- कामेश्वर चौरसिया (फेरी रेशम फिलिली)
- निश्चल खड्का (लन्डन टु पेरिस)
- कुलबहादुर अधिकारी (सतीदेवी)
- मुकुन भुषाल (पूर्ण बहादुरको सारंगी)

१०.पटकथा संवाद
– महेश दवाडी (पूर्ण बहादुरको सारंगी)
- लक्ष्मण सुवेदी (सतीदेवी)
- लोकमणि पौडेल (अग्नि दहन)
- प्रदिप भारद्वाज,यम थापा,गिरिराज घिमिरे (अञ्जिला)
- प्रदिप भारद्वाज र अभिमन्यु निरवी (पिताम्बर)

११.रंग संयोजन
- राजेन्द्र मोक्तान (अञ्जिला)
- रेनिश फागो (पिताम्बर)
- राजेन्द्र मोक्तान (अग्निदहन)
- सुप्रिम पराजुली (फेरी रेशम फिलिली)
- रेनिश फागो (ज्वाईं साव)

नोमिनेसन संगीत तर्फ
१.उत्कृस्ट गायक आधुनिक
- नवीन कुमार पौडेल (यो हाम्रो साथ)
- रुद्र शेखर शर्मा (के छ सान्नानी)
– दिप्सन लिम्बु (ओ माया)
– शिव परियार (अजम्बरी माया)
– शशी विक्रम थापा (तिम्रै कारण)

२.उत्कृस्ट गायिका आधुनिक
- मेलिना राई (टर्रो चियापत्ती)
- जुनु प्रसाई (सुन हे माया)
– अन्जु पन्त (थाहै थिएन दिल)
- अन्नु चौधरी (फर्केर हेर)
- वेनिषा पौडेल (यो हाम्रो साथ)

३.उत्कृस्ट संगीतकार
– मनोज चौलागाईं (ए मन)
– राजेन्द्र बजगाईं (पुतली)
- कमल अधिकारी (मेरो घरको)
- भिम बिसी (पिर पर्याछ)
- लक्ष्मण पोखरेल(दुख्यो धेरै)

४.उत्कृस्ट गीतकार आधुनिक
– पुरन राउत (यो हाम्रो साथ )
– प्रतिमा गुरुङ (न जिउन सकें न मर्न सकें)
– सरिता सापकोटा – बेखबर
- हरी उप्रेती (तिम्रो झझल्को)
- डा.राजुबाबु श्रेष्ठ (अजम्बरी माया)

५.उत्कृस्ट मोडल आधुनिक मेल
– आर्यन राउत (पिर पर्‍या छ)
- माधव केसी (अजम्बरी माया)
- रोजेन सुन्दास (लाखौँ चोट)
- इश्वर वल्लभ उप्रेती (आदत बन्यौ)
- भुवन खड्का (कस्तो रोग)

६.उत्कृस्ट मोडल आधुनिक फिमेल
- आशिका खत्री (तिमि बिना)
- प्रिया गौतम (सुन ए माया)
- नेहा गौतम (तिम्रो झझल्को)
- सुरक्षा इटानी (यो हाम्रो साथ)
- स्मारिका ढकाल (दुख्यो धेरै)

७.उत्कृस्ट मेकअप आर्टिस्ट
– सरगम गाहा (तिम्रो मेरो दिलको बास)
– प्रिया नगरकोटी (मेरो घरको मुन्तिर)
- गीता बुढाथोकी (तिमि बिना)
- रवि केसी (सुनकै दरवार)
- सविना गुरुङ (दुख्यो धेरै)

८.उत्कृस्ट म्युजिक भिडियो निर्देशक
- अनिल शाही (टर्रो चियापत्ती)
– बबिता श्रेष्ठ (सुन है माया)
– राजेन्द्र बस्नेत (मेरो घरको मुन्तिर)
– विनयराज पौडेल (हेर्दा हेर्दै)
- नितिन चन्द (थाहै थिएन)

९.उत्कृस्ट छायाँकार म्युजिक भिडियो
– मुकेश हुमागाईं (टर्रो चियापत्ती)
– डम्बर राई (मेरो घरको मुन्तिर)
- मदन काश्यप घिमिरे (अजम्बरी माया)
- कृष्ण देव रुपाखेती (दुख्यौ धेरै)
- नुवा संदेश (थाहै थिएन)

१०.उत्कृस्ट गीतकार पप
- सुक गुरुङ (छेक्यो छेक्यो)
– अनुप महर्जन (अँध्यारो रातमा)
 -विराज गौतम (मन्जरी)
-सुरेश राई (फेरी भेटौला)
-अर्जित लोप्चन (मकवानपुरे डन)

