'कोभिड- १९ को परीक्षणको दायरा विस्तार गरी कम्तीमा हरेक परिवारबाट सकभर एकजनाको नमुना छनौट गरी कोरोनाको परीक्षण गर्ने कार्ययोजना बनाइ लागू गर्न तथा स्वास्थ्य सामाग्रीको भण्डारणलाई प्राथमिकताका साथ सबै प्रदेश तथा स्थानीय तहमा आवश्यक अनुरुप व्यवस्थापन गर्न र राहत वितरण प्रक्रियालाई व्यवस्थित गर्न,' समितिले सरकारलाई निर्देशन दिएको छ ।
त्यस्तै, कोरोना भाइरसले पारेको प्रभावको विवरण समितिलाई जानकारी गराउन पनि सरकारलाई निर्देशन दिइएको छ । 'कोभिड- १९ ले पारेको प्रभाव मूल्यांकन गरी समितिलाई जानाकारी गराउन तथा भविष्यमा अवलम्बन गर्ने तात्कालिक तथा दीर्घकालीन योजना तर्जुमा गर्न,' समितिले निर्देशन दिएको हो ।
लामो समयको लकडाउनका कारण जनजीवन अस्तव्यस्त बन्ने स्थितिलाई मध्यनजर राख्दै लकडाउनलाई खुकुलो पार्ने र पूर्ण रूपमा लकडाउनको अवस्था हटाउने योजना बनाएर समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको समिति सभापति परशुराम मेघी गुरुङले जानकारी दिए । 'लकडाउन खुलेपछि विदेशबाट रोजगारी गुमाएर फर्कने ठूलो जनशक्तिलाई व्यवस्थित गर्ने योजना निर्माण गर्न,' पनि सरकारलाई समितिले निर्देशन दिएको छ ।
लकडाउनका बेला अस्पतालहरूले अन्य रोगका बिरामीको उपचार नगरेको तथा निजी अस्पतालहरूले कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिको उपचार नगरेर केही ज्यान गुमाएका समाचार आइरहेका बेला समितिले अन्य बिरामीको उपचारको व्यवस्थापन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । 'सरकारी, सामुदायिक र निजी अस्पतालहरूलाई कोरोना संक्रमित बिरामीका साथै अन्य रोगहरूको उपचारमा पनि पूर्ण रूपमा सक्रिय सहभागी गराउने कार्य यथावत रूपमा सञ्चालन गर्न,' निर्देशन भएको हो ।
कोरोना भाइरस नियन्त्रण र रोकथामबारे सरकारले लिएका निर्णयको कानुनी आधारबारे पनि संसदीय समितिले चासो व्यक्त गरेको छ । सरकारले गर्ने हरेक काम कानुन मुताविक हुनुपर्ने समितिको धारणा छ । त्यसबारे कानुन विद्हरूसँग पनि समितिले परामर्श गरेको थियो । कानुनविद्हरूसँग संक्रामक रोग ऐन, २०२० बारेमा पनि छलफल भएको थियो ।
सरकारले लकडाउन, क्वारेन्टाइन, आइसोलेसनलगायतका विषयमा कानुन ल्याउनुपर्ने कानुनविद्हरूको सुझाव थियो । सोहीअनुसार सरकारलाई समितिले निर्देशन दिएको छ । ५७ वर्ष अगाडिको ऐनले अहिलेको परिस्थितिलाई सम्बोधन गर्न नसक्ने भएकाले छरिएर रहेका कानुनलाई एकीकृत गर्न र बाँकीलाई समयसान्दर्भिक बनाउन समितिले सरकारलाई निर्देशन दिएको हो ।
समितिले न्यून आय भएका व्यक्ति तथा समुदायलाई तत्काल राहतको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।
सांसदहरूले सरकारले गरेका काम कानुनसम्मत भए नभएको विषयमा चासो राखेका थिए ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा विगत केही दिनयतादेखि नेपालमा कायम पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल देशको अधिकांश भूभागमा बदली रहनुका साथै केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भएको छ । दिउँसो पश्चिमी भूभागमा पूर्ण बदली तथा पूर्वी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । रातको समयमा पश्चिमी पहाडी भूभाग तथा मध्य र पुर्वी भूभागमा सामान्य बदली भई मध्य र पूर्वी भूभागको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
भोलि देशको पश्चिमी भूभाग तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रही देशको पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ । आइतबार देशको धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३३ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।
प्रदेश नं १ का जिल्ला अस्पतालहरुमा व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) अपुग भएको छ ।
ती जिल्लाका मेडिकल सुपरीटेन्डेन्ट (मेसु)हरुले प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसँग बिहीबार साँझको भिडियो संवादमा उक्त समस्या अवगत गराएका हुन् ।
