राष्ट्रपतीय चुनावमा ट्रम्पका प्रतिस्पर्धी बाइडेन

PNA


|
|


अमेरिकाका पूर्वविदेशमन्त्री कोलिन पावेल, ओहायो राज्यका पूर्वगभर्नर जोन कासिचलगायत आधा दर्जन रिपब्लिकन नेताहरूले गरे बाइडेनलाई समर्थन

वासिङ्टन — भाद्र ४, २०७७। 

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । डेमोक्र्याटिक पार्टीको सम्मेलनले बाइडेनलाई औपचारिक रूपमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवार घोषित गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण भर्चुअल विधिबाट गरिएको सम्मेलनमा पार्टीका निर्वाचित प्रतिनिधिहरूले ७७ वर्षीय बाइडेनलाई उम्मेदवारका रूपमा अनुमोदन गरेका हुन् ।
बाइडेनलाई पूर्वराष्ट्रपतिहरू जिम्मी कार्टर र बिल क्लिन्टन तथा पूर्वविदेशमन्त्री कोलिन पावेलले समर्थन गरेका छन् । कार्टर र क्लिन्टन डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति बनेका भए पनि पावेल रिपब्लिकन पार्टीको सरकार हुँदा विदेशमन्त्री थिए । पावेल जर्ज डब्लू बुस प्रशासनमा सन् २००१ देखि २००५ सम्म विदेशमन्त्री थिए ।

अमेरिकाको सर्बोच्च पदका लागि बाइडेनको यो तेस्रो प्रतिस्पर्धा हुनेछ । उनी सन् १९८८ र २००८ मा पनि राष्ट्रपतिका आकांक्षीका रूपमा देखिएका थिए । विभिन्न मत सर्वेक्षणहरूले उनी राष्ट्रपति ट्रम्पभन्दा केही अगाडि देखिएका छन् ।

डेमोक्र्याटिक पार्टीको सम्मेलनमा मंगलबार राति पूर्वराष्ट्रपति क्लिन्टनले सम्बोधन गरेका थिए । भिडियोमार्फत गरिएको सम्बोधनमा उनले वर्तमान राष्ट्रपति ट्रम्पको कडा आलोचना गरेका छन् । ट्रम्पले ओभल अफिसलाई ‘लथालिंग’ बनाएका क्लिन्टनको आरोप छ ।

अमेरिकाले विश्वको नेतृत्वको गरिरहेको डोनाल्ड ट्रम्पले दाबीप्रति लक्षित गर्दै भने, ‘यो समयमा ओभल अफिस नेतृत्वको केन्द्रका रूपमा रहनुपर्थ्यो । तर यो आँधीको केन्द्रका रूपमा रहेको छ । यो लथालिंग अवस्थामा छ ।’ प्रमुख औद्योगिक अर्थतन्त्रमा अमेरिकाको बेरोजगारी दर ३ गुणा बढेको क्लिन्टनको भनाइ छ ।

मंगलबार सम्मेलनमा सम्बोधन गर्ने नेताहरूले मतदाताहरूलाई रिझाउने प्रयास गरेका थिए । अमेरिकाका साथै अन्तर्राष्ट्रिय समस्या समाधान गर्न डेमोक्र्याटिक पार्टीको विकल्प नरहेको उनीहरूको दाबी थियो ।

अमेरिकी सेनाका पूर्वप्रमुख पावलले बाइडेनलाई समर्थन गर्ने घोषणा गरे । सैन्य सेवामा हुँदा सिकेका मूल्य र मान्यता बाइडेनले हालसम्म पनि बचाएका उनको भनाइ छ । त्यस्ता मान्यताहरू ‘पुनः स्थापित गर्न टड्कारो भएकाले’ आफू खुलेरै बाइडेनको पक्षमा लागेको पावलले बताए । उनले गत जुनमा राष्ट्रपति ट्रम्पलाई ‘ढटुवा’ को संज्ञा दिँदै बाइडनलाई समर्थन गर्ने जनाएका थिए । त्यसैगरी, रिपब्लिकन पार्टीका आधार दर्जन नेताहरूले पनि बाइडेनलाई समर्थन जनाएका छन् । ओहायो राज्यका पूर्वगभर्नर जोन कासिचले डेमोक्र्याटिक उम्मेदवार बाइडनलाई सघाउने घोषणा गरे । कासिच सन् २०११ देखि २०१९ सम्म ओहायोका गभर्नर थिए ।

बाराक ओबामाको सरकारमा विदेशमन्त्री रहेका जोन केरीले पनि सम्मेलनमा सम्बोधन गर्दै ट्रम्पको आलोचना गरे ।

बाइडेनले विश्व बुझेका कारण राष्ट्रहरूलाई एक ठाउँ ल्याई जनुसुकै समस्याको समाधान गर्न सक्ने क्षमता रहेको केरीको भनाइ छ । उनले अमेरिकालाई हेरेर हाँस्ने नभई स्याहार गर्ने राष्ट्रपतिको खाँचो भएको बताए ।

राष्ट्रपति ट्रम्पले आफूसँग असन्तुष्ट रिपब्लिकन नेताहरूलाई ट्वीटरमा जवाफ फर्काएका छन् । उनले बाइडेनलाई ‘वामपन्थी अतिवादीहरूको कठपुतली’ भएको बताएका छन् । आफू पुनः निर्वाचित हुने र बाइडेनले पराजय भोग्ने ट्रम्पको दाबी छ ।

बिहीबारसम्म चल्ने डेमोक्र्याटिक पार्टीको सम्मेलनमा पूर्वराष्ट्रपति बाराक ओबामा, उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस तथा सन् २०१६ मा राष्ट्रपतीय चुनावमा पराजित उम्मेदवार हिलारी क्लिन्टनले सम्बोधन गर्नेछन् ।

पूर्वराष्ट्रपति ओबामाकी पत्नी मिसेल ओबामा र सिनेटर बर्नी स्यान्डर्सले सोमबार सम्बोधन गरेका थिए ।उनीहरूले ट्रम्पको कडा आलोचना गर्दै उनी अमेरिकी राष्ट्रपतिका लागि अनुपयुक्त भएको दाबी गरेका थिए । ‘डोनाल्ड ट्रम्प हाम्रो देशका लागि गलत राष्ट्रपति हुन्,’ सम्बोधनका क्रममा मिसेलले भनेकी थिइन् ।

(एजेन्सी/कान्तिपुर दैनिक) 

Related Post