भेरी करिडोर सडकखण्डको १३ स्थानमा पुल निर्माण हुने

PNA


|
|


काठमाडौँ — भाद्र १६, २०७७। 

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण गरिने भएको छ । 

यस सडकखण्डको जिरो बिन्दु पासागाडदेखि नलगाड नगरपालिकाको तल्लुसम्म सातवटा मोटर गुड्ने पुलका लागि बोलपत्र आह्वान भई महिना दिनभित्र काम सुरु हुन लागेको सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए । 

उनले पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाड खोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि काम सुरुको प्रक्रिया अगाडि बढिसकेको बताए । 

सातवटा पुल ३० महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य राखेको उनले बताए । 

त्यस्तै डोल्पा सडकखण्डको रूपगाड, त्रिपुराकोट, खदाङ र करपगाडमा मोटेरेबल पुल निर्माणका लागि  बोलपत्र आह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडि बढाएको प्रमुख भट्टको भनाइ छ । 

एक वर्षभित्र निर्माणकार्य पूरा हुने उद्देश्यका साथ ठेक्का खोलिएको प्रमुख उनले बताए । 

त्यस्तै छलगाड, छरेबग्रीदेखि त्रिवेणीसम्मको सडकमा दुईवटा पुल निर्माणका लागि बोलपत्र आह्वानको काम अन्तिम चरणमा पुगेको छ । 

सडक निर्माण कार्य सुरु गरेको झन्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया सुरु भएको हो ।  

जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि पिचको काम सुरु भएर काम चालू अवस्थामा रहेको छ ।
यो सडक भारत, नेपाल र चीन जोड्ने मुख्य रणनीतिक सडक हो । 

सडकखण्डमा पुल निर्माणको प्रक्रिया सुरु भएकोमा स्थानीय खुसी देखिन्छन्  नलगाड नगरपालिका– १२ का बुद्धिबहादुर बस्नेतले सडकमा पक्की पुल बनेपछि यातायातका लागि निकै सहज हुने बताए । 

उनले भने, ‘दश ठाउँमा गाडी फेर्दा र चर्को भाडाका कारण हामी समस्यामा थियौँ, अब राहत मिल्ने खबर सुनेको छु । निकै खुसी लागेको छ ।’

अहिले पुल नहुँदा १३ ठाउँमा सवारीसाधन बदलेर यात्रा गर्नुपर्ने बाध्यता छ । 

आवश्यकताका आधारमा मात्र बजेट खर्च गर्ने मान्यताका आधारमा काम भएको डिभिजन प्रमुख नरेन्द्र भट्टले बताए ।

(नयाँ पत्रिका)