सोमबार सवा २ अर्बको सेयर कारोबार

PNA


|
|


काठमाडौँ — भाद्र ९, २०७७। 

सेयर बजारमा सोमबार करिब सवा २ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ । सो दिन सेयर कारोबार मापक नेप्से परिसूचक २१.२६ अंकले बढ्यो ।

कारोबारमा आएकामध्ये होटलबाहेक सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेर करिब २ अर्ब १४ करोड रुपैयाँ पुगेको हो । सो दिन समग्र नेप्से परिसूचक १ हजार ४ सय ३१.६० बिन्दुमा उक्लेको छ ।

नेप्सेको वर्गीकरणमा ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.२४ प्रतिशत र व्यापारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक १.५५ प्रतिशत बढेको छ । केही दिनयता दोस्रो बजारमा ९० प्रतिशतभन्दा बढी कारोबार अनलाइनबाट हुँदै आएको नेप्सेले दाबी गरेको छ । निषेधाज्ञाका कारण घरबाहिर हिँडडुलमा समस्या भएपछि अनलाइनमार्फतको कारोबार ह्वात्तै बढेको हो । यो अवधिमा अनलाइन युजर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या पनि बढ्दै गएको नेप्सेले जनाएको छ ।

सो दिन करिब साढे २७ हजार कारोबारबाट १ सय ८२ कम्पनीको ४९ लाख २४ हजार ३ सय कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएकामध्ये १ सय ४९ ओटा कम्पनीको सेयरमूल्य बढेको छ । सोमबार होटल समूहको बाहेक अन्य समूहको परिसूचक बढेको छ । होटल समूहको परिसूचक ०.०९ प्रतिशत घटेको छ । तर, सो दिन लघुवित्त समूहको परिसूचक सबैभन्दा बढी २.३४ प्रतिशतले बढेको छ ।

सोमबार उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.३३, बैंकिङको १.३६, व्यापारिक समूहको १.५९, विकास बैंकको ०.९९, जलविद्युत्को ०.७६, वित्त कम्पनीको ०.५६ प्रतिशत, निर्जीवन बिमाको १.८५, अन्यको १.४८, जीवन बिमाको १.८७ र सामूहिक लगानी कोषको ०.२९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

(कान्तिपुर दैनिक)