काठमाडौं, १४ बैसाख । नेपालमा ‘लहरे सर्प’ को नयाँ प्रजाति फेला परेको छ । स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्याल, रेञ्जर यामबहादुर रावत तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. नरेश सुवेदी, कोषका संरक्षण अधिकृत सन्तोष भट्टराई सम्मिलित टोलीले उक्त सर्पको पहिचान गरेको हो । विश्वमा जम्मा १० प्रजातिका लहरे सर्प पाइन्छन् ।
उक्त सर्प शुरुमा रेञ्जर रावतले फेला पारेका थिए । पछि उक्त टोलीले सर्पको नयाँ प्रजाति पुष्टि गरेको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख लक्ष्मणप्रसाद पौडेलले दुई वर्षदेखि सरिसृप र उभयचरको अध्ययनका क्रममा यसरी नयाँ प्रजातिको सर्प फेला परेको जानकारी दिए ।
उक्त प्रजाति नेपालबाहेक भारतमा मात्र फेला परेको छ । उहाँका अनुसार शुल्लाफाँटाका लागि योसहित ११ सर्प, चार भ्यागुता, एक कछुवा, एक छेपारो र एक भालेमुङ्ग्रो नयाँ फेला परेको छ ।
यो प्रजाति सन् २०१९ मा विश्वमै पहिलो पटक भारतको उडिसा र राजस्थानमा फेला परेको थियो । दोस्रो पटक भारतकै गुजरात भेटिएको थियो । लहरे सर्प लौकाको सुकेको डाँठ जस्तो देखिने र भारतको उडिसामा लौकालाई स्थानीय भाषामा लौडङ्का भन्ने गरेकाले सर्पको वैज्ञानिक नाम अहेतुल्ला लौडाँकिया भनेर नामकरण गरिएको छ ।
नेपालमा पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फेला परेको यो प्रजाति पुनः बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पनि भेटिएको थियो । पछिल्लो पटक चितवन राष्ट्रिय निकुञ्जको पटना ताल र लामीताल क्षेत्रमा समेत फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन, सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए ।
दिउँसोमा सक्रिय हुने, रुख लहरा तथा अग्ला खर घारीमा बस्ने र सुकेको लहराको डाँठ जस्तो शरीरको रङ खैरो हुने भएकाले यो सर्प सजिलै ठम्याउन गाह्रो हुने भट्टराईको भनाइ छ ।
लहरे सर्प अहिलेसम्म तराईका तीन राष्ट्रिय निकुञ्जमा पाँच वटा मात्र भेटिएको छन् । स्थानीयवासीले यसलाई सुगा सर्प वा उडुवा सर्प आदि नामले चिन्छन् । सर्पमा मध्यम खालको विष भए पनि टोकाइबाट मानिसको ज्यान जाने अवस्था नरहने जनाइएको छ ।
हरियो लहरे सर्प पाइने गरेकामा खैरो लहरे सर्प नेपालका लागि नयाँ भएको र योसहित नेपालमा दुई प्रजातिको उक्त सर्प भेटिएको सर्प विज्ञ करण शाहले जानकारी दिनुभयो । यसअघि फेला परेको सर्प हरियो र मुख चुच्चो हुने हुँदा यसलाई सुगा सर्प भन्ने गरिएको हो ।
सुक्खा वासस्थान तथा खरबारी, खोला, पोखरी किनारका काँस घारी तथा चुरे क्षेत्रको जङ्गलमा यो प्रजातिको वासस्थान हुन सक्ने जनाइएको छ । नेपालको अन्य जिल्लामा समेत पाउन सक्ने सम्भावना रहेको संरक्षणकर्मी बताउँछन् ।
फेला परेका पाँच सङ्ख्यामध्ये एउटा स्थानीयले मारेको नमूना फेला परेको थियो । यसको वासस्थान खरघारी भएकाले निकुञ्जको खरघारी, घाँसे मैदान आगो लगाएर व्यवस्थापन गर्ने समयमा अन्य क्षेत्रमा यसको अवस्था पत्ता लगाउन सके प्रजाति संरक्षण कार्यक्रम प्रभावकारी छ ।
जैविक विविधताका दृष्टिले नयाँ प्रजाति देशका लागि अमूल्य सम्पत्ति हुन् । संरक्षणको प्राथमिकतामा नपरेका सर्प प्रजातिको अध्ययन अनुसन्धान बढाउनु जरुरी रहने सर्प विज्ञको भनाइ छ ।
