चलचित्र पुजार सार्कीको पहिलो गीत ‘दर्शन गरेँ’ रिलिज

Madhab Raj Kharel


|
|


काठमाण्डौ– जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल सार्वजनिक गरिएको गीतमा मगर जातीको कौडा नृत्यलाई देखाइएको छ । हर्क साउँदको शब्द रहेको उक्त गीतमा शान्तिश्री परियार र प्रकाश सपुतको स्वर तथा संगीत सुवास भुषालको रहेको छ भने यसका कोरियोग्राफि शिशिर खातीले गरेका छन् । कास्कीको जिल्लाको धम्पुसमा छायाङ्कन गरिएको यसको भिडियोमा पृष्ठभुमिमा माछापुच्छ्रे हिमालको रमणीय दृश्यहरु देख्न सकिन्छ ।

गीतको भिडियोमा तिन जना सुपरहरु स्टारहरु, आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह का साथमा अञ्जना बराइली र परीक्षा लिम्बुको नृत्य देख्नसकिन्छ ।

‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् । निर्देशक राउतले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको बताएका छन् । ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए ।

मल्टिस्टारहरुका साथमा यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ । चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्रमा निर्माता भुसालले नै सङ्गीत तयार गरेका छन् । बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले पनि यस चलचित्रका गीतहरुमा शब्द रचना गरेका छन् भने केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले पनि चलचित्रका गीतहरुमा स्वर दिएका छन् ।

राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्र्की’मा भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

धेरै पढिएको