११.उत्कृस्ट गायन लोक
-विमला भण्डारी (बेसी खेतैमा)
-गीता देवी (हरियो चोली)
-दिपिका वयम्बु (नजर त्यतै छ)
– चन्द्र लामा (मुटुमा बसेकी माया)
-पार्वती कार्की (हरियो चोली)

१२.उत्कृस्ट छायाँकार पप भिडियो
-जीवन पराजुली (आज टाढीयौ)
-रक्की महर्जन (याद मेटाउन)
-मिलन थापा ‘शान्त’ (अध्यारो रातमा)
-मानश श्रेष्ठ (हिजो आज)
-उत्सव दाहाल (फेरी भेटौला)

१३.उत्कृस्ट मोडल भोजपुरी
-सद्दाम हुसेन (कमर धके)
-समिर के जोशी (सपनो मे)
-अमित श्राप (लहे लहे)
-भरत शाह (तहल्का मचादे)
-निशान्त पाण्डे (विवाह)

१४.उत्कृस्ट गीतकार गजल
-तुलाराम लामिछाने (समय खराव छ)
-सरोज पोखरेल (गाजल टिकी)
-उत्तम भेटवाल (गजलका कुरा)
-ममिला पौडेल ‘आस्था’ (लाखै चोट)
-दिपक सोनाम (जादा आकाशैमा)

१५.उत्कृस्ट कोरियोग्राफर म्युजिक भिडियो
-नरेश ऐयार (पिर पर्या छ)
-सुरेश पाण्डे (जवानीले पोल्यो)
-संदेश मोथे (यो हाम्रो साथ )
-सुरेश पाण्डे (चन्द्र कुमारी)
-कृष्ण रसाल (तिम्रै लागी हो)

महाशिवरात्रिको अवसरमा कुपण्डोल स्थित शिव मन्दिरमा लघु रुद्री महामृत्युञ्जय रुद्राभिषेक तथा अनुष्ठान यज्ञ सम्पन्न

समाचार


काठमाडौं । महाशिवरात्रिको पावन अवसर पारेर फागुन ३ गते आइतबार कुप​ण्डोल​ स्थित आराध्यदेव भगवान श्री शिव मन्दिर मा लघु रुद्री महामृत्युञ्जय रुद्राभिषेक तथा अनुष्ठान यज्ञ सम्पन्न गरिएको छ। धार्मिक आस्था र सनातन परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त अनुष्ठानमा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अनुष्ठान धर्मरक्षक गुरु आचार्य पं. डा. नरोत्तम लाल श्रेष्ठ (ज्योतिषाचार्य) र उहाँकी धर्मपत्नी सुचिता श्रेष्ठद्वारा अभिषेक कर्ताको रूपमा सम्पन्न गरिएको हो। सोही अवसरमा गुरु नानक मठ परिसरमा धार्मिक सभाको समेत आयोजना गरिएको थियो। कार्यक्रममा राष्ट्रिय​ धर्मसभाका अध्यक्ष प्रा. डा माधव भट्टराई  प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले भगवान शिवको महिमा वर्णन गर्दै फागुन कृष्ण चतुर्दशी  मा पर्ने शिवरात्रिमा गरिने धार्मिक कार्यले विशेष पुण्य प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले धर्मरक्षा तथा धार्मिक कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश फैलाउँदै आएको भन्दै आचार्य श्रेष्ठको प्रशंसा गर्नुभयो।

कार्यक्रममा आचार्य पं. डा. नरोत्तम लाल श्रेष्ठले विगत वर्षहरूमा महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर लगायत विभिन्न स्थानमा बृहत धार्मिक कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो। आफ्नै जन्मथलो कुपन्डोलमा यज्ञ आयोजना गर्न पाउँदा कर्तव्यबोध र विशेष हर्ष अनुभूति भएको उहाँको भनाइ थियो।

पूर्व मन्त्री ओम​कार​ श्रेष्ठले मानव धर्म नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै धार्मिक सहिष्णुताले मात्र देशमा शान्ति र समुन्नति सम्भव हुने धारणा राख्नुभयो। त्यसैगरी सिख धर्मगुरु प्रितम सिंहले सनातन धर्म समुदायको हितमा यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्दै आयोजकप्रति साधुवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी, धर्मसेवी तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो। धार्मिक सभा पश्चात सहभागीहरूलाई प्रसादस्वरूप सात्विक भोजन ग​राईएको आयोजकले जनाएको छ।

