१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रण गर्न संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै सरोकारवालाले अर्को कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।
संक्रामक रोग ऐनलाई संशोधन गर्ने वा नयाँ ऐन ल्याउने भन्ने विषयमा मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भयो ।
छलफलमा सांसद र विज्ञले मुख्य तीनवटा सुझाव दिएका छन् । पहिलो– स्वास्थ्यसम्बन्धी छुट्टै एकीकृत ऐन ल्याउने, दोस्रो– कोरोना भाइरस रोकथाममा केन्द्रित भएर तत्काल नयाँ ऐन ल्याउने र, तेस्रो– तत्काल संक्रामक रोग ऐन संशोधन गर्ने ।
सांसद रामनारायण बिडारीले तत्काल संक्रामक रोग ऐन संशोधन गर्नु उचित हुने तर्क गरे । उनले सरकारलाई यससम्बन्धी अध्यादेश ल्याउन सुझाव दिए । ‘मैले सरकारलाई कोरोना भाइरससम्बन्धी अध्यादेश ल्याउन भनेको थिएँ, अर्कै ल्यायो । कोरोनासम्बन्धी अध्यादेश ल्याएको भए विरोध पनि हुँदैनथ्यो’ उनले भने ।
कतिपय देशले मास्क नलगाउँदा, जथाभावी हाच्छ्यु गर्दासमेत कारबाही हुने गरी कानून ल्याएको भन्दै उनले नेपालमा अध्यादेशबाटै भएपनि यस्तो व्यवस्था गर्नुपर्ने बताए ।
जनता समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले पनि अध्यादेश जारी गर्नु उपयुक्त हुने बताइन् । ‘कोरोना महामारीविरुद्ध लड्न संक्रामक रोग ऐन २०२० अपुग छ । त्यसकारण सरकारले यससम्बन्धी अध्यादेश ल्याउनु वेश हुन्छ’ उनले भनिन् ।
ऐन नहुँदा द्विविधा र अनियमितता !
महामारीको समयमा धेरै अनियमितता देखिएको भन्दै सांसदहरुले त्यसलाई रोक्ने गरी कानूनको व्यवस्था गर्नुपर्ने बताए । सांसदहरुले स्वास्थ्य सामग्री खरिद र स्थानीय तहहरुले वितरण गरेको राहतमा अनियमितता भइरहेको बताएका थिए ।
सांसद उदया शर्मा पौडेलले राहत वितरण वा आर्थिक सहायतासम्बन्धी छुट्टै ऐन आवश्यक पर्ने बताइन् ।
छलफलमा विज्ञका रुपमा सहभागी पूर्वसभासद खिमलाल देवकोटाले नर्वे, लाट्भिया, माल्दिभ्स र न्युजिल्याण्डले कोरोनाबाट प्रभावितहरुलाई लक्षित गरेर आर्थिक सहायतासम्बन्धी कानून ल्याएको बताए । कोरियाले राहतका लागि लक्षित गरेर दुई पटक पूरक बजेट पारित गरिसकेको उनले बताएका थिए ।
नेकपाका सांसद ठगेन्द्रप्रकाश पुरी महामारीको समयमा राज्य सञ्चालन गर्न छुट्टै ऐन आवश्यक हुने बताउँछन् । ‘यस्तो अवस्थामा राज्य कसरी चलाउनुपर्छ भन्ने ऐनमा हुन आवश्यक छ । अहिले जसरी सधैंभरी चलाउन सकिन्न’ पुरीले भने ।
विज्ञका रुपमा छलफलमा सहभागी पूर्वसभासद एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले संक्रामक रोग ऐन २०२० ले सरकारलाई आदेश जारी गर्न सक्ने अधिकार दिएको तर, संयन्त्रहरु गठनको परिकल्पना नगरेको बताउँछन् । त्यसका लागि यो ऐन तत्काल संशोेधन गर्न वा छुट्टै ऐन ल्याउन उनको सुझाव छ ।
सरकारले विपद व्यवस्थापन ऐन अन्तर्गत रहेर प्रदेश, जिल्ला र स्थानीय तहमा संयन्त्र गठन गरेको, संघमा कार्यकारी अधिकार प्रयोग गरेर समिति बनाएको र दुबै ऐनमा टेकेर कामकारबाही गरेकाले कतिपय अवस्थामा दुविधा उत्पन्न भएको उनको भनाइ छ ।
सांसद सिंहबहादुर विश्वकर्माले कानुन नभएकै कारण लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको जिकिर गरे । ‘सरकारले जहाँ हो त्यहीँ बस्न भनेको छ । राहत एकद्वार प्रणालीमार्फत वितरण गर्ने भनेको छ’ सिंह भन्छन्, ‘तर, मन्त्री र सांसदहरु गाडी चढाएर मान्छेलाई अर्को ठाउँ पठाइरहेका छन् । आफुखुसी राहत विरतण गरिरहेका छन् । कसले गर्ने कारबाही ?’
