मधेशवादी दल फुटाउने र जुटाउने भैँसेपाटीको त्यो घर

Madhab Raj Kharel


|
|


काठमाडौँ । तराई मधेश केन्द्रीत दलहरु फुट्ने र जुट्ने इतिहास धेरै लामो छ । नेपाल सद्भावना पार्टी गठन भएदेखि नै मधेश केन्द्रीय दल विभाजन हुने र फेरि जुट्ने क्रम हालसम्म जारी नै छ । मधेशी जनअधिकार फोरम नेपालले मधेशमा आफ्नो नेतृत्व कायम गरेपछि पनि यो टुट्ने र जुट्नेको क्रम रोकिएन । बरु यसले झनै तीव्रता पायो ।

तर संयोग, मधेशवादी दलहरु फुट्ने र जुट्ने अधिकांश योजना एउटै घरमा बनेको छ । तत्कालिन मधेशी जनअधिकार फुट्नेदेखि लिएर समाजवादी पार्टी र राजपा नेपालको मिलन एउटै घरमा भएको हो । त्यो घर हो, नवगठित जनता समाजवादी पार्टी नेपालका नेतृ एवम् प्रतिनिधिसभा सदस्य निर्जला राउतको ।

काँग्रेसबाट विद्रोह

महन्थ ठाकुरदेखि लिएर विजयकुमार गच्छदार, शरतसिंह भण्डारी लगायतका नेताहरु काँग्रेसबाट विद्रोह गर्दा पटक–पटक त्यही घरमा बैठक भएको थियो । त्यतिबेला मधेशमा आन्दोलन गर्ने तयारी भइरहेको थियो । यता, मधेशको मुद्दा लिएर काँग्रेस तथा एमालेमा रहेका मधेशी नेताहरु के गर्ने भन्नेमा अन्यौलमा थिए ।

काँग्रेसमा रहेका मधेशी नेताहरु (विद्रोही समूह) ले नयाँ पार्टी खोल्ने कि कुनै नयाँ पार्टीमा जाने विषयमा पटक–पटक छलफल गरेका थिए । ती अधिकांश छलफल भैँसेपाटीको त्यही घरमा भएको थियो । त्यही घरमा नयाँ पार्टी बनाएर जाने योजना पनि बनेको थियो र महन्थ ठाकुरको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी गठन भयो ।

विजयकुमार गच्छदार, शरतसिंह भण्डारी, जयप्रकाश गुप्ताले पनि सोही पार्टीमा जाने योजना पनि बनाए । त्यतिबेला तत्कालिन तमलोपाको हर्ताकर्ता नै जेपी गुप्ता थिए । राजनीतिक दस्तावेज बनाउनेदेखि लिएर नेताहरुको व्यवस्थापन गर्ने काम जेपी गुप्ताले गरेका थिए । तर पछि पदमा कुरा नमिलेपछि गच्छदार, गुप्ता, र भण्डारी सो पार्टीमा जानबाट पछाडी हटे ।

त्यसपछि तत्कालिन मधेशी जनअधिकार फोरम नेपालमै प्रवेश गर्ने योजना उनीहरुको बन्यो । हुनतः जेपी गुप्ता पहिलादेखि फोरम नेपालमा थिए तर पछि उपेन्द्र यादवसँग केही कुरामा मतभेद हुँदा अलग जस्तै देखिएका थिए । त्यतिबेला उनी काँग्रेसबाट अन्तरिम सांसद पनि थिए, त्यही कारणले पनि फोरम नेपालमा उनी त्यति सक्रिय थिएनन् ।

पछि उनले गच्छदार र भण्डारीलाई फोरम नेपालमा प्रवेश गराउने कुरा तत्कालिन फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग गरेका थिए । उनीहरुलाई पार्टीमा प्रवेश गराउने कुरामा उपेन्द्र यादव तयार भएपछि कसरी प्रवेश गर्ने लगायतको योजना २०६४ फागुनमा त्यही घरमा बनेको थियो ।

फोरम विभाजन

पहिलो मधेश आन्दोलन सम्पन्न भएपछि संविधानसभाको चुनाव भयो । सो संविधानसभा चुनावबाट तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल देशमा चौथो शक्तिको रुपमा उदायो । सो पार्टीमा उपेन्द्र यादवका साथै विजयकुमार गच्छदार, शरतसिंह भण्डारी, जयप्रकाश गुप्ता जस्ता राजानीतिका पुराना खेलाडीहरु पनि थिए । उनीहरु सबैले चुनाव जितेका थिए ।

फोरम नेपालमा समानुपातिक सदस्य कसलाई बनाउने, कसलाई नबनाउने सबै योजना पनि त्यही घरमा बनेको थियो । यहाँसम्म कि सरकारमा जाने, मन्त्री बन्ने छिनोफानो पनि त्यही घरमा भएको थियो ।

पहिलो संविधानसभा चुनावपछि बनेको प्रचण्ड नेतृत्वको पहिलो सरकारमा मधेशी दलका नेताहरु सहभागी भए । तर रुक्माङ्गत कट्वाल काण्ड भएपछि नौ महिनामै त्यो सरकार ढल्यो ।

त्यसपछि माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्न लाग्दा मधेशी जनअधिकार फोरम नेपाल टुक्रिएको थियो । सो पार्टी टुक्राउनका लागि २०६६ सालमा सबै योजना फेरि त्यही घरमा बनेको थियो । विजयकुमार गच्छदार र शरतसिंह भण्डारी तत्कालिन मधेशी जनअधिकार फोरमबाट अलग भएर मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बनाएका थिए ।