महाशिवरात्रीको महत्व र विशेषता । 

समाचार


ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय मामृतात्॥

काठमाण्डौ - महाशिवरात्रि हिन्दू धर्मको एक प्रमुख पर्व हो, जुन आरध्यदेव भगवान शिवको आराधनामा मनाइन्छ। यो पर्व विशेषगरी फाल्गुन कृष्ण चतुर्दशी (फागुन महिनाको कृष्ण पक्षको १४औँ दिन) मा मनाइन्छ। आउनुहोस् शिवरात्रिको बारेमा केही जानकारी लिऔं ।

१. के हो त शिवरात्री ?
शिवप्रिया रात्रिः शिवरात्रिः अर्थात् कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्री हो । जुन रात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्री भनिन्छ । यस दिन शिवार्चनका साथै रात्रि–जागरणको विशेष महत्त्व भएकोले कल्याण चाहने साधकहरुले रातभर जागरण सहित विधिपूर्वक व्रत गर्नु पर्ने शास्त्रीय विधान छ । भगवान् शिवको निर्गुण निराकारबाट सगुण साकार रुपमा दिव्य अवतरणको मंगलसूचक रातको नाम नै महाशिवरात्री हो । भगवती पार्वतीको जिज्ञासामा शिव भन्नुहुन्छ – फागुन कृष्ण चतुर्दशीको रात्रि शिवरात्रीका नामले प्रसिद्ध छ । यस दिन व्रतोपवास गर्ने साधकले मलाई प्रसन्न गर्दछ ।
फाल्गुने कृणपक्षस्य या तिथिः स्याच्चतुर्दशी ।
तस्यां या तामसी रात्रिः सोच्यते शिवरात्रिका ।।
तत्रोपवासं कुर्वाणः प्रसादयति मां ध्रुवम् ।। (शिवपुराण)

 २. शिवरात्री कहिले मनाउने वा मनाईन्छ त ?
महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ । 

माघफाल्गुनयोर्मध्ये या च कृष्णा चतुर्दशी ।
तस्यां जागरणादु्रद्रः पूजितो भुक्तिमुक्तिदः ।। (गरुडपुराण– १२४ अध्याय)

यस रात्रिलाई अर्धरात्रिव्यापिनी चतुर्दशी (जुन दिन आधारातसम्म चतुर्दशी तिथि हुन्छ त्यो) तिथिमा गर्नुपर्ने कुरा ईशान संहितामा उल्लेख गरिएको छ– 

तत्कालव्यापिनी ग्राह्या शिवरात्रिव्रते तिथिः ।
अर्द्धरात्रादधश्चोर्द्ध्वं युक्ता यत्र चतुर्दशी ।।
व्याप्ता सा दृश्यते तस्यां तस्यां कुर्यात् व्रतं नरः ।

चाहे यो तिथि पूर्वा (त्रयोदशी तिथिले युक्त) होस्, चाहे परा (चतुर्दशीयुक्त) होस् । फागुन कृष्ण चतुर्दशी तिथि आधा रातसम्म भएको दिन शिवरात्री व्रत गर्ने साधकले अनन्त फल प्राप्त गर्दछ भनी नारदसंहितामा उल्लेख गरिएको छ । यस सम्बन्धमा तीन ओटा पक्षहरु छन्– 
१.चतुर्दशी तिथिलाई प्रदोषव्यापिनी (रातको सुरुवातमा मात्र भएको)
२.निशीथव्यापिनी (आधारातसम्म भएको) 
३. उभय (दुवै) व्यापिनी ।
व्रतराज, निर्णयसिन्धु र धर्मसिन्धु आदि ग्रन्थहरुका अनुसार निशीथव्यापिनी चतुर्दशी तिथिलाई नै लिनु पर्दछ । अतः आधारातसम्म भएको चतुर्दशी तिथि नै मुख्य हो, तर यसको अभावमा प्रदोषव्यापिनीलाई लिने भएकोले यसलाई गौण मानिन्छ । त्यसैले पूर्वा अथवा परा दुवै अवस्थामा जुन निशिथव्यापिनी चतुर्दशी तिथि छ, त्यसैमा व्रत गर्नुपर्दछ भन्ने शास्त्रीय नियम छ ।