प्रदेश सरकारबाट प्राप्त पिपिइ पर्याप्त नभएको र स्थानीयस्तरबाट व्यवस्थापन भएको पिपिइ सकिएकोे उनीहरुको गुनासो छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको अवस्थामा पिपिइको अभावले उपचार कार्यका समस्या उत्पन्न हुने उनीहरुले बताएका छन् । उनीहरुले प्रदेश सरकारले तत्काल पिपिइको व्यवस्था गर्न माग गरेका छन् ।
मेसुहरुले अस्पतालमा आकस्मिक, फिवर क्लिनिकसँगै नियमित सेवा पनि सञ्चालनमा रहेको बताउँदै विकास समितिबाट नियुक्त भएका र करारका स्वास्थ्यकर्मीलाई प्रदेश सरकारबाट प्रोत्साहन भत्ता उपलब्ध गराउन आग्रह गरेका छन् । इलाम जिल्ला अस्पतालका मेसु डा प्रमोद साहले पिपिइको अभावका बीच आफूहरुले सेवा दिइरहेको बताउनुभयो । उहाँले विदेशलगायत अन्य जिल्लाबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको जानकारी दिँदै कोभिड–१९ का लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको बताउनुभयो ।
पाँचथर जिल्ला अस्पतालका मेसु डा बुद्धिबहादुर थापाले पिपिइ, एन–९५ मास्क अभाव भएको चर्चा गर्दै आवश्यक जनशक्ति र बजेटको अभाव भएको सुनाउनुभयो । ताप्लेजुङ अस्पतालका मेसु डा सनि लामाले अस्पतालमा दरबन्दी कम भएको बताउँदै अन्य जिल्ला अस्पतालसरह सेवा दिए पनि दरबन्दी कम भएको गुनासो गर्नुभयो । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले कोभिड–१९ को व्यवस्थापनका लागि दैनिक काम भइरहेको बताउनुभयो ।
भोजपुर जिल्ला अस्पतालका निमित्त मेसु डा पवित्रा श्रेष्ठले जिल्लामा आरडिटी किटको अभाव भएको गुनासो गर्दै पिपिइ आफँै व्यवस्थापन गरेर काम चलाइरहेको छु भन्नुभयो । उहाँले जिल्लामा सङ्क्रमित बढेमा पिपिइ अभाव हुने जानकारी दिनुभयो । सोलुखुम्वु जिल्ला अस्पतालका निमित्त मेसु सोनु शेर्पाले अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई उपचारका लागि ल्याउन र लैजान समस्या भएको बताउँदै अस्पतालमा सवारी साधन व्यवस्थाका लागि आग्रह गर्नुभयो ।
ओखलढुङ्गा र धनकुटा जिल्ला अस्पतालका मेसु डा सन्तोष देव र पुजन विश्वकर्माले पिपिइ र एन–९५ मास्कको अभाव रहेको गुनासो गर्दै सबै स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्न माग गर्नुभयो । सुनसरी जिल्ला अस्पतालका मेसु डा सन्तोष राईले अस्पतालले नियमितरूपमा थ्रोट स्वाब सङ्कलन, फिवर क्लिनिक र मोबाइल क्लिनिक सञ्चालन गरिरहेको तर पिपिइ अभाव रहेको बताउनुभयो । मेची अस्पतालका मेसु पिताम्वर ठाकुरले आइसोलेसनमा रहेका बिरामीका लागि खाना खर्चको समस्या रहेको गुनासो गर्नुभयो ।
जनप्रतिधिले पिपिइ लगाएर हिँड्दा समस्या
सामाजिक विकासमन्त्री घिमिरेले प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध भएको पिपिइ वितरण भइसकेको जानकारी दिँदै शङ्कास्पद बिरामी वृद्धि भएमा पिपिइको कुनै अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले पठाएको पिपिइको सही सदुपयोग नभएको गुनासो व्यक्त गर्दै स्वास्थ्यकर्मीभन्दा जनप्रतिधिले पिपिइ लगाएर हिँड्दा समस्या उत्पन्न भएको बताउनुभयो ।
मन्त्री घिमिरेले पिपिइको अभाव जिल्लामा मात्रै नभएर प्रदेश र केन्द्रमा पनि रहेको चर्चा गर्दै शक्तिशाली देशमा पनि पिपिइ अभाव रहेको छ भन्नुभयो । प्रदेश सरकारले पिपिइ न्यूनतमरूपमा व्यवस्थापन गरेको छ भन्दै कसले कस्तो पिपिइ लगाउने भनेर नबुझ्दा पनि समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।
कोरोनाको त्रासका वीचमा पनि अस्पतालले अत्यावश्यकीय सेवासँगै नियमित सेवा र फिवर क्लिनिक सञ्चालन गरेकामा धन्यवाद दिँदै शुरुआतका दिनमा कोरोनाको आतङ्क स्वास्थ्यकर्मीमा देखिए पनि अहिले त्यो त्रास हटेर गएको अनुभव उहाँले सुनाउनुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले कर्मचारी, स्वास्थ्य सामग्री अभावका विषयमा ध्यानाकर्षण भएको बताउँदै थप जनशक्ति तत्काल व्यवस्थापन गर्न आवश्यक भएको जानकारी दिनुभयो ।