लोकतान्त्रिक फोरममा विद्रोह

फोरम लोकतान्त्रिक गठन भएको तीन वर्ष नपुग्दै सो पार्टीमा पनि विद्रोह भयो । त्यसको योजना पनि सोही भैँसेपाटीस्थित घरमा भएको थियो । २०६८ असोजमा तत्कालीन रक्षामन्त्री तथा तत्कालिन फोरम लोकतान्त्रिक पार्टीका नेता शरतसिंह भण्डारीले विवादास्पद अभिव्यक्ति दिए । उनले मधेसका २२ जिल्लाले छुट्टिने निर्णय गरेमा कुन ऐन र कानुनले रोक्न सक्छ भन्दै एक सार्वजनिक कार्यक्रममा टिप्पणी गरेका थिए । विवाद चर्किएपछि संसदमा समेत कुरा उठेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनलाई मन्त्री पदबाट बर्खास्त गरेका थिए ।

उनी बर्खास्त हुँदा त्यतिबेला उपप्रधान तथा गृहमन्त्री समेत रहेका सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले भण्डारीलाई साथ दिएनन् । त्यसको रिसमा उनले पार्टीमै विद्रोह गरे । उनका साथमा थुप्रै नेताहरु बाहिरिएका थिए । यी सबै कुराको योजना सोही घरमा बनेको थियो ।

विद्रोह गरेपछि शरतसिंह भण्डारीले केही दिन मधेश यात्रा गरे । मधेशमा विभिन्न ठाउँमा कार्यक्रम गर्दै मधेशको मनोभावना बुझ्ने प्रयास गरे । तराई मधेशका थुप्रै ठाउँमा कार्यक्रम गरिसकेपछि उनले २०६९ सालमा पार्टी नै बनाए । र, त्यो पार्टी बनाउने काम पनि त्यही घरमा भएको थियो । सबै योजना र तयारी पुरा भएपछि भण्डारीले २०६९ असार १५ गते राष्ट्रिय मधेश समाजवादी पार्टीको घोषणा गरेका थिए ।

राजपा नेपालको गठन

दोस्रो संविधानसभाको चुनाव भयो । तेस्रो मधेश आन्दोलन पनि भयो । आन्दोलन चलिरहकै बेला संविधान निर्माण भयो । संविधान निर्माण भएपछि त्यसको संशोधनका लागि केही दिन आन्दोलन भयो आन्दोलन चलिरहेकै अवस्थामा तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, राष्ट्रिय मधेश समाजवादी पार्टी, संघीय सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टी मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन भयो ।

यी छवटा दलले त्यही घरमा बसेर राजपा नेपाल बनाउने निर्णय गरेका थिए । २०७४ साल वैशाख ७ गते राजपा नेपाल घोषणा हुनुभन्दा पहिले पटक–पटक भैँसेपाटीस्थित त्यो घरमा बैठक बसेको थियो । र, त्यहीबाट राजपा नेपाल बनाउने छ दलबीचमा सहमति भएको थियो ।

जसपा नेपाल गठन

ठीक चार वर्षपछि त्यही घरमा छ दल मिलेर बनेको राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरणको घोषणा भयो । यी दुई दलबीच वर्षौँदेखि एकीकरणका लागि छलफल भइरहेको थियो । कहिले कसको घरमा त कहिले कसको घरमा छलफल हुन्थ्यो तर एकीकरणको टुगो कहिले लागेको थिएन ।

तर वैशाख १० गतेको त्यो साँझ समाजवादी पार्टी र राजपा नेपालका केही शीर्ष नेताहरु त्यो घरमा गएर लगातार पाँच घण्टा छलफल गरे । र, दुवै दलको बीचमा एकीकरण हुने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर पनि भयो ।

त्यो घरकी मालिक अर्थात् जनता समाजवादी पार्टीकी नेतृ एवम् सांसद निर्जला राउत भन्छिन्, ‘यी सब संयोग मात्र हुन्, वैशाख १० काँग्रेसको पार्टी कार्यालयमा बैठक थियो । त्यहाँबाट मेरो घर नजिक प¥यो र सबैजना नेताहरु आउनुभयो र छलफल गर्नुभयो । संयोगले कुरा पनि मिल्यो ।’

उनले आफ्नो लागि गर्वको कुरा रहेको बताइन् । ‘पार्टी फुट्ने मात्र होइन, जुट्ने काम पनि भएको छ । त्यो काम आफ्नो घरबाट पटक–पटक भएको कुरामा आफूलाई गर्व लाग्छ,’ उनले भनिन् ।

‘तपाईंको घरमा के जादु छ, नेताहरु त्यहाँ जाने बित्तिकै केही न केही सहमति हुन्छ ?,’ भन्ने जिज्ञासामा नेतृ एवं सांसद राउतले भन्छिन्, ‘केही जादु होइन । ती सबै संयोग मात्र हुन् । हाम्रो पार्टीका नेता शरतसिंह भण्डारीले नै बैठक बोलाउनु हुन्छ । यहाँ शान्त छ, एकान्त, फराकिलो पार्किङ, गार्डेन भएको सुविधा सम्पन्न ठाउँ छ । त्यही भएको हुनाले सायद सबैलाई राम्रो लाग्छ । म पार्टीको नेतृ भएको हुनाले पनि सबै नेतालाई यहाँ आउन सजिलो भएको होला ।’

आफ्नो घरमा यतिका बैठकहरु हुँदा पनि आफू ती बैठकमा कहिले पनि नबसेको उनले बताइन् । आफूले सबै कुराको व्यवस्थापन गर्ने बताउँदै उनले आफ्नो अधिकांश समय खानपिन चिया नस्ताको व्यवस्थामा नै आफ्नो समय जाने गरेको सुनाइन् । आफू नहुँदा पनि पार्टीका नेता भण्डारीले नेताहरुलाई ल्याएर बैठकहरु गर्ने गरेको उनले बताइन् ।

धेरै पढिएको

Related Post