 ३. शिवरात्री र शिवको महिमा र महत्व ।
ज्योतिषशास्त्रका अनुसार फागुन कृष्ण चतुर्दशी तिथिमा चन्द्रमा सूर्यको नजिक हुन्छ । अतः त्यसै समय जीवनरुपी चन्द्रमाको शिवरुपी सूर्यसँग योग (मिलन) हुन्छ । यस चतुर्दशीमा शिवपूजा गर्नाले जीवलाई अभीष्टतम पदार्थको प्राप्ति हुन्छ ।

भगवान् शंकरमा अनुपम सामञ्जस्य, अद्भुत समन्वय र उत्कृष्ट सद्भावको दर्शन हुन्छ । त्यसैले वहाँको सत्प्रेरणाद्वारा विश्व–कल्याणको महान् कार्यमा प्रवृत्त हुनु मानवमात्रको परम कर्तव्य हो । भगवान् शिव अर्धनारीश्वर भएर पनि कामविजेता हुनुहुन्छ । गृहस्थ भएर पनि परम विरक्त हुनुहुन्छ । विषपान गरेका कारण नीलकण्ठ भएर पनि विषबाट अलिप्त हुनुहुन्छ । ऋद्धि–सिद्धिहरुका मालिक भएर पनि तिनीहरुबाट अलग हुनुहुन्छ । उग्र भएर पनि सौम्य  र अकिंचन भैकन पनि सर्वेश्वर हुनुहुन्छ । निधारमा प्रलयकालको अग्नि र शिरमा परम शीतल गंगाजी वहाँको अनुपम शृंगारका रुपमा रहेका छन् । भगवान् शिवको सान्निध्यमा साँढे र सिंह त्यसैगरी मयूर र सर्पले एक–आपसमा रहेको वैरभावलाई सजिलै भुली एकसाथ क्रीडा गर्दछन् । यसले समस्त विरोधी भावहरुको विलक्षण समन्वयको शिक्षा दिने भएकाले विश्वलाई सह–अस्तित्व अपनाउनका लागि राम्रो मार्गनिर्देशन मिल्दछ ।

यसैगरी वहाँको श्रीविग्रहरूप शिवलिंग ब्रह्माण्ड र निराकार ब्रह्मको प्रतीक भएकोले सर्वपूज्य छ । निराकार ब्रह्मको कुनै रूप, रंग, आकार आदि नभए जस्तै शिवलिंगको पनि छैन । जसरी गणितमा शून्य केहि नभएर पनि सबथोक हुन्छ । जस्तै कुनै अंकको दाहिने भएर शून्यले त्यसको दशगुणा मूल्य गरिदिन्छ । त्यसैगरी शिवलिंगको पूजाबाट भगवान् शिव पनि दाहिने भएर मानवमात्रलाई अनन्त सुख–समृद्धि प्रदान गर्नुहुन्छ ।

४. शिवरात्री चतुर्दशीमा नै किन मनाईन्छ त ?
ज्योतिषशास्त्रका अनुसार प्रतिपदा आदि १६ ओटा तिथिहरुको अग्नि आदि गरिएका देवताहरु स्वामी हुन्छन् । अतः जुन तिथिको जुन देवता स्वामी हुन्छन्, ती देवताको त्यसै तिथिमा व्रत, पूजा आदि गर्नाले उनको विशेष कृपा उपासकलाई प्राप्त हुन्छ । चतुर्दशी तिथिका स्वामी शिव हुन् अर्थात् भगवान् शिवको तिथि भनेको चतुर्दशी हो । त्यसैले यस तिथिको रातिमा व्रत गरिने भएकोले यस व्रतको नाम शिवरात्रि रहन गयो । यसैगरी प्रत्येक महिनाको कृष्णपक्षको चतुर्दशी तिथिमा पनि शिवरात्री व्रत हुन्छ, जसलाई महाशिवरात्री व्रत भनिन्छ । 

शिवभक्तहरु प्रत्येक कृष्णचतुर्दशीमा व्रत गर्ने गर्दछन् तर फागुन कृष्ण चतुर्दशी तिथिको आधारातमा आदिदेव भगवान् शिव करोडौँ सूर्यको समान तेज सहित लिंग रुपमा प्रकट हुनु भएकोले यो पर्व महाशिवरात्रीका नामले प्रसिद्ध भएको कुरा ईशानसंहितामा उल्लेख गरिएको छ– 

फाल्गुनकृष्णचतुर्दश्यामादिदेवो महानिशि ।
शिवलिङ्गतयोद्भूतः कोटिसूर्यसमप्रभः ।।

यो व्रत ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री–पुरुष र बालक–युवा–वृद्ध आदि सबैले गर्न सक्दछन् । प्रत्येक एकादशी व्रत लगायत अन्य व्रतहरु जस्तै महाशिवरात्रि व्रत पनि सबैले गर्नुपर्दछ । नगरिएको खण्डमा दोष लाग्दछ ।