हालसम्म प्रदेश नं १ मा आरडिटी र पिसीआर प्रविधिबाट आजसम्ममा छ हजार ३७७ जनाको कोरोना भाइरसको परीक्षण भएको छ । परीक्षण गरिएकामध्येमा पाँच हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना कक्षले जनाएको छ । कोरोना सङ्क्रमित ३१ जना केही दिनदेखि यथावत रहेको बताइएको छ । कक्षका अनुसार ल्याबमा स्वाब लगेर गरिने परीक्षण (पिसीआर) बाट एक हजार २८८ मा कोरोना भए÷नभएको परीक्षण भएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या बिहीबारसम्म कूल दुई हजार ३३७ पुगेको छ भने ३० डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३९ जना छन् । होम क्वारेन्टाइनमा जम्मा छ हजार १९९ बसिरहेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) र बाँके जिल्लामा बिहीबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ त्रिवेणी जाने भित्री सडकखण्डको केराबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा १२ च २००९ नम्बरको कार बिहीबार साँझ अचानक अनियन्त्रित भई सडक छेउको बिजुलीको खम्बामा ठक्कर खाँदा करेन्ट लागेर कार चालक बर्दघाट–४ का ५२ वर्षीय हरि भुर्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा कारमा सवार सोही स्थानका ३९ वर्षीय गोकर्ण शर्मा र ४२ वर्षीय रामप्रसाद पाण्डे घाइते भएका छन् । शर्माको टाउको र पाण्डेको ढाडमा चोट लागेको र उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ ।
कोहलपुर– बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नं १ कुसुममा गए राति सवारी दुर्घटना हुँदा एक प्रहरीको ज्यान गएको छ । दाङबाट कोहलपुरतर्फ आउने क्रममा सडक दुर्घटनामा परी बारबर्दिया नगरपालिका –४ घर भएका प्रहरी जवान अनिल थारुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी कुसुमको एम्बुलेन्समा घाइते थारुलाई उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर ल्याइएकामा बाटैमा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ ।प्रजातन्त्र सेनानी समेत रहेकी उनको बिहीबार राति ८४ वर्षको उमेरमा निधन भएको परिवार श्रोतले बताएका छन् ।
१९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा जन्मनुभएकी रानुदेवी सानैदेखि शास्त्रीय गायनमा समर्पित थिईन। उनले १६ वर्षको उमेरमा बिराटनगरको मिल्स एरियामा रहेको एउटा सानो स्टुडियोबाट पहिलो पटक नेपाली नेपाली …अघि बढौं हातमा क्रान्ति झण्डा लिई गित गाएर गायनमा प्रवेश गरेकी थिइन्।रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।
काठमाडौँ – देशको पश्चिमी भूभागमा शुक्रबारको मौसममा पूर्ण बदली तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शुक्रबार राति देशको पश्चिमी पहाडी भूभाग तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने छ ।
पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य र पूर्वी भूभागका केही स्थानहरुमा शुक्रबार राति मेघगर्जन, चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
काठमाडौँ — नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालमाथि राष्ट्रिय मानव अधिकार आयोगमा व्यक्ति हत्या र अपहरण तथा शरीर बन्धकसम्बन्धी तीन वटा कसुर छानबिनको घेरामा परेका छन् ।
समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको वैशाख १० गते रातिको अपहरण प्रकरण, प्रतिबन्धित चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेल र ‘गुन्डा नाइके’ कुमार घैंटेको ‘नक्कली इन्काउन्टर’ सम्बन्धी घटनामा प्रहरीले अनुसन्धान गर्न नमानेपछि तीन वटै उजुरी आयोगको कसीमा पुगेको हो ।
उजुरी लिएर प्रहरीमा पुगे पनि कसुर दर्ता नभएपछि पीडितहरू आयोगको शरणमा पुगेका हुन् । सांसद यादवले बिहीबार खनालसहित सत्तारूढ नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) विरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा उजुरी दिएका छन् ।
