कवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचन

Devil Singh Rajput


|
|


काठमाण्डौँ । कवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा प्रतिष्ठनका कुलपति भूपाल राई लगायतले नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा आयोजित ‘अभिलाषाका झारहरू’ विमोचन कार्यक्रम माझ उक्त कवितासङ्ग्रहको विमोचन गरेका हुन् ।

सो अवसरमा कुलपति राईले प्रज्ञा प्रतिष्ठान संस्कृति निर्माण गर्ने प्राज्ञिक थलो भएकाले साहित्यकार र लेखक माझ मात्र नभई स्कुल ,क्याम्पस र विश्वविद्यालयसामू प्रज्ञा प्रतिष्ठान परिचित हुनुपर्नेमा जोड दिए। उनले कवि तथा साहित्यकारहरू खास भ्रष्टाचारी नभएको उल्लेख गर्दै कवि राजेन्द्र ओझा ‘नयन’को कवितासङ्ग्रह सरल र सहज रहेको बताउदै  कविक‍ो भावना बेजोड भए जस्तै कविताको परिष्कार भने निरन्तर साधनाले मात्र सम्भव हुने उल्लेख गरे ।

कार्यक्रमका विशिष्ट अतिथि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा कौशिला रिसालले कवि राजेन्द्र ओझा ‘नयन’को कवितासङ्ग्रह ‘अभिलाषाका झारहरू’मा सङ्गृहीत कविताहरू आफ्नै शैलीमा रचिएकाले सरल र मौलिक भएको बताईन् । ओझाका कतिपय कविताले वर्गीय विभेद, प्रेम र अध्यात्म बारे बोलेको उनले जनाईन् ।

कार्यक्रमका अतिथि समालोचक महेश पौडेलले कविता दीर्घलेखन पपश्चात् परिमार्जन हुनेमा जोड दिदै कवि ओझामा कवित्वको प्रचुर सम्भावना रहेको र उनका कवितामा दार्शनिक प्रभाव रहेको उल्लेख गरे । 

'अभिलाषाका झारहरू’ कवितासङ्ग्रहका सर्जक राजेन्द्र ओझा ‘नयन’ले आफूले मनोवैज्ञानिक तथा दार्शनिक विषयवस्तुमा कविता लेख्ने गरेको बताए ।

उक्त विमोचन कार्यक्रम युनिग्लोब कलेजका अध्यक्ष प्रा.खगेन्द्र ओझाको अध्यक्षतामा सम्पन्न भएको थियोे । उनले प्रज्ञा प्रतिष्ठान जस्तो प्राज्ञिक निकायमा 'अभिलाषाका झारहरू’क‍ो विमोचन हुँदा आफूलाई खुसी लागेको बताउदै कविताले जीवन भोगाइ र आफ्ना अनुभूतिलाई व्यक्त गरेको उल्लेख गरे ।

कार्यक्रमको सञ्चालन कवि राजु भट्टराईले गरेका थिए । फुसुन प्रकाशनले उक्त कवितासङ्ग्रह प्रकाशित गरेको हो।