लकडाउन खुल्ला तर शैक्षिक संस्था तत्कालै खुल्दैनन्

PNA


|
|


काठमाडौं – कोरोना भाइरसका कारण सरकारले देशव्यापी गरेको लकडाउन आज सकिदैछ। आगामी दिनमा के गर्ने भन्ने विषयमा आजै बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्ने छ। आज मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार नयाँ शैक्षिक कार्यक्रम र योजना बनाउने शिक्षा मन्त्रालयको तयारी छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आजको मन्त्रीपरिषद बैठकले गर्ने निर्णयका आधारमा शैक्षिक कार्यक्रम र योजना बनाउने बताएका हुन्।

शिक्षा पत्रकार समूहले कोरोना भाइरसको महामारीबाट शैक्षिक क्षेत्रमा उत्पन्न परिस्थितिका बारेमा शनिबार गरेको भर्चुअल पत्रकार साक्षात्कारमा मन्त्री पोखरेलले यस्तो बताएका हुन्।

शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले कोरोना महामारीबीच शैक्षिक कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा आज सुझाव प्रतिवेदन बुझाउँदै छ ।

सरकारले विज्ञ टोलीसँग कोरोनाका कारण स्थगित विद्यालय तहको परिक्षा कसरी लिने भन्ने योजनासहित प्रस्तुत हुन सुझाएको छ ।

भर्चुअल पत्रकार साक्षात्कारका क्रममा मन्त्री पोखरेलले भने, ’घरकै खाना खाएर, नजिकैको विद्यालयमा सुरक्षित परीक्षा दिने व्यवस्था मिलाउनेछौ ।’

यसैगरी मन्त्री पोखरेलले सयौं विद्यार्थीका कारण सामाजिक दूरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरु लकडाउनपछि सबैभन्दा अन्तिममा खुल्ने क्षेत्र भएको बताए ।

यस्तै अहिले देशभर २ सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टिन बनाईएकाले पनि तत्काल त्यहाँ कक्षा संचालन गर्न सम्भव नभएका कारण नयाँ ढंगले कक्षा संचालन गर्ने विकल्पको खोजी भईरहेको मन्त्री पोखरेलको भनाइ छ ।

अबको एक हप्ताभित्र सबै विद्यालयको नतिजा निकाल्ने र अर्को हप्तामा माथिल्लो कक्षामा भर्ना हुने बाटो खोल्ने गरी विद्यालय तहको शैक्षिक कार्यक्रम अघि बढ्ने समेत मन्त्री पोखरेलले बताए।

’जेठसम्ममा नयाँ शैक्षिकसत्र सुरु गर्न सके शैक्षिक सत्र भत्किदैन। परिक्षाहरु पनि संचालन हुनसक्छन्’, मन्त्री पोखरेलले भने।

राष्ट्रिय परिक्षा बोर्डले स्थिति सामान्य भएको तेस्रो सातामा परिक्षा संचालन गर्न सकिनेगरी तयारी गरेको मन्त्री पोखरेलको भनाइ छ ।

जाडो–गर्मी बिदा, चाडपर्वका बिदा कटाएर साथै, अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र भत्किन नदिने मन्त्री पोखरेलले बताए।

यस्तै मन्त्रालयले अनलाइन एजुकेशन र विकल्पहरुका बारेमा सुझाव दिन शिक्षा मन्त्रालयले पूर्वमन्त्री गणेश साहको नेतृत्वमा विज्ञ समिति गठन गरेको छ।सो समितिले अन्य ६ विषयगत समिति पनि गठन गरेको छ ।