एकैदिन थपिए १२५ जना संक्रमित
वीरगन्ज — भाद्र २, २०७७।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा पर्साका थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन २६ र २७ मा नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट अभाव भएपछि ११ सयभन्दा बढी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार सोमबार राति टेकु प्रयोगशालाले पठाएको संक्रमितको विवरणअनुसार पर्साका १६ महिलासहित थप ६८ जनामा कोरोना संक्रमण देखिएको हो ।
वीरगन्ज महानगरपालिका–११ श्रीपुर विधापीठ विद्यालयमा स्वाब दिएकामध्ये ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए । त्रिजुद्ध माध्यमिक विद्यालयमा स्वाब दिएका ११ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सोमबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ५७ जनामा कोरोना पुष्टि भएको थियो । टेकुको ६८ र नारायणी प्रयोगशालाको ५७ गरी सोमबार मात्र जिल्लामा १२५ जना नयाँ संक्रमित थपिएका छन् । साउनयता पर्सामा एक हजार २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
(कान्तिपुर दैनिक)



