कतारमा संक्रमितबाट बच्‍न मोबाइल एप

Madhab Raj Kharel


|
|


काठमाडौं — भाद्र १५, २०७७ । 

कतारमा घरबाहिर निस्किएको कोरोना भाइरस संक्रमितबारे जानकारी दिन मोबाइल एप प्रयोगमा ल्याइएको छ । ‘ऐतेराज एप’ को प्रयोगले भाइरस नियन्त्रणमा ठूलो मद्दत पुगेको कतारको दाबी छ ।

कतार सरकारका अनुसार भाइरस संक्रमित व्यक्ति स्वस्थ मानिस नजिक आए सतर्क रहन सन्देश दिन्ने गर्छ । एप डाउनलोड गरी आफ्नो स्वास्थ्य अवस्थाबारे विवरण अद्यावधिक गरेपछि यस्तो सन्देश आउने गर्छ । कोरोना भाइरस समुदायमा फैलिन नदिन यस्तो एप बनाइएको सरकारको भनाइ छ । एप कार्यान्वयनमा आएसँगै कतार हरेक दिन संक्रमितको संख्या घट्दो छ । कतारमा आइतबार १ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो ।

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजका अनुसार सबै आप्रवासी र नागरिकका लागि ऐतेराज एपको प्रयोग अनिवार्य गरिएको छ । ‘यो एप डाउनलोड गरेपछि चारथरीको बारकोड आउँछ । स्वाब लिइएको व्यक्तिबारे जानकारी दिन खैरो, पोजिटिभ भए रातो, आइसोलेसनमा बसेको भए पहेँलो र नेगेटिभ देखिएको भए हरियो रङको बारकोड मोबाइलमा आउँछ,’ उनले भने, ‘त्यसअनुसार आफूले व्यवहार हुन्छ ।’

पोजिटिभ देखिएर ४३ दिनपछि निको भएका करिमबक्स मियाँले यो व्यवस्थाले आफूलाई मानसिक रूपमा दरिलो बनाएको बताए । ‘यहाँ परिचयपत्र हेर्दैन । मोबाइलमा ऐतेराज छ कि छैन हेर्छ । हरेक व्यक्तिसँग अनिवार्य रूपमा ऐतेराज हुनैपर्छ,’ उनले भने, ‘हरियो रङ हुनैपर्ने मान्यता विकास हुँदा निकै सहज भएको छ ।’

उनले यस्तै प्रविधिको प्रयोगले बिनालकडाउन कोरोनासँग जुध्न कतार सफल भएको वताए । ‘जहाँ कोरोनाको संक्रमण ज्यादा देखियो । त्यो क्षेत्रलाई केही समय सिल गरेको छ । रेस्टुरेन्टबाट खाना लैजान पाइएको छ । निर्माण क्षेत्र एक दिन बन्द गरिएन,’ उनले भने । पछिल्लो समय भाइरसको संक्रमण नियन्त्रण उन्मुख भएसँगै कतारले भदौ १६ देखि सबै खालको जमघाट खोल्ने तयारी गरेको छ ।

उच्चस्तरीय संकट व्यवस्थापन समितिको पूर्वनिर्धारत तयारीअनुसार विवाह समारोह, मस्जिदमा प्रार्थना, व्यावसायिक भेला, सेमिनार, कर्न्सट, वस–रेल सेवा, नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । ‘हरेक दिन पोजिटिभको संख्या घटिरहेको छ । उच्च तहमा संक्रमण फैलिएको थियो । त्यसको जालोलाई तोड्न सकियो,’ समितिले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली जनसम्पर्क समिति, कतारका पूर्वसभापति विमल सुवेदीले कतारमा उकुसमुकुसको वातावरण सकिएको बताए । ‘एक समय यस्तो आयो कि हरेक दिनै डरैडरमा बित्यो । के गर्ने, के नगर्ने भन्नेमा चिन्तित थियौं । रोजगारीको अवसर के हुन्छ भन्ने अनिश्चिय थियो,’ उनले भने, ‘यी सबै चिन्ता दूर भयो । कतारले साँच्चिकै कोरोना नियन्त्रणमा आफूलाई अब्बल देखायो ।’

(कान्तिपुर दैनिक)

Related Post