सरकारले जारी लक डाउनको समय १० दिन थप गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लक डाउनको समय १० दिन थप गर्दै वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।
पछिल्लो पटक थप भएको समय वैशाख १५ गते सोमबार सकिँदै थियो । पूर्वनिर्धारित लकडाउनको समय सकिन एक दिन अगाडी नै सरकारले १० अझ लम्ब्याउने निर्णय गरेको हो ।
सरकारले लकडाउनको समयसीमा थप गरेको यो चौथो पटक हो । यसअघि सरकारले चैत ११ गतेदेखि चैत १८ गतेसम्मको लागि लकडाउन गरेकोमा त्यसपछि बढाएर चैत २५ गतेसम्म पुर्याइएको थियो ।
यसैगरी त्यसपछि पुनः वैशाख ३ गतेसम्म बढाएकोमा त्यसपछि पनि सरकारले वैशाख १६ गते अर्थात भोलिसम्मका लागि लकडाउन गरेको थियो । योसहित नेपालमा ४५ दिन लकडाउन हुने निश्चित भएको छ।
आइतबार नै बैठकले अन्तर्राष्टिय सीमानाकाहरु वैशाख ३१ गतेसम्म बन्द नै राख्ने निर्णय गरेको छ । बाह्य जगतबाट कोरोनाको जोखिम अझै रहेकाले सीमानाकाहरु वैशाख ३१ गतेसम्म बन्द गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए । इपिएस अन्तरर्गत कोरिया जाने श्रमिकहरुलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजाने अनुमति दिने निर्णय पनि बैठकले गरेको छ ।
हालसम्म नेपालमा कोरोनाभाइरसको संक्रमण ५२ जनामा पुष्टि भइसकेको छ भने त्यसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।