संक्रामक रोग ऐनअनुसार लकडाउन उलंघन गर्नेलाई तीन महिना कैद वा एक सय जरिवाना वा दुबै सजाय हुन्छ । प्राप्त आदेशको पालना नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिको हकमा ६ महिनासम्म कैद हुन सक्ने व्यवस्था छ ।
यो दण्ड सजाय थोरै भएकाले तत्काल फेर्नुपर्ने वा अर्को कानुन ल्याउनुपर्ने बताउँछन् संघीय संसद सचिवालयका सचिव एवं कानुन महाशाखा प्रमुख अर्जुनकुमार खड्का । संक्रामक रोग ऐनले नियम र निर्देशिका बनाउने कल्पना नगरेको उनले बताए । ‘सामाजिक दुरी, नागरिक सचेतना जस्ता विषयलाई समेत यो ऐनले कुनै सम्बोधन गरेको छैन् । यहाँ समस्या छ’ उनले भने ।
कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवाली संक्रामक रोग ऐन संशोधन गर्न आवश्यक रहेको बताउँछन् । तर यसबारे मन्त्रालयमा कुनै छलफल नभएको बताए ।
संसदले अध्यादेश ल्याऊ भन्न हुन्न : विज्ञ
विज्ञका रुपमा बोलाइएका पूर्वसभासद देवकोटा र लेखक संसदले सरकारलाई अध्यादेश ल्याउ भन्न नहुने बताउँछन् । ‘तत्काल के–के संशोधन आवश्यक छ भनेर सरकारलाई निर्देशन दिन सकिन्छ, छुट्टै ऐन ल्याउ भन्न सकिन्छ’ पूर्वसभासद लेखकले भने, ‘संसदले ऐन कार्यान्वयनको मापन र मुल्याङ्कन गर्न सक्छ । तर, अध्यादेश ल्याऊ भन्न हुन्न ।’
अर्का विज्ञ देवकोटा संक्रामक रोग ऐन अहिलेको सन्दर्भमा काम नलाग्ने तर्क गरेका छन् । ‘भारतमा फैलिएको मलेरियालाई हेरेर हाम्रोमा संक्रामक रोग ऐन बनेको पृष्ठभूमि देखिन्छ । यसको मापन गर्न सकिन्छ’ समितिको बैठकमा उनले भने, ‘सरकारलाई यस्ता कुरा संशोधन गर भनेर सुझाव दिन सकिन्छ ।’
मंगलबार विधायन व्यवस्थापन समितिले संक्रामक रोग ऐनबारे सरकारलाई कस्ता सुझाव दिनुपर्ने हो यसबारे अध्ययन गरी प्रारम्भिक मस्यौदा तयार पार्ने जिम्मेवारी पनि तोकेको छ ।
विज्ञ देवकोटा र संसद सचिवालयका कानुन महाशाखा प्रमुख खड्कालाई आज र भोलिमा मस्यौदा तयार पारेर पेश गर्न भनिएको छ । ‘प्राप्त मस्यौदामाथि पर्सि छलफल हुन्छ । छलफलपछि सरकारलाई ऐन संशोधन गर्न सुझाव दिने कि नयाँ कानुन ल्याउन भन्ने टुङ्गो लाग्छ’ सभापति परशुराम मेघी गुरुङले भने ।
धादिङ । धादिङको धुनीबेँसी नगरपालिका–९ मा आज टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा धुनीबेँसी नगरपालिका–९ का ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
नगरपालिकाको कच्ची बाटोमा बा५ख ६७७५ नंको टिप्पर सडकबाट ५० मिटर तल खसेको थियो ।
इटहरी । सुनसरीको दुहवी नगरपालिका वडानम्बर ३ मा पिकअप भेनबाट पैसा फ्याँक्दै मानिस हिडे पछि प्रहरीलाई तनाब भएको छ । जनकपुर पछि सुनसरीमा पैसाको नोट फाल्ने क्रम बढे सँगै सर्वसाधरण मात्र नभई प्रहरी समेत त्रसित हुने गरेको छ । सुनसरीको दुहवीमा ५ सय र १ सयको नोट प्रहरीले सडकमा फेला पार्यो । स्थानीयले पैसा फालेर पिकअप भेन इटहरी तिर हुईकिएको थियो । त्यस पछि केहि बेर सोनापुरको सिआरभी प्रहरीको टाउको दुखाई बन्यो ।
