बिष्णु गौतम
दमौली -तनहुँको आँबुखैरेनी गाउँपालिकाको अत्याधुनिक प्रशासनिक भवनको निर्माण कार्य सम्पन्न भएको छ । २ करोड ५२ लाख ७९ हजार १ सय ५७ रुपैयाँको लागतमा सो भवन निर्माण भएको हो । नयाँ वर्ष २०७८ को अवसर पारी नवनिर्मित ३ तले २५ कोठे उक्त भवनको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बुधबार उद्घाटन गरे ।
सो अवसरमा बोल्दै उनले अत्याधुनिक भवन निर्माण भएसँगै सेवाग्राहीहरुलाई छिटो छरितो ढंगबाट काम गर्न सहज हुने बताए । यसले सेवाग्राहीहरुलाई द्रुत सेवा प्रदान गर्न सहयोग पुग्नेछ ,एक रोपनी क्षेत्रफलमा एसी सहितको सुविधा सम्पन्न भवन निर्माण भएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले बताए ।
छिम्केश्वरी निर्माण सेवा र सिजल कन्स्ट्रक्सन (जेभी) ले सो भवन निर्माण गरेका हुन । कन्स्ट्रक्सनका प्रोप्राइटर शेरबहादुर गुरुङ र दिपककुमार श्रेष्ठलाई सो अवसरमा सम्मान गरिएको थियो । भवन निर्माण भएपछि सेवाग्राहीहरुलाई राहत पुग्ने गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले बताइन । उक्त भवन निर्माण हुनु पूर्व साविक आँबुखैरेनी गा।वि।स।ले संचालन गर्दै आएको पुरानो भवनबाट गाउँपालिकाले सेवा दिदै आएको थियो ।


