काठमाडौँ — भाद्र १६, २०७७।
सबै क्षेत्रमा कोभिड–१९ को प्रभाव देखिए पनि सेयर बजार वृद्धि मात्र भइरहेको छैन, कारोबार रकममा पनि उच्च वृद्धि देखिन थालेको छ । नेप्सेमा सोमबार एकै दिन ३ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएको हो । यो २०७६ फागुनयताकै उच्च रकमको कारोबार हो ।
१८ फागुनमा एकै दिन हालसम्मकै उच्च ४ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो । २० फागुनमा पनि ३ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार त्यसयताकै उच्च कारोबार भएको हो ।
लाभांशको मौसम भएकाले पनि बजारबाट केही न केही प्रतिफलको आसमा समेत लगानी बढेको हो । यद्यपि, बजारमा निरन्तर वृद्धि देखिनुमा जारी निषेधाज्ञाका कारण लगानी क्षेत्र अभाव, बैंकहरूको खस्किँदो ब्याजदर रहेको ब्रोकरहरू बताउँछन् । बैंकहरूले समेत पुँजी लगानी बजारकेन्द्रित गरेपछि बजारमा कारोबार गर्न पर्याप्त पुँजी उपलब्ध भएको हो ।
लगानीका लागि पुँजीको उपलब्धताजस्तो अनुकूल अवस्था बनेपछि लगानीकर्तामा सकारात्मक मनोविज्ञान बनिरहेको छ । हरेक दिन कारोबारमा भएको वृद्धिले यस्तो देखाएको हो । यद्यपि, यो समय लगानी गर्दा निकै ध्यान दिनुपर्ने अवस्था भने छ ।
सोमबार नेप्से २२ दशमलव ३१ अंकले बढेर १ हजार ४ सय ८४ अंकमा पुगेको छ । होटेलबाहेक अन्य सबै समूहको परिसूचक बढेको छ । निर्जीवन बिमा कम्पनी र वाणिज्य बैंक समूहमै धेरै रकमको कारोबार भएको छ । यो क्षेत्रमा लगानीकर्ताको आकर्षण रहेको देखिन्छ ।
(नयाँ पत्रिका)