पैसा कसले र किन फाल्यो भन्ने विषयमा प्रहरी पैसा फाल्ने पिकअप खोज्न प्रहरीको ओकेटोकेमा निर्देशन भयो तर कतै भेटिएन । केहि दिन अघि घरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानको गाईनो वार्डमा पनि २० रुपैया र १० रुपैयाँको नोट भेटिएको थियो ।
रौतहट, १६ बैशाख । आज थपिएका दुई जना कोरोना संक्रमितमध्ये रौतहट बृन्दावन ९ का २४ वर्षीय पुरुषलाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको छ ।
काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राख्न वीरगन्ज लगिएको हो । उनका श्रीमती, २ छोरी र सम्पर्कमा रहेका एक जनालाई समेत क्वारेन्टाइनमा ल्याइएको छ । १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका ती पुरुषको जनकपुरमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
ईलाका प्रहरी गरुडाका डिएसपी ज्ञानकुमार महतो आफैले संक्रमितको घर पुगी एम्बुलेन्समा राखेर वीरगन्ज पठाएका हुन् । संक्रमितका २ छोरी र उनीहरुको सम्पर्कमा रहेका एक जनालाई चन्द्रपुर ६ स्थित महिला फुटबल एकेडेमीमा स्थापना गरिएको क्वारेन्टाइनमा ल्याइएको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ ।
भारतबाट घर फर्केपछि चैत २२ गतेदेखि उनी क्वारेन्टाइनमा बसेका थिए । २६ गते जनकपुरबाट आएको चिकित्सकको टोलीले परीक्षणका लागि स्वाब लगेको थियो । त्यसको तीन दिनपछि नेगेटिभ रिपोर्ट आएको थियो । त्यही आधारमा उनलाई क्वारेन्टाइनबाट बिदाइ गरिएको थियो ।
काठमाडौंमा पुन: परीक्षण गर्दा पोजिटिभ देखिएको हो । संक्रमितसँगै भारतबाट ४ जना आएका थिए । उनीहरुलाई क्वारेन्टाइनको एउटै कोठामा राखिएको थियो । खाना पनि अलग्गै थियो । तर ३ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
त्यस्तै अर्का संक्रमित देवाही गोनाहीस्थित क्वारेन्टाइनमा बसेका करुनियाका ३५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएपछि आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । उनको घर गुजरा नगरपालिका ५ हो । करुनिया भने उनको ससुराली पर्छ ।
एजेन्सी, १६ बैशाख । चर्चित बलिउड अभिनेता इरफान खान अचानक स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना भएका छन् । इरफानलाई बिदेशकै अस्पतालमा आइसियूमा भर्ना गरिएको हो ।
हालैमात्र इरफानकी आमा सइदा बेगमको नि’धन भएको थियो । उनले आमाभन्दा टाढा भएकाले भिडियो कन्फ्रेन्सबाट आमाको अन्तिम दर्शन गरेका थिए ।
बलिउड अभिनेता इरफान खानकाे आमाकाे निधन , भिडियो कलबाट हेरे अन्त्येष्ट्री
उनी लकडाउनका कारण मुम्बईमा रोकिएका छन् । खान हालैमात्र क्यान्सरबाट पीडित भएका थिए । खानलाई न्युरोएडोक्राइन ट्युमर भएको थियो ।
