२० देखि ४० वर्ष उमेरसमूहबाट तीव्र रुपमा कोरोना फैलिँदै छ : डब्लूएचओ

Madhab Raj Kharel


|
|


‘धेरैलाई आफू संक्रमित छु भन्ने थाहा नहुँदा जोखिम बढ्दो’

मनिला — भाद्र ३, २०७७।  

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले २० देखि ४० वर्ष उमेरसमूहका मानिसहरुबाट तीव्र रुपमा कोरोना संक्रमण फैलिएको बताएको छ । डब्लूएचओेले यो उमेरसमूहका धेरै मानिसलाई 'आफू संक्रमित छ' भन्ने थाहा नहुँदा संक्रमण फैलिँदै गएको बताएको हो ।

पहिले पाका उमेरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिए पनि पछिल्लो समय विश्वव्यापी रुपमै यूवावयका व्यक्तिहरुमा संक्रमण देखिने क्रम बढिरहेको छ । यसले प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध नभएका क्षेत्रका बूढाबूढी र बिरामी व्यक्तिहरुलाई जोखिममा पारेको पनि डब्लूएचओले बताएको छ ।

‘महामारीको स्वरुप परिवर्तन भएको छ,’ डब्लूएचओका पश्चिम प्रशान्त क्षेत्रीय निर्देशक ताकेशी कासाईले मंगलबार भर्चुअल ब्रिफिङका क्रममा भने, ‘२० देखि ४० वर्ष उमेर समूहका व्यक्तिबाट कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । तीमध्ये धेरैलाई त आफू संक्रमित छु भन्ने पनि थाहा छैन ।’

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा छ भनिएका देशहरुमा समेत पछिल्लो पटक तीव्र रुपमा संक्रमण फैलिइरहेको छ । ‘पछिल्लो पटक कोरोना संक्रमणमा फेरि उच्च वृद्धि मात्रै देखिएको छैन, एसिया–प्रशान्त क्षेत्रमा हामी महामारीको अर्को नयाँ चरणमा प्रवेश गरिरहेका छौं,’ क्षेत्रीय निर्देशक कासाइले भने ।

विश्व स्वास्थ्य संगठने कोरोनाविरुद्धको खोप निर्माण गरिरहेका सबैलाई आवश्यक अनुसन्धान पद्धति र विकासको चरणलाई पालना गर्न पनि आग्रह गरेको छ ।

करिब ९ महिनाअघि चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट हालसम्म विश्वभर संक्रमित हुनेको संख्या २ करोड १८ लाखभन्दा बढी पुगेको छ । त्यस्तै कोरोनाबाट ७ लाख ७४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना पुष्टि भएकामध्ये करिब एक करोड ३८ लाख निको भएका छन् ।

(कान्तिपुर दैनिक)