 ५. महाशिवरात्रिमा बसिने व्रतको महत्त्व के छ त ?
महाशिवरात्रीको दिन भगवान् शिवको उपासना गर्नाले उपासकलाई भोग एवं मोक्ष दुवैको प्राप्ति हुने कुरा शिवपुराणको कोटिरुद्रसंहितामा उल्लेख गरिएको छ । ब्रह्मा, विष्णु र पर्वतीले सोधेपछि भगवान् शिवले भन्नुभयो– शिवरात्रि व्रत गर्नाले महान् पुण्यको प्राप्ति हुन्छ । मोक्षार्थीलाई मोक्षको प्राप्ति गराउने भएकाले चार व्रतहरुको नियमपूर्वक पालना गर्नुपर्दछ । 

ती चार व्रत यस प्रकार छन्– १. भगवान् शिवको पूजा, २. रुद्रमन्त्रको जप, ३. शिवमन्दिरमा उपवास र ४. काशीमा देहत्याग । शिवपुराणमा मोक्षमार्गका नामले प्रसिद्ध यी चार मार्गहरु मध्ये पनि शिवरात्रीव्रतको विशेष महत्त्व भएकोले यसलाई अवश्य गर्नुपर्दछ । किनकि वहाँले हामीलाई काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यादि विकारहरुबाट मुक्त गरी परम सुख, शान्ति, ऐश्वर्यादि प्रदान गर्नुहुन्छ ।

शिवपुराणका अनुसार प्रत्येक महिनाको शिवरात्रिव्रत भन्दा फागुन कृष्ण चतुर्दशीको दिन मनाइने महाशिवरात्री व्रतको विशेष महिमा भएको कुरा प्रष्ट हुन्छ । यो सबैका लागि धर्मप्राप्तिको उत्तम साधन हो । निष्काम अथवा सकाम भावले सबै मानिस, वर्ण, आश्रम, स्त्री, बालक र देवताहरुका लागि समेत यो महाव्रत परम हितकारक मानिएको छ । भगवान् शिव अभिषेक, वस्त्र, धूप, अर्चन तथा पुष्पादिसमर्पणबाट भन्दा व्रत–उपवासबाट धेरै खुसी हुने कुरा यस कथनबाट प्रष्ट हुन्छ– 

न स्नानेन न वस्त्रेण न धूपेन न चार्चया ।
तुष्यामि न तथा पुष्पैर्यथा तत्रोपवासतः ।। (शिवपुराण)

६. शिवपूजा रातिमा नै किन  गरिन्छ त ?
अन्य देवताहरुको पूजा एवं व्रतादि कार्य प्राय दिनमा नै हुन्छन् भने भगवान् शिवलाई रात्रि नै किन प्रिय भयो ?  र त्यो पनि फागुन कृष्ण चतुर्दशी तिथि नै किन ? भन्ने जिज्ञासाको समाधानका सन्दर्भमा विद्वान्हरुको कथन छ– भगवान् शंकर संहारशक्ति र तमोगुणका अधिष्ठाता हुनुहुन्छ । त्यसैले तमोमयी (तमोगुणले युक्त) रात्रिसँग वहाँको स्नेह हुनु स्वाभाविक नै हो । रात्रि संहारकालको प्रतिनिधि हो । त्यसको आगमनसँगै सर्वप्रथम प्रकाशको संहार हुन्छ । त्यसैगरी समस्त जीवको दैनिक कर्मचेष्टाहरु पनि समाप्त हुन्छन् र अन्त्यमा निद्राद्वारा चेतनाको पनि नाश भई सम्पूर्ण विश्व संहारिणी रात्रिको काखमा अचेतन भएर खस्दछ । अतः प्राकृतिक दृष्टिले भगवान् शिवलाई रात्रि प्रिय भएको कुरा सहजै प्रष्ट हुन्छ । स्कन्दपुराणका अनुसार रातको चारै प्रहरहरुमा शिवको पञ्चामृत स्नान सहित विशेष प्रकारले पूजा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।

ततो रात्रौ प्रकर्तव्यं शिवप्रीणनतत्परः ।
प्रहरे प्रहरे स्नानं पूजाञ्चैव विशेषतः ।।

त्यसैले भगवान् शिवको आराधना शिवरात्रिको दिनमा मात्र नभई अन्य समयमा समेत प्रदोष (रात्रिको प्रारम्भ) मा नै गर्नु उपयुक्त मानिन्छ ।

