कोरोनाको मारमा दक्षिणपूर्वी एसिया

News Desk 1


|
|


काठमाडौं - गत मे महिनामा भारतका घाटहरुमा लाशहरु जलाएको तस्वीर भाइरल भएको थियो । उक्त तस्वीरले भारतमा कोरोनाले भयानक रुप लिएको स्पष्ट देखिन्थ्यो । तर, भारतले भोगेको उक्त अवस्था दक्षिणपूर्वी एसियामा सरेको छ । पछिल्लो दुई सातामा भारतमा कोरोनाको दोस्रो लहर उच्च विन्दुको तुलनामा दक्षिणपूर्वी एसियामा कोरोनाको मृत्युदर धेरै भइसकेको छ ।दक्षिणपूर्वी एसियामा डेल्टा भेरियन्टको कारण निकै तीव्र गतिमा संक्रमण फैलिरहेको छ । यो क्षेत्रमा नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । जसको कारण यी क्षेत्रका मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको छ । यो क्षेत्रका केही मुलुकले कोरोना नियन्त्रणको लागि तोकिएको मापदण्डहरु पनि पालना गराउन सकेका छैनन् ।दक्षिणपूर्वी एसियाको मुलुक इन्डोनेसियाले कोरोनाको संक्रमण बढेसँगै मुलुकमा उत्पादन हुने समग्र अक्सिजन मेडिकल प्रयोगको लागि खपत गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढेसँगै अक्सिजनको माग पनि ह्वात्तै बढेको छ ।

त्यस्तै मलेसियाका अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि बिरामीलाई भुइँमा राखेर उपचार गराउनुपर्ने अवस्था आएको छ । म्यानमारको सबैभन्दा ठूलो सहरमा चिहानमा काम गर्ने कर्मचारी अहिले निकै व्यस्त देखिएका छन् भने चिहानमा चाप बढेसँगै दिनरात नभनी चिहान खन्नुपर्ने अवस्था आएको छ । भारतमा सातदिने औसत हेर्ने हो भने कोरोनाको मृत्युदर गत मे महिनामा सबैभन्दा उच्च विन्दुमा पुग्दा प्रति १० लाखमा ३.०४ को मृत्यु भएको थियो । अहिले यो दरमा निरन्तर कमी आइरहेको छ । तर, इन्डोनेसिया, म्यानमार र मलेसियामा भने जुनयता यो दर निरन्तर बढ्दो क्रममा छ ।

गत जुन १७ मा मलेसियाको सेलाङगोर राज्यका एरिक लाम कोरोनाबाट संक्रमित भए र अस्पतालमा भर्ना भए । उनी सरकारी अस्पतालमा पुग्दा वार्डमा कुनै बेड खाली थिएनन् । अस्पतालका प्यासेज बिरामीले भरिएका थिए । यद्यपि सेलाङगोरको अन्य अस्पतालसँग तुलना गर्ने हो भने उक्त अस्पतालको अवस्था राम्रो हो ।

मलेसियाको सबैभन्दा सम्पन्न र धेरै जनसंख्या रहेको यो राज्यका कुनै पनि अस्पतालमा बेड खाली थिएनन् र धेरै बिरामीको उपचार स्ट्रेचर वा भुइँमा नै राखेर गराउनुपरेको थियो । सरकारले कोरोना संक्रमण बढेपछि अस्पतालका बेडहरु थप्दै कोरोना संक्रमितको लागि थप वार्डहरु निर्माण गरेको छ ।

३८ वर्षीय लाम तीन साता अस्पतालमा बस्दा उनले आफ्नै आँखाअघि बिरामीहरुको मृत्यु भइरहेको देखे ।

पछिल्लो समय दक्षिणपूर्वी एसियामा कोरोना संक्रमण बढ्नुमा धेरै कारकले भूमिका खेलेका छन् । जसमा महामारी नियन्त्रणको लागि लगाइएको मापदण्डबाट मानिसहरु दिक्क हुनु, सावधानी नअपनाउनु, खोप अभियान निकै सुस्त चल्नु र निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण देखिनुजस्ता कारक रहेको मलेसियास्थित रेडक्रस एसिया–प्यासिफिक इमर्जेन्सी हेल्थ कोर्डिनेटर अभिषेक रिमाल बताउँछन् ।

‘सरकारले तय गरेको हात धुने, मास्क लगाउने, भौतिक दूरी कायम राख्ने र खोप लगाउनेजस्ता आधारभूत मापदण्ड पालना गर्ने हो भने अबको दुई साताभित्र हामीले कोरोना संक्रमणमा उल्लेख्य कमी आएको देख्न सक्छौं’, उनले भने ।