यसबाहेक आयोगमै कुमार पौडेलको २०७६ असार ५ मा सर्लाहीको लखन्ती र २०७२ भदौ २ मा कुमार घैंटेको सामाखुसीमा नक्कली इन्काउन्टर गरिएको प्रकरण आयोगमै विचाराधीन छ । पौडेलको हत्या प्रकरणमा पूर्वआईजीपी खनालका तीन जना घुमुवा कृष्णदेव (केडी) साह तथा हवल्दारद्वय सत्यनारायण मिश्र र श्रीविनोद साहलाई आयोगले कर्तव्य ज्यान मुद्दामा कारबाही गर्न निर्देशन दिएको थियो ।
गोली हानी हत्या गर्न आदेश दिनेलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आयोगले निर्देशन दिएको थियो । त्यसबेला तीनै जना प्रहरी खनालका घुमुवा बनेर प्रदेश २ का जिल्लामा खटिएका थिए । तर, खनाल बहालमा रहँदासम्म आयोगको निर्देशनको अवज्ञा भयो ।
उनले अवकाश पाएपछि करिब तीन महिनासम्म पनि आयोगको उक्त निर्देशन पालना भएको छैन । घैंटेको गैरन्यायिक हत्या प्रकरणबारे अहिले पनि आयोगले अनुसन्धान गरिरहेको जनाएको छ । घैंटेको नक्कली इन्काउन्टर पनि खनालकै आदेशमा भएको उजुरीको छानबिन अन्तिम चरणमा पुगेको आयोगको भनाइ छ ।
पूर्वआईजीपी खनाल सांसद अपहरण प्रकरणमा समेत मुछिएका छन् । यो विवाद पनि प्रहरीले अनुसन्धान गर्न नमानेपछि आयोगमै पुगेको हो । आयोगका सदस्य मोहना अन्सारीले सांसद अपहरणको बिहीबार उजुरी परेको र यस सम्बन्धमा आयोगको बैठक बसेर अनुसन्धान अघि बढाइने बताइन् ।
अन्सारीले कान्तिपुरसँग भनिन्, ‘पूर्वआईजीपी खनाललाई नै प्रतिवादी बनाएर यसअघि पनि दुई वटा उजुरी परेकामा एउटा कार्यान्वयन गर्न निर्देशन दिएको र अर्को निर्णय हुन बाँकी छ ।’ सांसद अपहरण प्रकरणमा बयान हुँदा आरोप लगाइएका व्यक्तिलाई यसअघिका घटनामा के-कसो भएको हो भनेर थप बुझ्ने उनले स्पष्ट पारिन् ।
‘आयोगका निर्णय र निर्देशन देखाउनका लागि मात्रै होइन, पालना हुनुपर्छ । दोषी देखिए सजाय पनि भोग्नुपर्छ,’ उनले भनिन्, ‘गल्ती गर्नेलाई कुनै पनि हालतमा उन्मुक्ति र संरक्षण कतैबाट पनि नहोस् भन्ने पक्षमा आयोग स्पष्ट छ ।’ आयोगले घैंटेको इन्काउन्टर प्रकरण अनुसन्धानमा प्रहरीको विधिविज्ञान प्रयोगशालासँग प्राविधिक सहयोग र प्रमाणहरू मागेको थियो ।
तर, त्यस्तो प्रमाण नभएको जवाफ प्रहरीले आयोगलाई दिएको थियो । आयोगका सदस्य अन्सारीले सांसद अपहरण प्रकरण छानबिन हुँदा कुमार पौडेल र कुमार घैंटेसँग जोडिएको उजुरीको पनि सोधखोज हुने स्पष्ट पारिन् । ‘आदेशअनुसार काम नभए त सोध्छौं नि, गैरन्यायिक घटनामा आदेश दिने, आदेश पालना गर्ने र गैरकानुनी गतिविधिमा संलग्नलाई किन कारबाही भएन भनेर पक्कै सोध्छौं,’ उनले भनिन् ।
अन्तर्राष्ट्रिय हवाई सेवामा स्तरोन्नति गर्न चाहने आन्तरिक हवाई सेवा प्रदायकका लागि सरकारले इजाजतपत्र खुला गरेको छ ।निश्चित सर्त र योग्यता तोकेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वैशाख १५ गतेको मन्त्रीस्तरीय बैठकले इजाजतपत्र खुला गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५ मा भएको सर्त तथा योग्यता पूरा गरेकालाई यस्तो इजाजतपत्र उपलब्ध गराइने मन्त्रालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडान गर्न चाहेका आन्तरिक उडान कम्पनीलाई थप प्रतिस्पर्धी बनाउन यस्तो अनुमति जारी गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।इजाजतपत्रका लागि आवेदन दिन वायुसेवा सञ्चालनको वर्गीकरणअनुसार चुक्ता पुँजी पनि फरकफरक निर्धारण गरिएको छ । जसअनुसार ‘क’ वर्गको वायुसेवा सञ्चालनका लागि एक अर्ब रुपियाँ चुक्ता पुँजी हुनुपर्ने छ । त्यस्तै ‘ख’ वर्गको वायुसेवा सञ्चालनका लागि ७५ करोड र ‘ग’ वर्गको वायुसेवा सञ्चालनका लागि ५० करोड रुपियाँ चुक्ता पुँजी निर्धारण गरिएको छ ।यो चुक्ता पुँजी तीनवटा विमानबाट अन्तर्राष्ट्रिय उडान गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीका लागि हो । तीनभन्दा बढी विमान थप भएमा प्रतिविमान १० करोड रुपियाँ चुक्ता पुँजी पु¥याउनुपर्ने छ । कम्पनी रजिस्ट्रार कार्यालयबाट तोकिएको चुक्ता पुँजी पूरा भएको विवरण पेस गर्नुपर्ने पनि मन्त्रालयले जनाएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई गर्ने गरी सरकारलाई सुझाव दिएको छ । कार्यदलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई सुझाव बुझाएको हो ।