 ७. कृष्णपक्षमा नै गर्नुको रहस्य के हो त ?
महाशिवरात्री कृष्णपक्षमा नै हुनुमा पनि ठूलो रहस्य लुकेको छ । शुक्लपक्षमा चन्द्रमा पूर्ण (सबल अर्थात् सम्पूर्ण कलाले युक्त) हुन्छ भने कृणपक्षमा क्षीण हुन्छ । चन्द्रमाको कलाको वृद्धिसँगै संसारका सबै रसवान् पदार्थमा वृद्धि र क्षयसँगै तिनीहरुमा ह्रास आउनु स्वाभाविक एवं प्रत्यक्ष छ । चन्द्रमा क्रमशः घट्दै औंशीको दिन पूरै क्षीण हुन्छ । त्यसको प्रभाव अण्ड–पिण्डवाद अनुसार मनका अधिष्ठाता भूमण्डलका समस्त प्राणीहरुमा पनि पर्दछ र उन्मना (उत्कण्ठित चित्त भएका) जीवहरुको अन्तःकरणमा तामसी शक्तिहरु प्रबुद्ध भई अनेक प्रकारका नैतिक एवं सामाजिक अपराधका कारण बन्दछन् । आध्यात्मिक भाषामा यिनै शक्तिहरुको अर्को नाम भूत–प्रेत आदि हुन्छ । 

शिवलाई यिनीहरुको नियामक मानिन्छ । जगदात्मा सूर्यको स्थितिले गर्दा दिनमा आत्मतत्व जागरुक हुने भएकाले यी तामसी शक्तिहरुले आफ्नो विशेष प्रभाव देखाउन सक्दैनन् । तर चन्द्रमा विहीन अन्धकारमय रात्रिको आगमनसँगै ती तत्त्वहरुले आफ्नो प्रभाव देखाउन थाल्दछन् । अतः जसरी पानी आउनु पूर्व पुल बनाइन्छ । त्यसैगरी यो चन्द्रक्षय (औंसी) तिथि आउनु भन्दा सद्यः पूर्व (अघिल्लो दिन) नै ती सम्पूर्ण तामसी वृत्तिहरुको एकमात्र अधिष्ठाता भगवान् आशुतोषको आराधना गर्ने विधान शास्त्रकारहरुले गर्नुभएको छ । विशेष गरी कृष्णचतुर्दशीकै रात्रिमा शिवको आराधना गर्नुको मुख्य रहस्य यही हो ।

 ८. फागुनमा नै गर्नुको कारण के हो त ?
प्रत्येक महिनाको कृष्णपक्षको चतुर्दशीलाई शिवरात्री मानिएकोले ती दिनहरुमा पञ्चांगमा समेत यही नाम लेखिन्छ । तर फागुन महिनाको शिवरात्रीलाई भने महाशिवरात्री भनिन्छ । जसरी औंसी तिथिको नकारात्मक प्रभावबाट बच्नका लागि त्यसको ठीक एक दिन अगाडि चतुर्दशीको दिन यो उपासना गरिन्छ, त्यसैगरी क्षय ९समाप्त० हुँदै गरेको वर्षको अन्तिम महिना चैतको ठीक एक महिना अगाडि फागुनमा नै यो पर्व मनाउने विधान शास्त्रहरुमा पाइन्छ । जुन कुरा सबै प्रकारबाट युक्तिसंगत छ । त्यसैगरी रुद्रहरु एकादश संख्यात्मक ११० भएकाले पनि यो पर्व ११ औँ महिना अर्थात फागुनमा सम्पन्न हुनुले पनि फागुनमा गर्नुको रहस्यलाई प्रकाशित गर्दछ ।

 ९. उपवास र रातिमा जागा बस्नुको रहस्य के हो त ?
हाम्रा पूर्वज ऋषि–महर्षिहरुले सम्पूर्ण आध्यात्मिक अनुष्ठानहरुमा उपवासलाई महत्त्वपूर्ण मानेका छन् । 

विषया विनिवर्तन्ते निराहारस्य देहिनः । (गीता– २।५९) 

गीताको यस भनाई अनुसार उपवासलाई विषय निवृत्तिको अचूक साधन मानिएको छ । अतः आध्यात्मिक साधनाका लागि उपवास बस्नु अत्यावश्यक हुन्छ । उपवासका साथै रात्रिजागरणको पनि उत्तिकै महत्त्व छ । गीतामा भनिएको पनि छ – 

