अमेरिकामा झन्डै ४ करोड बेरोजगार

PNA


|
|


वासिङ्टन — कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकामा बेरोजगार हुनेको संख्या ३ करोड ८० लाख नाघेको छ । संघीय अधिकारीका अनुसार ३ करोड ८० लाखभन्दा बढी अमेरिकीले बेरोजगारी सुविधाका लागि आवेदन दिइसकेका छन् । 

तीमध्ये ३ करोड जनाले पछिल्ला ६ सातामा रोजगारी गुमाएका हुन् । बेरोजगार हुनेको यो संख्या अमेरिकी इतिहासकै सबैभन्दा बढी हो ।

अमेरिका कोभिड–१९ बाट विश्वमै सबैभन्दा बढी प्रभावित भएको छ । भाइरसका कारण करिब ६१ हजारको मृत्यु भइसकेको छ भने १० लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

कोरोना भाइरसको महामारीका कारण अमेरिकी अर्थतन्त्र सन् १९३० यता सबैभन्दा बढी प्रभावित भएको छ । गत तीन महिनाको तथ्यांकअनुसार अमेरिकाको अर्थतन्त्रमा एक दशकयताकै सबैभन्दा गम्भीर संकुचन देखापरेको छ ।

बुधबार सार्वजनिक विवरणअनुसार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा ४ दशमलव ८ प्रतिशतको गिरावट आउने देखिएको छ । जुन सन् २०१४ यताकै सबैभन्दा ठूलो गिरावट हो । तर मार्च महिनामा पूर्णरूपमा प्रतिबन्धहरू नलगाइएकाले यो तथ्यांकले संकटको संकेत मात्र गर्ने अमेरिकी अर्थविद्हरूको भनाइ छ ।

फेडेरल रिजर्भका अध्यक्ष जेरोम पावेलले बैंकले चालेका नयाँ कदमहरू अर्थतन्त्रमा सुधार नहुन्जेलसम्म जारी रहने बताए । अमेरिकाले थप व्ययभारका लागि करिब तीन ट्रिलियन डलर खर्चिने उनको भनाइ छ । उक्त रकमबाट प्रभावित परिवारलाई प्रत्यक्ष रूपमा नगदसमेत दिइनेछ ।

फेडेरल रिजर्भले ब्याजदर शून्यको हाराहारी कायम गरिनेलगायत संकटकालीन कदमहरू चाल्नेसमेत पावेलले जनाए । अहिलेको संकट निकै तीव्र र गहिरो हुन सक्ने उनले चेतावनी दिए । अमेरिकी केन्द्रीय बैंकका नीतिनिर्माताहरूले अमेरिका तथा विश्वको गम्भीर मानवीय र आर्थिक कठिनाइको कारक भाइरसको महामारी भएको बताएका छन् ।

फेरि राष्ट्रपति बन्‍न नदिन चीन क्रियाशील : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई दोस्रो पटक राष्ट्रपति बन्न नदिन चीन क्रियाशील रहेको आरोप लगाएका छन् । 

समाचार संस्था रोयटर्ससँगको कुराकानीमा उनले चीनले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि चालेका कदम त्यसको प्रमाण भएको दाबी गरे । ‘नोभेम्बरमा हुने चुनावमा मलाई रोक्न चीनले जे पनि गर्न सक्छ,’ उनले भने ।

कोभिड–१९ को विश्वव्यापी महामारीका लागि ट्रम्पले चीनलाई दोष दिंदै आएका छन् । भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको आरोप आफूमाथि लागिरहँदा ट्रम्पले भने चीनले बेलैमा सक्रियता देखाएको भए अन्य देश प्रभावित नहुने दाबी गरे ।

‘भाइरसको महामारीबीच चीनमाथि भन्सार कर बढाउनुहुन्छ ?’ भन्ने प्रश्नको जवाफमा ट्रम्पले भने, ‘थुप्रै कुरा छन् जुन म गर्न सक्छु ।’ त्यस्तै ट्रम्पले चीनले आफूलाई हराएर डेमोक्र्याटिक उम्मेदवारलाई जिताउन प्रयास गरिरहेको पनि आरोप लगाएका छन् । ‘के–के हुन्छ म हेर्दैछु । राष्ट्रपतिको दौडमा मलाई रोक्न चीनले जे पनि गर्न सक्छ । चीनले डेमोक्र्याटिक पार्टीका जो बाइडन अमेरिकाको राष्ट्रपति बनुन् भन्ने चाहन्छ,’ ट्रम्पले भने ।

पछिल्लो समय कोभिड–१९ को महामारीलाई लिएर चीन र अमेरिकाबीच वाक्युद्ध जारी छ । यसअघि, ट्रम्पले कोभिड–१९ लाई ‘चिनियाँ भाइरस’ भनेपछि चीनले कडा आपत्ति जनाएको थियो ।

Related Post