एनआरएनए जापानको अध्यक्षमा निउरे निर्वाचित, आमाछोदिङमो गाउँपालिका अध्यक्षले निवासमै पुगेर दिए वधाई

Devil Singh Rajput


|
|


काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ९एनआरएनए० जापानको अध्यक्षमा नवीन निउरे निर्वाचित भएका छन्।एनआरएनए जापानको एघारौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा निउरे विजयी भएका हुन् । यसअघिको लामो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका निउरे निकटतम प्रतिस्पर्धीलाई १ हजार ७ सय ३५ मतले पराजित गर्दै निउरे आगामी २ वर्षको लागि अध्यक्ष भएका हुन् ।

नव निर्वाचित अध्यक्ष नवीन निउरेलाई जापान अध्ययन अवलोकन भ्रमणमा रहेका रसुवाको आमाछोदिङमो गाउँपालिकाका प्रमुख बुचुङ तामाङले बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन्। एक साता अघि जापान पुगेका तामाङले निउरेलाई उनकै निवास पुगेर बधाई दिएका हुन् । 

करिव एक दशक बढी एनआरएनएमा आवद्ध भएर बिभिन्न सामाजिक कार्यमा संलग्न निउरेले समुदायको स्तर उन्नति, भाइचारा र नयाँ पुस्तालाई संस्थामा आकर्षक गराउने प्रतिबद्धता गरेका छन् । सामाजिक क्षेत्रमा आफ्नो अनुभवसहित काम गरेर देखाउने प्रतिबद्धता स्थापित गराउन चाहेको दावी गर्दै निउरेले जापानमा शिव मन्दिरसहितको प्रविधियुक्त बहुउद्देश्यीय ‘नेपाल हाउस’ सञ्चालनमा ल्याउने महत्वकांक्षी योजना अघि सारेका थिए ।

आइतबार सम्पन्न मतदानबाट ५ उपाध्यक्षमा सचिन श्रेष्ठ, सुवास लामिछाने, देवराज उप्रेती, कृष्ण गैरे शर्मा र सिद्धार्थ श्रेष्ठ विजयी भएका छन्।महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी विजयी भएकी छिन्। निकै चासोका साथमा हेरिएको महासचिवको पदमा टिकाराम खरेल विजयी भएका छन्। ३ पदका सचिव पदका लागि भएको निर्वाचनमा ६ जनाले प्रतिष्पर्धा गरेका थिए । जसमा अर्जुन थापा बगाले, दिपेश केसी खत्री र दिलिप कँडेल निर्वाचित भएका छन्। महिला सचिव पदमा चन्द्राकुमारी केसी यस अघि नै निर्विरोध निर्वाचित भएकी छिन्। कोषाध्यक्ष पदमा २ जनाको उम्मेदवारी रहेकोमा दीपक सुनार विजयी भएका छन्।

युवा संयोजक पदका प्रत्यासी राजु भण्डारी सुनीलले उम्मेदवारी फिर्ता लिएसँगै मुक्तिराज रेग्मी निर्विरोध निर्वाचित हुन सफल रहेका छन् । भने महिला संयोजक पदमा हेमा पाण्डे पनि निर्विरोध निर्वाचित भएकी हुन्।८ पद सदस्यका लागि १७ जनाले प्रतिष्पर्धा गरेकामा दिलिप शर्मा, विनय गुरुङ, ध्रुव गौतम, दिनेश लोहनी, ज्योति केसी, कृष्णप्रसाद कँडेल, नेत्र पाण्डे र रामु कँडेल निर्वाचित भएका छन् ।

महिला सदस्यमा यसवर्षको निर्वाचनमै अत्यधिक मत ३ हजार ९ सय ७० ल्याएर ललिता तामाङ निर्वाचित भएकी छन्।