या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी । (२।६९)

अर्थात् उपवास आदिद्वारा इन्द्रियहरु र मनलाई नियन्त्रण गर्ने संयमी व्यक्ति नै रातमा जागा बसी आफ्नो लक्ष्यप्राप्तिमा अग्रसर हुन सक्दछ । त्यसैले भगवान् शिवको उपासनाका लागि उपवास र रात्रि(जागरणको ठूलो महिमा छ । रात नै प्यारो लाग्ने भगवान् शिवप्राप्तिको समय रात्रि भन्दा बाहेक अरु कुन हुन सक्दछ रु अतः यी कारणहरुले गर्दा यस महान् पर्वमा शिवभक्तहरु उपवासका साथै रातिमा जागा बसी विधिपूर्वक शिवपूजा गर्ने गर्दछन् ।

(नोटः यो लेखलाई विभिन्न श्रोतहरुवाट आम पाठकहरुको जानकारीको लागी तैयार गरिएको हो । -Publisher/ Editor)

शिवाँश च्याप्टर १ः नेपाली चलचित्र उद्योगको नयाँ उचाइ

समाचार


काठमाण्डौ- नेपाली चलचित्रउद्योगले पछिल्ला वर्षहरूमा निरन्तर विकास र सुधार देखाइरहेको छ। यस्ता परिवर्तनलाई प्रष्ट रूपमा देखाउन सकिन्छ चलचित्र शिवाँश च्याप्टर १ बाट। यो फिल्म हेरेपछि गर्वका साथ भन्न सकिन्छ कि नेपाली फिल्म मेकरहरूले चाहे भने प्रविधि, कथा, अभिनय र संगीतमा कुनै पनि अन्तर्राष्ट्रिय स्तरको चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्छन्।

शिवाँश च्याप्टर १ को कथा हाम्रो आफ्नै हिन्दु मिथोलोजीमा आधारित छ। फिल्मले परम्परागत पौराणिक पात्र र घटनालाई आधुनिक दृष्टिकोणसँग जोडेर प्रस्तुत गरेको छ। चलचित्रको मूल कथा एक रहस्यमयी दिव्य शिला र त्यसले कलियुगमा निम्त्याउन सक्ने शक्ति वा विनाशको वरिपरि घुमेको संकेत गरेको छ । आध्यात्मिक शक्ति प्राप्त गर्ने होडबाजी र त्यसले उत्पन्न गर्ने द्वन्द्व नै चलचित्रको मुख्य आकर्षण रहेकोछ । यस्तो मौलिक कथा नेपाली दर्शकका लागि मात्र होइन, विदेशी दर्शकका लागि पनि नयाँ अनुभव बन्न सक्छ। कथामा जीवनका विभिन्न पक्ष, मानवीय अन्तर्द्वन्द्व, नैतिक मूल्य र शक्तिशाली सन्देश समेटिएका छन्। दर्शकले चलचित्र हेर्दा केवल मनोरञ्जन मात्र होइन, गहिरो अनुभूति पनि पाउनेछन्।

चलचित्रको अर्को मुख्य आकर्षण यसको भिजुअल भव्यता हो। आधुनिक प्रविधि र भि.एफ्.एक्स्. को प्रयोगले चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिने बनाएको छ। दृश्यहरू यति जीवन्त छन् कि दर्शक आफैँलाई कथाको भित्र महसुस गर्छन्। युद्ध दृश्य, वातावरणीय दृश्य र मिथोलोजिकल फन्टेसी दृश्यहरूले चलचित्रलाई अत्यन्तै आकर्षक बनाएका छन्। नेपाली चलचित्र उद्योगको लागि यो ठूलो उपलब्धि हो, जसले देखाउँछ कि नेपाली फिल्म मेकरहरूले प्रविधि र सिर्जनात्मक दृष्टिकोणमा अब कुनै अन्तर्राष्ट्रिय चलचित्रभन्दा कम छैनन्।