मलेसियाले कोरोना नियन्त्रणको लागि लकडाउन गरे पनि संक्रमणमा भने कमी देखिएको छैन । तीन करोड २० लाखभन्दा धेरै जनसंख्या रहेको यो मुलुकमा जुलाई १३ मा पहिलोपटक १० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका थिए । त्यसयता दैनिक नयाँ संक्रमितको संख्या त्योभन्दा तल झरेको छैन ।

मलेसियामा कोरोना खोप लगाउनेको संख्या पनि निकै कम छ तर यो संख्या बढ्ने क्रम भने जारी छ । करिब १५ प्रतिशत जनसंख्याले कोरोनाको पूरा डोज खोप लगाइसकेका छन् । सरकारले यस वर्षको अन्तिमसम्ममा अधिकांश मानिसहरुलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ ।

अहिले व्यापक मात्रामा कोरोना संक्रमण बढेसँगै मलेसियाको अस्पतालका डाक्टर र नर्सले दिनरात नभनी काम गरिरहेका छन् । उनीहरुले आफ्नो तर्फबाट अवस्था नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन् । उक्त प्रयासको कारण मृत्युको मुखबाट फर्किएकामध्ये लाम पनि एक हुन् । उनको अवस्था बिग्रिएसँगै उनलाई भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गरिएको थियो र बिस्तारै उनको अवस्थामा सुधार आयो । उनी दुई साताअघि अस्पतालबाट डिस्चार्ज भएका थिए ।

तर, लामले कोरोना संक्रमणको कारण आफ्ना बाबु र भिनाजुलाई भने गुमाउनुपर्यो । उनका एक भाइ अहिले पनि आईसीयू र भेन्टिलेटरमा छन् । ‘मलाई दोस्रो जन्म पाएको र बाँच्नका लागि दोस्रो मौका पाएको महसुस भइरहेको छ’, उनले भने । एक अर्ब ३० करोडभन्दा धेरै जनसंख्या रहेको भारतमा सातदिने औसत हेर्ने हो भने कोरोनाको मृत्युदर गत मे महिनामा सबैभन्दा उच्च विन्दुमा पुग्दा प्रति १० लाखमा ३.०४ को मृत्यु भएको थियो । अहिले यो दरमा निरन्तर कमी आइरहेको छ । तर, इन्डोनेसिया, म्यानमार र मलेसियामा भने जुनयता यो दर निरन्तर बढ्दो क्रममा छ । बुधबार यी तीन मुलुकमा प्रति १० लाखमा क्रमशः ४.३७, ४.२९ र ४.१४ जनाको मृत्यु भएको थियो । कम्बोडिया र थाइल्याण्डमा पनि कोरोनाका नयाँ संक्रमित र मृतकसंख्यामा उल्लेख्य वृद्धि भएको छ । यद्यपि यी दुई मुलुकमा भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको दर कम छ ।

भारतमा फैलिएको कोरोना संक्रमणबाट पाठ सिकेर अधिकांश मुलुकले तुलनात्मकरुपमा छिटै नै लकडाउन गरी कोरोना संक्रमणलाई तीव्र गतिमा फैलिन नदिने प्रयास गरिरहेको र कोरोना संक्रमणसँगै अस्पतालमा पनि बिरामीको आवश्यकताअनुसारको व्यवस्था गर्ने प्रयास गरिरहेको रिमाल बताउँछन् । ‘यो क्षेत्रका मानिसहरु निकै सचेत छन् किनकी उनीहरुको आँखा अगाडि नै भारतमा दैनिक चार लाख नयाँ संक्रमित फेला परेका थिए र उनीहरुले वास्तवमा नै त्यो अवस्था दोहोरियोस् भन्ने चाहँदैनन्’, रिमालले भने । तर, जनस्वास्थ्यको मापदण्ड लगाइएसँगै त्यसले काम गर्न भने केही समय लाग्छ । अहिले यो क्षेत्रका मुलुकहरु संक्रमण नियन्त्रणका लागि संघर्ष गरिरहेका छन् ।

विश्वको चौथो धेरै जनसंख्या भएको इन्डोनेसियामा बिहीबार एकैदिन १ हजार ४४९ जनाको कोरोनाको कारण मृत्यु भएको छ । कोरोना महामारी सुरु भएसँगै इन्डोनेसियामा एकै दिन यो महामारीको कारण सबैभन्दा धेरैको मृत्यु भएको हो ।

