काठमाडौं । जापानी कार निर्माता कम्पनी सुजुकीले आफ्नो सानो साइजको अफरोड एसयूभीको उत्पादन सुरु गरेको ५० वर्ष पूरा भएको छ । जिम्नीको पुरानो मोडल नेपाली सडकमा अहिलेपनि गुडिरहेको पाउन सकिन्छ ।
कम्पनीले आफ्नो जिम्नीको ५० वर्षे यात्रामा २८ लाख यूनिट बिक्री गर्न सफल भएको छ । जिम्नी करिब १९४ देशमा गुडिरहेको सुजुकीले जानकारी दिएको छ । कम्पनीले हरेक जेनेरेशनमा केही पृथक, नयाँ फिचर र विशेषता प्रदान गर्दै आएको छ ।
सन् १९७० देखि १९८१ सम्म पहिलो जेनेरेशन जिम्नीको बिक्री गरेको थियो । पहिलो जेनेरेशनमा ३६० सीसी क्षमताको इन्जिन रहेको यो एसयूभीले २५ बीएच पावर प्रदान गर्ने क्षमता राख्थ्यो ।

त्यसैगरि कम्पनीले यसको दोस्रो जेनेरेशन १९८१ मा बजारमा उतारेको थियो । १९९८ सम्म बजारमा दोस्रो जेनेरेशन जिम्नीको बिक्री भएको थियो । उक्त जिम्नीमा १००० सीसी क्षमताको इन्जिन रहेको थियो । उक्त इन्जिनले ४५ बीएच पावर प्रदान गथ्यो भने १९८४ मा यसको इन्जिनमा परिवर्तन गरि १.३ लिटर पेट्रोल इन्जिन दिइएको थियो । उक्त इन्जिनले ६७ बीएच पावर प्रदान गथ्र्यो ।

१९९८ मा जिम्नीको तेस्रो जेनेरेशन मोडल बजारमा आएको हो । यो जेनेरेशन २०१८ सम्म अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको थियो । यो मोडलमा कम्पनीले टु ह्वील र फोर ह्वील ड्राइभ अप्सन दिएर ल्याएको थियो ।

चौथो जेनेरेशन मोडल २०१८ मा बजारमा आएको हो । नयाँ जेनेरेशन जिम्नीमा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले १०२ बीएच पावर प्रदान गर्छ । यसमा म्यानुअल र अटोमेटिक दुवै गियरबक्स अप्सन दिइएको छ ।

४ सिट क्षमता रहेको यो गाडीमा फोर ह्विल ड्राइभ अप्सन दिइएको छ । राउन्ड हेडल्याम्प, छुट्टै इन्डिकेटर, एलइडी टेलल्याम्पको बीचमा स्पेयर टायर दिइएको जिम्नी निकै आकर्षक देखिन्छ ।
नेपालको लागि सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटो कर्पले यसलाई पुनः नेपाल ल्याउने तयारी गरेको छ ।