५४ वर्षीया इरफानको उपचार अहिलेपनि चलिरहेको छ । यही कारण उनी लामो समयदेखि बलिउडबाट टाढा रहेका थिए । हालै उनको फिल्म अंग्रेजी मिडियम रिलिज भएको थियो । तर कोरोना भाइरसका कार उक्त फिल्म व्यवसायिक रुपमा सफल हुन् सकेन ।
जे होस् अभिनेता इरफान खानको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
फिचरमामा प्रयाेग गरिएकाे फाेटाे फाईलमात्र हाे
काठमाडौं । काठमाडौंमा र्यापिड डाइग्नोटिग टेष्ट (आरडिटी) परीक्षणमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का २१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको नगरपालिका स्वास्थ्य शाखा सहायक संयोजक लक्ष्मी कोइरालाले लोकपथलाई जानकारी दिईन् ।
उनी गत चैत ७ गते दुबईबाट नेपाल आएका थिए । उनको पिसिआर परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगिएको छ । विदेशबाट आएका नगरपालिकाबासीहरुको परीक्षण गर्दा उनमा आरडिटि पोजेटिभ देखिएको कोइरालाले बताइन् ।
काठमाडौं, बैशाख १६ – सर्वसाधारणले विरोधमा लेख्दा वा बोल्दा पाँच वर्ष जेल सजाय सुनाउन हतार गर्ने सरकारले आफ्ना मन्त्री र नेताले हदैसम्मका अपराध गर्दा पनि उन्मुक्ति दिँदै आएको छ।
सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटा, मेडिकल सामग्री खरिदमा अनियमितता गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अपहरणकारीको आरोप लागेका सांसदद्वय महेश बस्ने, किसान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालको सरकारले पूर्ण बचाउँ गर्दै आएको छ। यसबाहेक सरकारले आफ्नातर्फबाट भएका कयौं कमीकमजोरीको ढाकछोप गर्दै आएको छ।
सर्वसाधारणलाई भने सरकारले सामान्य गल्तीमा पनि पक्राउ गर्दै आएको छ। पूर्वसचिव भीम उपाध्याय ६ दिन प्रहरी हिरासतमा बसेर सोमबार रिहा भएका छन्। त्यस्तै, राहत वितरण र सरकारको आलोचना गरेको भन्दै सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही ललितपुर प्रहरीको हिरासतमा छन्। उनीसँगै राहत बाँड्न हिँडेका अर्का शक्तिबहादुर शाही पनि प्रहरी हिरासतमा छन्।
झन्डै दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीका लागि किनिएको १६ करोडको गाडीको विषयमा लेख्दा सोनमकुमार सुनारले पाँच वर्ष जेल सजाय पाए। उनी अहिले केन्द्रीय कारागार सुन्धारामा छन्। यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।
काठमाडौं । वैशाख दोस्रो साता सुरु भइसक्दा धेरै विद्यार्थीहरु अहिले घरमै सीमित छन् । कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण मुलुक लकडाउनमा रहेकाले नियमित विद्यालय जानुपर्ने विद्यार्थीहरु घरमै सीमित हुनुपरेको हो ।
सामान्य अवस्था भएको भए अहिले विद्यालयहरुको पनि भर्ना अभियान सक्याएर पठनपाठन सुरु हुने समय भइसक्यो । तर, कोरोनको त्रासका कारण विद्यालयले भर्ना अभियानमात्रै नभएर अघिल्लो शैक्षिक सत्रको नतिजा समेत निकाल्न सकेका छैनन् ।