हालै भेटिएको लहरे सर्पसहित नेपालमा ८३ प्रजातिका सर्प फेला परेका छन् । जसमध्ये १७ वटा सर्पले बढी विषालु हुने हुनाले त्यसले टोकेमा मानिसको ज्यान जान सक्छ । विषालु सर्प करेत कोब्राको अगाडि दाँत हुन्छ । यसको पछाडि दाँत हुने भएकाले अलि कम विषालुमा पर्ने सर्प विज्ञ शाहको भनाइ छ । उनका अनुसार यो तराईमा पाइने सर्प हो ।
गर्मी मौसम शुरु भएकाले घर वरिपरी सरसफाइ गरेमा विषालु सर्पको टोकाइबाट जोगिन सकिने विज्ञहरुले बताएका छन् । उक्त नयाँ प्रजातिको सर्पबारे आज मात्रै अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन भएको छ ।
काठमाडौं – कोरोना भाइरसका कारण सरकारले देशव्यापी गरेको लकडाउन आज सकिदैछ। आगामी दिनमा के गर्ने भन्ने विषयमा आजै बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्ने छ। आज मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार नयाँ शैक्षिक कार्यक्रम र योजना बनाउने शिक्षा मन्त्रालयको तयारी छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आजको मन्त्रीपरिषद बैठकले गर्ने निर्णयका आधारमा शैक्षिक कार्यक्रम र योजना बनाउने बताएका हुन्।
शिक्षा पत्रकार समूहले कोरोना भाइरसको महामारीबाट शैक्षिक क्षेत्रमा उत्पन्न परिस्थितिका बारेमा शनिबार गरेको भर्चुअल पत्रकार साक्षात्कारमा मन्त्री पोखरेलले यस्तो बताएका हुन्।
शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले कोरोना महामारीबीच शैक्षिक कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा आज सुझाव प्रतिवेदन बुझाउँदै छ ।
सरकारले विज्ञ टोलीसँग कोरोनाका कारण स्थगित विद्यालय तहको परिक्षा कसरी लिने भन्ने योजनासहित प्रस्तुत हुन सुझाएको छ ।
भर्चुअल पत्रकार साक्षात्कारका क्रममा मन्त्री पोखरेलले भने, ’घरकै खाना खाएर, नजिकैको विद्यालयमा सुरक्षित परीक्षा दिने व्यवस्था मिलाउनेछौ ।’
यसैगरी मन्त्री पोखरेलले सयौं विद्यार्थीका कारण सामाजिक दूरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरु लकडाउनपछि सबैभन्दा अन्तिममा खुल्ने क्षेत्र भएको बताए ।
यस्तै अहिले देशभर २ सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टिन बनाईएकाले पनि तत्काल त्यहाँ कक्षा संचालन गर्न सम्भव नभएका कारण नयाँ ढंगले कक्षा संचालन गर्ने विकल्पको खोजी भईरहेको मन्त्री पोखरेलको भनाइ छ ।
अबको एक हप्ताभित्र सबै विद्यालयको नतिजा निकाल्ने र अर्को हप्तामा माथिल्लो कक्षामा भर्ना हुने बाटो खोल्ने गरी विद्यालय तहको शैक्षिक कार्यक्रम अघि बढ्ने समेत मन्त्री पोखरेलले बताए।
’जेठसम्ममा नयाँ शैक्षिकसत्र सुरु गर्न सके शैक्षिक सत्र भत्किदैन। परिक्षाहरु पनि संचालन हुनसक्छन्’, मन्त्री पोखरेलले भने।
राष्ट्रिय परिक्षा बोर्डले स्थिति सामान्य भएको तेस्रो सातामा परिक्षा संचालन गर्न सकिनेगरी तयारी गरेको मन्त्री पोखरेलको भनाइ छ ।
जाडो–गर्मी बिदा, चाडपर्वका बिदा कटाएर साथै, अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र भत्किन नदिने मन्त्री पोखरेलले बताए।