गत जुनको मध्यमा करिब आठ हजारको हाराहारीमा रहेको दैनिक नयाँ संक्रमितको संख्या पनि गत साता ५० हजारभन्दा धेरै थियो । इन्डोनेसियाको परीक्षणको दर सीमित रहेकाले वास्तविक संक्रमितको संख्या धेरै हुन सक्ने विशेषज्ञहरुले बताएका छन् ।

कोरोना संक्रमण बढेसँगै सरकारले मुलुकमा उत्पादन हुने अधिकांश अक्सिजन मेडिकल प्रयोगको लागि पठाएको छ । यो संकट सुरु हुनुभन्दा पहिला मेडिकल प्रयोगको लागि दैनिक ४ सय टन अक्सिजन मेडिकल प्रयोगको लागि आवश्यक पथ्र्यो तर कोरोनाका संक्रमण उल्लेख्य संख्यामा बढेसँगै मेडिकल प्रयोगको लागि आवश्यक अक्सिजन पाँच गुणा बढेर दुई हजार टन पुगेको थियो ।

इन्डोनेसियामा अक्सिजन उत्पादनमा कुनै किसिमको समस्या नभए पनि आपूर्तिमा देखिएको समस्याको कारण अहिले पनि केही अस्पतालमा अक्सिजनको अभाव देखिइरहेको छ । इन्डोनेसियामा अहिलेसम्म करिब १४ पैतित मानिसले कम्तीमा एक डोज कोरोना खोप लिएका छन् ।

म्यानमारमा गत फेब्रुअरीमा सेनाले सत्ता आफ्नो हातमा लिएको विरोधमा भएको प्रदर्शनले मुलुकको स्वास्थ्य प्रणाली ध्वस्त बन्यो । पछिल्लो केही सातामा मात्र कोरोनाको परीक्षण तथा गणनाको कार्यले पुनः गति लिन थालेको छ । म्यानमारमा गत मेको मध्यदेखि कोरोनाको नयाँ लहर देखिएको छ । साथै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि उल्लेख्यरुपमा वृद्धि भइरहेको छ ।

जुलाईको सुरुदेखि मृत्युदर निकै उच्च गतिमा बढेको छ । साथै म्यानमारको सेनाले कोरोनाका संक्रमित तथा मृतकको संख्या गम्भीररुपमा लुकाएको आशंका छ । यसअघि नै नाजुक बनेको स्वास्थ्य प्रणाली, निकै कम परीक्षण, अक्सिजन तथा अन्य मेडिकल सामग्रीको अभावलगायत कारण आगामी सातामा म्यानमारको अवस्था निकै खराब हुन सक्ने क्षेत्रीय मानवअधिकारवादी समूहले बताएको छ ।

त्यस्तै अधिकांश मानिसहरुमा सेनाको सरकारमाथिको विश्वास निकै कम हुनुले पनि समस्या बढाएको छ । बिहीबार म्यानमारको सरकारले ६७ सय नयाँ संक्रमित देखिएको र संक्रमणको कारण ३१९ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । खोप लगाएका मानिसको पनि यकिन तथ्यांक छैन । उपलब्ध खोपको आधारमा करिब ३ प्रतिशत मानिसले पूरा डोज कोरोना खोप लगाएको अनुमान गरिएको छ । सामाजिक सञ्जालमा मानिसहरुले पोस्ट गर्दै मुलुकको सबैभन्दा ठूलो सहर यान्गुनको चिहानले आएका शव धान्न नसक्ने अवस्था आएको बताएका छन् । अधिकारीहरुले भने सामाजिक सञ्जालको दाबी अस्वीकार गर्दै आएका छन् । यद्यपि उनीहरुले धेरै मानिसहरुको मृत्यु घरमा नै हुने गरेको स्वीकार गरेका थिए ।

म्यानमारको चिहानहरुको व्यवस्थापन हेर्ने विभागका प्रमुख चो टुङ औङले सेनाले चलाएको टेलिभिजनमा बोल्दै सोमबार यान्गुनका प्रमुख सात चिहानमा ३५० जना कर्मचारीहरुले जुलाई ८ देखि तीन सिफ्ट काम गरिरहेको बताएका थिए । उनका अनुसार आइतबार कर्मचारीहरुले १२ सयभन्दा धेरै शव व्यवस्थापन गरेका थिए । उनीहरुमध्ये १ हजार ६५ जनाको मृत्यु कोरोना संक्रमणको कारण उनीहरुको आफ्नै घरमा भएको थियो भने १६९ जनाको मृत्यु अस्पतालमा भएको थियो ।