२५ वैशाखभित्र कक्षा एकदेखि ९ को नतिजा प्रकाशन गर्ने, २५ वैशाखपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने सुझाव दिइएको हो ।
विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझावसहितको प्रतिवेदन शिक्षामन्त्रीलाई बुझाइएको छ । प्रतिवेदन उच्चस्तरीय समितिमा र क्याबिनेटमा लैजाने शिक्षामन्त्री
पोखरेलले बताए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको हो ।
कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ । यस्तै, एसईई र कक्षा १२ को परीक्षा एउटै समय दुई सिफ्टमा गर्न पनि सिफारिस गरेको छ ।
आजको राजधानी दैनिकमा समाचार छ ।
वि.सं.२०७७ साल वैशाख १९गते । शुक्रबार । ईश्वी सन् २०२० मे ०१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैसाख शुक्लपक्ष । तिथि– अष्टमी, श्रमिक दिवस।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा तथा आफन्तसँग साना साना कुरामा राय बाजिनेछ भने साथीभाइसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । तरपनि कृषि तथा पशुपालन पेशा व्यवसायमा लगानि गरि आम्दानी गर्न सकिनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक असमझ्दारीले कामहरु गर्न केही कठिनाई हुनेछ भने दाजुभाइसँग विवाद बढ्ने योग रहेकोछ । कुनै पनि काम गर्नको लागि गरिने यात्रा कष्टप्रद हुन सक्छ । व्यापारमा लगानी गरिहाल्ने समय रहेको छैन । प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कुटुम्व तथा बोलि भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्वसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बाेलिको माध्ययमबाट राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । परिवारका साथ स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । स्वअध्ययनले विद्यार्थीहरुले मेहनत गरि राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाव बढ्नेछ । पढाइ लेखाइमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बुवाको धन परिचालन गरि लाभ लिन सकिनेछ । दाजुभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नोकरी तथा जागिरमा आफ्नै कमजोरिले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यवसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा इज्जत प्रतिष्ठामा कमि हुनेछ । बुवा वा बुवा सरहका मानिससँग विवाद हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा जीवनसाथीको साथ पाइने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरि नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाह गर्नु पर्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा दिदीबहिनिसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरु टाढिनेछन् । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने विपरित लिंग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरुभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेकोछ । काममा ढिला शुस्ति,बैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेकोछ । खुट्टा तान्ने तथा काममा विवाद सिर्जन गर्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइ अधुरै रहनेछ भने न्यायिक निर्णयहरु तपाईको विपक्षमा फैसला हुनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा मित्रहरुको सहयोग रहनाले सकयमा कामहरु बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा विलाशि बस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । तरपनि सरसफाइमा ध्यान दिनुहोला ।