काठमाडौं - काठमाडौं– विगत एक दशक देखी चलचित्र क्षेत्रको बारेमा खुल्ला रुपमा बहस नभैरहको अवस्थामा असोज २ गते राजधानी काठमाण्डौमा एक समारोहको विच चलचित्र उद्योगमा बारेमा चलचित्रकर्मीहरु सहभागी भएर यस क्षेत्रको भविश्य र हालको अवस्थाको बारेमा चिन्तन गरेका थिए । कार्यक्रममा सहभागी चलचित्रकर्मीहरुले नेपाली चलचित्र, भाषा, संस्कृतिमाथी विदेशी चलचित्रहरुले पटक पटक धावा बोलेको अर्थात विभिन्न बाहानामा नेपाली भाषाको अतिक्रमण हुँदै आईरहेको र यसले कालन्तरमा विकराल अवस्था ल्याउने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेपाली चलचित्र क्षेत्रको निति निर्माण तहमा रहेका र यस क्षेत्रमा क्रियाशिल चलचत्रिकर्मीहरुले बेलैमा नसोचे श्रीलंका, पाकिस्तान, बंगलादेश जस्तै गरेर नेपाली चलचित्र उद्योग पनि ध्वस्त हुन बेर नलाग्ने वताए ।
नेपालको सांस्कृतिक उन्नयनमा अग्रसर संस्था परिवर्तन नेपालले नेपाल चलचित्र निर्माता संघका नव निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुलाई बधाई एवं सम्मान कार्यक्रमको आयोजना गरेको छ । कलाकार बसुन्धरा भुसालको सभापतित्वमा बुधवार काठमाडौंमा आयोजित उक्त समारोहमा परिवर्तन नेपालका अध्यक्ष चलचित्रकर्मी मोहन निरौलाले स्वागत मन्तव्य राख्ने क्रममा विदेशी चलचित्रको माध्यमबाट नेपालको भाषा र संस्कृतिमा आक्रमण भइरहेको छ, यसलाई समयमानै सम्बोधन नगर्ने हो भने यसले भविश्यमा नेपालीहरुको अस्तितवलाई खतरा हुने बताए ।
नेपाल चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्र भनेको चलचित्रकर्मीको परिवार भएको र परिवारमा आइपर्ने समस्या समाधान गर्न परिवारका सदस्यहरु एकजुट भइ लाग्नु पर्ने राय व्यक्त गरे ।
निर्माता संघका नव निर्वाचित अध्यक्ष नवल खड्काले देशको संस्कृति, भाषामाथि आँच आउने कुनै पनि कुरा सह्य नहुने बताउँदै कुनै पनि चलचित्र वा निर्माताले संविधान, ऐन र नियमको उल्लंघन गर्न नपाउने धारणा व्यक्त गरे ।
चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले चलचित्रसंग सम्बन्धित संघ संस्थाहरू संख्यामा धेरै हुन थाले पनि समस्याहरु पनि एकिकृत नभइ छरिएर आउन थालेको छ भन्दै एकिकृत रुपमा आवाज उठाउन चलचित्र सम्बन्धि संघ संस्थाहरूको एउटा महासंघको आवश्यकता औंल्याए ।
समारोहमा चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुलीले चलचित्रकर्मिहरु भ्रम फैलाउन तिर आफैँ लाग्ने गरेको र त्यस्ता कार्यको परिणाम नकारात्मक नै हुने विचार व्यक्त गरे ।
समारोहका सभापति बसुन्धरा भुसालले महासंघको आवश्यकता विगतमा पनि महसुस गरिएको तर केही कारणवश महासंघ गठन हुन नपाएको बताउँदै अहिले यसतर्फ गम्भीर भएर कदम उठाउनु पर्ने कुरामा जोड दिइन् ।
भाषिक अतिक्रमणले नेपाली चलचित्र क्षेत्रमात्रै हैन समग्र नेपाली कला, संस्कृति, सभ्यता र पहिचान र अन्ततस् देशलाई समेत असर पुर्याउने धारणा सहभागी बक्ताहरुले कार्यक्रममा राखेका थिए । सस्तो लोकप्रियता, कन्टेनको विक्रि तथा क्षणिक फाईदाका लागी कुनै पनि नेपालीले आफ्नो सभ्यता, संस्कृति तथा पहिचान माथी आक्रमण गर्न दिने तथा गराउने कार्य घोर निन्दनिय हुने सहभागीहरुले बताए ।
चलचित्र निर्देशक माधव राज खरेलले संचालन गरेको उक्त वधाई तथा सम्मान समारोहमा नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका कार्य वाहक अध्यक्ष सानु ताम्राकार, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधर र प्रथम चलचित्र आमाकी अभिनेत्री भुवन चन्द र आमा चलचित्रमा आमाको शिर्षक भूमिका निर्वाह गर्ने अभिनेत्री चैत्य देवी लगायतको उपस्थिति रहेको थियो ।

