बलिउड नायक अक्षय कुमारले एक युटुबरमाथि ५ सय करोड रुपैयाँको मानहानीको केस दर्ता गराएका छन् । राशिद सिद्दिकी नाम गरेका युटुबरमाथि अक्षयले नायक सुशान्त सिंह राजपुतको निधनपछि झुटो भिडियो बनाएको आरोप लगाउँदै केस दर्ता गराएका हुन् । भिडियोमा राशिदले सुशान्तको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई क्यानडा भाग्नका लागि अक्षयले सहयोग गरेको आरोप लगाएका छन् ।
उनले भिडियोमा सुशान्तको निधनपछि अक्षयले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे र उनका छोरा आदित्यसँग गोप्य रुपमा भेटघाट गरेको समेत आरोप लगाएका छन् । सिद्दिकीले आफ्नो युटुब च्यानलमा चलचित्र ‘एमएस धोनीः दि अनटोल्ड स्टोरी’ सुशान्तको हातमा गएपछि अक्षय खुशी नभएको पनि आरोप लगाएका छन् । भारतीय मिडियाका अनुसार, सुशान्तको निधनपछि उनको बिषयमा भिडियोहरु तयार पारेर ४ महिनामा राशिदले १५ लाख भन्दा बढी कमाएका छन् ।
२५ बर्षका राशिद बिहारमा बसेर एफएफ न्यूज नामबाट युटुब च्यानल संचालन गरिरहेका छन् । अदालतले सिद्दिकीको अग्रिम जमानत दिएर प्रहरीलाई यो मुद्दाको छानबिनमा सहयोग गर्न आदेश दिएको छ ।