‘मेरो दिमाग अक्सर मलाई भन्छ – ‘मलाई यो बिमार छ र म केही महिना वा एक/दुई वर्षपछि मर्नेछु ।’ म आफ्नो दिमागले भनेको कुरा पूरा खारेज गरेर त्यसतर्फ मोडिन सक्छु, जसमा मलाई जिन्दगीले जिउनका लागि बाटो खुला गरिदिएको छ । मलाई जिन्दगीले धेरै मौका दिइरहेको छ । मलाई थाहा छ कि चौतर्फी अन्धकारले घेरिएको बाटोमा म हिँड्दैछु । मैले देखेको छैन कि मलाई जिन्दगीले के दिइरहेको छ ?’
‘तपाईं सोच्न छाड्नुहोस्, योजना बनाउन छाड्नुहोस् । तब तपाईंले जिन्दगीको अर्को रुप अनुभूत गर्न पाउनुहुनेछ । यही कारण मलाई लाग्छ, मसँग अर्को कुनै शब्द छैन, सिवाय ‘धन्यवाद ।’ कुनै अर्को शब्द छैन । कुनै माग छैन । कुनै दोस्रो अनुरोध पनि छैन ।’
आफूलाई निकै घातक एवं दुर्लभ क्यान्सर भएको थाहा भएपछि भारतीय अभिनेता इरफान खानले लन्डनको एक अस्पतालबाट एसोसिएटेड प्रेससँग कुराकानी गर्दै यसै भनेका थिए । क्यान्सरको उपचारपछि उनी आफ्नो लयमा फर्कने सुरसार गरिरहँदा सर्वत्र खबर फैलियो – ‘इरफानको निधन भयो।’
व्यक्तिगत जीवन
इरफान खान बलिउडका उम्दा अभिनेता हुन् । उनले बलिउडमा जुन उचाइ लिएका छन्, त्यो आफैँमा लोभलाग्दो छ । बलिउड हुँदै हलिउडमा समेत ख्याती कमाएका उनी सन् १९६७ जनवरी ७ मा भारतको जयपुर, राजस्थानमा जन्मिएका थिए।
इरफानका पिता साहबजादा यासिन अली खान उद्यमी थिए । आमा गृहणी थिइन्। उनका दुई भाइ छन्, सलमान खान र इमरान खान। रुखसाना बेगम नामकी एक बहिनी छिन् ।
उनले राष्ट्रिय नाट्य विश्वविद्यालयबाट प्रशिक्षण लिएका थिए । सन् १९९५ मा इरफानले सुतपा सिकदरसँग विवाह गरे । सुतपा पनि राष्ट्रिय नाट्य विद्यालयमै आवद्ध थिइन् । उनीहरूको कोखबाट दुई छोराहरू जन्मिए, अयान खान र बबिल खान ।

कार्टुन बनाउँथे
करियरको पूवार्धमा इरफान खान कार्टुन बनाउँथे । स्थानीय अखबार दैनिक भास्कर र स्वदेशमा उनले कार्टुन बनाए ।
दिल्लीको श्रीधरणी आर्ट ग्यालरीमा आफ्नो चित्र प्रदर्शन गर्ने क्रममा उनी नवभारत टाइम्समा जोडिए । त्यसपछि उनी अरू थुप्रै मूलधारका पत्रिकामा कार्टुन बनाउन थाले ।
वरिष्ठ कार्टुनिस्टको चिनारी बनाइरहेकै बेला उनले एनडिटिभीमा आफ्नो ‘टक सो’ होस्ट गरे। यो सन् २००३ को कुरा हो ।
पछि एसियाई कार्टुन प्रदर्शनीमा पनि उनी भारतको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकमा कार्टुन देखाउन पुगेका थिए ।
त्यसबेला उनी करियरको सुरुवाती चरणमा थिए । उनी सडकमा थिए । दु:खपूर्ण जीवन थियो । ठिक त्यही बेला उनको जीवनमा एक युवती आइन्, सुतपा ।
तर, त्यसभन्दा अगाडि उनले अर्को दु:खको सामना गर्नुपर्यो, उनको बुबाको मृत्यु। त्यो मृत्युले घरको आयस्रोत सबै बन्द भयो । इरफानलाई घरबाट पैसा आउने बाटो बन्द भयो । यस्तै, दुखदायी क्षणमा उनले अभिनय सिके र त्यसकै लागि निरन्तर डटिरहे । अन्तत: टेलिशृङ्खला हुँदै उनी फिल्मी दुनियाँमा छिरे ।
पहिलो फिल्म
इरफानले ‘सलाम बम्बे’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका हुन्। सन् १९६७ मा त्यसपछि उनी निरन्तर फिल्मी क्षेत्रमै तल्लिन रहे। यसबीचमा इरफानले हसिल, लाइफ इन ए..मेट्रो, पान सिंह तोमर, लन्च बक्स, जुरासिक वर्ल्ड, लाइफ अफ पाई जस्ता हलिउड, बलिउड फिल्ममा अभिनय गरे ।

इरफान खानसँग जोडिएको विवाद
इरफानले बकरा इदको विषयमा दिएको एक अभिव्यक्तिले विवादको रुप लिएको थियो । उनको अभिव्यक्तिलाई केही मुस्लिम संगठनले घोर विरोध जनाएका थिए । उनीहरूले भनेका थिए, ‘आफ्नो काममा ध्यान देऊ, धार्मिक रीति रिवाजमाथि बयान दिनु आवश्यक छैन ।’
त्यसको जवाफमा इरफानले ट्विट गर्दै भनेका थिए, ‘भगवान धन्यवाद ! म धार्मिक ठेकेदारद्वारा सञ्चालित देशमा बसेको छैन ।’
इरफान खानसँग जोडिएको रोचक कुरा
क्रिकेटर बन्न चाहन्थे
इरफान खान त्यसताका अभिनेता बन्ने सोचमा पुगेकै थिएनन् । खासमा उनी क्रिकेटर बन्न चाहन्थे । तर, उनको भाग्यमा अर्कै लेखिएको रहेछ । उनी क्रिकेटर बनेनन्, अभिनेता बने ।
आफ्नो नाममा ‘आर’
इरफान खान अंग्रेजीमा आफ्नो नाममा दुई वटा आर राखे, आइआरआरएफएएन । अर्थात् इरफान । कतिले भन्छन् कि, अंकज्योतिषको कारण इरफानले आफ्नो नाममा एक अर्को आर जोडेका हुन् । तर, इरफानलाई त्यसको साउन्ड राम्रो लागेकाले आर जोडिएको बताएका थिए ।
खान नामले हैरानी
इरफान खानले आफ्नो नामको पछाडि जोडिन आउने खानको कारण यदाकदा दु:ख झेलेका छन् । अमेरिकी विमानस्थलमा उनलाई कति पटक रोकेर सोधपुछ गरिएको थियो ।
ओस्कार विजेता फिल्ममा काम
इरफानले ‘स्लमडग मिलियनेयर र लाइफ अफ पाई’ फिल्ममा काम गरे । यी दुवै फिल्मले केही विधामा ओस्कार अवार्ड जितेको थियो ।
इरफानको सम्पति
इरफानले एउटा फिल्ममा अभिनय गरेबापत भारु १२ देखि १४ करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका थिए । उनको मुम्बईमा एक फ्ल्याट छ, जसमा उनी आफ्ना परिवारसँग बस्थे । त्यस फ्ल्याइटको मूल्य भारु करिब तीन करोड हो । इरफानसँग चारवटा गाडी थियो । उनीसँग करिब भारु ८० करोड बराबरको सम्पत्ति भएको बताइन्छ ।
