सेनाको कब्जामा रहेका मालीका राष्ट्रपतिद्वारा राजीनामा

PNA


|
|


बामाको — भाद्र ४, २०७७।

अफ्रिकी देश मालीका राष्ट्रपति इब्राहिम बुबकार केयटालाई अपदस्थ गरेका सैनिकहरूले देशमा संक्रमणकालीन सरकार निर्माण गरी नयाँ चुनाव गराउने घोषणा गरेका छन् ।

सैनिकहरूको कब्जामा लिएपछि राष्ट्रपति केयटाले राजीनामाको घोषणा गरेका थिए । सरकार टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति केयटाले सरकार र संसद् पनि भंग गरेको जनाए । ‘म आफूलाई शक्तिमा राखिरहन रगत बगोस् भन्ने चाहन्नँ,’ सम्बोधनमा उनले भने ।
उनी र प्रधानमन्त्रीसहित अन्यलाई सैनिकहरूले गिरफ्तार गरी राजधानीनजिकैको एक छाउनीमा लगिएपछि उनको घोषणा सार्वजनिक भएको हो । देशलाई थप तहसनहस हुन नदिन आफूहरूले उक्त कार्य गर्नुपरेको विद्रोही सैनिकहरूका प्रवक्ताको भनाइ छ ।

सैनिक कर्नेल स्माइल वागले नयाँ माली निर्माणका लागि नागरिक समाज र राजनीतिक शक्तिहरू एक हुन आग्रहसमेत गरेका छन् । उनले सत्तामा रहने आफूरुको कुनै मनसाय नरहेको जनाए ।

समस्या समाधानका लागि संवादको अपिल गरे पनि प्रधानमन्त्री बुबु सिसे पनि पक्राउ परेका छन् । उनीहरूलाई मालीको राजधानी बामाकोबाट करिब १५ किलोमिटर टाढा रहेको कटीस्थित मुख्य सैन्य शिविरमा राखिएको बीबीसीले उल्लेख गरेको छ ।

एक कनिष्ठ सैनिक अधिकारीले उच्च कमान्डरलाई नियन्त्रणमा लिएपछि विद्रोही सैनिकले राजधानीमा मार्च गरेका थिए । त्यसपछि मंगलबार दिउँसो राष्ट्रपति केयटाको निवासमा सैनिकले धावा बोलेर उनी र त्यहाँ रहेका प्रधानमन्त्रीलाई गिरफ्तार गरेका हुन् ।

पक्राउ गरिएकामा राष्ट्रपतिका छोरा, माथिल्लो सदनका सभामुख, विदेशमन्त्री र अर्थमन्त्री रहेको बताइएको छ । घटनाको नेतृत्व कटी सैनिक छाउनीका उपप्रमुख कर्णेल मलिक डिव र अर्का कमान्डर जनरल सादिओ कमारालगायतले गरेका जनाइएको छ ।

विद्रोहमा कति सैनिक सहभागी छन् र उनीहरूको माग के हो भन्ने स्पष्ट नभएको जनाइएको छ । सैनिक विद्रोहसंगै राजधानी लगायतका क्षेत्रमा प्रदर्शनहरू गरिएका छन् । कतिपय स्थानमा लुटपाट भएको बताइएको छ ।

राजधानीमा युवाहरूले सरकारी स्वामित्वको एक भवनमा आगो लगाइदिएका बीबीसीले जनाएको छ । मालीमा केही महिनादेखि राष्ट्रपतिको राजीनामा माग र्गै प्रदर्शन हुँदै आएको थियो । दोस्रो कार्यकालका लागि सन् २०१८ मा निर्वाचित केयटाको लोकप्रियता पछिल्लो समय निकै घटेको थियो । भ्रष्टाचार, ओरालो लागेको अर्थतन्त्र तथा असुरक्षाका कारण मानिसहरूमा चरम असन्तुष्टि छ । प्रदर्शनकारीहरूले त्यसको दोष राष्ट्रपतिमाथि लगाउँदै आएका थिए ।

घटनाको अफ्रिकी संघ, क्षेत्रीय नेताहरू, संयुक्त राष्ट्रसंघलगायतले भर्त्सना गरेका छन् । राष्ट्रसंघका महासचिवले घटनाको निन्दा गर्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई बिनासर्त मुक्त गर्न आग्रह गरेका छन् ।

(एजेन्सी/कान्तिपुर दैनिक)

Related Post