यस्तै मन्त्रालयले अनलाइन एजुकेशन र विकल्पहरुका बारेमा सुझाव दिन शिक्षा मन्त्रालयले पूर्वमन्त्री गणेश साहको नेतृत्वमा विज्ञ समिति गठन गरेको छ।सो समितिले अन्य ६ विषयगत समिति पनि गठन गरेको छ ।
लण्डन । कास्की रुपाकोट स्थायी घर भई बेलायतको ननिटन बस्दै आएकी श्रीमती भाइसिरी गुरुङको निधन भएको छ ।
उनको ७३ वर्षको उमेरमा स्थानीय जर्ज इलियट अस्पतालमा आज निधन भएको स्थानीय ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारु मगरले जानकारी दिए । उनी १७ अप्रिलका दिन अस्पताल भर्ना भएकी थिइन् । उच्च रक्तचापकी बिरामी उनलाई खाना नरुच्ने, टाउको दुख्ने लक्षण देखा परेपछि अस्पताल लगिएको थियो । उनको निधन कोरोनाको कारणले भएको आशंका गरिएको छ तर अस्पतालको त्यसको पुष्टि गर्न भने बाँकी छ ।
उनी पूर्व गोरखा सैनिक श्रीमान तोपबहादुर गुरुङसँगै सन् २०१३ देखि ननिटन बस्दै आएकी थिइन् । उनका श्रीमान गोरखा इन्जिनियर्सका पूर्व सैनिक हुन् ।
उनको श्रीमानलाई टाउको दुख्ने र ज्वरो आउनेलगायतका कारणले अहिले घरमै आइसोलेसनमा बसेका छन । उनको नेपालमा एक छोरा नेपालमै रहेको बताइएको छ ।
करिब २ हजार ५ सय नेपालीको बसोबास रहेको ननिटनमा कोरोना संक्रमणबाट नेपालीहरु निकै प्रभावित भएका छन् । तीन साता यता ननिटनमा ६ जना नेपालीको निधन भइसकेको छ । जसमा तीन महिला र तीन पूर्व गोरखा सैनिक छन् ।
विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो ।
एनआरएन स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर एक हजार ९८३ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडानुसार २४ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित रहेको कोडिभ १९ उच्चस्तरीय समिति एनआरएनर्का प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।
नेपालमा भने ४९ जनामा कोरोना संक्रमण देखिएको तथा १२ जना कोरोनामुक्त भएको समितिले जनाएको छ । यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपालीमध्ये ४३४ जना कोरोनामुक्त भएको बताइएको छ । संक्रमित हुने नेपालीमा अमेरिका एक हजार, बेलायत सात सय, संयुक्त अरब इमिरेट्स ८१, बहराइन ४९, कुवेत ४२, पोर्तुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, बेल्जियम छ, स्वीजरल्याण्ड पाँच ,साउदी अरब र जर्मनी चारचार, मलेशिया, क्यानडा, न्युजिल्याण्ड र साइप्रस तीनतीन, जापान, हङकंङ र माल्टा दुईदुई तथा फ्रान्समा एक जना रहेको समितिले जनाएको छ ।
समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत ३६ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ ।
यसैबीच कोरोना भाइरसको महमारीबाट प्रभावित नेपालीको सहयोगार्थ एनआरएनले आफ्ना शाखालाई परिचालन गरेको छ । एनआरएका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना महामारीपछि ४१ देशमा रहेका एनआरएनका शाखामार्फत नौ सय स्वयंसेवक परिचालन गरिएको छ । कोरोना संक्रमणपछि विश्वभर छरिएका करीब ३० हजार गैरआवासीय नेपालीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको एनआरएनले जनाएको छ ।
