चलचित्रकर्मी निरौलाको कलाकारहरु थापा, राणा, श्रेष्ठ र वलीलाई समर्थन

Madhab Raj Kharel


|
|


काठमाण्डौ– निर्वाचनको मिति नजिकिदै गर्दा यति वेला कलाकर्मीहरुले आ–आफ्नो समर्थन जनाई रहेका छन् । लामो समय देखि नेपाली कला तथा सँस्कृतिको क्षेत्रमा आफ्नो योगदान पुर्याएका कलाकर्मीहरुले समेत निर्वाचनमा उम्मेदवारी दिए संगै उनिहरुको पक्ष र विपक्षमा आ–आफ्ना राय तथा विचारहरु सामाजिक सञ्जाल मार्फत पस्कन थालेका छन् । यसै विच बरिष्ठ चलचित्र निर्देशक लेखक तथा कलाकार मोहन निरौलाले लामो समय देखी नेपाली चलचित्र तथा कला सँस्कृतिका क्षेत्रमा सक्रिय रुपमा लागिरहेकी लोकप्रिय अभिनेत्री तथा निर्मात्री रेखा थापा, अभिनेता तथा निर्माता मधुकुमार श्रेष्ठ, अभिनेता तथा निर्माता रोज राणा र अभिनेत्री तथा गायिका कोमल वलीलाई आफ्नो समर्थन जनाउँदै विजयी गराउन अपिल गरेका छन् ।

नेपाली चलचित्र उद्योगकी लोकप्रिय अभिनेत्री तथा निर्मात्री रेखा थापा मोरंगबाट (प्रतिनिधि सभा), अभिनेता तथा निर्माता मधुकुमार श्रेष्ठ धादिंगबाट (प्रदेश सभा) अभिनेता तथा निर्माता रोज राणा प्युठानबाट (प्रदेश सभा), अभिनेत्री तथा गायिका कोमल वली दाङबाट (प्रतिनिधि सभा) को उमेदवार रहेका छन् ।

अभिनेत्री थापाको निर्वाचनमा प्रचार प्रसार गर्ने शैली र स्वभावलाई मतदाताहरुले रुचाएका छन् र यति वेला मोरङ क्षेत्र नम्बर ३ का मतदाताहरु अभिनेत्री थापाको विजयको लागि उत्सुक रहेको बताउने गरेका छन । परिवर्तन नेपालका अध्यक्ष समेत रहेका निर्देशक निरौलाले कला क्षेत्रको प्रवद्र्धन र संरक्षणको लागि कलाकारहरुले राज्यको नियमनकारी निकाय सम्म पुग्न जरुरी रहेको र यसको लागि कलाकारहरुले जित्न जरुरी रहेको बताएका छन् ।

निरौलाले भनेका छन्, “नेपालमा एकसय पच्चिस/छब्बिस भाषा भाषी तथा तिनीहरूको संस्कृति जीवन्त रहेको र त्यसलाई संरक्षण र संम्बर्द्धन सबैको दायित्व हो । जुनसुकै राजनितीक दल र स्थानको उमेदवारी भएपनि सामाजिक, राष्ट्रिय बिषय लगायत देशकै शिर उच्च पार्ने नेपालीहरुकोे बहु–पहिचान, कला संस्कृति भाषा र नेपाली चलचित्रको उम्मेदवारी दिएका कलाकर्मीहरु संवेदनशील रहेकोले पनि उनिहरुको जित आवश्यक छ ।”