चलचित्रमा अभिनय पनि निकै प्रभावकारी रहेकोछ। यसका मुख्य पात्र मध्ये तेज गिरीले आफ्नो भूमिका अत्यन्तै जीवन्त ढंगले निभाएका छन्। उनका भावपूर्ण अभिनयले दर्शकलाई कथामा पूर्ण रूपमा तान्न सफल भएको छ। भने अभिनेता प्रविण खतिवडाको एउटा यस्तो साधुको रूपमा देखाइएको लुक्स र आङ्ग नै सिरिङ्ग हुने अभिनयले चलचित्रलाई उच्चकोटीको बनाएको छ ।  शिवाँशमा गिरी र खतीवडामात्र होइन विमला लिम्बू , रुषा न्यौपाने, विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला लगायत सम्पूर्ण कलाकारहरूले आफ्नो भूमिकामा मिहिनेत र समर्पण देखाएका छन्। प्रत्येक पात्रले कथामा गहिरो प्रभाव छोडेको छ, जसले चलचित्रलाई समग्र रूपमा सशक्त बनाएको छ। कलाकारहरूको अभिनय र संवाद प्रस्तुतिले कथालाई जीवित बनाएको छ र दर्शकलाई भावनात्मक रूपमा कथासँग जोड्ने काम गरेको छ।

शिवाँशको गीत संगीतको पक्ष पनि प्रशंसा योग्य रहेकोछ। साहित्यकार विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना तथा  न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको चलचित्रका गीतमा शिवाकोटी, मिलन नेवार, समीक्षा अधिकारी र करण परियारको स्वर रहेकोछ । चलचित्रको अर्को विशेष पक्ष भनेको भारतीय प्रख्यात गायक कैलाश खेरको स्वर र संगीत पनि हो । विशेषगरी कैलाश खेरको शिव ताण्डव गीतले चलचित्रको भव्यतालाई अझ उचाइ दिएको छ। संगीत र गीतहरूले कथाको भावनात्मक पक्षलाई बल दिन्छन् र दर्शकलाई कथासँग गहिरो रूपमा जोड्ने काम गर्छन्। गीतको कम्पोजिसन र प्रस्तुति दर्शकको ध्यान खिच्ने खालको छ।

अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रका लेखक र निर्माता अञ्जान केसी  हुन् भने चलचित्रका निर्देशक सन्तोष कुमार आत्रेय हुन् । चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका रहेका छन् भने  चलचित्रका कार्यकारी निर्माता शम्भू थापा हुन् ।

चलचित्रको प्रविधि, कथा र अभिनयमा उत्कृष्ट बनेको छ, तर प्रचार–प्रसारको क्षेत्रमा भने अझ धेरै काम गर्न सकिन्छ। यति दमदार चलचित्रलाई व्यापक रुपमा दर्शकसम्म पुर्‍याउन लागी निर्माण पक्षले प्रचार प्रसारलाई ध्यान दिन आवश्यक रहेकोछ। 

विशेष गरी कैलाश खेर जस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गायकको शिव ताण्डव गीतलाई जनसाधारणसम्म पुर्‍याउन थप प्रयास गर्नुपर्ने देखिन्छ। समीक्षा अधिकारी, मिलन नेवार, राजनराज शिवाकोटी जस्ता कलाकारहरूको फ्यान बेसलाई प्रभावकारी रूपमा प्रयोग गर्दा चलचित्रको लोकप्रियता अझ बढ्न सक्छ। न्ह्यू बज्राचार्य र विप्लव प्रतीक जस्ता संगीतकारहरूको योगदानलाई केवल चलचित्रको हिस्सा नभई सांगीतिक उत्सवको रूपमा पनि प्रस्तुत गर्न सकिन्छ।

शिवाँश च्याप्टर १ केवल मनोरञ्जनको लागी बनेको चलचित्र मात्र होइन। यो हाम्रो पौराणिक कथा र सांस्कृतिक धरोहरलाई पुनर्जीवित गर्ने प्रयास हो। चलचित्र हेर्दा दर्शकले आफ्नो परम्परागत कथासँग नजिकको सम्बन्ध अनुभव गर्न सक्छन्। कथाको गहिराइ, अभिनयको बल, भिजुअल प्रभाव र संगीतको संयोजनले दर्शकलाई मन्त्रमुग्ध बनाउने क्षमता राख्छ।

अन्ततः शिवाँश च्याप्टर १ नेपाली चलचित्र उद्योगको लागि एउटा महत्वपूर्ण उपलब्धि हो। चलचित्रको कथावस्तु मौलिक, प्रविधि र भिजुअल इफेक्ट उत्कृष्ट, र अभिनय दमदार छ। यो चलचित्र केवल चलचित्र हेर्ने अनुभव मात्र होइन, यो नेपाली सांस्कृतिक, पौराणिक र कलात्मक दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने एउटा साहसी प्रयास पनि हो। अब बाँकी कुरा निर्माण पक्ष थप प्रचार–प्रसारमा केन्द्रित हुनु पर्छ। दर्शकलाई एकपटक यो चलचित्र अवश्य हेर्न सिफारिस गरिन्छ।