बुटवल — भाद्र १५, २०७७ ।
निषेधाज्ञाको अवधिमा पनि बुटवल औद्योगिक क्षेत्रभित्रका उद्योग सञ्चालन भइरहेका छन् । स्थानीय प्रशासनले सुरक्षा मापदण्ड अपनाएर उद्योग सञ्चालन अनुमति दिएको छ ।
केहीले औद्योगिक क्षेत्रभित्रै मजदुर व्यवस्थापन गरेका छन् । ठाउँ नहुनेले सुरक्षित आउजाउ मिलाएको औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हीरामणि भट्टराईले बताए ।
‘लकडाउनले थलिएका उद्योग चलेपछि केही राहत महसुस भएको छ,’ उनले भने, ‘जति मजदुर फर्केका छन्, उनीहरूबाट चलेका छन् ।’ औद्योगिक क्षेत्रभित्रको कोहिनुर मेटल उद्योगमा लकडाउनअघि दुई सय मजदुर थिए । लकडाउन खुलेसँगै स्वदेशी मजदुर फर्के । घर नगएका सात मजदुरले पनि काम थाले । अहिले १ सय ७० जनाले दैनिक काम गरिरहेका छन् । उद्योगमा हेल्मेट, लेगगार्ड, एयरकुलरलगायत सामान उत्पादन हुन्छन् । झन्डै ८० प्रतिशत उत्पादन भएको सञ्चालक रामप्रसाद बस्यालले बताए ।
‘सबै मजदुर बुटवल आसपासमा छन् । उनीहरूको बसोबास सुरक्षित छ,’ उनले भने, ‘निषेधाज्ञा भए पनि मजदुरलाई सुरक्षित किसिमले ल्याउने, लैजाने र काममा लगाउने गरिएको छ ।’
उद्योग क्षेत्रभित्रका साना तथा मझौला उद्योगमा सबैजसो मजदुर आएका छन् । मजदुर हुने उद्योगले पनि उत्पादन घटाएका छन् । तीन सिफ्टमा चल्ने उद्योग दुई सिफ्टमा चलेका छन् । तत्काल सामान निर्यात गर्न नसकिने डरमा उत्पादन घटाएको रूपन्देही उद्योग संघका व्यवस्थापक यादव भट्टराईले बताए । उद्योगहरूलाई निःसंकोच चलाउने वातावरण बनाउन बेलाबेलामा औद्योगिक क्षेत्रभित्रका मजदुरको कोरोना नमुना परीक्षण गर्न माग गरेको उनको भनाइ छ ।
यहाँ ६५ उद्योग छन् । लकडाउनअघिको तुलनामा झन्डै ६० देखि ७० प्रतिशत उत्पादन घटनाएका छन् । लकडाउनअघि औद्योगिक क्षेत्रभित्र ३ हजार २ सय मजदुर कार्यरत थिए । त्यसमध्ये करिब ५ सय भारतीय मजदुर थिए । बन्दमा भारत गएका मजदुर फर्केका छैनन् । स्वदेशभित्रै पनि अति प्रभावित जिल्लाका मजदुर आएका छैनन् । यसर्थ त्यसयता करिब १ हजार ७ सय मजदुरले काम चलाएका छन् । उनीहरूमध्ये करिब ५ सय मजदुर औद्योगिक क्षेत्रभित्रै बस्छन् । बाहिर बस्ने धेरै मजदुर बुटवल उपमहानगरपालिका, देवदह र तिलोत्तमा नगरपालिकाका छन् । उनीहरू सुरक्षित किसिमले आउजाउ गर्छन् । कार्ड देखाएपछि स्थानीय प्रशासनले आउजाउ गर्न दिएको छ ।
‘औद्योगिक क्षेत्रभित्र पस्दा साबुन पानीले अनिवार्य हातमुख धुने नियम बनाइएको छ,’ औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख निमेश अधिकारीले भने, ‘काममा खट्दा पनि मास्क र ग्लोब अनिवार्य छ ।’ हरेक उद्योगलाई कामदार आउनु र जानुअघि ज्वरो नाप्न र बाहिरी जिल्लाबाट आएका मजदुरलाई १० दिन क्वारेन्टाइनमा राखेर मात्रै काममा लगाउन निर्देश गरेको उनले जनाए ।
(कान्तिपुर दैनिक)


