काठमाडौंँ – शहीद दिवसको अवसर पारेर आजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर–टेक वान’को प्रदर्शन रोकियो । चलचित्र विकास बोर्डमा दर्तादेखि सेन्सरसम्मको सबै प्रक्रिया पुरा गर्दा पनि फिल्मको प्रदर्शन अदालतले रोकेको हो । जिल्ला अदालत काठमाडौँले मंगलबार अन्तरिम आदेश जारी गर्दै फिल्मको रिलिज स्थगित गरेको हो ।
फिल्म ‘एक्टर’का निर्माताले दायर गरेको मुद्दाको आधारमा अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । मुद्दामा चलचित्र विकास बोर्डलाई समेत विपक्षी बनाइएको छ । ३ करोड भन्दा माथिको बजेटमा बनेको फिल्मको एकदिन अगाडि रिलिज रोकिदा निर्माताको लगानीको जोखिम बढेको छ । निर्माण युनिटलगायत फिल्मकर्मी इजाजत दिने संस्था चलचित्र विकास बोर्ड प्रति आक्रोशित बनेका छन् ।
फिल्मका निर्देशक राजन भुसाल ‘एक्टर टेक वान’लाई न्यायको माग गरेका छन् ।
कलाकार तथा निर्देशक निश्चल बस्नेतले एउटै नाम भएको विषय भए विकास बोर्ड जवाफ देही हुनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नाम नै एउटै भएको कुरा हो भने नाम दर्ता गर्ने विकास बोर्ड जवाफदेही हुनुपर्छ । चलचित्र निर्माण गर्ने इजाजत र प्रदर्शन गर्ने इजाजतपत्र राज्यका निकायले दिने हो । इजाजत पाइसकेपछि निर्माण कम्पनीले विना कुनै रोकावट फिल्म निर्माण र सेन्सर भएपछि प्रदर्शन गर्न पाउनुपर्छ ।’उनले समस्या नै भएको हो भने, इजाजत दिने अध्यक्षलाई स्पष्टीकरण र मुद्दा लाग्नुपर्ने धारणा समेत राखेका छन् ।
कलाकार तथा निर्माता दीपकराज गिरीले फिल्मको विवाद कोट पुगेको विषयमा ब्याङ्ग्य समेत गरेका छन् । उनले लेखेका छन्, ‘हरेक दिन फिल्म बनाउन नयाँ नयाँ निर्माता एअरपोर्टमा । फिल्म रिलिज चाही कहाँ गर्ने हलमा हो कि कोर्टमा रु’ । उनले एउटै नाममा पछाडि फुर्का गाँसेर, पुच्छर झुन्डाएर नाम राख्ने परम्परा पनि बन्द हुनुपर्ने बताएका छन् ।
फिल्म निर्देशक समेत रहेका रंगपत्रकार डब्बु क्षेत्रीले हिजो चलचित्र विकास बोर्डले गरेको गल्तीले अहिले फिल्म ‘एक्टर’ र ‘एक्टर टेक वान’ पिल्सिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा अगाडि लेख्छन्, ‘हरेक समस्याको समाधान पक्कै वार्ताबाट हुन्छ । आपसको इगो त्याग्नअग्रह गरे । हिजो अस्ति वार्ता भएको भए पक्कै यस्तो समस्या आउँदैन थियो ।’