काठमाडौं — भाद्र २, २०७७।
हालसम्म नेपाली सेनाका दुई सय ४६ जनालाई कोभिड– १९ को संक्रमण भेटिएको छ ।
जेठ दोस्रो साता पहिलो केस देखिएकोमा संक्रमितमध्ये हालसम्म ८४ जना निको भएर फर्केका छन् भने एक सय ६२ जना सेनाको आइसोलेसन वार्डमा उपचाररत छन् ।
प्रदेश २ स्थित मध्यपूर्वी पृतनामातहतका सैनिक सबैभन्दा बढी संक्रमित छन् ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले उपचाररत सैनिकको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए ।
उनले भने, ‘प्रदेश २ र कर्णाली प्रदेशमा अलिकति बढी देखिएको छ । काठमाडौं उपत्यकामा जम्मा २० जना उपचाररत छन् ।’
तर, जंगी अड्डामा अहिलेसम्म संक्रमित छैनन् । उपत्यकामा शिवपुरीस्थित अल्ले ब्यारेकमा कार्यरत सैनिकमा कोरोना पुष्टि भएको छ ।
प्रदेश २ मा मध्यपूर्वी पृतनापतिसहितका सैनिक संक्रमित थिए । जेठ दोस्रो साता सुरुमा उनीहरूमा कोरोनाको संक्रमण भेटिएको थियो ।
पृतनापतिसहित पहिलो चरणका संक्रमित भएका सबै निको भएर कार्यक्षेत्रमा सक्रिय भइसकेका छन् ।
‘कोरोना पुष्टि भएका सैनिकहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ । गम्भीर प्रकृतिका बिरामी कोही पनि भएको जानकारीमा छैन,’ प्रवक्ता पौडेलले भने ।
विशेष गरी अग्रमोर्चामा काम गर्ने सैनिकहरूलाई कोरोना देखिएको छ । संक्रमित भएकामध्ये ब्यारेकबाहिर अग्रमोर्चामा खटिएका सैनिकहरू हुन् ।
नेपाल–भारत सीमानाकाका १० स्थानमा सैनिक खटिएका छन् । अनुमति लिएकाहरूलाई सीमानाका प्रवेशमा सहजीकरण गर्ने, होल्डिङ सेन्टर व्यवस्था गर्ने, हेल्थ डेस्क सञ्चालन गर्ने सेनालाई जिम्मेवारी छ ।
प्रवक्ता पौडेलका अनुसार काठमाडौं उपत्यकाका सात होल्डिङ सेन्टर सेनाले सञ्चालन गरिरहेको छ ।
हालसम्म विदेशबाट आएका करिब ५० हजारजनालाई होल्डिङ सेन्टर हुँदै घर पठाइएको छ । स्वाब संकलन, प्रकोप व्यवस्थापनमा पनि सैनिक कार्यरत छन् । शव व्यवस्थापनमा खटिएका सैनिकमध्ये सुरुमा तीनजनामा संक्रमण भेटिएपछि स्वास्थ्य प्रोटोकल नै परिवर्तन गरिएको सैनिक प्रवक्ता पौडेलको भनाइ छ ।
उनले भने, ‘अहिले स्वास्थ्य प्रोटोकल पुनरावलोकन गरेपछि शव व्यवस्थापनमा खटिएकाहरू पनि सुरक्षित छन् ।’
सेनाले ब्यारेकभित्रै आइसोलेसन वार्ड राखेको छ । कन्ट्रयाक्ट ट्रेसिङका लागि सेनाले बेग्लै टिम तयार गरेको छ ।
काठमाडौंबाहिरबाट भित्र आउने सैनिकलाई १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने बन्दोबस्त मिलाइएको पनि सैनिक प्रवक्ता पौडेलले जानकारी दिए ।
पौडेलले भने, ‘हामी हरेक घटनाको सूक्ष्म अनुसन्धान गर्छौँ र प्रोटोकल पुनरावलोकन गर्छौँ ।’
(नयाँ पत्रिका)