डा शर्माका अनुसार ७० भन्दा बढी गैरआवासीय नेपाली चिकित्सकसमेतले कोरोना संक्रमित देशमा गैरआवासीय नेपालीलाई सघाइरहेका छन् । यसअघि चीनबाट कोरोना भाइरस संक्रमण शुरु भएलगत्तै एनआरएनले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड –१९ उच्चस्तरीय समिति गठन गरी काम अघि बढाएको थियो ।
वीरगन्ज : वीरगन्जमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै पर्सा, विरगन्ज निवासी २ जना व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ । नेपालमामा कोरोना संक्रमितको संङख्या ५१ पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणको नतिजा अनुसार नयाँ पुष्टि भएको सङख्या २ छ । उहाँहरु दुवै विरगन्ज निवासी ५० वर्षका पुरुष हुनुहुन्छ ।
कोरोना पुष्टि भएका वीरगन्ज–२ घुसुकपुरका ५० वर्षीय पुरुषलाई पनि भर्खरै अस्पताल ल्याइएको छ।
वीरगन्जका थप २ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएका छन् ।
ती मध्ये वीरगन्ज–३ छपकैयाका ५० वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ। उनी वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन्। अर्का वीरगन्ज–२ घुसुकपुरका ५० वर्षीय पुरुषलाई पनि भर्खरै अस्पताल ल्याइएको छ। उनलाई शंकास्पद ठानी सिदार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो ।
सहायक प्रजिअ बस्नेतका अनुसार कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज महानगरपालिका वडा नम्बर १,२ र ३ का १ सय ४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १ सय ८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो । सो मध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ। जसमा दुई जनाका कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको हो।
कोरोना पुष्टि भएका अर्का वीरगन्ज–२ घुसुकपुरका ५० वर्षीय पुरुषलाई पनि भर्खरै अस्पताल ल्याइएको छ।

महाकाली नदीमा बगेकी एक महिलालाई प्रहरीले जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाएको छ । जिल्ला सदरमुकाम खलङ्गाको तिङ्कर खेडा नजिकैबाट बगेकी व्यास गाउँपालिका–१ का ३० वर्षीया सपना ऐतवाललाई आज विहान प्रहरीले जीवितै उद्धार गर्न सफल भएको हो ।
ती महिलालाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
नदीमा महिला बगिरहेको देखेपछि तत्काल प्रहरीले जिल्ला अस्पताल नजिकैबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले बताउनुभयो ।
झण्डै एक किलोमिटर बगेकी महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचारपछि थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको जिल्ला अस्पताल चिकित्सक गजेन्द्र दुवालले बताउनुभयो । “अझै गम्भीर अवस्थामा हुनुहुन्छ”, उहाँले भनुभयो, “समयमै उपचार पाउन सक्यो भने बचाउन सकिन्छ ।”
जिल्ला अस्पालमा झण्डै पाँच घण्टा उपचारपछि थप उपचार गर्न कोहलपुर पठाइएको छ । उहाँलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको छ ।
काठमाडौं । लकडाउनका बारेमा ठोस निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनबारे विश्लेषण गरेको थियो । त्यसमा लकडाउनलाई निरन्तरता दिने वा स्वरुप परिवर्तन गर्नेलगायतका विभिन्न प्रस्तावमा छलफल भएको थियो ।
कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले गत चैत ११ यता लगातार लकडाउन घोषणा गर्दै आएको छ । पहिलो र दोस्रो चोटी सात सात दिन अलकडाउन गरेको सरकारले तेस्रो चोटी भने १५ दिनलाई लकडाउन थपेको थियो । पछिल्लो समय संक्रमणको अवस्था हेरेर केही स्थानमा लकडाउन खुकुलो पार्ने कि भन्ने बहसहरु पनि भइरहेका छन् । यसबारे मन्त्रिपरिषद बैठकले छलफल गरेर अन्तिम निर्णय गर्नेछ ।
भारतको अवस्था समेत ख्याल गर्नुपर्ने भएकाले आगामी एक साता यहि स्वरुपमा लकडाउनलाई निरन्तरता दिएर आगामीसाताबाट स्वरुप परिवर्तन हुनसक्ने एक मन्त्रिको भनाई छ ।
उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरिसकेको छ । लकडाउनका कारण कोरोना संक्रमण फैलन नपाएको समितिको ठहर छ ।
आज बिरगन्जमा २ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।
काठमाडौं – सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफ्नो विषयमा विभिन्न टिका टिप्पणी भएकोमा आफ्नो ध्यानआकर्षण भएको जनाएका छन्। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी ओली र आफ्नोबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको दाबी गरेका छन्।
विज्ञप्तिमा उनले भनेका छन्,‘पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो । समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन् ।
यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ । तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ ।
उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।’
बलिउड अभिनेता इरफान खानको आमाको भारतको जयपुरमा निधन भएको छ । ९५ वार्षीय उनको प्राकृतिक निधन भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।
इरफान लामो समयदेखि विरामी भएर बिदेशमा उपचाररत छन् । लकडाउनको कारणले आउन नपाएपछि भिडियोकल मार्फत अन्त्येष्ट्री हेरेको बताइएको छ । उनीसँगै पिकुमा काम गरेका फिल्ममेकर सोजित सिरकारले इरफान सँग कुरा गरेको र उनी अत्यन्तै दुखी भएको बताए ।
उनले भने, “इरफान आफु पनि लामो समयदेखि बिरामी छ, आफै जीवन र मरणको दोसाधमा रहेर उपचार गराइरहेको उसलाई झन ठूलो पीडा थपिएको छ । उसको आमाको आत्माको शान्तिको कामना गर्दै उसको स्वास्थ्यलाभको कामना गरौं ।”
इरफान आफु बिरामी भएपछि ट्वीटरमा पटक पटक आफ्नो बेदना पोख्दै आएका छन् । ‘कयौ पटक एक झड्काका कारण म निन्द्राबाट जाग्ने गरेको छु’ उनले अगाडि लेखेका छन् ‘१५ दिन देखि मेरो जिन्दगी सस्पेन्स स्टोरी जस्तो भएको छ । दुर्लभ स्टोरी खोज्दा खोज्दै आफै दुर्लभ विमारीको सिकार भएको छु’, उनले अगाडि उल्लेख गरेका छन् ।
काठमाडौं – ब्रिटिस गट ट्यालेन्टमा नेपाली भीम निरौलाले आफ्नो प्रस्तुती दिएका छन् । सन्डे मर्निङ लभ मन्डे मर्निङ लभ गाएर उनले आफ्नो प्रस्तुती दिएका हुन् ।
उनले प्रस्तुती दिँदा निर्णायक तथा दर्शकले ठूलो हुटिङ गर्दै सँगै गाएर तथा नाचेर साथ दिएका थिए । भीमलाई प्रस्तुती दिँदै गर्दा आयोजकले स्टेजमा आएर निर्णायक सामु पुर्याएर हात मिलाउन लगाएका थिए । भीम अघिल्लो चरणमा प्रवेश गरेका छन् । गट ट्यालेन्ट विश्वका धेरै देशमा आयोजना हुँदै आएको अन्तर्राट्रिय रियालिटी हो । https://youtu.be/O2q8-HEqE9c