डा. प्रसाईँको राष्ट्रिय गीत ‘हट्छ औँसीको डार्क’ सार्वजनिक

PNA


|
|


काठमाडौं – देशमा प्रतिनिधिसभा निर्वाचनको माहौल तात्दै गर्दा साङ्गीतिक क्षेत्रबाट पनि सचेतना र राष्ट्रियताको सन्देश प्रवाह गर्ने क्रम तीव्र बन्दै गएको छ। यसै सन्दर्भमा डा. ओमकृष्ण प्रसाईँको शब्द तथा स्वरमा र्‍याप शैलीको नयाँ राष्ट्रिय गीत ‘हट्छ औँसीको डार्क’ सार्वजनिक गरिएको छ।
गीतको शीर्षकले नै यसको गहिरो भाव र सन्देशलाई स्पष्ट पार्छ। यहाँ ‘औँसीको डार्क’ अर्थात् अन्धकारले समाज र राजनीतिमा व्याप्त निराशा, विकृति र अन्योलतालाई सङ्केत गरेको छ। आसन्न निर्वाचनको समयमा सार्वजनिक भएको यस गीतले अब त्यो अन्धकार हट्ने र देशमा नयाँ आशा तथा उज्यालो छाउने विश्वास व्यक्त गरेको छ।
युवा पुस्तालाई लक्षित गर्दै र्‍याप शैली अपनाइएको यस गीतले मतदानमार्फत सकारात्मक परिवर्तन सम्भव छ भन्ने सन्देश दिन खोजेको छ। ऊर्जा र चेतनाले भरिएको यस गीतको अडियो निर्माण पक्ष पनि मजबुत रहेको छ। सञ्जय हमालले बिट एरेन्ज गरेको गीतमा गोविन्द सोनीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। सबु केसी र आर्जु चौधरीले सहायक गायनमा साथ दिएका छन् भने अनीश लिम्बुले ए लेभल स्टुडियोमा गीत रेकर्ड गरेका हुन्।
गीतको सन्देशलाई प्रभावकारी रूपमा पर्दामा उतार्न यसको म्युजिक भिडियो पनि आकर्षक बनाइएको छ। ममता रायमाझीको निर्माण तथा प्रमोद डिजीको निर्देशनमा तयार भएको भिडियोमा डा. ओमकृष्ण प्रसाईँसहित रविना श्रेष्ठ, सूर्य तामाङ, राम विष्ट, सिर्जना बस्नेत, प्रकाश खतिवडा, नायरा प्रसाईँ, अंकिता थेबे, कल्पना मगर, मन्सुल थापा र आयुषी कार्कीको अभिनय रहेको छ।
भिडियोलाई प्रशान्त केसी र उनकी टोलीले छायाङ्कन गरेका हुन् भने लक्ष्मण चौहानले सम्पादन, रङ्ग संयोजन र पोस्टर डिजाइनको जिम्मेवारी सम्हालेका छन्। सुष्मा जोशीको मेकअप, कल्पना मगरको कोरियोग्राफी र बुद्धि माझीको सहायक निर्देशन रहेको यस भिडियोले गीतको भावलाई जीवन्त बनाएको छ।
निर्वाचनको छेकोमा सार्वजनिक भएको यो साङ्गीतिक कोसेलीले आम मतदातालाई सचेत गराउँदै देशको अन्धकार हटाएर उज्यालो भविष्य निर्माण गर्न प्रेरित गर्ने विश्वास निर्माण पक्षले लिएको छ।