सरकारले भर्ना अभियानका साथै पठनपाठन सञ्चालनबारे स्पष्ट निर्देशन दिइनसकेपनि अहिले अनलाइन कक्षालाई जोड दिन थालिएको छ ।
राजधानीका कतिपय विद्यालयहरुले कोरोनाको महामारीका बीच पनि प्रविधिलाई उपयोग गर्दै अनलाइन कक्षा सञ्चालन गर्न थालेका छन् ।
यस्तैमा राजधानीको बालाजुस्थित बालबाटिका इन्टरनेशनल स्कुलले पनि अनलाइन कक्षा सुरु गरेको छ । विद्यालयको विद्यार्थीको पढाइप्रतिको चिन्ता, अभिभावकको आग्रह र शिक्षक तथा सहकर्मीको सहयोगमा आइतबारदेखि अनलाइन कक्षा सञ्चालन थालिएको स्कुलका संस्थापक तथा प्रिन्सिपल राजेश खकुरेलले जानकारी दिए ।
अहिलेको अवस्थामा जो जहाँ रहेको छ, त्यहीँबाट अनलाइन प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गरिएको खकुरेलको भनाइ छ । अनलाइन कक्षामा विद्यालयमा सामान्य अवस्थामा अध्ययन गर्न आउनेमध्ये अधिकांश विद्यार्थी सहभागी छन् ।
‘लामो समय घरमै बस्नुपर्दा कतिपय स–साना विद्यार्थीले घरमा पढ्न मन नपर्ने र विद्यालय पनि नखुल्दा अभिभावकलाई समस्या परेको रहेछ । हामीले अनलाइन कक्षा सञ्चालन गर्दा निकै सकारात्मक प्रतिक्रिया दिनुभएको छ’, खकुरेलले भने, ‘लकडाउनको अवधिभर अनलाइन कक्षलाई थप प्रभावकारी बनाउँदै लैजाने हाम्रो सोच छ ।’
उनकाअनुसार अहिले विद्यार्थीहरुलाई एकापसमा छलफल गराउँदै शिक्षक–शिक्षिकले विद्यार्थीलाई ‘जुम’ नाम एप प्रयोग गरेर अनलाइनमार्फत नै कक्षा लिइरहेका छन् । अनलाइनमार्फत नै पाठ्यपुस्तक पठाउने, नयाँ नयाँ कुरा सिकाउने, होमवर्क दिने, उनीहरुलाई रचनात्मक क्रियाकलापमा प्रेरित गर्ने जस्ता कार्य भइरहेको छ ।

नयाँ प्रविधिको प्रयोग गर्दै अध्यापन गराउँदा छुट्टै रमाइलो लागेको र विद्यार्थीहरु पनि यसरी अध्ययन गर्न पाउँदा उत्साहित रहेको पाइएको शिक्षिका रुचि गुरुङले जानकारी दिइन् ।
‘लकडाउन जस्तो भयावह परिस्थितिमा पनि विद्यालयले विद्यार्थी भाइबहिनीहरुसँग जोडिएर आफूले जानेको सिकाउने जुन अवसर प्रदान गरेको छ, त्यसबाट हामी उत्साहित भएका छौं’, उनले भनिन्, ‘लकडाउनको यो समयमा हामीले विद्यार्थीको लागि पनि सोच्नुपर्ने हुन्छ । यो समयमा अनलाइन कक्षा सञ्चालन गर्दा हामीले केही सिर्जनात्मक कुरा सिकाउन र विद्यार्थीले पनि सिक्ने अवसर पाएका छन् ।’
घरमा आफूसँगै बसेर पढिरहँदा आफ्नो बालबालिकाको पढाइप्रतिको रुचि र सक्रियताबारे अभिभावकले पनि राम्ररी बुझ्ने अवसर पाउने उनको भनाइ छ ।
यसैगरी सो विद्यालयका एक अभिभावक दीनबन्धु फुयालले सामाजिक दुरी कायम राख्नुपर्ने अहिलेको समयमा बालबालिका विद्यालय गएर पढ्न सक्ने अवस्था नरहेकाले विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्नु प्रसंशनीय कार्य भएको बताए ।
‘सामाजिक दुरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा बालबालिका विद्यालय गएर कक्षाकोठामा अध्ययन गर्न उपयुक्त नहुने हुँदा घरमै बस्नुपर्ने बाध्यता छ, यस्तो अवस्थामा बालबाटिका स्कुलले अनलाइन कक्षा सुरुवात गर्नु हामी अभिभावकका लागि खुसीको कुरा हो,’ उनले भने । आफ्नो छोराले घरमै बसेर अनलाइनमार्फत विद्यालयमा जसरी नै सिकिरहेको देख्न पाउँदा खुसी लागेको समेत फुयालले प्रतिक्रिया दिए ।

निरन्तर कक्षा थप्दै जाने लक्ष्यका साथ यस वर्षदेखि कक्षा ७ सञ्चालन गर्न लागेको विद्यालयले सबै कक्षामा अनलाइनमार्फत पठनपाठन थालिसकेको हो । अहिले अनलाइनमा समेटिएका तथा समेटिन नसकेका विद्यार्थीलाई कक्षा खुलेपछि पनि यसबारे थप अभ्यास गराउने विद्यालयको योजना छ ।
अनलाइनमा अध्ययनका लागि निश्चित समय निर्धारण गरिएको र हाल केही दिनका लागि अघिल्लो शैक्षिक सत्रमा जसको जुन कक्षा थियो सोही कक्षाको पाठ्यक्रम पढाइएको तथा केही दिनपछि उत्तीर्ण भएर जाने कक्षाकै पाठ्यपुस्तक सञ्चालन गरिने प्रिन्सिपल खकुरेलले जानकारी दिए ।
लकडाउन कहिलेसम्म लम्बिने र विद्यालय पनि कहिले खुल्ने भन्ने निश्चित नरहेकाले अनलाइन पठनपाठनलाई थप परिस्कृत गराउँदै लैजाने योजनाका खकुरेल र अध्यक्ष रमेश प्रसाईँलगायतको टीम अनलाइन केन्द्रीत विशेष पाठ्यसामग्री बनाउन समेत लागिपरेको छ ।
बालाजु क्षेत्रमा अधिकांश विद्यालय अनलाइन प्रविधिबारे मौन रहेका बेला बालबाटिकाले यसमा सक्रियता देखाएसँगै यसअघि बालबालिका अन्यत्र पढाएका अभिभावकले समेत आफ्नो स्कुलमा भर्नाका लागि चासो राख्न थालेको प्रिन्सिपल खकुरेलको भनाइ छ ।
बालबाटिका मन्टेश्वरी विधिमार्फत पठनपाठन गराइने बालाजु क्षेत्रको उत्कृष्ट विद्यालयमध्ये एक मानिन्छ ।
काठमाडौं – भारतमा कोरोना संक्रमितहरुको संख्या २९ हजार नाघेको छ । मंगलबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या २९ हजार ४१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५ सय ६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ । यसैबीच ७ हजार १ सय ३७ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।
सोमबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या २७ हजार ८९० थियो भने मृत्यु हुनेको संख्या ८ सय ८१ थियो ।
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ । साथै, बंगालको खाडी, अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएकोले यसको समेत प्रभाव रहेको छ ।
महाशाखाका अनुसार हाल देशको पश्चिमी तथा पूर्वी भूभागका साथै मध्यका पहाडी भूभागमा सामान्य बदली भई एक÷दुई स्थानमा वर्षा भइरहेको छ।
महाशाखाले जारी गरेको पूर्वानुमानले आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
यसैगरी, राति देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
महाशाखाले देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।